बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तारको जालोमा अल्झियो पोखरा महानगरपालिका

बुधबार, ०१ जेठ २०७६, १७ : ०४
बुधबार, ०१ जेठ २०७६

पोखरा– गएको वर्ष पोखराको एउटा समाचार निकै चर्चित बन्यो । ‘बसको छतमा राखेर ल्याउँदै गरेको ट्याक्टर बिजुलीको तारमा झुन्डियो ।’ 

दुर्घटनाबाट मानवीय क्षति भने हुन पाएन । 

सोही, समाचारको चर्चा सेलाउन नपाउँदै पोखराकै फेरि अर्को समाचार चर्चित बन्यो । गुडिरहेको मोटरसाइकलमा सवार युवकमाथि बिजुलीको तार चुडिँदा ज्यान गुमाउन पुगे ।  

गएकै वर्ष पोखरामै बिजुलीको तार ‘सर्ट’ भएर आगलागी पनि भयो । यो घटनाबाट मानवीय क्षति भने हुन पाएन । 

यी ३ दुर्घटनाको पछि मुख्य एउटै कारण थियो, जथाभावी रुपमा विस्तार गरिएका तार । 

लगालग ३ वटा दुर्घटनापछि यो विषयमा महानगरपालिकाको ध्यान खिचियो । पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीको संयोजकत्वमा १२ सदस्यीय समिति पनि गठन भयो । समितिले तार व्यवस्थापन अप्रेसन पनि थाल्यो । 

तार व्यवस्थापनको पहिलो दिन गत वर्ष मंसिर २७ गते सिद्धार्थ चोकको पोलमा झुन्डिएको तार काटेर सञ्चारकर्मीसँग पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भनेका थिए, ‘पोखरा अब स्मार्ट सिटी बन्नतर्फ लाग्यो ।’

मेयर जिसीले भनेका थिए, ‘स्मार्ट सिटीको अवधारण त तारलाई अन्डरग्राउन्ड नै हो । तर, त्यसको लागि साधन स्रोत उपलब्ध नभएको र पर्याप्त बजेट पनि नहुनाले वैकल्पिक बाटोको रुपमा अनावश्यक तार हटाउन थालिएको हो ।’ 

यस्तै उनले नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, इन्टरनेट तथा केबल सेवा प्रदायक संस्थासँग छलफल गरि अभियान थालेको पनि बताएका थिए । तार व्यवस्थापनको कार्य ३ महिनाभित्र सकिने उनको भनाई थियो । 

मेयर जिसीको भनाइलाई विश्वास गर्ने हो भने यतिबेलासम्म तारका अनावश्यक गुजुल्टा हट्नुपर्ने हो । 

तर, अप्रेसन थालेको ४ महिना बिति सक्दा पनि स्मार्ट सिटीका तारका गुजुल्टा हटेका छैनन् । जस्ताका त्यस्तै छन् । उल्टै, नयाँ नयाँ इन्टरनेट कम्पनीले स्मार्ट सिटीका, स्मार्ट प्रतिनिधिलाई चुनौति दिदै तार बिस्तार गरेको देखिन्छ ।

पर्यटन व्यवसायी हरि भुजेलका अनुसार लेकसाइडमै पनि दैनिक इन्टरनेट, केबुलका २÷३ वटा तार बिस्तार गरिन्छ । ‘तारले गर्दा एकदम रिस्की र अनहाइजेनिक देखिएको छ पोखरा । सुन्दर शान्त लेकसाइडलाई डिस्ट्रक्सन गरेको छ,’ उनले थपे । जति पनि अनावश्यक तारहरु छन् ति सबैलाई हटाउनु पर्ने उनको भनाई छ ।

पोखराको सौन्दर्यता जति देखिनुपर्ने हो पोल पोलमा गुजिल्टिएका तारका कारण एकदम बिग्रिएको उनले सुनाए ।

 ‘पोल पोलमा गुजिल्टिएका तारका कारण फेवाताल वरिपरीको सौन्दर्यता एकदम बिग्रिएको छ,’ उनले भने, ‘यो मेरो भन्दा पनि टुरिन्टहरुको भर्सन हो ।’  

नेपाल बिद्युत प्राधिकरण मालेपाटन पोखराका प्रमुख शिव बरालका अनुसार इन्टरनेट तथा केबुलका धेरै नेटवर्क आएकाले पनि व्यवस्थापनामा समस्या परेको हो । उनका अनुसार केही समय यता नयाँ नयाँ इन्टरनेट कम्पनीले नसोधि तार विस्तार गर्दै आएका छन् ।

 ‘नयाँ नयाँ इन्टरनेटका कम्पनी आउँछन् । सोध्दै नसोेधि तार विस्तार गर्छन,’ उनले भने, ‘किन यस्तो गर्यौ भनेर सोध्दा, हामीले कर तिरेका छौं भनेर उल्टै विरोध गर्नुहुन्छ ।’

मन्त्रिपरिषद्सम्म यो विषय पुगि सकेको उनले जानकारी दिए । ‘मन्त्रिपरिषद्सम्म कुरा पुगि सकेको छ । त्यसपछि के गर्ने भनेर थाहा हुन्छ,’ उनले थपे । 

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका अनुसार सिद्धार्थ चोकका ४० वटा पोलमा १ महिनामा पनि राम्रोसँग व्यवस्थापन गर्न सकिएन । ‘यसरी पार लगाउँन सकिँदो रहेनछ भनेर टेलिफोन र इन्टरनेटका तारलाई दुई तिर दुई ठाउँबाट तान्ने गरेर व्यवस्थापन गर्न पर्छ कि भनेर लागि रहेका छौं  । आउँदो आर्थिक वर्षमा दुई तिरबाट तार विस्तार गरेर व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने 
तारलाई व्यवस्थापन गर्न अन्डरग्राउन्ड गरेर लैजानुपर्छ भन्ने महानगरपालिकाकोे मास्टरप्लान रहेकाले छिट्टै व्यवस्थापन गर्नुपर्छ भनेर लागि रहेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप