पर्वतारोहणबाट मात्रै ५५ करोड राजस्व सङ्कलन, सगरमाथा चढ्नेको ओइरो
काठमाडौँ । पछिल्लो समय पर्वतारोहीको सङ्ख्यामा बढोत्तरी आएसँगै राज्यको राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ मा मात्र एक हजार हाराहारीमा पर्वतारोहीले नेपालका विभिन्न हिमालको आरोहण गरेका छन्, जसबाट करिब ५५ करोडको राजस्व सङ्कलन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १०६ समूहमा रहेर ८४२ जना स्वदेशी तथा विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य ३० पर्वतको सफल आरोहण गरेका छन् । त्यसबाट ५५ करोड ५ लाख ५७ हजार ७ सय ३८ रुपैयाँ सैंतीस पैसा राजस्व सङ्कलन भएको छ । यो पर्वतारोहण क्षेत्रबाट अहिलेसम्मकै उच्च राजस्व सङ्कलन हो ।
गत आर्थिक वर्ष २०७४/७५ मा पर्वतारोहण क्षेत्रबाट ४६ करोड ६१ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो । यस वर्ष आर्थिक वर्ष अन्त्य हुन दुई महिना अगावै ५५ करोड नागेको हो । यो रकम अझ बढ्न सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले बताए ।
‘५५ करोडमाथिको राजस्व सङ्कलन गर्दै पर्यटन क्षेत्रबाट पर्वतारोहणले नयाँ रेकर्ड कायम गरेको छ । अझ यो रेन्ज बढ्न सक्छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६० करोड पुग्ने हाम्रो अनुमान छ ।’ उनले भने, ‘पर्यटन सिजन सकिन लागे पनि पर्यटकको आकर्षण र आगमनको निरन्तरताले भने यो रेन्ज अझ माथि उठ्ने देखिन्छ ।’
गत वर्षभन्दा यस वर्ष करिब २० प्रतिशतले पर्यटन राजस्व बढेको छ । निर्देशक थापाका अनुसार नेपालको भू–राजनीति र पर्यटन पोलिसी लगायत पर्यटन र पर्यटकमैत्री शान्तिपूर्ण वातावरणका कारण बाह्य पर्यटक बढेर गएको हो । त्यति मात्र नभएर पछिल्लो समय आन्तरिक पर्यटकसमेत ह्वात्तै बढेको छ ।
सगरमाथा चढ्नेको ओइरो
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको सङ्ख्यामा बढाेत्तरी भएको छ । विश्वभरका पर्वतारोहीको आकर्षण सगरमाथा हुने गरेको छ । पछिल्लो समय विदेशी पर्वतारोही मात्र नभएर नेपाली पर्वतारोहीसमेत सगरमाथा चढ्ने होडमा देखिन्छन् । यसले पर्यटन क्षेत्रको विकास विस्तार एवम् प्रवद्र्धनमा सहयोग त मिलेको छ नै अझ यसले मुलुकको राजस्व सङ्कलनमा समेत महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र ३७८ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् भने यसबाट ३९ लाख ७५ हजार अमेरिकी डलर अर्थात् ४३ करोड ९९ हजार २ हजार ७ सय १२ रुपैयाँ सङ्कलन भएको छ, जसमा १३ जना नेपाली पर्वतारोही रहेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि) पछि दोस्रोमा ८५१६ मिटर उचाइमा रहेको लोत्छे हिमालप्रति आरोहीहरूको आकर्षण देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा ९२ जना पर्वतारोहीले लोत्छेको आरोह गरेका छन् भने यसबाट एक करोड ८१ लाख ४८ हजार ८ सय १५ रुपैयाँ राजस्व उठेको छ ।
त्यस्तै तेस्रोमा मकालु हिमाल परेको छ, जुन हिमाल ५३ जनाले आरोहण गरेका छन् भने यसबाट एक करोड ५ लाख ३८ हजार ७ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यी लगायत नेपालका परिचित र पर्वतारोहणका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका ६ हजार रेन्ज माथिका कञ्चनजङ्गा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लु, अपी, पासाङ ल्हामु लगायतका ३० भन्दा बढी पर्वतहरूको समेत पर्वतारोहण भइरहेका छन् । यी हिमाल तथा पर्वतको समेत राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार