शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'बाबुरामजीका आफ्नै कमजोरीका कारण नयाँ शक्ति धराशायी बन्यो'

​'फोरम नेपालको चुनाव चिन्ह लिएसँगै नयाँ शक्तिको अधोगति शुरु भयो'
बिहीबार, २६ वैशाख २०७६, १४ : ३४
बिहीबार, २६ वैशाख २०७६

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचमा एकीकरणका दृश्यमा देखिएनन् रामरिझन यादव । रामरिझन यादव नयाँ शक्ति नेपालका संस्थापक मात्र होइनन्, तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संस्थापक पनि हुन् तर यो एकीकरणबाट असन्तुष्ट भएर एकतामा सामेल नभएको हो कि भन्ने धेरैले आशङ्का गरेका छन् । यहाँसम्म कि उनी नेकपामा प्रवेश गर्दैछन् भनी हिजो दिनभरी हल्ला चल्यो । तत्कालीन नयाँ शक्ति नेपालका केही असन्तुष्ट नेताहरुसँग निरन्तर संवादमा रहेका रामरिझन यादव वार्तासमितिका सदस्य पनि थिए तर उनी वार्ता र छलफलमा पनि सहभागी भएका थिएनन् । प्रस्तुत छ, फोरम र नयाँ शक्तिबीचको एकीकरणप्रति असन्तुष्टि र प्रक्रियाका बारेमा रातोपाटीले समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य रामरिझन यादवसँग गरेको कुराकानीः

सङ्घीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी बीच एकीकरण भएपछि तपाईं असन्तुष्ट हुनुहुन्छ भनी खबर बाहिर आएको छ खास कुरा के हो ?
–खासमा कुरा के भएको हो भने नयाँ शक्ति पार्टी जसमो संस्थापक मध्येको एक हुँ, उता फोरम नेपाल (तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल) को पनि संस्थापक मध्येको एक हुँ । यी दुई पार्टीबीच एकीकरणका लागि नयाँ शक्ति नेपालका तर्फबाट बनेको वार्तासमितिका सदस्य पनि हुँ । म दुईवटै पार्टीको संस्थाक भएको हुनाले यी दुई पार्टीबीच एकीकरण हुँदा मभन्दा अरू कोही खुशी हुनसक्दैन । दुनियाँमा सायदै यस्तो भएको होला जुन दुईवटा पार्टीको संस्थापक होस्  र त्यही पार्टीको एकीकरण होस् । त्यस्तो भाग्यशाली व्यक्ति सायद म नै हुँ । त्यसैले दुईवटै पार्टीप्रति मोह, माया र ममता छ तर यो एकीकरणमा प्राविधिक रूपमा, प्रक्रिया रूपमा केही त्रुटिहरु भएका छन् । ती त्रुटिहरु सच्याइएन भने अगामी दिनमा हाम्रा यात्राहरू सुगम हुनेछैन । त्यही यात्रालाई सुगम र सहज बनाउन पार्टीभित्रका केही सचेत तप्काका नेताहरु जो तत्कालीन नयाँ शक्ति पार्टीको नीति निर्माणमा भूमिका खेल्नुहुन्थ्यो । हामी सबैजना दुई दिन घनिभूत छलफल गर्यौं र त्यो छलफलबाट निस्केका निष्कर्षका बारेमा अध्यक्षद्वयलाई जानकारी दिने कुरा भयो । त्यसबाहेक अरू केही भएकै होइन, बजारमा आएका सबै कुरा हल्ला हुन् । त्यसमा कुनै सत्यता छैन । यो समाजवादी पार्टीलाई राम्रो कसरी बनाउने, त्यसका लागि सही सोच, विचार र राजनीतिक कस्तो हुनुपर्छ त्यो नयाँ शक्ति छ । त्यही नयाँ शक्ति पार्टीका नेताहरुले त्यस विषयमा छलफल गरेको मात्र हो । 

तपाईंले केही विधि र प्रक्रियामा त्रुटि भएको भन्नुभयो, कहाँ केमा त्रुटि भयो ?
–सबभन्दा पहिले कुनै पनि पार्टी एकता गर्ने क्रममा केन्द्रीय समितिमा छलफल हुनुपर्छ । केन्द्रीय समिति सानो कुरा होइन । कम्युनिस्ट पार्टीमा एकीकरण हुँदा सानो पुस्तक नै छापेर मेची महाकाली छलफलका लागि पठाइन्थ्यो । सबैतिरबाट सुझाव आएपछि मात्र एकीकरण हुन्थ्यो । तर अहिले फोरम नेपालसँग एकीकरण गर्दा नयाँ शक्ति नेपालले कुनै त्यस्तो छलफल चलाएन । सल्लाह लिन पनि उचित ठानेन । प्रक्रियामा त्रुटि भएका यस्ता थुप्रै उदाहरण छन् । जस्तो; सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई केन्द्री कार्यसमितिका अध्यक्ष उपेन्द्र यादवले शपथग्रहण गराउनुभयो । यो प्रक्रियागत त्रुटिपूर्ण कार्य हो । पार्टीको मर्यादाक्रममा पहिलो नम्बरमा डा. बाबुराम भट्टराईलाई राखिएको छ भने दोस्रोमा उपेन्द्र यादव, तेस्रोमा वरिष्ठ नेता अशोक राई र चौथोमा राजेन्द्र श्रेष्ठ हुनुहुन्छ । तर यहाँ दोस्रो नम्बरका नेताले पहिलो नम्बरका नेतालाई शपथ ग्रहण गराउनुभयो । यो कस्तो प्रक्रिया हो । यस्तो पनि कही हुन्छ ? कुनै पनि पार्टीमा प्रोटोकल, मान मार्यादा र अनुशासन हुन्छ र त्यसका आधारमा पार्टी चलेकै हुन्छ तर त्यहाँ त्यस्तो देखिएन । यस्तो गल्ती आइन्दा नहोस् भनेर हामीले अध्यक्षद्वयलाई सुझाव दिन चाहेका छौँ । डा. बाबुराम भट्टराईले नयाँ नयाँ विचार र सिद्धान्तलाई लिएर पार्टी गठन गर्नुभएको थियो तर आज समाजवादी पार्टी, नेपालले त्यसलाई नै नमान्ने भएपछि कसरी सङ्गठन चल्छ । नयाँ शक्ति पार्टीको जुन सोच हो त्यसका आधारमा समाजवादी पार्टीलाई अगाडि बढाउनुपर्छ । 

एकताकै क्रममा यस्ता विधि र प्रक्रिया मिच्न थालेको छ भने लामो यात्रा तय गर्न बाँकी छैन, यो एकीकृत पार्टीको भविष्य तपाईंले कस्तो देख्नुभएको छ ?
–कुनै पार्टी एकीकरण हुँदा सुरुको अवस्थामा यस्ता त्रुटि हुनसक्छन् तर त्यसलाई सच्याउनुपर्छ । समाजवादी पार्टीको एकीकरण दुई चार दिनको छलफलले मात्र भएको होइन, दुवै पार्टीका बीचमा लामो समयदेखि छलफल र बहस चलिरहेको थियो । तर त्यतिबेला एकता हुन सकेन र अहिले आएर छोटो अवधिमा एकता सम्भव भयो । छोटो अवधिको वार्ता प्रक्रियाले एकीकरण भएको हो । तर यो एकीकरणका लागि अलि धेरै समय चाहिन्थ्यो । साथीहरुका बीचमा व्यापक छलफल गर्नुपथ्र्यो, विचार विमर्श गर्नुपथ्र्यो । लामो समय लिएर एकीकरण प्रक्रिया पूरा गरेको भए विधि र प्रक्रियामा केही गल्ती हुने थिएन । म पनि वार्ता समितिका सदस्य हुँ तर म प्रायः मधेसमै बस्छु । वार्ता प्रक्रियामा व्यापक छलफल गर्ने मौका नै प्राप्त भएन र पार्टीका शीर्ष नेतृत्वले त्यति वास्ता पनि गरेन । हतारकै क्रममा केही त्रुटि भएका छन्, जसलाई हामीले सच्याउन भनेका छौँ । 

दुई दिनसम्म चलेको तपाईंहरुको यो छलफलले निकाले निष्कर्षका बारेमा अध्यक्षद्वयलाई कहिले जानकारी गराउनुहुन्छ ?
–दुवैजना अध्यक्षलाई होइन, तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई मात्र जानकारी गराउने तयारी गरेका छौँ । उपेन्द्र यादवका तर्फबाट हामीले केही त्रुटि फेला पारेका छैनौँ । यतैबाट केही प्रक्रियागत त्रुटि भएको छ त्यसैले डा. बाबुराम भट्टराईलाई आजै भेटेर लिखित रूपमा हामीले सल्लाह सुझाव दिन्छौँ । 

तपार्इं दुईवटै पार्टीका संस्थापक भएको हुनाले पक्कै पनि दुवैजना अध्यक्षलाई नजिकबाट चिन्नुभएको छ, उहाँ दुईजनाको मिलनलाई तपाईंले कसरी बुझ्नुभएको छ, उहाँ दुईजनाको अगामी यात्रा कस्तो रहनेछ ?
–नेपाली काँग्रेसको स्थापना हुँदा प्रजातान्त्रिक काँग्रेस पहिले बनेको थियो । बीपी कोइराला राष्ट्रिय काँग्रेसका नेता हुनुहुन्थ्यो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले बीपी कोइरालालाई भन्नुभएको थियो, पार्टीको नामबाट राष्ट्रिय हटाइदिनुहोस् । सुवर्ण शमशेरलाई तपाईं प्रजातन्त्र हटाई दिनुस् र नेपाली काँग्रेस बनाई दिनुस् भन्नुभयो । बीपी कोइरालासँग दिमाग थियो र सुवर्ण शमशेरसँग धन र बल थियो । त्यतिबेला सुवर्ण शमशेरको जहाज चल्थ्यो । राणाकालमा राणाका सेनासँग मुक्ति सेना लड्नका लागि बर्माबाट त्यही जहाजले हतियार ल्याएर दिएको थियो । त्यही हतियार लिएर राणाको सेनासँग मुक्तिसेनाले युद्ध लडेको थियो । त्यही सुवर्ण शमशेर र बीपी कोइरालाले मिलेर नेपाली काँग्रेस बनाउनुभएको थियो । अहिले उपेन्द्र यादवसँग एउटा राम्रो जनाधार छ तर पर्सनालिटी त्यति ठूलो छैन, जति ठूलो डा. बाबुराम भट्टराईको छ । उपेन्द्र यादव क्षेत्रीय पार्टीमा सीमित हुनुहुन्छ । उहाँको देशैभरी सङ्गठन भए पनि उहाँमाथि क्षेत्रीय पार्टीको छाप लागेको छ । तर डा. बाबुराम भट्टराई देशमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि परिचित व्यक्ति हुनुहुन्छ । उहाँ विद्वान हुनुहुन्छ । विद्वताको भण्डार छ उहाँसँग । त्यसैले दुवैजना मिल्नुपर्छ । बाबुराम भट्टराईसँग सङ्गठन बनाउने क्षमता छैन तर उपेन्द्र यादवसँग सङ्गठन बनाउने क्षमता छ । त्यही भएर होला उहाँले एक्लै यति ठूलो सङ्गठन बनाउनुभएको छ । यदि दुवैजनाले राम्रोसँग काम गर्नुभयो भने एक नम्बरको सङ्गठन बन्छ र अगामी दिनमा देशको प्रधानमन्त्री उपेन्द्र यादव बन्नसक्नु हुन्छ । डा. बाबुराम भट्टराईको इच्छा पनि हो कि यो देशको मुख्य कार्यकारी पदमा मधेसको छोरा जाओस् ।  डा. बाबुराम भट्टराईको साथ रह्यो भने उपेन्द्र यादव यो देशको प्रधानमन्त्री बन्नुहुन्छ । 

तपाईंले भन्नुभयो, उपेन्द्र यादवमाथि क्षेत्रीय पार्टीको छाप छ त्यो छाप हटाउनका लागि डा. बाबुराम भट्टराईसँग कला छ कि छैन ?
–डा. बाबुराम भट्टराईको जुन विद्वता छ, जुन क्षमता छ, जुन विचार छ, त्यसले उपेन्द्र यादवलाई निकै सहयोग पुर्याउनेछ । उपेन्द्र यादव पनि कुनै जातिवादी व्यक्ति होइनन् । उनको स्कुलिङ पनि माक्र्सवादी स्कुलिङ नै हो । माक्र्सवादी अवधारण, माक्र्सवादी दृष्टिकोणलाई नै आत्मसात गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएको हो । उपेन्द्र यादवको बारेमा धेरैलाई थाह नहोला । उपेन्द्र यादव नै यस्ता व्यक्ति हुनुहुन्छ जो १० कक्षा पढ्दा पढ्दै घर छाडेर राजनीतिमा लागे । १० कक्षा पढ्ने उपेन्द्र यादव त्यतिबेला नै पुष्पलालको सम्पर्कमा जानुभयो । त्यतिबेला प्रगतिशील युवा विद्यार्थीका उपाध्यक्ष हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलनमा उहाँ विद्यार्थी नेताको रूपमा सक्रिय भएर लाग्नुभएको थियो । उपेन्द्र यादव त्यतिकै राजनीतिकमा आउनु भएको होइन, लामो सङ्घर्ष गरेर राजनीतिमा आउनुभएको हो । उहाँ कुनै धनीमानी व्यक्तिका छोरा होइन । उहाँ जुन सङ्घर्ष गरेर आउनुभयो त्यही कारणले उहाँलाई सङ्गठन बनाउन सजिलो भएको छ । उहाँलाई मधेसले साथ दिएको छ । 

प्रज्ञा भवनमा पार्टी एकता घोषणा कार्यक्रममा डा. बाबुराम भट्टराईले यो समाजवादी पार्टीको आधार क्षेत्र तराई मधेस नै हुन्छ भन्नुभएको थियो, यो कुरा सही हो ?
–डा. भट्टराईको यो कुरासँग म सहमत छैन । अहिले समाजवादी सोच सूत्रवाद भएको छ । त्यसको आधारमा तराई मधेसमा मात्र सीमित रहन मिल्दैन । कुनै मधेसी वा कुनै जातका लागि मात्र समाजवादी होइन । समाजवादी पार्टीको सङ्गठनको आधार तराई मधेसमा केन्द्रित भएको हुनाले त्यस आधारमा उहाँले त्यस्तो भनेको हुनुपर्छ । तर समाजवादी विचारलाई तराई मधेसमा मात्र राखेर हुँदैन । यसलाई देशैभरी फैलाउनुपर्छ । नेपालको जुन आर्थिक प्रणाली छ, त्यसमा समाजवादी सोचका साथ अगाडि बढ्यो भने २० वर्षमा देशको कायापलट हुन्छ । बाबुरामजीले सङ्गठन हेरेर भन्नुभएको होला तर तराई मधेसमै सीमित राख्ने कुरा भनेको होला जस्तो लाग्दैन मलाई । 

डा. बाबुराम भट्टराईले माओवादी छाडेर जुन उद्देश्यका साथ नयाँ शक्ति पार्टी खोल्नुभयो त्यसका आधारमा सङ्गठन पनि निर्माण भएको थियो, देशका महत्त्वपूर्ण व्यक्तित्व पार्टीसँग जोडिनुभएको थियो । अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेको थियो नयाँ शक्ति नेपाल तर विस्तारै विस्तारै ढल्दै फोरम नेपालसँग एकीकरण गर्नुपर्ने भयो । यस्तो अवस्था कसरी सिर्जना भयो ?
–नयाँ शक्तिको निर्माण नयाँ ढङ्गबाट भएको थियो । नयाँ नयाँ विचारको सुरुवात भएको थियो । लार्ज स्केलमा महत्त्वपूर्ण व्यक्ति जोडिनुभयो । जुन दिन पार्टी एकता घोषणा भयो, त्यो दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भन्नुभएको थियो, अब यो पार्टी राष्ट्रिय पार्टी बन्ने भयो । तर विस्तारै तासको घरजस्तै धराशयी हुँदै गयो । हामी निकै दयनीय अवस्थामा चुनावमा पुग्यौँ । बाबुरामलाई धेरैले सङ्गठन निर्माण गर्ने कला नभएर पार्टीको अवस्था यस्तो भएको हो भन्छन् तर त्यस्तो होइन । उहाँमा कलामा कमी छ तर हुँदै नभएको होइन । यदि साङ्गठनिक कारणले पार्टी नचल्ने हो भने पार्टी गठनको बेला त्यत्रो मान्छे आउने थिएनन्, ठूला ठूला व्यक्तिहरु जोडिने थिएनन् । बाबुरामको दक्षता हेरेर व्यक्ति उहाँसँग जोडिनुभयो । हाम्रो पार्टीको आधारभूमि माओवादी क्याडरबाट नै तयार भएको थियो । धेरै मान्छे माओवादीबाट नै आएका थिए । त्यसकारणले माओवादी कमजोर भएको थियो । कमजोर हुँदै गएको माओवादी पार्टीलाई कसरी बचाउने भनी प्रचण्डले खेल सुरु गर्नुभयो । उहाँले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर काँग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री हुनुभयो र उहाँले संसदबाट एउटा यस्तो बिल पास गराउनुभयो कि जुन पार्टी संसदमा छन्, त्यो पार्टी मात्र चुनाव पाउँछन् । त्यसको विरोध नयाँ शक्तिले गर्यो तर सकेन । आफ्नो पार्टी बचाउनका लागि प्रचण्डले नयाँ शक्तिलाई विभेद गर्नुभयो । नयाँ शक्ति पार्टीले फोरम नेपालको चुनाव चिन्हबाट निर्वाचनमा गयो । कसैले पनि यसलाई राम्रो रूपमा लिएका थिएनन् । त्यही दिनबाट नयाँ शक्तिको धरासायी हुने दिन सुरु भयो । अर्को कुरा प्रचण्डसँग त्यस्तो नराम्रो सम्बन्ध हुँदाहुँदै डा. बाबुराम भट्टराईले वामगठबन्धमा सामेल हुने निर्णय लिनुभयो । त्यसले गर्दा नयाँ शक्तिसँग भएभरका माओवादी र अन्य डेमोक्रेट नेताहरु आआफ्नो बाटो लाग्नुभयो । यसरी बाबुरामजीका आफ्नै कमजोरीका कारण उहाँले बनाउनुभएको पार्टी धारासायी हुनगयो । बाबुराम एक्लैले पार्टी बनाउनुभएको थियो, उहाँले आफ्नो क्षमताले बनाउनुभएको थियो । 

दुईवटै माओवादी पृष्ठभूमिका नेता मिल्नुभयो भयो अब आउने दिनमा नेकपासँग एकीकरण गर्नेछन् भन्ने टिप्पणीहरु भइरहेको छ, यसमा कतिको सत्यता छ ?
–नेकपा कम्युनिस्ट पार्टी नै होइन । अहिले जुन नीति तथा कार्यक्रम आएको छ, त्यसमा कतै कम्युनिस्ट देखिँदैन । चीन कम्युनिस्ट देश भनिए पनि पुँजीवादी भएको छ । यहाँ पनि नेकपा कम्युनिस्ट होइन, समाजवादी भएको छ । त्यसैले हामी उनीहरुसँग मिल्न जाँदैनौँ नेकपा नै हामीसँग मिल्न आउनुपर्छ । नेकपा पनि विस्तारै समाजवादी सोचमा परिवर्तन हुन्छन् । 

राजपा नेपालसँग एकीकरणको सम्भावना कति छ ?
–राजपा नेपालसँग एकीकरण निकै सम्भावना छ । किनभने त्यो दलसँग दुई तीन पटक वार्ता पनि भएको छ । वार्ता र छलफललाई निरन्तरता दियो भने अवश्य एकता हुन्छ । राजपा नेपालका जति पनि नेताहरु हुनुहुन्छ, सबैको पृष्ठभूमि समाजवादी रहेको छ । त्यही भएर समाजवादी पार्टीसँग एकीकरणमा समस्या हुनेछैन । उहाँहरुलाई मिलाउने काम डा. बाबुराम भट्टराईले गर्नुहुन्छ । उपेन्द्र यादवसँग धेरै कुरा नमिले पनि यसको मध्यस्थता गर्ने काम बाबुराम भट्टराईले गर्नुहुन्छ ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप