शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनः जाँच सर्वेक्षण थाल्ने

आइतबार, २२ साउन २०७४, १२ : १५
आइतबार, २२ साउन २०७४

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुनेगरी गुनासो फस्र्यौटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको छ । प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको हो । यसका लागि सर्वेक्षणमा खटिने इन्जिनियरहरुको तीन दिने तालिम पनि आईतबारबाट सुरु भएको छ । 


काठमाडौंमा सुरु भएको तालिममा १ सय ६८ जना ईन्जिनियरहरु सहभागी भएका छन । तालिम उदघाटन गर्दै प्राधिकरणका सदस्य सचिव सर्वजीतप्रसाद महतोले भूकम्प पीडितहरुलाई छिटो र छरितो रुपमा सेवा दिने दायित्व सबैको भएको बताए । उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई छिटो र छरितो रुपमा सम्पन्न गर्न ईन्जिनियरहरु पनि जिम्मेवारी हुनुपर्नेमा पनि जोड दिए ।


 निरन्तर पराकम्पले दिएको त्रासका कारण कतिपय ठाउँमा सर्वेक्षणको काम छुट हुन गएको उनको भनाई थियो । प्राधिकरणले पहिलो चरणमा अति प्रभावित ओलखढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, रसुवामा गोरखामा छुट सर्वेक्षण तथा पुनः जाँचको काम सुरु गर्नेछ । दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु हुने कार्ययोजना पनि तय गरिएको छ ।


दोस्रो चरणको काममा १ सय ६४ जना इन्जिनियरहरु परिचालन हुने र उनीहरुका लागि आगामी साउन २६ गतेबाट तालिम दिने कार्ययोजना तय गरिएको पनि प्राधिकरणका सदस्य सचिव महतोले जानकारी दिए । प्राधिकरणले आगामी भाद्र मसान्तसम्म सबै गुनासो सम्बोधन हुने गरी छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । 


भूकम्प अति प्रभावित १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ८७ जना परिवारको छुट सर्वेक्षण गर्नुपर्ने प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । प्राधिकरणले पुनर्निर्माणको कामलाई सफल बनाउन पनि सबैमा अपिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप