केन्द्रीय संस्करण

जात्रामा राष्ट्रिय ध्वजाको प्रयोग

person explore access_timeबैशाख २५, २०७६ chat_bubble_outline0

मत्स्येन्द्रनाथको गगनचुम्बी रथको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहरिएको देख्दा कुन नेपालीको मन प्रफुल्लित नहोला ? उपत्यकाका रथजात्रामा सम्मानपूर्वक राष्ट्रिय झण्डा प्रयोग गर्ने प्रचलन छ । जात्राअघि रथ वा खटको गजुरलाई राष्ट्रियताको प्रतीक नेपाली झण्डाले सजाइन्छ अनि जात्रा सुरु गरिन्छ । यहाँका जात्रामा राष्ट्रिय ध्वजाको प्रयोगको प्रचलन कहिले र किन सुरु भयो भन्नेबारे यस लेखमा छोटो चर्चा गरिने छ ।

नेपालका धार्मिक महोत्सवमा ध्वजाको प्रयोगको परम्परा निकै प्राचीन मानिन्छ । वैदिककालदेखि हालसम्म पनि सनातनीहरूले नेपाल लगायत भारतीय उपमहाद्वीपमा केसरिया रङको भगवा–झण्डाको प्रयोग गरेको देखिन्छ । ‘भगवा’ शब्दले ‘भगवान्’ अथ्र्याउने हुँदा ‘भगवा–झण्डा’ भन्दा ‘भगवान्को झण्डा’ भन्ने अर्थ खुल्छ । यस अर्थमा जात्रामात्रामा नेपाली राष्ट्रिय ध्वजाको प्रयोगको पनि भगवान्को झण्डाको विकल्पमा प्रयोग भएको मानिनु पर्दछ । सनातनी हिन्दूहरूले भगवा–झण्डा र नेपाली राष्ट्रिय झण्डा आफ्ना मठ–मन्दिरमा प्रयोग गरेका पाइन्छ भने बौद्धहरूले पञ्चरङ्गी बौद्ध–झण्डा राष्ट्रिय झण्डाको साथमा बौद्ध विहार तथा मन्दिरहरूमा प्रयोग गरेको पाइन्छ ।

भगवा–झण्डाको केसरिया रङले धर्म, अर्थ, अग्रगती, ज्ञान, कीर्ति र त्यागको सङ्केत दिन्छ भने सन् १९५२ देखि प्रचारित अन्तर्राष्ट्रिय बौद्ध झण्डामा रहेका रातो, सेतो, पहेँलो, नीलो, खैरो पाँच रङ्गहरूले भगवान् बुद्धले बोधिज्ञान प्राप्त गर्दाको क्षणमा उहाँको शरीरबाट निस्किएको पञ्चरङ्गी आभालाई सङ्केत गर्छ । नेपालको राष्ट्रिय झण्डामा रहेको नीलो रङले शान्ति, रातोले वीरता र सेतोले पवित्रताको सङ्केत दिन्छ ।

भगवा–झण्डा सनातनधर्मको प्रतीक हो । यसको केसरिया रङ आगोको लप्काको रङ हो, उदाउँदो र अस्ताउँदो सूर्यको रङ पनि हो । भगवा–झण्डा र नेपालको राष्ट्रिय झण्डामा रहेको त्रिकोणाकारलाई अग्निको प्रतीक मानिन्छ । दुई त्रिकोणमध्ये माथिल्लो भागको त्रिकोण छोटो र तल्लो त्रिकोण लामो बनाइन्छ– ठीक त्यस्तै आगोको लप्काको तल्लो भाग लामो र माथिल्लो भाग छोटो हुन्छ । नेपालको राष्ट्रिय झण्डाको माथिल्लो त्रिकोणमा आठ कुनासहितको अर्धचन्द्राकार प्रतीकमा चन्द्रमा र तल्लो त्रिकोणमा बाह्र कुनासहितको सूर्य अङ्कित हुन्छ ।

प्राचीन नेपालमा राजकीय कुलहरूका आआफ्ना झण्डा हुन्थे । लिच्छवि कुलको झण्डालाई ‘लिच्छवि कुलकेतु’ भनिएको छ । लिच्छविहरू सूर्यवंशी भएका हुँदा यिनीहरूका झण्डा सूर्याङ्कित हुन्थे र आभीर गुप्तहरू चन्द्रवंशी हुँदा यिनीहरूका झण्डा चन्द्राङ्कित हुन्थे भन्ने विद्वानहरूले धारणा छ । मध्यकालीन नेपालमा शासन गर्ने मल्ल र आधुनिक कालमा शासन गर्ने राणाहरू सूर्यवंशी क्षत्रिय थिए भने शाहहरू चन्द्रवंशी क्षत्रिय थिए । ती दुवै चन्द्र र सूर्यवंशको संयुक्तरूपको झण्डालाई नै नेपालको झण्डाको रूपमा स्वीकारिएको मानिन्छ । 

नेपालको संविधान अनुसार वि.सं. २०१९ सालमा नेपालको राष्ट्रिय झण्डाको औपचारिक मस्यौदा गर्दा पाइथागोरसकोे ज्यामितीय सूत्रअनुसार त्यसलाई तयार गरिएको थियो । त्यसभन्दा अगाडि प्रयोग भएका नेपालका झण्डा विना मापका र अनौपचारिक रूपमा प्रयोग हुन्थे । त्यतिबेलाको नेपालको झण्डाको तल्लो वा माथिल्लो कुनै पनि एक त्रिकोण ठूला आकारका हुनसक्थे ।

सूर्य र चन्द्र कुनै पनि त्रिकोणमा राखे हुन्थ्यो र दुवै सूर्य र चन्द्रका मुहारमा देवतालाई झैँ आँखा, नाक र मुख राखी सजाइएका हुन्थे । अझै पनि विहार तथा मन्दिरहरूका गजुर तथा ढोकाहरूमा त्यस्ता विभिन्नतायुक्त अनौपचारिक धातु निर्मित नेपाली झण्डाका नमुनाहरू परम्परागत रूपमा प्रयोग गरिएका पाइन्छन् नै । कतिपय मन्दिरका ढोकाका दुई छेउमा सूर्याङ्कित र चन्द्राङ्कित गरी दुई झण्डाहरू अलग–अलग गरी राखिएका पाइन्छन् । तर वि.सं. २०१९ साल पश्चात् भने मन्दिर तथा जात्राहरूमा नेपालको संविधानअनुसारको औपचारिक राष्ट्रिय झण्डाको नै प्रयोग हुन थालेको पाइन्छ ।

जे होस्, सनातनी हिन्दु भगवा–झण्डा वा अन्तर्राष्ट्रिय बौद्ध–झण्डाको सट्टा वा ती झण्डाहरू सँगसँगै जात्रामात्रामा नेपालको राष्ट्रिय झण्डाको प्रयोगले नेपालीहरूको सांस्कृतिक राष्ट्रवादप्रतिको झुकाव र प्रेमलाई दर्शाउँछ ।    
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.