शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ दूतावासद्वारा उपत्यकाका ३ सय ४२ विद्यार्थीलाई आर्थिक सहायता प्रदान

शनिबार, २८ वैशाख २०७६, १३ : ११
शनिबार, २८ वैशाख २०७६

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले उपत्यकाका विभिन्न २३ वटा सरकारी विद्यालयहरुमा अध्ययनरत ३ सय ४२ जना गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गरेको छ ।

 चिनियाँ राजदूतावास र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले ललितपुर हात्तिवनस्थित लिटिल एन्जेल स्कुलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलको उपस्थितिमा आर्थिक सहायता प्रदान गरेको हो । 

प्रति विद्यार्थी रु १० हजारका दरले आर्थिक सहायता प्रदान गर्दै नेपालका लागि चिनिया राजदूत हौ यानछीले नेपाल र चीनवीच ऐतिहासिक कालदेखि प्रगाढ रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न नेपाली विद्यार्थीहरुले भविष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन् । 

साथै राजदूत हौले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासलाई अझ मजबुत पार्ने उद्देश्य अनुरुप ‘होप स्टार चिनियाँ राजदुत छात्रबृति’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् ।  कुनै पनि देशको भविष्य त्यस देशका युवाहरुमा भर पर्ने भएकाले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मेहनत गरेर अध्ययन गर्ने विश्वास राजदूत हौले व्यक्त गरिन् । 

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले होप स्टार चिनियाँ राजदूत छात्रवृत्ति नेपालको शैक्षिक विकासको लागि महत्वपूर्ण रहेको बताए । मन्त्री पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदैै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि धन्यवाद समेत ज्ञापन गरे । 

उनले चिनियाँ दूतवासबाट सुरुवात गरिएको होप स्टार छात्रवृत्ति कार्यक्रमलाई शहरी क्षेत्रदेखि नेपालका दूर्गम क्षेत्रसम्म पुर्याउन चिनियाँ राजदूतलाई आग्रह गरे । नेपाल र चीनबीच प्राचीन कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको भन्दै मन्त्री पोख्रेलले राष्ट्रपति विद्यादेवी भण्डारीको भख्खरै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ आयाम तर्फ अघि बढेको  बताए । नेपाल र चीनबीच बारम्वार भैरहेका उच्च भ्रमण, भेटघाट र समझदारीहरुले आपसी सहयोगको दायरालाई फराकिलो बनाउदै लगेको छ मन्त्री पोख्रेलले बताए । 

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश चन्द्र शाहले चिनियाँ दूतावासले सुभारम्भ गरेको पहिलो होप स्टार चिनियाँ राजदुत छात्रबृत्ति कार्यक्रमले नेपाली विद्यार्थीहरुको लागि अत्यन्त महत्वपूर्ण र उपयोगी रहेको भन्दै छात्रवृत्ति प्राप्त भएपछि कुनै पनि गरिव तथा जेहन्दार विद्यार्थीहरुले बीचैमा विद्यालय छाड्न पर्ने अवस्था नआउने विश्वास व्यक्त गरे । 

समारोहमा २३ वटै विद्यालयहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु समेत प्रदान गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप