शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युद्ध सङ्ग्रहालयको डिपिआर बनाइँदै

शुक्रबार, २७ वैशाख २०७६, १८ : २६
शुक्रबार, २७ वैशाख २०७६

चितवन– तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८ स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा उल्लेख भएपछि निर्धारण गरिने उनले बताए । 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन उनलाई लागि श्रेष्ठलाई आग्रह गरेका थिए । नगरप्रमुख श्रेष्ठले भने, ‘प्रचण्डज्यूले डिपिआर गर्न भन्नुभएको छ, हामी यथाशीघ्र डिपिआर तयार गर्छौं ।’ सबै प्रक्रिया सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट डिपिआरको काम शुरु गर्ने तयारी गरिएको छ ।  उनले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताए । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डिपिआर तयार गरिने योजना छ ।

सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार,   दस्तावेजलगायतलाई सङ्कलन गरेर उक्त सङ्ग्रहालयमा राखिनेछ । दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताए ।

उक्त सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने उनको भनाइ थियो । सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । सङ्ग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष  प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै  देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त सङ्ग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप