शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक पैसामा अण्डा, एक रुपैयाँमा तेल : न्यु सुयोग इन्टरप्राइजेजले वीरमा तोकिएको मूल्यमा खाद्यान्न सप्लाई नगर्दा के हुन्छ ?

बिहीबार, २६ वैशाख २०७६, ०९ : २०
बिहीबार, २६ वैशाख २०७६

काठमाडौँ । बजारको मूल्य भन्ने हो भने एउटा अन्डाको मूल्य १२ रुपैयाँ पर्छ । तेल लिटरको १ सय ५० भन्दा कम मूल्यमा पाइँदैन । 

तर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको खरिद इकाई शाखाले भने एक पैसामा अण्डा, एक रुपैयाँ तेल खरिद गर्ने सम्झौता गरेको एक महिना भइसकेको छ । दैनिक महँगी बढिरहेको बेला यो मूल्य सुन्दा अचम्म लाग्न सक्छ । पत्याउन गाह्रो हुन्छ । तर वीर अस्पतालले खाद्यान्नको टेन्डर आह्वान गर्दा निकै सस्तो मूल्यमा खाद्यान्नको टेन्डर स्वीकृत गरेको छ ।

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि ‘न्यु सुयोग इन्टरप्राइजेज’को टेन्डर स्वीकृत गरिसकेको छ । टेन्डरका लागि निवेदन दिने तीन इन्टरप्राइजेजमध्ये   ‘न्यु सुयोग इन्टरप्राइजेज’ले उपलब्ध गराएको रासन मूल्य लिस्ट धेरै सस्तो थियो । यस्तै चना, लसुन, बेसार, अदुवा, जिरा प्रतिकेजी १ रुपैयाँ, नेबिको, सुगर फ्री बिस्कुट प्याकेटको १ रुपैयाँ, तेल १ रुपैयाँ लिटर, जिरा मसिनो चामल प्रतिकेजी ८० रुपैयाँ, दालप्रति केजी ७५ रुपैयाँ गहुँको आँटा ५ केजीको १ रुपैयाँका दरको मूल्यमा अस्पताललाई दिने गरी टेन्डरको मूल्यसूचीमा उल्लेख गरिएको छ ।

टेन्डर भर्ने ३ इन्टरप्राइजेजमध्ये  ‘न्यु सुयोग इन्टरप्राइजेज’ले सबैभन्दा कम मूल्यमा खाद्यान्न उपलब्ध गराउने भए पछि अस्पतालले टेन्डर स्वीकृत गरेको थियो ।

अन्डा, तेललगायत ५ वटा खाद्यान्नको मूल्य कम भए पनि अन्य खाद्यान्नको मूल्य बजारको मूल्य अनुसार नै भएको हुँदा टेन्डरमा कुनैको मूल्य कम कुनैको मूल्य बजारको मूल्य जस्तै हुने वीरकी खरिद इकाई शाखाकी प्रमुख भगवती थपलियाले बताइन् ।

चामल, दालको मूल्य बजारभाउभन्दा केही मात्रामा मात्रै सस्तो भएको अस्पतालको भनाइ छ ।

वीर अस्पतालको खाद्यान्नको दररेट लागत अनुमानभन्दा धेरै कम भएको हुँदा सामान्यतः यस्तो विल स्वीकृत गर्न नमिल्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक केशव प्रसाईंका अनुसार लागत मूल्यभन्दा ५० देखि ४५ प्रतिशत मूल्य कम राखेर टेन्डर भर्न पाइन्छ तर वीर अस्पतालको मूल्य हदैसम्म सस्तो भएको बताए ।

रासन खरिद सम्बन्धित व्यवस्थामा उल्लेख गरेअनुसार सबैभन्दा कम मूल्यमा टेन्डर आह्वान गर्ने इन्टरप्राइजेज ‘न्यु सुयोग इन्टरप्राइजेज’ भएको हुँदा टेन्डर स्वीकृत गरेको अस्पतालको भनाइ छ । योभन्दा अघिल्ला वर्षहरुमा पनि अन्य सप्लायर्सहरुले पनि यही मूल्यमा खाद्यान्न उपलब्ध गराउँदै आइरहेको थपलियाले बताइन् ।

मापदण्डमा भने सस्तो मूल्यमा टेन्डर स्वीकृत गर्दा सम्बन्धित सप्लार्यसले वीरसँग काम गरेको ३ वर्षको अनुभव हुनुपर्छ । तर ‘न्यु सुयोग इन्टरप्राइजेज’को वीरसँगको यो पहिलो सम्झौता हो ।

खाद्यान्नको गुणस्तर मापनका बारेमा पनि समिति गठन गरेर हेरिने अस्पताले जनाएको छ । 

सामान उपलब्ध नगराए कालो सूचीमा

टेन्डर स्वीकृत भइसकेपछि अब ‘न्यु सुयोग इन्टरप्राइजेज’ले तोकिएको मूल्यमा खाद्यान्न उपलब्ध गराउन सक्ने हो या होइन भन्ने धेरैको शङ्काको विषय बनेको छ ।

तोकिएको मूल्यमा खाद्यान्न उपलब्ध नगराउने हो भने ऐन अनुसारनै ‘न्यु सुयोग इन्टरप्राइजेज’लाई ३ वर्ष कालो सूचीमा राख्ने अस्पतालले जनाएको छ । साथै धरौटी जफत गर्ने वीर अस्पतालकी खरिद इकाई शाखाकी प्रमुख भगवती थपलियाले बताइन् ।

यस्तो सस्तोमा काम गर्न मिल्छ ?

वीर अस्पतालको खाद्यान्नको दररेट लागत अनुमानभन्दा धेरै कम भएको हुँदा सामान्यतः यस्तो विल स्वीकृत गर्न नमिल्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक केशव प्रसाईंका अनुसार लागत मूल्यभन्दा ५० देखि ४५ प्रतिशत मूल्य कम राखेर टेन्डर भर्न पाइन्छ तर वीर अस्पतालको मूल्य हदैसम्म सस्तो भएको बताए ।

अहिलेसम्म वीर अस्पतालमा खाद्यान्न खरिदको बारेमा लिखित गुनासो आएको खण्डमा अनुसन्धान गर्ने अनुगमन कार्यालयले जनाएको छ । 

सस्तो मूल्यमा टेन्डर आह्वान गरेको खण्डमा सम्बन्धित इन्टरप्राइजेजले वीर अस्पतालमा खाद्यान्न सप्लाइ गरेका ३ वर्ष अनुभव हुनुपर्ने खाद्यान्न खरिद मापदण्डमा उल्लेख गरिएको छ । यदि न्यु सुयोग इन्टरप्राइजेजसँग ३ वर्षको अनुभव छैन भने संस्थाले काम गर्न नपाउने उल्लेख गरिएको छ ।

त्यस्तै, रासन खरिदको नियममा बढीमा ३ वटा आइटमको दररेट लागत रकमको ५० प्रतिशतभन्दा कम छ भने बोलपत्र स्वीकारयोग्य नहुने मापदण्डमा उल्लेख गरिएको छ । तर वीर अस्पतालले खाद्यान्न खरिद गर्दा सबै मापदण्ड पूरा गरेको देखिँदैन ।

यता अस्पतालकी खरिद इकाई प्रमुख थपलियाले भने सबै मापदण्ड पूरा गरेर काम गरेको बताइन् ।

साढे ९८ हजारमा निःशुल्क खाना

वीर अस्पतालका लागि नयाँ आर्थिक वर्षको खाद्यान्नका लागि टेन्डर खुलाइएकोमा ३ वटा कम्पनीले टेन्डर हालेका थिए । जसमध्ये न्यु सुयोगले २९ लाख ८७ हजार ६ सय ५५ रुपैयाँ, आरके ट्रेडर्सले १ करोड ४२ लाख ७८ हजार २ सय २८ र माहाङकल सप्लायर्सले १ करोड ४३ लाख ८ हजार ६ सय २५ रुपैयाँ वार्षिक रूपमा तिर्ने गरी टेन्डर हालेका थिए । तीनमध्ये सबैभन्दा कम मूल्यसूची न्यु सुयोगले पेश गरेपछि अस्पतालले यही कम्पनीलाई छनोट गरेको छ । गुणस्तरीय वस्तु बिक्री वितरण गरेन भने कारबाही गरिने अस्पताल प्रशासनले बताएको छ ।

वीर अस्पतालमा ३८० शय्यामध्ये ८० प्रतिशत अर्थात ३०४ शय्यामा बिरामीलाई निःशुल्क र २० प्रतिशत सशुल्क उपचार गराउँदै आइरहेको छ ।

वीर अस्पतालमा हरेक महिना ५ हजार १ सय र ट्रमा सेन्टरमा २ हजार ६२४ जना गरी वर्षमा ९६ हजार ६ सय ८८ जना बिरामीलाई निःशुल्क खाना खुवाइन्छ । नयाँ सप्लायर्सलाई टेन्डर स्वीकृत दिनुमा खरिद इकाइ शाखाका कर्मचारीको मिलेमतो रहेको धेरैले शङ्का गरेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप