बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बगानमै छानीछानी लिची खान पाइने

बिहीबार, ०२ जेठ २०७६, १० : ५२
बिहीबार, ०२ जेठ २०७६

झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन् । उनले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । 

लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची फेस्टिबल’ गर्न लागेका छन् ।
  
श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म लिची महोत्सवको आयोजना गरिने कनकाई एजुकेशन फाउण्डेशनका संस्थापकसमेत रहेका ढुङ्गानाले बताए । 

लिची महोत्सवको अवधिमा बगानमा प्रवेश गर्न रु १०० तिर्नुपर्ने उनले बताए । रु १०० तिर्दा बगानभित्र गएर छानीछानी पाकेको लिची खान पाइने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
 
अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि शुरु गरेको उनले बताए । उनका अनुसार बगानमा यतिबेला बम्बे, जफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् । बगानमा बच्चादेखि बुढासम्मले सजिलै आफैँ टिपेर खानसक्ने बोट रहेका छन् ।

लिची खनिज तत्वले भरिपूर्ण एक अत्यन्त स्वादिष्ट फल भएको हुँदा ताजा र पाकेको लिची स्थानीय क्षेत्रमा मनोरञ्जन लिँदै झापालीहरुले नै खान सकुन् भन्ने लक्ष्यका साथ महोत्सव आयोजना गरेको ढुङ्गानाको भनाइ छ । 

विर्तामोडको मुक्तिचोकदेखि दुई किलोमिटरको दूरीमा रहेको बगानसम्म पुग्न अनारमनी बजार र विर्तामोडकै धर्मकाँटाबाट निःशुल्क दुई बसको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । 

उनले लिची फल्न शुरु गरेसँगै घरमा खरीदका लागि व्यापारी आउने गरे पनि नदिएको बताउदै भने, “जैविक उत्पादन गरेको छु, व्यापारीलाई भन्दा स्थानीयलाई नै खुवाउने मेरो योजना हो ।” उनले गत वर्षदेखि शुरु गरेको महोत्सवलाई निरन्तरता दिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप