गलत रगत दिएर निधन भएकी बालिकाका बुवा भन्छन्ः न्याय माग्दा नालामा फालिदिन्छु भने
काठमाडौं– यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’
शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाइएको पनि उनले सुनाए । उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’
आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेर पनि न्याय पाउँ भनि हारगुहार समेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।
उनले भने,‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् । हामीलाई नालामा फ्याल्ने धम्की समेत आयो ।’
उनले भने,‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ? कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’