शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा युवतीद्वारा अपहरणमा परेका बृद्धको २ घण्टामै उद्दार

शुक्रबार, २७ वैशाख २०७६, १४ : ००
शुक्रबार, २७ वैशाख २०७६

प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई सकुशल उद्दार गरेको छ । अपहरणमा पर्ने इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेल रहेका छन् । 

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले कृष्ण चौडेललाई अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई समेत पक्राउ गरेको छ ।

परिसरका प्रमुख (एसएसपी रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकले बताए ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको एसएसपी धानुकले बताए । 

यसरी घट्यो घटना
प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा परेका हुन् । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ । 

प्रहरीका अनुसार आज बिहान पनि इमाडोल नजिकै अनिमाले चौडेललाई बोलाएर अपहरण गरेको हुनसक्ने बताइएको छ । इमाडोलबाट अपहरण गरेर चौडेललाई सिधै ढोलाहिटी पुर्याएको थियो । 

चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागिन् । यदि नदिए मार्ने धम्की समेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएको एसएसपी धानुकले जानकारी दिए । 

कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले एक प्रतिष्ठित मिडिया र ललितपुर प्रहरीलाई खबर गरेकी थिइन् ।  चरलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन् । 

प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको एसएसपी धानुकले बताए । उनले भने, ‘परिसर र महाशाखाको संयुक्त टोली सादा पोसाकमा समेत खटिएको थियो ।’

भुजेलले फिरौती मागेको रकम दिन प्रहरी परिचालन भएको केही समयमा डीएसपी बोहोराको टोली र चरु पौडेल ढोलाहिटी पुगे । ढोलाहिटी पुगेर भजेललाई सम्पर्क गरेर फिरौती रकम दिने भन्दै उनलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकी भुजेलमाथि प्रहरीले अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरु पनि रहेको खुल्न आएको छ । प्रहरीका अनुसार थप एक महिला र एक पुरुषको संलग्नता रहेको पाइएको छ । 

पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप