माङ्गेना  ः बौद्धिक भ्रष्टीकरणको नमुना

person explore access_timeसाउन २२, २०७४ chat_bubble_outline0

      उपन्यासकार तथा लेखक युग पाठकको माङ्गेना नामको पुस्तकाकार कृति हालै बजारमा आएको छ । यसमा नेपाल मन्थनको प्राण यसको पहिलो लेख, एक नक्सा, एक अवधारणा समावेश गरिएको देखिन्छ । माङ्गेना कृति अधारित  युग पाठकको साउन ७ गते एक अनलाइनमा पृथ्वीनारायण शाहसँग राष्ट्रनिर्माणको कुनै  चेत थिएन शीर्षकको एक अन्तर्वार्ता पनि प्रकाशित भएको देखिन्छ ।


पाठकको उपर्युक्त कृतिमा समाविष्ट लेखमा केन्द्रित भएर लेखक सुजित मैनालीको  शनिबार ३१ असार ०७४ अन्नपूर्ण पोस्टमा एक गहकिलो तथा खोजपरक विशिष्ट लेख प्रकाशित भइसकेको छ  । मैनालीले आफ्नू लेखमा युग पाठकका  नेपाल, नेपाल एकीकरण र यसका मूल अभियन्ता पृथ्वीनारायण शाहका बारेमा लेखिएका सारा बौद्धिक भ्रमहरुलाई प्रमाणसहित खण्डन गरिसकेका छन् तथापि युग पाठकले अधिकांशतः आफ्ना मनोगत अतिवादी  मतिभ्रमहरु जुन हिसावले पस्किएका छन् र त्यसका आधारमा नेपाली समाजलाई भ्रष्टीकरण गर्न गराउन जुन दुस्साहस गरेका छन् त्यसको मेरुदण्डमा नै बौद्धिक प्रहार गर्नु अपरिहार्य देखिएकाले बेफुर्सदमा पनि फुर्सद निकालेर कलम समाउनु गरेको हो ।   




  युग पाठकले माङ्गेना कृतिको मुख पृष्ठमा नेपाली झण्डाको विरुप प्रस्तुत गरेका छन् । पाठकले झण्डाको यस्तो कुरुपलाई कलाकारले सिर्जनात्मक आँखाले हेरेर झण्डालाई जस्ताको त्यस्तै नबनाई केही परिवर्तन गर्न खोेजेको बताएका छन् । उनले भनेझैँ नेपाली झण्डालाई पुस्तकको मुखपृष्ठमा कलात्मक र सिर्जनात्मक बनाउनु भनेको यसको स्वरुपलाई विरुप बनाउनु हो र ? कलाकारिताका नाममा नेपाली   मुटु, माटोमाथि कुटकलुषित मनोगत लाञ्छना गर्न मिल्छ ? आफ्नै गौरवशाली आस्था र धरोहरलाई ध्वस्त पार्न  सुहाउँछ ? यो केवल नेपालको नाम र यसको गौररवशाली झण्डा फेर्न चाहने उग्रवादी तथा अतिवादी सुषुप्त चेतनाजन्य  कृत्य हो । झण्डामा अङ्कित सूर्य र चन्द्र चिन्हलाई सार्वभौम, सार्वकालिक, सार्वजनिन,अग्रगामी प्राकृतिक बहुअर्थी साझा विम्बलाई बुझ्न नसक्नु हो ।



कतिपय पुराना रुढ मूल्य, मान्यता  र विषयहरुलाई अधुनातन गर्नुपर्छ, पुनर परिभाषित, पुनर नवीकरण र पुनः प्रवर्धन  गर्नुपर्छ । शब्दहरु र तिनले बताउने अर्थ, सन्दर्भ र आशय समयअनुसार परिवर्तित हुन्छन् र गरिन्छन् । शब्दको अर्थ समय अनुसार सङ्कुचन र विस्तारित पनि हुन्छ । यति सामान्य कुरा पनि ख्यालै नगरी अमुक राजा र राजवंशले वर्र्गीय मान्यता आधारित सूर्य चन्द्रको प्रतीकार्थ निर्माण गरेको विषयमा अझै बराल्लिनु अचम्मको बात हो । आफ्नै नाक, शान र मान भत्काएर कस्तो खालको सिर्जनात्मक कला प्रदर्शनी गर्न खोजेका हुन् पाठकले यो भारी उदेकको कुरा हो । पाठकले पृथ्वी नारायण शाहमा राज्य ठूलो बनाउँछु भन्ने भावना नै थिएन, उनमा कुनै अनुराग राखेर अथवा सबैलाई एकतामा ल्याउँछु भन्ने उद्देश्य छँदै थिएन भनेका छन् । तर शाहले एकीकृत विशाल नेपाललाई भाइ अंश लगाउनु पर्छ भन्ने आफ्नै भाइहरुको भावनालाई कठोर रुपमा निरुत्साहित पारेका थिए । शाहको यो विचार सङ्कीर्ण भावना हो कि सबैलाई एकतामा ल्याउने मान्यता हो । सेतो पार्टीमा प्रकाशित अन्तर्वार्तामा पाठकले शाहमा राष्ट्रवाद र राष्ट्र निर्माणको कुनै चेतना थिएन पनि भनेका छन् ।



तर पृथ्वीनारायण शाहले नेपाललार्ई दुई ढुङ्गाको तरुल भन्नु भयो । शाहले नेपालले उत्तरी र दक्षिणी दुई ठूला छिमेकी राष्ट्रसित समान मैत्री  सम्बन्ध राख्ने नीति उल्लेख गर्नुभयो । अनि यसै प्रसङ्गमा शाहले दक्षिणको बादशाह महाचतुर छ, त्यसले हिन्दुस्ताना दबाइरहेको छ र त्यो एक दिन नेपालमाथि पनि आइलाग्ने छ भन्नुभयो  र त्यससित सतर्क रहनु भन्नुभएको छ । शाहको यो विचार केवल ठकुरीको बिर्ता र घरबार जोगाउने सन्दर्भमा भनेको हो र ? उहाँको यो विचार विशाल, स्वतन्त्र र स्वाधीन नेपाल निर्माण गर्ने भावना र चाहनाको प्रबल उत्कण्ठा स्वरुप उत्पन्न भएको होइन ? सिद्धान्त र सूत्र पढेर उग्रवाद, आतङ्कवाद, दुस्साहसवाद हिँड्ला तर सिर्जनात्मक सोच र बहुजन हितायको खोज गर्ने मान्छे निस्पृह र निःस्वार्थ रुपमा  सुदूर भविष्य हेरेर समर्पित हुन्छ  ।

शाहले अवश्यै आजको जस्तो राष्ट्र, राष्ट्रवाद र राष्ट्रिय चेतका लच्छेदार भाषा, भाष्य र भाषण गर्न जान्नुभएको थिएन तर उहाँले सबै नेपाली सुख, शान्ति, स्वतन्त्र, स्वाधीनता पूर्वक मिलेर बाँच्ने थात थलो र थिति बसाउन खोज्नु भएको स्पष्ट हुन्छ । युग पाठकले तथाकथित भनिएको दिव्योपदेशमा पृथ्वीनारायण शाहले  राम शाह र  महिन्द्र मल्लले बाँधेको थितिभन्दा बाह्र हजारको (आफ्नै राज्यका दुनियाँको) थिति बाँधेर जाउँला भन्ने आफ्नो अभिलाषा रहेको दिव्योपदेशमा बताउनुभएको छ । बाह्र सय घरधुरीको राजा शाहले भनेको यस कुराबाट बाह्र हजारको थिति, बन्दोबस्त, बसोबास, सुरक्षित र सुविधायुक्त विशाल देश बनाउने चेत, सोच र चिन्तन राखेको ठहर्दैन ? उग्रवादी चेत मात्रै चेत र चिन्तन हो ? आफ्ना देशमा कपडा  उत्पादन गर्न प्रोत्साहित गर्नु, आफ्नै देशका जिनिस, जडीबुटी विदेश लैजानु र आयआर्जन गर्नु, खानी भएका ठाउँबाट गाउँ हटाउनु र अन्तै बसोबासको व्यवस्था गर्नु, खेतीयोग्य जमिनमा घर नबनाउनु बरु त्यहाँ बालीनाली लगाउनु, नेवारी नाचगान हेर्नु विदेशी गानबजान वर्जित गर्नु आदि आदि अनेक विषय, प्रसङ्ग र सन्दर्भले एउटा समृद्ध, स्वाधीन र स्वतन्त्र देश र राष्ट्र बनाउनका लागि दूरगामी र सही सोच मान्यता राख्ने शाहमा कुनै राष्ट्रिय चेत र चिन्त नै थिएन त युगजी ? चेतना बाह्य वस्तुजगत्को प्रतिविम्ब हो ।

यो परिवर्तित, प्रवर्धित, समृद्ध र समुन्नत हुन्छ नि होइन ? राजाको छोरो राजा पृथ्वीनारायण शाहमा एक समय ठूलो राजा बन्ने चाहना हुनु कुन ठूलो बात हो र ? तर शाहको अध्ययन, भ्रमण, प्रशिक्षण र बाइसी चौबीसी अनेक खण्डहरुमा विभाजित तथा एकअर्का राज्य, राजा र रजौटाको शत्रुतापूर्ण सम्बन्धबाट एकअर्का राज्यका पीडित निरपराध र निर्दोष आम जनताको पीडाबाट पृथ्वीनारायण शाह प्रत्यक्ष जानकार हुनुहुन्थ्यो । यसले शाहको  चेतना र चिन्तनमा एकीकृत नेपाल निर्माणको सघन चेत निर्माणमा गहिरो प्रभाव पारेको अध्ययनबाट अवगत हुन्छ । आम जनताको यही पीडा हटाउनका लागि एकीकृत, शान्ति र समृद्धियुक्त विशाल नेपाल निर्माणको चेतना वा भावना शाहमा प्रबल हुन गएको पाइन्छ । दिव्योपदेशमा शाहले आआफ्ना जात विशेषको कर्म गर्नु भनी बन्देज वा बन्दोबस्त गरिजाउँला भन्ने सोच राखेको उल्लेख गर्नु भएको देखिन्छ । यसबाट शाहले  अमुक कुनै धर्म, संस्कृति, चाड र पर्वको विशेष पक्षपोषण गर्न खोजेको ठहर्छ र ? बरु शाहले आआफ्ना जातिका धर्म, कुल र परम्परा मान्नु तर क्रिस्चियन धर्म अवलम्बन नगर्नु भन्ने चाहिँ आग्रहको अन्तर्य  रहेको देखिन्छ ।

यसैका आधारमा उनलाई सराप्न खोजेको हो भने केही भन्नु छैन । अनि उहाँलाई  धर्मिक र साम्प्रदायिक आरोप सही ठहर्छ र ? शाहले क्रिस्चियन पादरीहरुले मल्ल राजाहरुसित मिलेर एकीकरण विरुद्ध जेहाद छेडेपछि प्रमुख  पादरी धर्मपरिवर्तन गरेका केही नेवारसहित क्रिस्चियन धर्मावलम्बीलाई नेपालबाट कूटनीतिक भाषाका माध्यमबाट  निष्काशन गरिएकै हो । यही राष्ट्रविरोधी कृत्रिमता  बल्झाएर पादरी र तिनका अनुयायीहरुले नेपाल एकीकरण महाअभियान र यसका प्रमुख अभियन्तालाई निरन्तर धारेहात लगाउनु स्वाभाविकै होला तर जुन थालमा खायो त्यही थालमा प्वाल पार्नु हुँदैन । यस्तो अवस्था आयो भने कोपारामा भात खानु पर्ने अवस्था आउनसक्छ । छँदाखाँदाको आफ्नो थातथलोलाई थुकेपछि र भएको घरबार खरानी पारेपछि सुकुम्बासी हुनु अत्यन्त स्वाभाविक हुन्छ । नेपाल एकीकरण अभियानको सुरुदेखि नै नेपाली भाषा अभियानमा संलग्न योद्धा, सहयोद्धा, सहभागी र समर्थकहरुको साझा सम्पर्कको भाषा रहिआएको जानकारी पाइन्छ । कुनै एक समयमा पर्वते, पाखे, खस भाषा भनिए पनि समयक्रममा नेपाली भाषा अन्तर्राष्ट्रिय स्तरमा विस्तारित हुँदो छ ।

नेपालीको एकतामा यस भाषाको सुरुदेखि अहिलेसम्मको भूमिकालाई पूरै नजरअन्दाज गर्ने पाठक दार्जिलिङ भारतका आम नेपाली भाषीहरुलाई एकताबद्ध गरेर गोर्खाल्यान्ड आन्दोलनको ऐक्यताको भावनालाई समेत तिरस्कार गर्ने वा मन नपारउने पाठकले के गर्न र भन्न खोजेका हुन् ? पश्चिम बङ्गाल सरकार नेपाली भाषाका माध्यमबाट तमाम भारतीय नेपालीहरु एकताबद्ध भएको देखिसहन्न र यसले भोटे, लेप्चा आदि भाषालाई प्रोत्साहन गरेर आपसी फुट, विभाजन र वैमनश्य सिर्जना गर्न लाखौँ लगानी गरिरहेको देखिन्छ । अनि परोक्ष रुपमा पाठक नेपाली भाषाका माध्यमबाट तमाम भारतीय नेपाली एकताबद्ध भएको किन देख्न सकिहिरहेका छैनन् । पाठक त दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनले नेपाली भाषालाई युनाइटिङ फ्याक्टर बनाएकोमा कृत्रिमा उल्टो रोष प्रकट गर्छन् । 


     अहिले भुटानबाट लखेटिएका नेपालीमूलका भुटानी जनतालाई देशविहीन अवस्था कति कठिन र कष्टदायी हुन्छ, तिनलाई नै सोध्दा थाहा छ । हुने कुरामा बल गर्दैन अनि नहुने कुरामा कल गरेझैँ गर्नु हुँदैन । आर्थिक, नैतिक तथा सांस्कृतिक मात्र भ्रष्टीकरण हुँदैन । सबैभन्दा खतरनाक भ्रष्टीकरण बौद्धिक तथा वैचारिक हुन्छ । बन्दुक बोकेका शत्रुहरु परास्त भए भनेर ढुक्क हुनुहुँदैन । बन्दुकविहीन अर्थात् गलत विचार प्रवाह गर्ने शत्रुहरु झन् खतरनाक हुन्छन् र यस खालका झारपात रुपी शत्रुहरुलाई उम्रिन र हुर्किन दिनुहुन्न भन्नुभएको छ माओले । माओले चीनलाई एकीकरण गर्ने सम्राटलाई सलाम गर्नुभएको छ । सिह्व ह्वाङ हो चिनियाँ सम्राटकै नामबाट देशको नाम चीन रहन गएको हो । तर यहाँका माओवादी अतिवादीहरु कुन प्रयोजन र प्रायोजनमा नेपालको गौरवशाली इतिहासलाई दुत्कारीरहेका छन् अचम्म लाग्छ । जाति समुदाय  राष्ट्र हो कि अनेक जात, जाति र संस्कृतिको सङ्घुलनबाट राष्ट्र बन्छ ? गोत्र, जनजाति, जाति हुँदै राष्ट्र बन्छ । नेपाल बहुराष्ट्रिय राज्य होइन यो बहुजातीय राष्ट्र हो ।

नेपाल परापूर्वकालदेखि एक अखण्ड, अविभाज्य, स्वतन्त्र, स्वाधीन राष्ट्र हो । यस वस्तुसत्यलाई जोरजबर्जस्ती बङ्ग्याएर कसको कस्तो स्वार्थपूर्ति गर्न खोजिएको हो ? विज्ञजनले खोजी गर्नु अपरिहार्य देखिन्छ । खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन भनेझैँ अहिले नेपालका कथित केही बौद्धिक जनहरुले नेपाल र नेपाली एकतामा आँच पु¥याउने दुर्नियतबस आम रुपमा पस्किएका बौद्धिक भ्रमहरुलाई तार्किक रुपमा खण्डन अपरिहार्य देखिन्छ । यस कुरामा बेलैमा ध्यान दिन सकिएन भने बौद्धिक भ्रम अरु विस्तारित भएर मुलुक बौद्धिक, वैचारिक भ्रष्टीकरणमा जाकिने छ । ढिला भयो भने यस्तो अवस्थाबाट पार पाउन सितिमिति सकिनेछैन । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।