केन्द्रीय संस्करण

मेरो सरकार भनेवापत पनि जनताले आभारी हुनुपर्ने कि ?

बेलायतको बुढो परम्परालाई जबर्जस्ती बोक्न गणतन्त्र नेपालका नेकपा नेतृत्वको लोकतान्त्रिक सरकारलाई कसले प्रेरित गर्‍यो ?

person explore access_timeबैशाख २७, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

“सोधेर हेर्नुस् —
कमाराहरुलाई मालिकको ‘लात्तीदान’ पनि

‘शान’जस्तो लाग्छ ।
मलिक हुनुको ‘पहिचान’जस्तो लाग्छ ।
कति यस्ता कमाराहरु आज पनि छन् नेपालमा
जसलाई —
सत्तासीनहरुको सवारीले जनताको बाटो छेकिनु पनि
‘महान्’जस्तो लाग्छ !”

केही दिन अगाडि एक जना वयोवृद्ध साहित्यकार मित्रले फोन गरेर भन्नुभयो, “राष्ट्रपतिका सवारीको तामझामसम्बन्धी तपाईँको लेख पढेँ । यसले आजका सत्तासीनहरुको मनमस्तिष्क छोला र ?”

“छुँदैन भन्ने त राष्ट्रपतिको फिर्ती सवारीको तामझामले देखाइसक्यो नि !” मैले भनेँ ।

“सदनमा सम्बोधन गर्न जाँदाको राष्ट्रपतिको सवारीशैली किन्चित् फरक त देखियो । तर सम्बोधनक्रममा राष्ट्रपतिले ‘नेपालसरकार’लाई ‘मेरो सरकार’ भनेको सुन्दा भने थप दुःख लाग्यो । कति आन्दोलन गरिखाएकाहरुलाई लोकतन्त्रको सामान्य मर्यादा पनि थाहा नहुनु दुःख लाग्दो कुरा हो ।” साथीले भन्नुभयो, “हुन त यी गैँडा हुन् ! यिनीहरुलाई काउकुती लाग्दैन ! भनिन्छ, युवा वेलामा गैंडाको शरीरमा कसैले काउकुती लायो भने त्यो काउकुती त्यसको चेतनाको तहसम्म पुग्दा त्यो गैंडा फुकिढल्नु बुढो भइसकेको हुन्छ !!!”

मेरो सरकार’ शव्दावली प्रयोगको पक्ष विपक्षमा धेरै तर्क वितर्कहरु पढिए । शव्दावली प्रयोगका पक्षमा सदनमा प्रधानमन्त्रीले दिनु भएको जवाफले भने हामीजस्ता जनताको चेतनालाई चिमोट्न कहिल्यै छोडेन ।

साहित्यकार साथीका कुराले म हाँसेँ । साथी पनि हाँस्नुभयो । त्यसपछि पत्रपत्रिकामा ‘मेरो सरकार’ शव्दावली प्रयोगको पक्ष विपक्षमा धेरै तर्क वितर्कहरु पढिए । शव्दावली प्रयोगका पक्षमा सदनमा प्रधानमन्त्रीले दिनु भएको जवाफले भने हामीजस्ता जनताको चेतनालाई चिमोट्न कहिल्यै छोडेन ।

परिवर्तित समयमा विगतका यथास्थितिहरुको शव्द संस्कृति लाद्ने सत्ताप्रयत्नलाई जनताले बेवास्ता गर्न मिल्दैन । यस किसिमकै लोकतन्त्रमा पनि  सत्तासीनहरुले सार्वभौम जनतालाई होच्याएर जथाभावी बोल्नु जायज हुन सक्दैन । गल्ती भएपछि समयमै साविती बयान दिन र जनतासँग क्षमा माग्न पनि लोकतान्त्रिक सरकारका पदासीनहरुले जान्नैपर्छ ।

जनताका विचारमा, ‘क्षमा निर्वलको बल हो भने वलवान्हरुको आभूषण हो । क्षमाशीलताले सम्पन्न गर्न नसकिने काम केही छैन । गल्ती हुँदा क्षमा माग्नुबाट मानिसको इज्जत प्रतिष्ठा घट्दैन, बरु बढ्छ । विश्व इतिहासमा शासकहरुले आफूबाट गल्ती हुँदा जनतासँग क्षमा मागेका धेरै घटनाहरु पढ्न पाइन्छन् ।

सदनमा राष्ट्रपतिद्वारा गरिने सम्बोधनमा मेरो सरकार शब्दावली प्रयोग गरिनु स्वाभाविक प्रयत्न थिएन । यसलाई प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास भनिदिनु त अझ विगतका जनआन्दोलन, जनताको शहादत र त्यसबाट प्राप्त सीमित लोकतान्त्रिक उपलब्धिको पनि अवमूल्यन गर्नु नै थियो । यसमा प्रश्न उठ्नु सर्वथा स्वाभाविक छ ।

बेलायतमा र त्यसकै अनुचर कमनवेल्थ मुलुकहरुमा संविधानमा तदनुरुप व्यवस्था गरेर कार्यकारी सरकारले औपचारिक राष्ट्रप्रमुखलाई सदनमा सम्बोधन गर्दा मेरो सरकार शव्दावली प्रयोग गर्न दिइएको छ भन्ने बहानामा बेलायतको बुढो परम्परालाई जबर्जस्ती बोक्न गणतन्त्र नेपालका नेकपा नेतृत्वको लोकतान्त्रिक सरकारलाई कसले प्रेरित गर्‍यो ? यसमा जनताको चासो रहनु स्वाभाविक छ । जनताका बलबुतामा यति अजङ्गका परिवर्तनपछि पनि नेपाली सत्तासीनहरुले बेलायत वा फ्रान्सका थोत्रा परम्पराहरुलाई बोकिराख्नु पर्छ र ? कुनै देशविशेष हाम्रा मित्र हुँदैमा त्यहाँ रहेका बुढापुराना चलनहरु पनि हाम्रा मित्र नै हुने त होइनन् ।

कम्युनिष्ट पार्टीका सत्तासीनहरुले नयाँ गणतान्त्रिक लोकतन्त्रमा जनतालाई सम्बोधन गर्नुपर्दा कसरी गर्नुपर्ला ? यसका लागि सामन्ती तथा पूँजीवादी बुढा शासकहरुको भन्दा फरक र सुन्दर विधि संस्कृति हुन सक्दैन ? हुनु पर्दैन ? नयाँ गणतन्त्रमा पनि पुरानै सामन्ती संस्कारको मपाइँवादी सम्बोधन जनताका कानमा स्वादिष्ट बन्नु पर्छ ?

अहिले नेपालमा राणा र शाहहरुको सरकार छैन । बुढो संस्कृतिमा अभ्यस्त नेपाली काङ्ग्रेसको सरकार पनि छैन । नेकपाका नेता कार्यकर्ताहरु त आफूलाई कम्युनिष्ट नै भन्छन् । कम्युनिष्टकै नेतृत्वको सरकार छ । कम्युनिष्ट पार्टीका सत्तासीनहरुले नयाँ गणतान्त्रिक लोकतन्त्रमा जनतालाई सम्बोधन गर्नुपर्दा कसरी गर्नुपर्ला ? यसका लागि सामन्ती तथा पूँजीवादी बुढा शासकहरुको भन्दा फरक र सुन्दर विधि संस्कृति हुन सक्दैन ? हुनु पर्दैन ? नयाँ गणतन्त्रमा पनि पुरानै सामन्ती संस्कारको मपाइँवादी सम्बोधन जनताका कानमा स्वादिष्ट बन्नु पर्छ ? लोकतान्त्रिक सदनमा पनि विगतमै जुठ्यानमा फालिइसकेका सामन्तहरुको शव्दावली टिपेर  प्रयोग गर्नु सार्वभौम जनताका अगाडि अनपेक्षित र लज्जाजनक चुरीफुरी जस्तो भएन र ?

छिमेकी मुलुक भारत कुनै समय बेलायतको उपनिवेश थियो । राष्ट्रिय स्वाधीनता प्राप्तिपछि पनि कमनवेल्थमा बाँधियो । नेपाल त सुदूर अतीतदेखि नै स्वाधीन र स्वतन्त्र मुलुक हो । आज नेपालमा सम्वैधानिक राजतन्त्र पनि छैन । गणतान्त्रिक लोकतन्त्र छ । यस स्थितिमा राष्ट्रपतिले सदनमा सम्बोधन गर्दा मुलुकका जनताका लागि सम्मानजनक हुने सम्बोधनका शव्दावलीहरु चयन गर्नु नै वान्छनीय हुन्छ, हैन र ? नेपालका भाषाहरुमा शब्दहरुको त्यत्रो खडेरी पनि त छैन ।

भारतकै कुरा गर्दा पनि त्यहाँ कतिपय राम्रा कुरा पनि छन् । जस्तै त्यहाँका प्रधानमन्त्री मोदीले आफुलाई प्रधानमन्त्री नभनेर ‘प्रधान सेवक’ भनिदिन जनतामा अपील गरेको सुनिएकै हो । मोदीले आफूलाई जनताको ‘चौकीदार’ भनेको पनि सुनिएको हो । भारतमा राष्ट्रपति र प्रधानमन्त्रीलाई पद पदमा सम्माननीय भनेको पनि सुनिँदैन । सामान्य सम्बोधनले काम चलाएको पाइन्छ । नेपालमा त्यसको चाहिँ अनुशरण किन गरिएन ? किन हाम्रा सत्तासीन महोदयहरु आफूलाई नेपाली जनताको पाले, पहरा, सेवक, वा भरिया भन्न सक्नुहुन्न ? भारी बोक्नेलाई भरिया भनिन्छ त सत्तासीनहरुले पनि इमानदारीका साथ भन्नुपर्दा सार्वभौम नेपाली जनताप्रतिका दायित्वहरुको भारी बोक्नुभएको होइन र ?

तपाईँहरुको दलको नाम नेकपा । अझ नेकपा पनि सिङ्गल मात्र होइन डब्बल । के डब्बल नेकपाको सरकारले सदनमा प्रस्तुत गर्ने सम्बोधनको नमूना त्यही हो ? नेपालको नयाँ गणतन्त्रलाई सुहाउँदो नयाँ सम्बोधन प्रस्तुत गर्नुभएको भए के हुन्थ्यो ? अरुका अगाडि इज्जत पनि बढ्दो हो । प्रधानमन्त्रीले जसरी तसरी बचाउ गर्नुपर्ने स्थिति पनि नआउँदो हो ।

राष्ट्रपतिले त वाचन गर्नुभएको मात्र हो । जसले सम्बोधन तैयार गरे खास दोषी त तिनै हुन् । तैयार गर्नेहरुको मनमस्तिष्कमा के भरिएको थियो प्रयुक्त शब्द शब्दावलीले त्यसैको प्रतिनिधित्व गरेको हो । आजका नेपाली जनतालाई यति कुरा त समयले बुझाइसकेको छ । दोष राष्ट्रपतिको होइन, सरकार चलाउनेहरुको हो । आलङ्कारिक राष्ट्रपतिलाई कति मात्र दोष दिने ? समस्या यो पनि छ ।

‘मेरो सरकार’ शब्दावलीका अतिरिक्त मुलुकमा शव्दहरु त अरु पनि छन् नि । जस्तै श्री ३, श्री ५, श्री ६, श्री १०८, श्री १००८। हिजोका शब्द शब्दावली सत्तासीनहरुका लागि प्रिय नै हुनुपर्ने हुन् भने  हिजोका कुन कुन शब्द आज कसकसले पहिरिने त ? अथवा आजका सत्तासीनहरुले हिजोका यस्ता शब्दहरु पहिरिनु पर्ने कि नपर्ने ? आज पनि सरकारहरुहरु छन् । स्थानीय सरकार, जसलाई कतिले डोजरमालिक पनि भन्छन्, बीचको सरकार छ, माथिको ठुलो सरकार छ । सरकारहरु विभिन्न विकृति विसङ्गतिहरुको मालिक बन्ने, जनताले टुलटुलु हेरिरहने, सुनिरहने ? यही हो लोकतन्त्रको महिमा ?

लेनिनले त आफुलाई मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति केही नभनेर कमिसार मात्र पनि भने । नेपाली जनताले यस्ता कुरा तपाईँ कामरेडहरुबाटै सुनेका हुन् । आज पनि संसारमा कति मन्त्री प्रधानमन्त्री र राष्ट्रपति छन् जो आफुलाई जनसेवक ठान्छन् र कम खर्चको सादा जीवनमा रहन्छन् । जनताका अगाडि शान देखाउन लाज मान्छन् ।

उरुग्वेका राष्ट्रपति होजे मोहिका, भियतनामका राष्ट्रपति होचिमिन्ह, क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो, रुसका लेनिन, चीनका माओका नाम काम सुनेका नेपाली कानहरु आज पनि  क्रियाशील नै छन् । यिनीहरु सवैले आफ्ना समयमा पर्याप्त कुशलताका साथ देश चलाएका थिए । यिनीहरु कसैले ‘मेरो सरकार’ भनेनन् । लेनिनले त आफुलाई मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति केही नभनेर कमिसार मात्र पनि भने । नेपाली जनताले यस्ता कुरा तपाईँ कामरेडहरुबाटै सुनेका हुन् । आज पनि संसारमा कति मन्त्री प्रधानमन्त्री र राष्ट्रपति छन् जो आफुलाई जनसेवक ठान्छन् र कम खर्चको सादा जीवनमा रहन्छन् । जनताका अगाडि शान देखाउन लाज मान्छन् ।

हो, दासका लागि मालिकका हरेक विशेषण र क्रियाकलाप महान् हुन्छन् । हिजो राणाहरुले जनतालाई दासकैजस्तो अवस्थामा राखेका थिए । श्री ३ हरु मेरो सरकार भन्थे । जनतालाई ‘सरकार !’ भन्दै ‘कर्स्यौल’ गर्न बाध्य बनाउँथे । त्यस स्थितिलाई नेपाली जनताले ०७ सालमै उखेलेर फालेका हुन् । बाँकी रहेका सामन्ती जरियालाई पनि नेपाली जनताले विगत ०४६ साल र ०६३सालमा बढारेका हुन् । राजनीतिक दासता बढारिँदा पनि कतिपय सन्दर्भमा सांस्कृतिक दासता कायम रहेको देखिनु दुःखद कुरा हो । आजका जनता सार्वभौम छन् । आजको सरकार जननिर्वाचित हो । यो सरकार जनताप्रति उत्तरदायी छ । आजका सत्तासीनहरुले यी तथ्यहरुको हेक्का राख्नैपर्छ । यो सरकार नेपाली जनताको मतदानले बनेको नेपाल सरकार हो । सम्विधानमा लेखिएको पनि त्यही छ । कुनै कोणबाट हेर्दा पनि यो सरकार आलङ्कारिक राष्ट्रपतिको सरकार होइन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...