केन्द्रीय संस्करण

सनस्क्रिनको केमिकल रगत र दुधमा देखियो, के प्रयोग गर्नु हुँदैन ?

person explore access_timeबैशाख २९, २०७६ chat_bubble_outline0

साधारण सनस्क्रिनमा प्रयोग हुने तत्व एक दिनभित्रै रगतको धारमा प्रवेश हुने एक नयाँ अनुसन्धानले पत्ता लगाएको छ । यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) को सेन्टर फर ड्रग इभ्यालुएशन एण्ड रिसर्चले गरेको अनुसन्धानमा यस्तो पत्ता लागेको हो ।

गत सोमबार मेडिकल जर्नल जामामा समेत प्रकाशित उक्त अनुसन्धानले सनस्क्रिनमा प्रयोग हुने विभिन्न तत्वमध्ये तीनवटा तत्व रगतमा प्रवेश हुने र दैनिक प्रयोगमा यसको मात्रा पनि बढ्दै जाने खुलासा भएको छ । सनस्क्रिन प्रयोग गर्न छाडेको २४ घण्टासम्म पनि यो रगतमै रहिरहने उक्त अनुसन्धानले बताएको छ ।

एफडीएका अनुसार सनस्क्रिनमा प्रयोग हुने एभोबेन्जोन, अक्सीबेन्जोन, इक्याम्स्यूल र अक्टोक्रिलिन सुरक्षित र प्रभावकारी बताइए पनि यसबारे थप अनुसन्धान हुन आवश्यक छ ।

त्यसो भए सनस्क्रिनको प्रयोग नगर्ने ? होइन, विशेषज्ञ सनिस्क्रिन प्रयोग गर्नुपर्ने सुझाउँछन् ।

‘सनस्क्रिनबारे जुन कुरा पत्ता लागेको छ, त्यो साँच्चै नै हो कि होइन भनेर थप अनुसन्धान आवश्यक छ,’ याले स्कूल अफ मेडिसिन डर्म्याटोलोजिस्ट डा. डेभिड लेफेलले  भने । डेभिड अमेरिकन एकेडेमी अफ डर्म्याटोलोजीका प्रवक्ता पनि हुन् । यद्यपी, उनले मानिसले घामको किरणबाट आफूलाई जोगाउनका लागि आक्रामक हुनैपर्ने पनि बताएका छन् ।

‘यहाँ मुख्य दोषी घाम नै हो,’ स्कट फ्याबरले भने । स्कट इन्भारोन्मेन्टल वर्किङ ग्रुप (इडब्ल्यूजी) का सह–अध्यक्ष हुन् । इडब्ल्यूजीले सनस्क्रिनको पक्षमा वार्षिक रुपमा गाइड प्रकाशन गर्ने गर्छ ।

‘जुन कुरा तपाईंले छालामा लगाउनुहुन्छ त्यो शरीरले सोस्छ भन्ने कुरा समाचार होइन,’ स्कटले भने । ‘एफडीएले यस्तो शोध गरेर सनस्क्रिन उत्पादकलाई आफूले प्रयोग गर्ने रसायनबारे थप अनुसन्धान गर्न र शरीरले यस्तो रसायन सोस्दा स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने नपुर्‍याउने बारे अनुसन्धान गरिदिन आग्रह गरेको हो ।’

सनस्क्रिन किन लगाउने ?

स्किन क्यान्सर फाउन्डेशनका अनुसार छालासम्बन्धी क्यान्सर मेलानोमा प्रत्येक वर्ष बढ्दो स्थितीमा छ । यो महिला पुरुष दुबैलाई लाग्ने वर्ल्ड क्यान्सर रिसर्च फन्डले बताएको छ ।

सुरुमा अमेरिकीहरुले छालालाई घामको विकिरणबाट जोगाउनका लागि सनरिुक्रनको प्रयोग गर्न सुरु गरे । सनस्क्रिन दुई प्रकारमा आए । एउटामा अत्यधिक केमिकलको प्रयोग गरेर सूर्यको विकिरण छान्ने प्रयास गरियो भने अर्कोमा यस्ता तत्व प्रयोग गरियो जसले विकिरणलाई छालाको सम्पर्कमा आउनै दिँदैनथ्यो । यसमा टाइटेनियम डिअक्सायन वा जिंक अक्साइड तत्वको प्रयोग गरियो जसले छालामा एउटा सेतो पत्र बन्ने गर्दथ्यो । धेरैले आफ्नो छालामा सेतो पत्र नचाहने भएकाले केमिकल सनस्क्रिनको माग अत्यधिक बढ्यो ।

त्यतिबेला सनस्क्रिनको जति प्रयोग हुन्थे त्यसले स्वास्थ्यमा पुर्याउने नकारात्मक असर बारे खासै चर्चा गरिँदैनथ्यो ।

‘तर स्थिती परिवर्तन भयो । एफडीएले यस्ता उत्पादक उत्पादन गर्ने कम्पनीलाई यसको सुरक्षित परीक्षण गराउन माग गर्यो, ’ डेभिड एन्ड्रू, इडब्ल्यूजीका वरिष्ठ वैज्ञानिकले भने ।

‘सुरुमा सनस्क्रिन बिदा मनाउन जाने बेला कहिलेकाँही मात्र प्रयोग हुन्थे,’ एन्ड्रूले भने । ‘तर कम्पनीले आजकाल सनस्क्रिनलाई शरीरको विभिन्न भागमा दैनिक प्रयोग गर्न सुझाउँछन् । त्यसकारण एफडीए यसले स्वास्थ्यमा पुर्याउने नकारात्मक असरबारे सजग हुन थालेको हो ।’

सनस्क्रिनमा प्रयोग हुने केमिकलबारे अनुसन्धानः

एफडीएले गरेको नयाँ अनुसन्धानमा २४ स्वस्थ स्वयंसेवीलाई स्प्रे वा एभोबेन्जोन, अक्सिबेन्जोन वा अक्टोक्रिलेन तत्व प्रयोग भएका सनस्क्रिन लोसन प्रयोग गर्न दियो ।

ती स्वयंसेवीलाई चार दिनसम्म दिनको चार पटक शरीरको ७५ प्रतिशत भागमा सनस्क्रिन लगाउन भनियो । सात दिनभित्र ती सबैको तीसपटक रगत परीक्षण गरियो ।

इक्यामसुल क्रिम लगाउने ६ जनामध्ये पाँचजनाको रगतमा पहिलो दिनमै केमिकलको मात्रा पाइयो । अन्य तीन केमिकलमध्ये विशेषगरी अक्सिबेन्जोन सबै स्वयंसेवीमा पहिलो दिन नै देखियो ।

‘अन्य तीन केमिकलमध्ये अक्सिबेन्जोनलाई शरीरले ५० देखि सय गुणा बढी सोस्ने तथ्य फेला पर्यो,’ एन्ड्रूले भने ।

सन् २००८ मा यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सरकारी शोधमार्फत् संकलन गरिएको पिसाबको नमूना परीक्षण गर्यो जसमध्ये ९७ प्रतिशत नमूनामा एक्सिबोन्जोन पाइयो । त्यतिबेलादेखि विभिन्न शोधले अक्सिबेन्जोन र किशोरमा टेस्टोस्टेरोनको कमीबीच सम्बन्ध भएको देखाउन खोजिरहेका छन् ।

सबै सनस्क्रिनमा हुने अक्सिबेन्जोन एलर्जीको एउटा प्रमुख कारक तत्व पनि मानिएको छ ।

एक स्विस अनुुसन्धानले अक्सिबेन्जोन र सनस्क्रिनमा पाइने चारमध्ये एक केमिकल  महिलाको दुधको नमूनामा ८५ प्रतिशत पाइएको दाबी गर्यो । यसले नवजात शिशुलाई पनि हानी पुर्याउन सक्ने अनुमान गरिएको छ ।

हवाइ, पलाउका प्यासिफिक नेसन र कि वेस्टले अक्सिबेन्जोन र अक्टिनोक्सेट रसायन प्रयोग गरिएका सनस्क्रिनको प्रयोगमा प्रतिबन्ध लगाएको छ किनभने यसले ‘कोरल ब्लिचिङ’ हुने र ‘अक्वाटिक इकोसिस्टम’लाई खतरा पुर्याउने धारणा राखियो ।

नयाँ उत्पादित सनस्क्रिनमा अक्सिबेन्जोनको अत्यधिक प्रयोग हुने गरेको छ । यसले खतरनाक युभीबी र युभीए विकिरण रोक्ने गर्दछ । तर ती नयाँ उत्पादनले एफडिए स्विकृतीका लागि सुरक्षा परीक्षण पास गरेको छैन ।

आफूलाई घामबाट जोगाउनुहोस्ः

नयाँ अनुसन्धानपछि प्रकाशित एक सम्पादकीयमा एफडीएका अध्यक्ष रोबर्ट क्यालिफले सनस्क्रिनमा चार केमिकलको स्तर एफडीएले तोकेको मापदण्डभन्दा बढी छ भन्दैमा यस्ता सामग्री सुरक्षित छैनन् भन्न खोजिएको होइन ।

द पर्सनल केयर प्रोडक्ट काउन्सिल, द नेशनल ट्रेड काउन्सिल फर सनस्क्रिन, कस्मेटिक र पर्सनल केयर प्रोडक्टले यसमा सहमती जनाएका छन् ।

‘अत्यधिक प्रयोगपछि रगतमा देखिने सनस्क्रिनमा प्रयोग हुने तत्वले स्वास्थ्यमा अत्यधिक खतरा निम्त्याउँछ नै भन्ने छैन,’ काउन्सिलका मुख्य वैज्ञानिक एलेक्स काउसीले भनिन् ।

‘उपभोक्ताले यहाँ के बुझ्नुपर्छ भने यो अनुसन्धानको उद्देश्य के हो । सनस्क्रिन शरीरको ७५ प्रतिशत भागमा चार दिनसम्म दिनको चारपटक लगाइएको थियो । साधारण दिनमा लगाइने भन्दा यो दोब्बर बढी हो,’ काउसीले भनिन् । ‘काउन्सिल चिन्तित छ,’ उनले भनिन, ‘एफडीएको अनुसन्धानले उपभोक्तालाई सनस्क्रिन प्रयोगमा निरुत्साहित वा भ्रम पैदा गर्नसक्छ ।’

घरबाट बाहिर निस्कँदा, अमेरिकन एकेडेमी अफ डर्म्याटोलोजीले घामको सम्पर्कमा आउने सबै छालामा प्रत्येक दुई घण्टामा वा स्विमिङ गरिसकेपछि कम्तीमा २८ ग्राम सनस्क्रिन लगाउन सुझाउँछ ।  यदि तपाईंको निकै पातलो कपाल छ भने, टाउकोमा समेत सनस्क्रिन लगाउनुपर्ने बताइन्छ । ओठलाई घामको विकिरणबाट जोगाउनका लागि १५ एसपीएफ भएको लिपबाम लगाउनुपर्ने सुझाव दिइन्छ भने युभी विकिरण जतिबेला पनि व्याप्त हुने भएकाले घाम नलागेका बेला वा जाडो महिनामा पनि सनस्क्रिन लगाउनुपर्ने एकेडेमीले बताएको  छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...