कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी
जाजरकोट– कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो । प्रजिअ ललितकुमार बस्नेतलगायतको सरकारी टोली लुहादह, जुनिचाँदेलगायतका ठाउँ पुगेर सञ्चालन भएको शिविरमा ६४२ ले नागरिकता लिएका छन् । गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालयद्वारा सञ्चालन गरिएको एकीकृत बृहत् घुम्ती शिविरमा नागरिकता वितरण गरिएको हो ।
उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । शिविरमा एक हजार ९३६ भेडा/बाख्रा, २३३ गाई/गोरु, १६१ भैंसी/राँगो, १० कुकुर र २५ घोडा–खच्चड गरी जम्मा दुई हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ ।
त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय तहको समन्वयमा यसअघि जाजरकोटको बारेकोट, कुशे, शिवालय र जुनिचाँदे गाउँपालिकामा बृहत् शिविर भइसकेको छ । चारवटा स्थानीय तहबाट छ हजार ५५९ जनाले नागरिकता र फोटोसहितको मतदाता नामावली सेवा लिएका छन् ।
सदरमुकाबाट मात्र नागरिकता र फोटोसहितको मतदाता नामावलीको सेवा पाएका जाजरकोटका दूरदराजका स्थानीयवासीले घरआँगनमा सेवा पाएपछि खुशी भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । जुनिचाँदेबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्दछ ।
पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए । टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए । दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ ।
जनयुद्धको समयमा कम्युनको अभ्याससमेत गरेको जुनिचाँदेका स्थानीयवासीले अहिलेसम्म सरकारी अधिकारी गाउँमा पुगेको नदेखेको बताएका छन् । बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको यहाँ चोरी–निकासी व्यापक भएको भन्दै प्रजिअ बस्नेतलाई नियन्त्रणका लागि पहल गर्न आग्रहसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?