शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब छाड्ने हल्लापछि पहिलो पटक प्रशिक्षणमा फर्किए रोनाल्डो

आइतबार, २२ साउन २०७४, १३ : २१
आइतबार, २२ साउन २०७४

म्याड्रिड – ट्रान्सफर विन्डोको शुरुवातमा क्लब छाड्ने हल्ला चलेपछि क्रिस्टियानो रोनाल्डो पहिलो पटक रियल म्याड्रिडको प्रशिक्षणमा फर्किएका छन् ।

रियलले शनिबार रोनाल्डोले आफ्ना समकक्षीहरुसँग प्रशिक्षण गर्दै गरेको तस्विर सार्वजनिक गरेको हो । 

पोर्चुगलसँग कन्फेडरेसन्स कप खेल्नुका साथै सन्तानलाभका कारण रोनाल्डो अन्य खेलाडीहरुभन्दा ढिला गरी प्रशिक्षणमा फर्किएका हुन् ।

च्याम्पियन्स लिग उपाधि जितेपछि निकै नाटकीय बनेको केही महिनामा रोनाल्डोमाथि कर छलीको आरोप लाग्नुका साथै रोनाल्डोले स्पेन छाड्ने हल्ला चलेको थियो । कर छलीका विषयमा उनी गत सोमबार अदालतसामु उपस्थितसमेत भएका थिए ।

रोनाल्डोले आफूमाथि आर्थिक अनियमितताको आरोप बारम्बर खण्डन गर्दै आइरहेका छन् । यहीबीचमा उनी यस प्रकरणमा असन्तुष्ट रहेको र स्पेन छाड्ने मनस्थितिमा पुगेको समाचारहरु बाहिर आएको थियो ।

अहिलेलाई रोनाल्डो रियलमा नै रहने देखिएको छ । क्लबले पनि उनलाई निर्दोष बताउँदै यस विषयमा समर्थन गरिरहेको छ ।

३२ वर्षीय खेलाडीमाथि सन् २०११ र २०१४ को बीचमा कर स्वरुप १.४७ करोड युरो छली गरेको आरोप लगाइएको छ ।

रियलले केही दिनमा महत्वपूर्ण खेलहरु खेल्नेछ । जसमा मंगलबार युइएफए सुपर कपमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ भने दुई लेगको सुपरकोपा डे एस्पानामा चिरप्रतिद्वन्द्वी बार्सिलोनाको सामना गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप