शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैशाख २९ गतेः प्रदेश पाँच हेडलाइन, कहाँ के भयो ?

आइतबार, २९ वैशाख २०७६, १९ : २९
आइतबार, २९ वैशाख २०७६

सरकारले मिडियामाथि अंकुश लगाउन मिल्दैनः पूर्वसभामुख
पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् । 

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीले मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने धारणा राखिन् ।

उनले भनिन्, ‘राज्यका आ–आफ्नै नियम हुन्छन् । सबै जनताले मान्ने कानुनी मिडियाले पनि मान्नुपर्छ तर सरकारले जनताका आवाज उठाउने मिडियालाई अंकुश नलगाउन खोजेको  होइन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।

घुससहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा
सेवाग्राहीसँग घुस लिँदै गर्दा आइतवार नापी कार्यालय पश्चिम नवलपरासीका एक कर्मचारी पक्राउ परेका छन् ।  

नापीका सर्वेक्षक पदका छत्र वहादुर ठकुल्ला अख्त्यिार दुरुपयोग अनुसन्धान आयोग बुटवलको  टोलीद्वारा पक्राउ परेका हुन्  । उनले वर्दघाट नगरपालिका–१६ का एक सेवाग्रहीको जग्गाको क्षेत्रफल सुधार गरिदिने भनि २० हजार रुपैयाँ मागेका थिए  ।

सर्वेक्षकले घुस मागेपछि उनी अख्तियारमा गएका थिए  । अख्तियारले कोड गरेर दिएको पैसा लिएर ती सेवाग्रहीले कर्मचारीलाई दिँदै गर्र्दा टोलीले पक्राउ गरेको अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताए । 

पूर्वी रुकुममा यार्सागुम्बा टिप्न जानेको लर्को, २ महिनासम्म विद्यालय बन्द
यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महिनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महिना बन्द हुने भएका हुन् ।

प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन् । 

उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन (बुकी) मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ । पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन् ।

हरेक वर्ष जेठको पहिलो साताबाट यार्सा सङ्कलन गर्ने भएपनि यो वर्ष हिउँ भएकाले ढिला गरेर सिजन शुरु हुन लागेको वडा नम्बर १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए । यार्सा टिप्न जेठको दोस्रो सातादेखि खुल्ला गरिने भए पनि वैशाख अन्तिम सातादेखि नै यहाँका स्थानीयवासी पाटन जाने गर्दछन् ।

स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले जनकारी दिए । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।

मुख्यमन्त्रीलाई ‘मगरात’प्रदेशको माग हस्ताक्षर बुझायो
पाँच नम्बर प्रदेशमा प्रदेशको राजधानी ठाउँ र नामाकरण गर्न ढिलाई भइैरहेका बेला नेपाल मगर संघले मरारात प्रदेको माग गर्दे मुख्यमन्त्रीलाई ज्ञापनपत्र बूझाएको छ ।

नेपाल मगर संघले प्रदेश ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाइ हस्ताक्षर बुझाएको हो ।

प्रदेशको नाम मगरात हुनुपर्ने भन्दै ११ लाख ७ सय ३६ जनाको हस्ताक्षरसहित बुझाइएको हो । 

प्रदेश ५ मा मगरको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले बताए । 

उनले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भने, ‘संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख छ । त्यसैले रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्छ’ । हस्ताक्षर बुझाउन १२ बटै जिल्ला मगर अगुवाहरुको सहभागिता रहेको थियो ।

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख एक हजार पाँच सय ८६ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।

हस्ताक्षर बुझ्दै मुख्यमन्त्री पोखरेलले आफू कार्यकारी पदमा भएकाले धेरै कुरा बोल्न नमिल्ने बताए । उनले सबै अधिकार प्रदेशसभा सदस्यहरुमा छ । नामाकरण र राजधानीका लागि सुझाव पनि संकलन गरिएकाले अहिले केहि बोल्न नमिल्ने बताए ।

अम्बेडकर फाउण्डेशन स्थापना
भारतका संविधान निर्माता, दार्शनिक एंव बुद्ध दर्शनका ज्ञाता डा. भिमराव अम्बेडकरको सम्मान गर्दै नेपालमा सामाजिक संस्थाको स्थापना गरिएको छ । 

अम्बेडकरको विचार, विकासवादी दृष्टिकोण, सामाजिक न्याय र दलित समुदायको उत्थान तथा बुद्धसँग सम्बिन्धित बिषयमा बहस छलफल गर्ने उदेश्यले संस्था स्थापना गरिएको हो । 

अम्बेडकर सोसियल फाउण्डेशन नेपाल नामक उक्त संस्थाको आईतबार बुटवलमा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल शुभारम्भ गरेका छन । 

बुद्धजन्मस्थल लुम्बिनीलाई आधार मानेर संस्था स्थापना गरि अम्बेडकरका बारेमा बहस थालिने जनाइएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री बरालले फाउण्डेशन मार्फत अम्बेडकरको उचाईलाई कायम राख्ने गरि काम गर्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप