केन्द्रीय संस्करण
सराेकार

मोबाइलको अँध्यारो पाटो- सुविधा मात्रै हैन, खतरनाक पनि

person explore access_timeजेठ १, २०७६ chat_bubble_outline0

शहरिया जीवन पद्दतिको अभिन्न अंग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार–प्रविधिको ‘चमत्कारी खोज’ मोबाइलले मानिसलाई आफूप्रति पूरै आश्रित र आशक्त पनि बनाइसकेको छ– यो नहुँदा जीवननै नचल्ला कि भन्ने हदसम्म ।

  हुन पनि सञ्चारलाई अति नै सहज र छिटोछरितो बनाइदिएको छ मोबाइलले । निश्चित ठाउँमा टाक्सिएर बस्नुपर्ने ल्याण्डलाइन प्रविधिको विपरीत जहाँसुकै र जतिखेर पनि बोकेर हिँड्न मिल्छ मोबाइल । गल्लीदेखि सडकसम्म, घरदेखि घाटसम्म जतासुकै बोकेर लान मिल्ने र चाहनेबित्तिकै जतासुकै र जतिसुकै बेला पनि सम्पर्क गर्न सकिने साधन बनेको छ मोबाइल । यही कारण नै मोबाइलले यति लोकप्रियता हासिल गर्न सकेको हो । त्यसमाथि थप, छोटो सन्देश पठाउन मिल्ने प्रविधि –एसएमएस) देखि गीत सुन्ने, फोटो–भिडियो खिच्ने र हेर्ने तथा शहरका बाटोघाटोको जीवन्त नक्सा (Live map) हरु समेत हालेर आफूले पुग्न चाहेको ठाउँमा पुग्न मद्दत गर्ने लगायत थुप्रै आधुनिक प्रविधिहरु समेत लोड  गर्न सकिने सुविधा हुन्छ मोबाइलमा । अझ सामाजिक सञ्जाल र अनलाइनले पिटेको वर्तमान दुनियाँमा मानिसको लागि बरु केही छाक भात खान छोड्नु परे पनि तयार हुन सक्ला, तर इन्टरनेटसहितको मोबाइल भएन भने त केहीबरेमै मानिस पानीबिनाको माछा जस्तै छट्पटाउन थाल्छन् । त्यसैले भन्न हिच्किचाउनै पर्दैन, त्यसै लोकप्रिय भएको होइन मोबाइल । यसले दिने र पुर्‍याउने विछट्टैको सुविधाहरुका कारण लोकप्रिय बनेको हो मोबाइल ।
तर छन् अँध्यारा पाटा पनि !

प्रसिद्ध चिनियाँ दार्शनिक लाओ त्सेले भनेका छन्, ‘जहाँ उज्यालो हुन्छ, त्यहाँ अँध्यारो पनि हुन्छ । अँध्यारोको उपस्थितिबिना उज्यालोको अस्तित्व सम्भव हुँदैन । यो कुरा विज्ञान प्रविधिका अन्य देनहरुका साथसाथै मोबाइलको हकमा पनि लागू हुन्छ । मोबाइलले सुविधा दिएको छ, मानिसको जीवन पद्दतिलाई सजिलो बनाइएदिएको छ, त्यसैले यसको व्यापक प्रयोग बढ्दै गएको छ, यो कुरालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । तर मोबाइल प्रयोगको यो बढोत्तरी मोबाइलको उज्यालो पाटोलाई मात्रै हेरेर भइरहेको छ । मानिसहरुले मोबाइलको अन्धधुन्ध प्रयोग गरिरहेका छन् र गर्नु स्वभाविक पनि हो तर यसको उज्याला–अँध्यारा पाटाहरुबारे थाहा पाइरहेको छैनन् र पाउने कोशिश पनि गरिरहेका छैनन्, जसले यर्दा उनीहरुले प्रयोगमा कुनै सावधानी र सतर्कता अपनाइरहेका छैनन् । किनभने, यसको उज्यालो पाटोका बारेमा मात्रै मोबाइल कम्पनीहरुदेखि लिएर प्रायः सबैले हाइलाइट गरेर प्रचारप्रसार गर्ने, बाँड्ने र लिने गरेका छन् । यसको अँध्यारो पाटोका बारेमा चिन्तन–मनन र छलफल खासै हुने गरेको छैन । त्यसतर्फ सोच्ने र चिन्तन–मनन गर्ने फुर्सद र रुचि मोबाइल बेचेर र मोबाइल सेवा प्रदान गरिरहेका कम्पनीहरुमा नहुनु त स्वभाविक नै हो, तर यसबारेमा राज्य र आम उपभोक्ताले पनि खासै चिन्ता–चासो राख्ने गरेका छैन । समस्या यहाँनेर छ ।

माथिका हरफहरु पढिसकेपछि खुल्दुली जाग्न सक्छ, के हो त मोबाइलको अँध्यारो पाटो ? हाक्काहाक्की भन्दा, मोबाइलको अत्यधिक प्रयोगले हाम्रो स्वास्थ्यमा पार्ने खराब दुस्प्रभाव नै हो मोबाइलको सबैभन्दा अँध्यारो पाटो । र, त्यो दुस्प्रभावको चरमोत्कर्ष क्यान्सरसम्म पनि हुन सक्छ– अध्येता र अनुसन्धानकर्ताहरुले चिच्याइचिच्याइकन चेतावनी दिइरहेका छन् । तर मोबाइलकै कारण हुने क्यान्सर, मुटुको रोग जस्ता समस्याहरु तत्कालै देखापरिनहाल्ने स्थितिले यसबारे मानिसले खासै ध्यान दिइरहेका छैनन् । त्यसमाथ थप, विशाल नाफा दिने धन्दाको रुपमा विस्तार भइरहेको मोबाइल कम्पनीहरुको मोबाइलसम्बन्धी चर्को प्रचारप्रसार अनि, सजिलोका लागि र आधुनिक बन्ने होडबाजीका बीच  जसरी एवं जुनसुकै शर्तमा पनि मोबाइल बोक्नेपर्ने हाम्रो बाध्यता/चाहनाका बीच त्यो चेतावनी दबिइरहेको छ । यस्तो लाग्छ, मोबाइलको अँध्यारो पाटोले मोबाइल प्रयोगकर्ताका ठूलो हिस्सालाई नगाँजेसम्म त्यसलाई सुन्ने, बुझ्ने र थाहा पाउने चेत हामीमा पलाउने छैन । 

पहिले धेरै पटक सार्वजनिक रुपमा कुराहरु उठे– मोबाइलको अत्यधिक प्रयोगका कारण मुटुको समस्या, नपुंसकता तथा मस्तिष्कको क्यान्सर हुन सक्छ । तर यो कुरा जति जोडदार रुपमा उठ्नु पर्ने हो त्यति भने उठ्न सकिरहेको छैन । विशेष गरेर यसबारेमा अध्ययन–अनुसन्धान पर्याप्त मात्रामा भइरहेको छैन, त्यसैले मोबाइलका हानिकार पक्षहरु के के हुन सक्छन् भन्ने कुरा उद्घाटित हुन बाँकी नै छ । जतिले अध्ययन गरेका छन् र गरिरहेका छन्, उनीहरुको चेतावनी छ– आगामी १०–२० वर्षमा मोबाइलकै कारण मस्तिष्कको क्यान्सर हुनेहरुको संख्या ह्वात्तै बढ्ने छ । 

उनीहरुले यस्तो चेतावनी दिनुको खास कारण छ । त्यो कारण हो, मोबाइल र मोबाइल टावरबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (Electromagnetic radiation (EMR)) । यसलाई (radiofrequency modulated electromagnetic fields; RF-EMF)  पनि भनिन्छ । यो रेडिएसन मोबाइलबाट मात्रै हैन, मोबाइललाई सुचारु राख्नका लागि ठाउँठाउँमा स्थापना गरिने मोबाइलको टावरबाट अनि वायरलेस प्रविधिमा आधारित अन्य यन्त्रहरुबाट पनि नियमित रुपमा निस्किरहेको हुन्छ । 

प्रमाणित हुन त बाँकी नै छ, तर अनुसन्धानकर्ताहरु शंका गर्छन्, अहिले धेरै प्रजातिका जीव, कीरा फट्यांग्राहरु, चराहरु क्रमशः लोप हुँदैछ र त्यसका पछाडि केही मात्रामा त्यही खतरनाक माइक्रोवेभ इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले पनि केही भूमिका खेलेको छ ।

त्यसो त खतरनाक असर गर्ने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन मोबाइलबाट मात्रै निस्कन्छ भन्ने होइन । मोबाइल, मोबाइलका टावरहरुबाट मात्रै हैन, विज्ञानप्रविधिको विकाससँगै विकसित गरिएका अन्य वायरलेस प्रविधिहरुबाट पनि यो निःसृत भइरहको हुन्छ । त्यसैले मोबाइल प्रयोग गर्नेहरु यसको असरको दायरामा बढी आउने त छँदैछ, मोबाइल नै प्रयोग नगर्नेहरु पनि यसको असरको चपेटामा पर्दैछन् । चिन्ताजनक र खतरनाक कुरा यहाँ पनि छ । 

विगतका केही वर्षदेखि संसारका विकसित मुलुकहरुमा मस्तिष्कको क्यान्सर हुनेहरुको संख्या बढ्दो छ । विशेष गरेर अमेरिका र अस्ट्रेलियामा बच्चाहरुमा मस्तिष्कको क्यान्सर हुने घटना बढ्दै गइरहेको तथ्यांक छ । र, त्यसो हुनुको पछाडि कुनै न कुनै रुपमा त्यही इलेक्ट्रोम्याग्नेटिक रेडिएसन पनि जिम्मेवार छ भन्ने आशंका गर्न थालिएको छ । अनुसन्धानकर्ताहरु त के पनि चेतावनी दिन थालेका छन् भने अहिलेकै रुपमा मोबाइल फोनको प्रयोग बढ्ने हो भने आगामी १० वर्षमा त्यस्तो क्यान्सरको संख्या १ हजार गुना बढ्ने छ । 

मोबाइलको गुणस्तर बढाउन, सबै ठाउँमा यसको नेटवर्कले टिप्ने बनाउनेका लागि मानिसहरुको घना वस्ती भएको क्षेत्रमा मोबाइल टावरहरु राख्नुपर्ने हुन्छ । यो मोबाइलको अनिवार्य पक्ष हो । तर त्यसरी घनाबस्ती, स्कुलहरुको छेउछाउमा टावरहरु राखिँदा त्यो क्षेत्रमा पनि ‘मोबाइल विकिरण’ अत्यधिक मात्रामा फैलिने र त्यसले धेरैभन्दा धेरै मानिसहरुलाई प्रभावित गर्ने कुरा पनि उत्तिकै सत्य हो । अझ स्कुल छेउछाउमा राखिएका मोबाइल टावरका विकिरणहरु बढी खतरनाक हुन्छ किनभने स्कुले बच्चाहरुहरुको खोपडी वयस्कहरुको भन्दा केही पातलो हुन्छ र तिनका मस्तिष्क पूर्ण रुपमा विकसित भइसकेको हुँदैन । फलतः वयस्कहरुको तुलनामा बच्चाहरुको  मस्तिष्कसम्म मोेबाइल विकिरणले सजिलै असर गर्ने सम्भावना बढी हुन्छ । यही कारण नै न्यूजील्याण्डमा स्कुल क्षेत्र आसपास मोबाइलको टावरहरु राख्न प्रतिबन्ध नै लगाइएको छ ।
मोबाइलको माइक्रोवेभ रेडिएसनले मानिसको जीवनमा असर पारिरहेको हुन्छ तर त्योबारे थाहा नपाउँदा हामीले भोग्नुपरेको समस्याहरुलाई अरु कारणहरुतर्फ पन्छाएर बस्ने गर्छौं । उदाहरणको लागि मोबाइलको अत्यधिक प्रयोगले चर्को रुपमा टाउको दुख्ने समस्या उब्जने गर्छ, देख्ने शक्तिमा असर पर्न थाल्छ तर हामी त्यसलाई आँखाको कमजोरी, पिनास, माइग्रेन वा अरु यस्तै यस्तै समस्याको कारण मानेर मोबाइलको खतरनाक पक्षबारे सोच्न पनि चाहँदैनौं, यसको कारण मोबाइल नै पनि हुन सक्छ भन्नेबारे खतरनाक ढंगले आँखा चिम्लन्छौं ।

२१ औं शताब्दीको ‘नयाँ धूमपान’
कतिपय अनुसन्धानकर्ताहरुले मोबाइलको प्रयोगलाई २१ औं शताब्दीको धूमपान (the 21st century version of smoking) को संज्ञा पनि दिने गरेका छन् । हुन पनि शुरु शुरुमा चुरोटले मानिसलाई असर नगर्ने विश्वास गरिन्थ्यो, अहिले मोबाइलले असर गर्दैन भने जस्तै । कतिसम्म भने चुरोटले फाइदा गर्छ भन्ने खालका विज्ञापन पनि कुनै जमानामा छापिने र प्रचार प्रसार हुने गर्थे । तर चुरोट प्रचलनमा आएको केही दशकमै त्यो भ्रम चकनाचुर भयो– चुरोटले फाइदा गर्ने हैन, खतरनाक रोगहरु पो निम्त्याउँदो रहेछ भनेर । अहिले त बच्चा बच्चालाई थाहा छ, चुरोटले गर्ने असर कति खतरनाक हुन्छन् भने । 
त्यसैले अहिले मोबाइलको प्रयोगको सन्दर्भमा ती अनुसन्धानकर्ताहरु इतिहास दोहोरिन थालेको दावी गर्न थालेका छन् । उनीहरुको दावी अनुसार, मोबाइल र अन्य वायरलेस यन्त्रहरुले गर्ने केही असरहरु यस प्रकार छन्ः
* मस्तिष्कको क्यान्सर
* रक्तकोषहरुको विनाश र ती कोषहरुको वनावटमा परिवर्तन
* छालाका कोषहरुको प्रोटिनको संरचनामा परिवर्तन
* डिएनएका क्षति
* स्नायु कोषहरुमा क्षति
* मानव स्वभावमा परिवर्तन र सामाजिक–पारिवारिक सम्बन्धमा समेत त्यसको असर
*अल्जिमर रोग लाई बढावा दिने ।  यो रोगमा मस्तिकमा क्षति हुन्छ, जसले मानिसमा भ्रम पैदा गराइदिन्छ र स्मरण शक्ति पनि हराउँदै जान्छ ।
* आँखामा असर
* अनिद्रा

केही समयअघि स्वीडेनमा डच हेल्थ काउन्सिलद्वारा गरिएको एउटा अनुसन्धानले देखाएको छ, मोबाइल प्रयोग गर्नेहरुमा भन्दा यसको प्रयोगकर्ताहरुमा मस्तिष्कको क्यान्सर हुने खतरा २४० गुना बेसी हुन्छ । २२ सयजना क्यान्सर रोगीहरु र त्यत्तिकै संख्यामा स्वस्थ मानिसहरुमाथि गरिएको उक्त अध्ययनमा सो तथ्य पत्ता लागेको हो । सोही अध्ययनले त कतिसम्म देखाएको थियो भने मस्तिष्कको क्यान्सर हुने खतरा मोबाइल बढी प्रयोग गरिने कानपट्टिको क्षेत्रमा हुने सम्भावना चारगुना बेसी रहन्छ । 

त्यसैगरी, २००४ तिर नै गरिएको एक अनुसन्धानले पनि मोबाइल प्रयोग गरिने कान भएको टाउकोको क्षेत्रतिर क्यान्सर हुने खतरा बढी रहने देखाएको थियो । करिब १५० जना  श्रवण स्नायुमा क्यान्सर भएका रोगी तथा ६०० जना स्वस्थ गरी जम्मा ७५० जना मोबाइल प्रयोगकर्ताहरुमा गरिएको सो अनुसन्धानमा दिनको करिब १ घण्टाका दरले १० वर्षसम्म लगातार मोबाइल प्रयोग गर्नेहरुमा श्रवण स्नायुमा क्यान्सर हुने खतरा दोब्बर रहेको  समेत पत्ता लागेको थियो । यसबाट मोबाइलको प्रयोग गरिएको समयावधिले पनि प्रयोगकर्तामा श्रवण स्नायुको क्यान्सर हुने कुरालाई बढी प्रभावित गर्ने देखिएको थियो ।

मोबाइलका अँध्यारा पक्षहरुका बारेमा खोतलखातल गर्न लागिपरेका अनुसन्धानकर्ताहरु त कतिसम्म दावी गर्छन् भने मोबाइल र वायरलेस यन्त्रहरुको प्रयोगकै कारण सन् २०१० सम्ममा प्रतिवर्ष ५ लाख मानिसहरु मस्तिष्कको क्यान्सरको शिकार बन्ने छन् र यो खतरनाक पाटोलाई बेलैमा सम्बोधन गरिएन भने सन् २०१५ सम्ममा आइपुग्दा त्यो संख्या बढेर प्रतिवर्ष १० लाख बन्नेछ ।

लिंकन युनिभर्सिटी इन क्रिस्ट चर्च, न्यूजील्याण्डको एक अध्ययनले देखाएअनुसार मोबाइलको रेडिएसनले मानिसको मुडलाई पनि नराम्ररी प्रभावित गरिदिन्छ । विशेष गरेर सो रेडिएसनले मानिसको मस्तिष्कलाई सही अवस्थामा राख्ने मिनरलहरु, हर्मोनहरुमा गडबडी पैदा गरिदिन्छ, त्यसले क्याल्सियम र सेरोटोनिनको स्तरलाई उथलपुथल पारिदिन्छ । फलतः मानिसहरु डिप्रेसन, क्रोध, कुण्ठा र हिंस्रक भावनाहरु पैदा हुन्छ । कतिसम्म भने त्यसले मानिसलाई आत्महत्या गर्नेसम्म बनाइदिन सक्छ । 

मोबाइलले गर्ने स्वास्थ्यजन्य खराब पाटो त छँदैछ, यसले गर्ने ध्यान विकर्षणका कारण हुने सवारी दुर्घटनाको कथा त बेग्लै छ । सन् १९९७ मा मात्रै न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसनमा प्रकाशित एक रिपोर्ट अनुसार मोबाइलमा कुरा गर्दै मोटर चलाउँदा हुने सवारी दुर्घटनाले मृत्युको सम्भावनालाई ४०० गुना बढाइदिन्छ । एक अध्ययनको रिपोर्ट अनुसार मोबाइलको रेडिएसनले मानिसको एकाग्रता, स्थितिको सही विश्लेषण गर्ने र सही समयमा सही निर्णय गर्न सक्ने क्षमतालाई पनि प्रभावित गरिदिन्छ । युएस डिपार्टमेन्ट अफ इनर्जीले गरेको अर्को एक अध्ययन रिपोर्ट अनुसार चाहिँ मोबाइलको रेडिएसनले मस्तिष्कलाई कमजोर बनाइदिने र सही समयमा प्रतिक्रिया दिन सक्ने क्षमतालाई समेत फितलो बनाइदिन्छ ।  

मोबाइलका अँध्यारापाटाहरुका बारेमा अध्ययन–अनुसन्धान गरिरहेकाहरु आरोप लगाउने गर्छन्, मोबाइलको यो खराब पक्षबारे मोबाइल कम्पनीहरुलाई राम्ररी थाहा छ, तर पनि उनीहरु नाफाको लोभमा अन्धा बनेका छन् र यो तथ्यलाई चर्को प्रचारबाजीको खोलले ढाकछोप गर्ने गरेका छन् । उनीहरु त कत्तिसम्म आरोप लगाउने गर्छन् भने यो भनेको कानूनी जामा पहिराएर ‘मानवताविरुद्ध गरिएको अपराध’ हो । र, आम सञ्चार माध्यमहरुले पनि यो सत्यतथ्यलाई नजानेर हो वा मोबाइल कम्पनीहरुबाट पाइने विज्ञापनको लोभले हो, यसबारेमा खासै चर्चा परिचर्चा र बहस छलफलहरु चलाउने नगर्ने गरको आरोप अनुसन्धानकर्ताहरुको छ ।

गर्ने के ?
यसको यो अर्थ कदापि होइन– आधुनिक जीवनपद्दतिको अभिन्न अंग बनिसकेको मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाइनुपर्छ, यसलाई निषेध गरिनुपर्छ । कुरा यति मात्रै हो, मोबाइलको अन्धधुन्ध प्रयोग गर्दा यसबाट हुन सक्ने सम्भावित हानी नोक्सानीलाई कसरी कम गर्ने भन्नेतर्फ चिन्ता चासो र चेतना जगाउने अनि मोबाइलको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ ठोस र चाँडो पहलकदमी गरिनुपर्छ । त्यसका लागि सबैभन्दा ठूलो जिम्मेवारी प्रयोगकर्ताहरुमै रहन्छ । जस्तो, मोबाइलको अनावश्यक प्रयोगलाई नै घटाउन सकिन्छ । त्यसका लागि आवश्यक अवस्थामा बाहेक ल्याण्डलाइनहरुको प्रयोग गर्न सकिन्छ ।

मोबाइलमा प्रयोग हुने इन्फ्रारेड, ब्लु तुथ जस्ता डिभाइसहरुले इलेक्ट्रोम्याग्नेटिक रेडिएसन बढी त फैलाउँछ नै, त्यसले मानिसलाई पनि बढी असर गर्ने गर्छ । त्यसैले त्यस्ता डिभाइसहरुको प्रयोग सकेसम्म गर्दै नगर्ने बानी बसालौं । मोबाइललाई राख्दा छात्तीको देब्रेतिर राख्नुको सट्टा दाहिनेतिर, पाइन्टको पछिल्लो गोजीतिर राख्ने गरेर त्यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ । अझ सकिए त मोबाइललाई शरीरका साथमा हैन, शरीरभन्दा अलग अरु झोलामा राख्ने गर्नुपर्छ । मोबाइल प्रयोग गर्दा एउटै कानतिरमात्रै गर्ने नगरेर कहिले दाहिने, कहिले देब्रे कानले सुन्ने गरेमा पनि एकैक्षेत्रमा लगातार इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको असर नपर्ने हुन्छ, जसले गर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले काम गर्न पाई क्षति न्यून हुने सम्भावना बढ्छ । अझ राम्रो त मोबाइलको प्रयोग गर्दा स्पीकर फोन सुविधाको उपयोग गर्नुमा हुन्छ । त्यसैगरी, हेडफोनको प्रयोगबाट पनि यसले गर्ने असरलाई कम गर्न सकिन्छ । हेडफोन वा स्पीकर फोनको प्रयोग गर्दा कम्तिमा रेडिएसनले सोझै मस्तिष्कमा पार्ने असरको मात्रा न्यून हुन्छ । वयस्कहरुलाई भन्दा बच्चाहरुलाई मोबाइलको रेडिएसनले छिटो र बढी असर गर्ने भएकोले सकेसम्म बच्चा तथा कलिला उमेरका केटाकेटीहरुलाई मोबाइल चलाउन, खेलाउन दिनुहुँदैन । राज्यले नै नियन्त्रण गर्न त नमिल्ला र तर अभिभावकहरुले आफ्ना छोराछोरीलाई निश्चित उमेर नपुगेसम्म मोबाइल प्रयोग गर्न नदिने र प्रयोग गर्दा पनि कसरी सुरक्षित तवरले गर्ने भन्नेबारेमा प्रशिक्षित गर्नु जरुरी छ । 

 सबैभन्दा मुख्य कुरा त मोबाइल वा वायरलेस प्रविधिका उज्याला पक्ष मात्रै हैन, त्यसका अँध्यारापक्षबारे पनि सबैले थाहा पाउनै पर्छ र दिइनै पर्छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयवस्तुलाई नाफा र बढी राजस्व उठाउने माध्यमको रुपमा मात्रै लिने हो र यसका अँध्यारा पाटाहरुका बारेमा पनि चिन्तन–मनन र सार्वजनिक बहसहरु नगर्ने हो भने त्यो शत्रुबाट बच्नको लागि सुतुरमुर्गले बालुवामा टाउको लुकाएको सरह मात्रै हुनेछ । त्यसैले मोबाइलको सकारात्मक पाटाका सँगसँगै त्यसका अँध्यारा पाटाहरुबारे पनि बोल्ने हिम्मत गर्नैपर्छ । त्यसो भएको खण्डमा मोबाइलको प्रयोग गर्ने–नगर्ने वा कति गर्ने र त्यसको कसरी सुरक्षित प्रयोग गर्ने भन्नेबारेमा आम बहस चल्न थाल्नेछ र त्यसले मानिसहरुमा जनचेतना पनि जागृत गर्न थाल्नेछ । त्यसो भएको खण्डमा मोबाइलका अँध्यारापाटाहरुलाई हटाउनेतर्फ कम्पनीहरु तथा अनुसन्धानकर्ताहरुको ध्यान र स्रोतहरु केन्द्रित हुन थाल्नेछ, जसले गर्दा विज्ञान–प्रविधिले मानवलाई प्रदान गरेको यो चमत्कारी खोजको सही, सार्थक र सुरक्षित उपयोग हुन थाल्नेछ ।

स्रोतहरुः www.mercola.com का विभिन्न मितिका रिपोर्टहरु, BioMed Central मा प्रकाशित Mobile phone radiation might alter protein expression in human skin शीर्षकको रिपोर्ट, www.willthomas.net मा प्रकाशित विलियम थोमसको Cell Phone Health Risks शीर्षकको USA Today,  Wired News, ZDNet मा प्रकाशित सामग्रीहरु तथा विभिन्न वेभसाइटहरु

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...