बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँग्रेस अब चुप लागेर बस्दैन’

बुधबार, ०१ जेठ २०७६, १२ : २०
बुधबार, ०१ जेठ २०७६

काठमाडौँ– नेपाली काँग्रेसले अहिले देशव्यापी रूपमा जागरण अभियान सुरु गरेको छ । अभियानअन्तर्गत पार्टीले आफ्ना जिल्ला सभापातिहरूलाई सक्रिय बनाएको छ । अभियान सफल पार्न जुटेका धेरै काँग्रेस नेतामध्येका एक हुन् मकवानपुर काँग्रेस सभापति इन्द्र बानियाँ । बानियाँ प्रदेश ३ सरकारको प्रतिपक्ष दलका नेतासमेत हुन् । प्रदेश ३ सरकारले सङ्घीय सरकारको जस्तै जनताको भावनाअनुसार काम गर्न नसेकाको गुनासो बानियाँको छ । प्रस्तुत छ बानियाँसँग गरिएको कुराकानीः

काँग्रेसले अहिले सुरु गरेको जागरण अभियानको उद्देश्य के हो ?
–जागरण अभियानको उद्देश्य सबैभन्दा पहिले नेपाली काँग्रेसका नेतादेखि कार्यकर्ताहरूलाई जागृत बनाउने नै हो ।  सत्य कुरा बोल्ने हाम्रो अभियान हो । हुँदै नभएका कुरा हामी बोल्दैनौँ । गरिब, निमुखालाई आशा मात्र देखाउने काम पनि हामी गर्दैनौँ । अहिले निमुखालाई न्याय छैन । कम्युनिस्टहरूले झुटैझुटको खेती गरी जनतालाई आशा र त्रास देखाई मत लिएका छन् तर काम भने केही गरेका छैनन् । । कम्युनिस्टको यस्तो शैलीको भण्डाफोर गर्ने यो अभियानको उद्देश्य हो । कम्युस्टिहरूले जनतालाई झुटो बोले, नहुने, हुन नसक्ने कुरा गर्ने, ५० वर्षपछि पनि हुन नसक्ने कुरामा उनीहरूले आशा देखाए । जनता हिँड्ने बाटो राम्रो बनाउन सकेका छैनन्, शुद्ध खानेपानी दिन सकेका छैनन् । राम्रोसँग स्वास्थ्य उपचार सेवा दिन सकेका छैनन् ।  गरिबका छोराछोरी पढ्ने स्कुलको व्यवस्थापन राम्रोसँग गर्न सकेका छैनन् तर हुन नसक्ने, हावादारी कुरा गरेर,  रेलको कुरा गरेर जनतालाई भ्रम सिर्जना गर्ने काम गरीरहेका छन् । यसरी भ्रम सिर्जना गर्नेहरूप्रति जनतालाई होसियारी गराउनु यो अभियानको उद्देश्य हो । यो अभियान राष्ट्रिय अभियान हो । जनतालाई जागृत गर्नुअघि हामी काँग्रेसका कार्यकर्ता र नेता जागृत हुनुपर्छ भन्ने मान्यताको साथ यो अभियान सुरु गरेका हौँ । हामी जनतालाई जागृत गराउँछौँ । 

यो अभियन सरकारको विरोधमा हो ?
–पहिले आफूभित्र जागृत गराउने यो अभियानको उद्देश्य हो ।  काँग्रेसका कार्यकर्ता र नेता जागृत भइसकेपछि जनतालाई जागृत गराउनु अभियानको उद्देश्य हो । सरकारको भण्डाफोर गर्ने नीति यो अभियानभित्र  छ । सरकारलाई नियम कानुन बनाउन हामीले केही समय दियौँ । यो बीचमा बन्द हड्ताल जस्ता कार्यक्रम गरेनौँ । यो हाम्रो कमजोरी होइन । हामीले जिम्मेवारी निभाएका हौँ । लामो इतिहास बोकेको एउटा जिम्मेवार पार्टी भएको हैसियतले त्यो जिम्मेवारी निभाएका हौँ । सङ्घीय व्यवस्थालाई स्थायित्व दिन बन्द हड्ताल मात्र नभई संसद्मा अवरोध गर्ने काम पनि हामीले गरेनौँ तर जनताको भविष्य अन्धकार हुन थालेपछि हामीले जागरण अभियान लिएर वर्तमान सरकारले गरेका भ्रमको खेतीको भण्डफोर गर्ने निर्णय गरेका हौँ । यस अभियानमा हामी काँग्रेसका कार्यकर्ताहरूलाई जागृत गराउँदै  जनतालाई सुसूचित बनाउँदै अघि बढ्छौँ । 

भनेपछि काँग्रेसले अब आन्दोलनको तयारी सुरु गरेको हो ?
–काँग्रेसले सुरु गर्ने आन्दोलनको तयारीका लागि जनतालाई जागरण गराउनु यो अभियानको उद्देश्य हो । कार्यकर्तासहित जनतालाई जागरण गराउन हामी यस अभिायनमा लागेका छौँ ।

आन्दोलन कहिलेबाट हुन्छ त ?
–आन्दोलनको आवश्यकता जनता र कार्यकर्ताले महशुस गरे भने आन्दोलन सुरु हुन्छ । अहिले नै आन्दोलन यति गतेदेखि सुरु हुन्छ भनेर तिथिमिति नतोकौँ तर यही स्थिति रह्यो भने आन्दोलनले ठूलो रूप लिन सक्छ । 

जागरण अभियानमा काँग्रेस एक जुट भएको छ  ?
–काँग्रेस एक जुट छ । काँग्रेसभित्र अनेक मन र अनेक गुट पनि छन् । अनेक मन र अनेक गुटभित्र पार्टीको सिद्धान्त र दर्शन एउटै छ । एउटै दर्शन र सिद्धान्तभित्र काँग्रेसले नमिलेको मनलाई मिलाएर र अनेक गुटलाई एक ठाउँमा ल्याएर राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । त्यसका लागि हामी परिचालित भएका हौँ ।

–यो अभियानमा पौडेल पक्ष र सिटौला पक्षले पार्टी सभापति शेरबहादुर देउवलाई सहयोग गर्नुभएको छ  ?
–जागरण अभियान सिङ्गो पार्टीको नीति र निर्देशन हो । पार्टीका सबै नेताहरू एक ठाउँमा बसेर यो अभियान ल्याउनुभएको हो । सबै नेताले एक ठाउँमा छलफल गरी यो आभियानको सुरुवात गर्नुभएको हो । त्यसैले काँग्रेसमा अहिले सबै नेता एकै ठाउँमा हुनुहुन्छ ।  

यो अभियानले काँग्रेसको सङ्गठन बढाउँछ ?
–यो अभियानले काँग्रेसको सङ्गठन बढाउँछ नै, साथै जनतालाई सुसूचित पनि गराउँछ । यस अभियानमार्फत् सङ्गठन विस्तार गर्नेसँगै जनतालाई भ्रमको खेती गर्नेहरूको उजागर गर्छौं । काँग्रेसमा सङ्गठन निर्माण गर्ने र काँग्रेसभित्र नमिलेको मन तल गाउँ, वडादेखि क्षेत्र, नगर र जिल्लासम्म मिलाएर हिँड्ने यो अभियानको उद्देश्य हो ।  

काँग्रेसको प्रतिपक्षीय भूमिका कमजोर भयो भन्ने गुनासो आउने गरेको छ । यस्तो बेला यो अभियानले प्रतिपक्षको भूमिका बलियो बनाउन खोजेको हो ?
–अरूले देख्दा काँग्रेसको प्रतिपक्षीय भूमिका कमजोर भएको देखेका होलान् तर हामी जिम्मेवार भएका हौँ । कानुन, नियम र व्यवस्था टिकाउन हामी जिम्मेवार भएका हौँ । गैरजिम्मेवार भई चक्का जाम गर्ने, रेलिङ भत्काउने, माइक फुटाएर संसद् अवरोध गर्ने कार्य गर्ने हो भने अहिलेको संसदीय व्यवस्था अप्ठ्यारोमा पर्न सक्छ । हिजो २०४८ सालमा सय दिन नपुग्दै कम्युनिस्टहरूले  कर्मचारीलाई उचालेर, आन्दोलन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गरेका थिए । बहुमतको सरकारलाई अस्थिरतातर्फ धकेलेर मुलुकमा अन्योल सिर्जना गर्ने काम उनीहरूले गरे । हामीले त्यो इतिहास हेरर जिम्मेवार बनेका हौँ । राजनीति भनेको जनताको भविष्य उज्ज्वल बनाउने काम हो । जुन पार्टीले राम्रो काम गर्छ, त्यो पार्टीलाई जनताले भोट दिन्छन् । एक पटक जनता झुक्किएका हुन् । अब नझुक्किऊन् भनेर हामीले जागरण अभियान सुरु गरेका हौँ । काँग्रेसले कमजोर प्रतिपक्ष भूमिका निभाएको होइन । जिम्मेवार भएको हो । काँग्रेस कमजोर छैन, हुँदैन पनि । यो कुरा जागरण अभियानमा देखिन्छ । अहिले जसरी  संविधान मिच्ने काम भइरहेको छ यसको विरोध काँग्रेसले अब सशक्त रूपमा गर्छ । 

भनेपछि अब काँग्रेस चुप लाग्दैन ?
–हो, अब काँग्रेस चुप लागेर बस्दैन । अहिलेको जागरण पहिलो चरणको अभियान हो । अब अरू चरणका गतिविधिहरू हुँदै जान्छन् । 

प्रदेश ३ को प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतले विकासका लागि तपाईंले कसरी आवाज उठाउनुभएको छ ?
–हामीले प्रदेश ३ को समग्र विकास, प्रदेशको राजधानी र यसको नामकरणको मुद्दा उठाएका छौँ । अहिले जति विधेयक बनेका छन् यी विधेयक अझै पयाप्र्त छैनन् । अझै विधेयक बनाउन आवश्यक छ । जति विधेयक बनाउनुपर्ने हो, ती विधेयक चाँडोभन्दा चाँडो बनाई प्रदेश ३ लाई विकासको बाटोमा लैजान हामीले खबरदारीका साथ अघि बढेका छाँै । राजधानीको कुरालाई पहिले टुङ्ग्याऔँ भन्ने हाम्रो अडान छ । बजेटमा विभेद गर्नु हुँदैन । बजेट जनताका लागि जाने हो । बजेट सबै वर्ग, समुदाय र सबैको भागमा पुग्नुपर्यो । राजनीतिक आधारमा बजेटको भागबण्डा गर्नु भएन । आवश्यकतालाई हेरेर बजेट विनियोजन गरौँ भन्ने हाम्रो मान्यता हो । 

कम्युनिस्ट सरकार असफल भएको हो ?
–अहिले हेर्दा यो सरकार पूर्ण रूपमा असफल हुने दिशामा अघि बढिरहेको छ । सरकारले जनताका आकाङ्क्षाहरू पूरा गर्न सकेको छैन ।

प्रदेश ३ सरकार पनि असफल भएको हो ?
–प्रदेश ३ सरकारले पनि जनताले सोचेअनुसार उपलब्धि हाँसिल गर्न सकेको छैन । प्रदेश ३ सरकार पनि असफलताको दिशामा अघि बढिरहेको देखिन्छ । कम्युनिस्टहरूको यति ठूलो बहुमत हुँदा पनि उनीहरूले व्यवस्था ठीक ढङ्गले चलाउन सकेनन् । उनीहरूले जनताको पीडामा मलमपट्टी लगाएनन् । अब हामी सशक्त रूपमा जनतालाई जागृत गर्दै अघि बढ्ने अभियान सुरु गरेका छौँ । यस कामका लागि कार्यकर्ताहरूलाई ‘अब उठौँ र अघि बढौँ’ भनेका छौँ । यो हाम्रो अहिलेको विषय हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप