बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तीनै तहका सरकारबीच समन्वय जरुरी’

सोमबार, ३० वैशाख २०७६, २० : ५४
सोमबार, ३० वैशाख २०७६

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सबै तहका सरकारबीच समन्वय र सहकार्यका आधारमा काम गरेर अगाडि बढ्न सके परिणाम हासिल गर्न सकिने बताए । 

उनले विभिन्न जटिलताका बाबजुद पनि कूल ग्रार्हस्थ्य उत्पादन र आर्थिक वृद्धिदरका हिसाबले प्रदेश नं ५ अगाडि रहेको उल्लेख गरे । विकासको सबैभन्दा उच्चदरको आर्थिक वृद्धिदर हासिल गरेर प्रदेश सुखद् सम्भावनातर्फ अगाडि बढेको उनले स्पष्ट पारे । 

मुख्यमन्त्री पोखरेलले विभिन्न कठिनाइ झेलेर पनि प्रदेशको विकासले गति लिएकाले उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले कर्मचारीमा काठमाडौँ केन्द्रित मानसिकता हट्न नसक्दा प्रदेश सरकारले समस्या झेल्नु परे पनि अब भने नयाँ सम्भावनातर्फ प्रवेश गरेको उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले प्रदेशमा तीन हजार जनशक्ति आवश्यक रहेकामा करीब एक हजारको हाराहारीमा कर्मचारी समायोजनबाट प्रदेश सरकारले प्राप्त गर्न सकेको बताए । 

प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेशको आवधिक योजनाबारे जानकारी गराएका थिए । योजनामा ५१ विषयगत क्षेत्र समेटिएका उनले बताए । 

प्रदेश समन्वय परिषद् बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीयताका आयाम र वित्तीय सङ्घीयताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रस्तुत विषयमा सहभागी प्रतिनिधिबीच समूहगत छलफल गरेर साझा धारणा तयार गरिने बताइएको छ । बैठकमा प्रदेशका सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रदेशसभा सदस्य, प्रदेश सरकारका विभिन्न निकायका प्रमुखको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप