शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा पुस्तकालय स्थापना गर्न सोमबार बेलायतमा च्यारिटी कार्यक्रम गरिँदै

आइतबार, २९ वैशाख २०७६, २३ : ४०
आइतबार, २९ वैशाख २०७६

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न भोलि सोमबार बेलायतमा च्यारिटी कार्यक्रमको आयोजना गरिने भएको छ । 

 नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए । 
धुवाँकोट क्षेत्रको लोकप्रिय मानिने  विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको तिमल्सिनाले जानकारी दिए । 

भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्य भने पुरा हुन सकेको छैन । 

भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको हो । तिमल्सिनाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । 

एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको थियो । गत अप्रिल पहिलो साता एशोसिएसनमा दधि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पहिलो च्यारिटी गर्न लागिएको हो । 

संस्थापक अध्यक्ष तिमल्सिनाका अनुसार पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ । जुन रकम पुस्तक खरिदलगायतका आन्तरिक व्यवस्थापनमा खर्च गरिनेछ । 

च्यारिटीमा नेपालबाट आउने राष्ट्रिय स्तरका कलाकारको भव्य प्रस्तुति समेत रहने तथा कार्यक्रम संयोजक कृष्ण ढकालले जानकारी दिए । बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहने उनले बताए । कार्यक्रममा करीब ६ सय जनाको सहभागिता रहने अपेक्षा लिइएको छ । 

 ढकालले मिडल्याण्डबासी सबै नेपालीलाई कार्यक्रममा आएर भरपूर मनोरञ्जन लिनको लागि पनि अनुरोध गरेका छन् । 

कार्यक्रममा १० पाउण्डको टिकट तय गरिएको छ भने ५ देखि १० वर्ष मुनीका बालबालिकाको हकमा ७ पाउण्डको तय गरिएको छ ।  

सेफ एशोसिएसन बेलायमा क्रियाशिल सबै नेपाली सेफहरुलाई संगठित गर्ने प्रमुख लक्ष्य बोकेको संस्था हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप