केन्द्रीय संस्करण
जीवजगत् जीवजगत्

जाडोमा भ्यागुता कहाँ जान्छ ?

person explore access_timeबैशाख २९, २०७६ chat_bubble_outline0

भ्यागुताहरु प्रायः पोखरी र खोलाको किनारमा बस्ने गर्छन् । तपाईंहरु पनि खोला वा पोखरीको छेउमा बस्नुहुन्छ भने अवश्य पनि तपाईंहरुले भ्यागुता धेरै देख्नु भएको छ होला । तिनीहरु विशेष गरेर पानी पर्ने समयमा बढी सक्रिय हुने गर्छन् । वर्षाको बेलामा त यिनीहरु हाम्रै घर वरपर आउँछन् र ठूलो स्वरमा कराउने गर्छन् । घरछेउमा खेत पोखरी नहुनेले पनि यति बेला भने अवश्य नै भ्यागुतालाई सुन्न र देख्न पाउँछन् । तर जाडोको समयमा भने हामी न त तिनीहरुलाई सुन्न सक्छौँ न त देख्न नै सक्छौँ । आखिर जाडोमा तिनीहरु कहाँ जान्छन् त ?

भ्यागुताहरु चिसो रगत हुने प्राणीहरुको समूहमा पर्दछन् । तिनीहरु पानी र जमिन दुबैमा बस्न सक्छन् । यस्ता प्राणीहरुलाई ‘उभयचर प्राणी’  भनिन्छ । अंग्रेजीमा यसलाई ‘एम्फिबियन’ (Amphibian)  भनिन्छ । जसको अर्थ ‘दुईवटा जीवन’ हो । एउटा विकसित भ्यागुताको हाम्रो जस्तै फोक्सो हुने गर्छ । तर त्यसको सास फेर्ने तरिका भने हामीभन्दा फरक हुन्छ । त्यसले पहिले नाकबाट सास मुखमा भर्ने गर्छ । त्यसपछि आफ्नो घाँटी उठाएर हावालाई फोक्सोमा पठाउँने गर्छ ।

जाडोमा पोखरीको पानी एकदमै चिसो हुने गर्छ । खानेकुराहरु पनि भनेजस्तो पर्याप्त मात्रामा पाइँदैन । अझ ध्रुवीय क्षेत्रका नजिकमा रहेका ठाउँहरुमा पोखरी बरफमा नै परिणत हुने गर्छन् । यति बेला भ्यागुताहरु पोखरीको फेदमा जान्छन् र आफूलाई माटोले पुरेर बस्ने गर्छन् । पोखरीको माथिल्लो भाग बरफमा परिणत भए पनि त्यसको फेद भने कहिले पनि बरफ हुँदैन । यसरी पोखरीमै बसे पनि भ्यागुताहरु बरफमा जम्दैनन् । तर त्यहाँ धेरै चिसो भने अवश्य नै हुने गर्छ । जब उभयचर प्राणीको शरीरको तापक्रम घट्छ, तब तिनीहरुलाई कम अक्सिजन चाहिने गर्छ । किनभने यति बेला उनीहरुको शरीरका जरुरी अंगहरुबाहेक सबै अंगहरु सुतेको अवस्थामा रहन्छन् र उनीहरुले करीब करीब खानेकुरा नै पनि खान बन्द गरिरहेका हुन्छन् । यसलाई शीतनिद्रा (hibernation)  भनिन्छ । यस्तो अवस्थामा भ्यागुता लामो समयसम्म पोखरीमा सास नफेरिकन नै बस्न सक्छन् ।

हामीले पढेका छौं, पानी अक्सिजन र हाइड्रोजन मिलेरबनेको हुन्छ । यसको अर्थ पानीमा पनि अक्सिजन हुने गर्छ । तिनीहरुले छालाको मदतबाट पानीबाट पनि शरीरलाई चाहिने मात्रामा अक्सिजन लिने गर्छन् । कहिले कहिले भने तिनीहरु पोखरीको फेदमा नभएर खोला वा पोखरीको किनारमा रहेको प्वालहरुमा अथवा ढुंगाको कापमा पनि बस्ने गर्छन् ।

भ्यागुताहरु विभिन्न किसिमका हुने गर्छन् । कोही धेरै ठूला हुने गर्छन् भने कोही एकदमै साना हुने गर्छन् । उदाहरणको लागि रुखमा बस्ने भ्यागुताहरु मात्र २५ मिलिमिटरका हुने गर्छन् । चितुवा भ्यागुताहरु भने ५०–१०० मिलिमिटर ठूला हुन्छन् । अझ साँडे भ्यागुता भने २० सेन्टिमिटरसम्म ठूला हुन्छन् । तिनीहरुको खुट्टा त झन् २५ सेन्टिमिटरका हुने गर्छन् ।

भ्यागुता विभिन्न रंगका पनि हुने गर्छन् । रुखमा बस्ने भ्यागताहरु रुखका पातअनुसार हरियो, रातो आदि हुने गर्छन् । यसले उनीहरुलाई हत्तपत्त शत्रु प्राणीले देख्न सक्दैन र त्यस्ता ठूला प्राणीहरुको आहारा हुनबाट जोगाउने गर्छन् । साँडे भ्यागुता भने गाडा खैरो रंगको हुने गर्छन् । यो रंग माटो जस्तो हुने गर्छ । सँधै माटोमा बस्ने तिनीहरुलाई हत्तपत्त कसैले पनि भेट्टाउन सक्तैन । केही भ्यागुता निक्कै आकर्षक रङ्गीन हुन्छन् तर तिनीहरु विषालु पनि हुन्छन् । तिनलाई खान खोज्नु भनेको काललाई निम्त्याउनु हो । त्यसैले तिनलाई शत्रुहरुले हत्तपत्त पक्रँदैन वा खाँदैन ।

Photo: https://www.livescience.com

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...