यी थिए गुल्मीको पहिलो सरकारी चिकित्सक
बुटवल– समाजमा गहिरो छाप छाडेका, विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तिहरुको नकोरिएका इतिहासहरु धेरै छन् । तीनै मध्येका एक हुन् गुल्मीमा पहिलोपटक सरकारी निकायबाट चिकित्सकको नियुक्ति पाएका एक व्यक्ति । जसको मृत्यु पश्चात पनि बुढापाकाहरुबाट अझै चर्चा छ तर इतिहास कोरिएको छैन ।
ती थिए सदरमुकाम तम्घासको भिमचोकस्थित हालको प्रकाश मेडिकल हलका सञ्चालक जयप्रकाश श्रेष्ठका स्वर्गीय पिता कृष्णमान श्रेष्ठ । जसले २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि ‘कू’ गरेपछि तत्कालीन संयुृक्त जिल्ला अर्घाखाँची र गुल्मीको कम्पाउण्डरका रुपमा केन्द्रबाट नियुक्ति पाएर हिालको सदरमुकाम तम्घासमा प्राथामिक तहको स्वास्थ्य सेवा सुरु गरेका थिए ।
७२ वर्ष उमेर पुगेका तम्घासका समाजसेवी नन्दराम भुसाल भन्छन्– ‘हामी सानै थियौं । उतिबेला डाक्टर भन्ने हामीले जान्दैन्थौं । हात खुट्टा भाँचिए गाउँ घर मै काप्रे बाँध्ने गर्दथ्यौं । सिस्नो पकाउँदै लगाएर, चिप्ले किरा खाएर पनि भाँचिएको हात खुट्टा जोडिन्थ्यो ।’
अन्य विमारमा पनि गाउँघरका जडिबुटीले नै ठिक हुन्थ्यो । गाउँघरमा त्यसले पनि ठिक भएन भने वैद्यकहाँ गइन्थ्यो । कामका आधारमा जात विभाजन गरिएअनुरुप त्यतिबेला वैद्यको काम नेवार समुदायका मानिसले बढी गर्दथे ।’
उनी थप्छन्– ‘त्यस्तै २०१७ सालको कुरा थियो । त्यतिबेला कृष्णमान तम्घास खानीगाउँस्थित टुनिखोलामा अहिले मन्दिर रहेको नजिकै एउटा खरको झुपडीमा आएर स्वास्थ्य चौकी चलाएका थिए । त्यसअघि कहि पनि सरकारी स्वास्थ्य सेवा थिएन ।’
पछि उनले तम्घासको भिमचोकमा पहिलो पटक जयप्रकाश मेडिकल हल चलाए । त्यसपछि मेडिकलहलमा मानिसहरुको निकै भिड बढ्न थालेको हो । उनी पछि नयाँ गाउँका मदन मल्लले आफ्ना भान्जा भरतबहादुर चन्दका नाममा ‘भरत मेडिकल हल’ खोलेका थिए ।
त्यसपछि हेमराज सुवेदीले तेश्रो पटक मेडिकल खोलेका हुन् । ती तिनै जना त्यतिबेला तम्घासका हर्ताकर्ता समाजसेवी समेत थिए । कसैले‘ कृष्णे कम्पाउण्डर त कसैले कृष्णमान कपाउण्डर’ पुकार्थे उनलाई ।
पछि छोराले नाम बदले
२०२२ सालदेखि २०३७ सालसम्म हालको प्रकाश मेडिकल हलको नाम जय मेडिकल हल थियो । त्यसयता छोरा जयप्रकाशले ‘प्रकाश मेडिकल हल’ का नाममा दर्ता गरेको बताउँछन् । ‘उतिबेला हालको कर, उति बेलाकको तिरो–भरो तोकुवा थियो । हैरान पारे त्यसपछि मैले जय हटाएर प्रकाश मेडिकल हलका रुपमा दर्ता गरेपछि बल्ल सहज हुन थालेको हो–कृष्णमानका छोरा जयप्रकाश श्रेष्ठले भने, ‘अहिले पो मानिसहरुको भिड कम छ, उतिबेला त खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो ।’
उनका अनुसार २०२१ सालामा तत्कालीन श्री ५ को सरकारबाट ठाडो आदेश आयो । कृष्णमानलाई तत्काल तम्घासमा रहेको त्यस स्वास्थ्य चौकीको सबै औषधी र सामग्री उठाएर धुर्कोटमा स्वास्थ्य चौकी राख्न आदेश दिइयो । उनि धुर्कोट त गए तर रुष्ट भएर जागिर छाडेर २२ सालमा आफ्नो निजी मेडिकल खोलेका थिए । २०२२ साल मै गुल्मीमा जिल्ला अस्पताल स्थापना भएको मेडिकल सुपरिटेण्डेन टाक्टर उत्तम पाच्याले बताए । उतिबेला कम्पाउडरले फार्मेशी चलाउँथे, औषधी बिक्रीसंगै स्वास्थ्य परीक्षणको तालिम समेत दिइने हुँदा डाक्टरका रुपमा समेत उनीहरु चिनिने डाक्टर पाच्याको भनाई छ ।
कृष्णमान पहिलो सरकारी चिकित्सक रहेको अर्का समाजसेवी भरतबहादुर चन्दले पनि पुष्टि गरे । उनी पछि उनका मामा मदन मल्लले नियुक्ति पाएको उनले सुनाए । कृष्णमानको घर पाल्पाको तानसेनस्थित टक्सारटोलमा थियो । गुल्मीमा जागिरे भएर आएपछि मात्र उनी र उनका सन्तान तम्घासको बासिन्दा बन्न पुगेका हुन् ।
निजी क्षेत्रबाट यी थिए पुराना
हालको सदरमुकाम तम्घासभन्दा पुरानो व्यापारिक केन्द्र रिडी थियो । रिडी आसपासको रुरु क्षेत्र अहिले भन्दा बढी महिमा गरिने तिर्थस्थल थियो । पूर्व पश्चिमका नेपाली मात्र होइन भारतका तिर्थयात्रीहरुको झन् ठुलो भीड लाग्ने गर्दथ्यो । रिडी हुँदै मुक्तिनाथ र कैलास मानसरोवर सम्मको पदयात्रा गरिन्थ्यो ।
‘यहाँ उपचार गर्न आउनेहरुको पनि निकै भिड लाग्ने गर्दथ्यो– ८२ वर्ष पुगेका रिडीका प्रतिष्ठित समाजसेवी गुरुप्रसाद ज्ञवाली भन्छन्– ‘हाम्रा जान्दा यहाँ अहिलेको भन्दा ठूलो व्यापारिक केन्द्र थियो, कतिऔं शताब्दी देखि भनेर त एकिन भन्न सकिन्न् तर २०१८ सालसम्म रिडी यस क्षेत्रकै ठुलो बजार र तीर्थस्थल थियो ।’
उनी रिडीको कहालीलाग्दो घटनाको स्मरण गर्दै भन्छन्– ‘२०१८ सालमा कालिगण्डकी नदी (रिडीखोला) रिडी बजारमा पस्यो । ३० देखि ४० घरधुरी बगाएर रिडी बजारलाई बगरमा परिणत गर्यो । अहिलेको रिडी बजार त्यसपछिको श्रृष्टि हो ।’
उनका अनुसार स्वर्गीय राजकुमार श्रेष्ठ र अहिले ८२ बर्ष नाघेका र वुटवल बसाईसराई गरेका ज्योतिन्द्रमान वजिमियाँ रिडीका कम्पाउण्डर थिए । श्रेष्ठ करिब एक दशकअघि मृत्यु नहुन्जेल डाक्टरका रुपमा कहलिएका थिए । उतिबेला भने उनलाई कम्पाउण्डर भनिन्थ्यो ।
उनीहरु दुबै जना गोरखपुर र वानरस पढेर कम्पाउण्डर भएका थिए । श्रेष्ठका कुनै पनि छारोले भने त्यो पेशा गरेनन् । उनका एक छोरा किशोर श्रेष्ठले भने रिडी मै पेट्रोल पम्प चलाउँदै आएका छन् । ज्योतिन्द्रमानका छोराहरुमध्ये रामेश्वर वजिमियाँ पाल्पा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छन् ।
रिडीकै ७० वर्षीय समाजसेवी चन्द्रलाल श्रेष्ठ भन्छन्– ‘राजकुमार र ज्योतिन्द्रमानलाई त यस भेग कै मानिसहरुले देउता नै मान्थे । रुकुम, दाङ्ग, प्युठान, पाल्पा,अर्घाखाँची, पुरै गुल्मी र बाग्लुङ्ग सम्मका बिरामी डोकोमा बोकाएर ल्याइन्थ्यो । ’
त्यसपछि प्रशासनिक (गौंडा) निकाय वामीटक्सारमा बस्यो र वामीटक्सार दोश्रो ठुलो व्यापारिक केन्द्रका रुपमा मौलाएको ती बृद्धहरुको भनाई छ । वामीटक्सार र वलेटक्सारमा पैसा काट्न थालिएपछि टक्सार भनिएको हो । जहाँ भक्तपुर र काठमाडौंका नेवारहरु पैसा काट्न आएका थिए ।
तीमध्ये वामीटक्सार बजारका समाज सेवी सुदर्शन शाक्यका हजुरबुवा शिवकुमार शाक्य उति बेलाका कहलाएका वैद्य थिए । उनी पछि छोरा गणेशलाल शाक्य २०२० सालदेखि निकै कहलाएका वैद्य थिए । उनलाई स्थानीयले गने कान्छा त कसैले गणे वाँणा भन्ने गरेको उनका छोरा शुदर्शन शाक्य बताउँछन् । २०६० सालमा उनको मृत्युृ भएपछि उनै छोरा शाक्यले पिता–पुर्खाको बिँडो थाम्दै आएको बताए ।
वामीटक्सामा २०२० को दशक देखि पछिल्लो ७० को दशक सम्म धर्मेन्द्र मल्ल सबैको बिश्वास जितेका डाक्टरका रुपमा कहलाए । कुखात परेको विमारका लागि त उनि रामवाण औषधी नै बने । जे विमार भए पनि मल्लकहाँ लैजाउ भन्दै । मल्ल डाक्टरका रुपमा उनि जिल्लाभर कहलाएका थिए । उनको निधन २०७५ सालमा भयो । उनका छोरा धिरेन्द्र मल्ल काठमाण्डौंको ट्रमा सेन्टरमा डाक्टर रहेको स्थानिय सुदर्शन शाक्यले बताए ।
स्वास्थ्य देखि मानव जीवनको हरेक आवश्यक्तामा नेवार
पैसा काट्नेदेखि ओखतीमुलो गर्ने वैद्यहरु समेत यी दुई स्थानमा आएका थिए । उतिबेला स्थानीयले नेवारभन्दा बढि ओखतीमुलो गर्नेहरुलाई वैद्य भन्ने गर्दथे । सुन चाँदी, तामा र काँशो लगाययत धातुृको काम गर्नेहरुलाई वाँणा भन्ने गर्दथे ।
कपडा र अन्य किराना पसले नेवारहरुलाई साहु भनेर पुकार्थे । पछि पाल्पाली नेवारहरु पनि गुल्मीमा विभिन्न व्यवसाय गर्न आए । गुल्मीको अर्को पुरानो प्रशासनिक केन्द्र चारपाला दरबार हालको गुल्मी दरवार, पुरानो मध्येको अर्को व्यापारिक केन्द्र खज्र्याङ्ग, धेरैनीका राजाको तत्कालिन प्रशासनिक निकया, उता पत्थरकोट, माचकोट–छत्रगञ्जमा भक्तपुर र काठमाडौंका नेवारहरु आएको पाइन्छ ।
क्रमशः तत्कालीन धुर्कोट राज्यको धुर्कोट वस्तु, मुसिकोट राज्यको देउराली र मैदान, पौदीअमराईको भाटी, पारी खारा, वलेटक्सारको रानीवास, चौतरा, हाल कै बलेटक्सार बजार, थानपति, निकै पछिसम्म ठुलो हटियका रुपमा कहलाएको टाहटिम, पारि बडिगाडको खोला किनारका विभिन्न स्थानमा नेवार समुदाय आएर बसोवास गरेको पाइन्छ ।
उनीहरुले तत्कालीन ग्रामिण बस्तीमा स्वास्थ्य उपचारदेखि मानव जीवनलाई चाहिने हरेक उपभोग्य वस्तुको आवश्यक्ता पूर्ति र आधुनिक मानव सभ्यताको विकासमा महत्वपूर्ण टेवा पुर्याएको देखिन्छ ।
आजकल भने शेर्पा थकालीहरु पहाड झर्न छाडेका छन् । पहाडभन्दा बाहिरबाट आएका यी समुदाय पाहडीमुलका मानिसहरुसँग सद्भावपूर्ण सम्बन्ध राखेर एउटै परिवार जस्तै भएर बस्दै आएका छन् । उनीहरुमा धार्मिक सद्भाव र सामाजिक सहकार्य समेत रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु