बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकमाथि बहस : अधिकारका नाममा आमाबाबु नै भाडामा ल्याउने ?

नागरिकता विधेयकमाथिको बहस महिला र मधेसीलाई हेप्न प्रयोग भयो : युग पाठक
मङ्गलबार, २४ वैशाख २०७६, १७ : ०३
मङ्गलबार, २४ वैशाख २०७६

काठमाडौँ– सङ्घीय संसदको राज्य व्यवस्थापन समितिमा ७ महिनादेखि बन्धक बनेको ‘नागरिकता विधेयक २०७५’ माथिका सदनदेखि सडकसम्म बहस भइरहेको छ ।

उक्त विधेयकमा सत्तासीन दल र प्रतिपक्ष दलका महिला–पुरुष तथा पहाडिया–मधेसी नेताहरूबीच चर्को मतभेद देखिएको छ ।

उक्त बहसलाई मध्यनजर गर्दै मङ्गलबार राजधानीमा सत्तासीन दल नेकपाका विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु

(क्रान्तिकारी)ले ‘नागरिकता विधेयकमा समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

उक्त अन्तक्र्रिया कार्यक्रममा महिला र पुरुषबीच समान नागरिकताको हक हुने वा नहुने ? नेपाली नागरिकसँग बिहे गरेर आएका विदेशी महिला वा पुरुषलाई कहिले र कसरी नागरिकता दिने वा नदिने ? सदनमा रहेको नागरिकता विधेयकमा सुधार गर्नुपर्ने कुरा केके छन् ? भन्नेबारे केन्द्रित थियो ।

वक्ताका रूपमा नागरिकता विधेयकलाई नजिकबाट नियालिरहेका राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, प्रतिनिधि सभाका सांसद झपट रावल, डा. युवराज सङ्ग्रौला, साध्यबहादुर भण्डारी, युग पाठकलाई उभ्याइएको थियो । राष्ट्रिय सभाका सांसद विडारीले लैङ्गिक अधिकार र नागरिकताको विषय फरक भएको धारण राखे ।

उनले भने, ‘नागरिकता विधेयक प्रतिनिधि सभामा नै छ । मैले त्यसलाई नियालेर बसिरहेको छु । त्यहाँ जुन तरिकाले बहस र छलफल भइहेको छ, त्यसले समस्याको समधान निकाल्न सक्दैन । लैङ्गिक अधिकार र नागरिकता बिलकुलै फरक विषय हो । यी दुई विषयलाई सँगै राखेर बहस गर्नु नै गलत हो ।’  सांसद विडारीले नागरिकता विधेयकमाथि विवाद गर्नुभन्दा समस्या पहिल्याएर समाधानतिर जानुपर्नेमा जोड दिए ।

 ‘नागरिकताको विषयमा हाम्रोमा समस्या छ भन्ने कुरामा कसैको दुई मत छैन । त्यसो हो भने हामी किन विवादमा अल्झिरहेका छौँ । समधान गर्नतिर लाग्नु पर्यो,’ उनले भने । नेपाली नागरिकता लिएका विदेशी नागरिकको खोजी गरी उनीहरूको नागरिकता खारेज गर्न सरकार अगाडि बढ्नुपर्ने सांसद विडारीको सुझाव थियो ।

सबै वक्ताको निष्कर्ष नेपाली नागरिक नागरिकता पाउनबाट वञ्चित हुनुहुन्न, विदेशीले नेपाली नागरिकता पाउनुहुन्न भन्ने थियो ।

यस्तै प्रतिनिधि सभाका सांसद झपट रावलले अधिकारका नाममा आमा बाबु नै भाडामा ल्याउने कुरा स्वीकार्य नहुने तर्क राखे ।

‘यतिबेला यहाँ विभिन्न अधिकारका नाममा भाडामा आमाबाबु ल्याउने खेल सुरु भएको छ । यो कुरा मलाई स्वीकार्य छैन । विदेशी मानसिकता र  विदेशीको निर्देशनमा काम गर्नेहरूले मुलुकको नेतृत्व विदेशीलाई सुम्पन चलखेल गरिरहेका छन्’, उनले भने, ‘यस्तो मानसिकताले नागकिता विधेयकमाथिको छलफलमा प्रस्तुत हुँदा समस्या देखिएको छ । नागरिकताको विषयमा हल खोज्न यो मानसिकता त्याग्न जरुरी छ । अनि एक मिनेट यो समस्याको पनि अन्त्य हुन्छ ।’

विदेशीसँग नेपाली शासकहरू लड्न नसक्दा यस्तो समस्या आएको उनको दाबी थियो ।

सबै वक्ताको निष्कर्ष नेपाली नागरिक नागरिकता पाउनबाट वञ्चित हुनुहुन्न, विदेशीले नेपाली नागरिकता पाउनुहुन्न भन्ने थियो ।

‘विदेशीसँग नेपाली शासकहरूले सशक्त रूपमा लड्न सक्नुभएन, जसको परिणाम अहिले हामीले यो भोगिरहेका छौँ । यस्तै हो भने अब विदेशीबाट शासित हुने अवस्था आउँछ । महेन्द्र चौधरीबाट शासित हुने अवस्था आउँछ,’ उनले भने ।

यो पनि

‘घरसाङ्ला खाँदै वनसाङ्ला : हाम्रा छोरानाति भारतीय बन्नुपर्ने दिन आउन बेर छैन’

‘नागरिकताको समस्या मधेसी अनुहार भएकाबाट  मात्र छ भन्ने हामीमा भ्रम छ’

सांसद रावल विदेशबाट बिहे गरेर नेपाल आउने महिलालाई तत्काल नागरिकता दिन नहुनेमा बढी केन्द्रित भएका थिए ।

‘एक हतामा सिन्दूर अर्को हातमा नागरिकता दिनुपर्ने भन्ने कुरा छ । नागरिकता भन्सारमा बिल लिए वा दिए जस्तो हो ? अर्को कुरा नेपाली चेली विदेशमा बिहे गरेर जाँदा ७ देखि १० वर्ष कुर्नुपर्ने, विदेशबाट बिहे गरेर आएका चेलीहरूले तत्काल पाउनुपर्ने ? के  विदेशीका चेली ए ग्रेडका हाम्रा चेली सी ग्रडेका हुन् ?’, उनले आक्रोश मिश्रत प्रश्न गरे ।

 डा. सङ्ग्रौला सांसद रावलको विषयमा सहमत देखिएका थिए । उनले पनि विदेशबाट बिहे गरेर आएका महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनु उचित हुने तर्क गरे ।

‘हामी योभन्दा महिला विरोधी भनिएला तर यो कुरा ठीक हो । किनभने भोलि बिहे गरेको केही समयमै डिभोर्स भयो भने के हुन्छ ? यहाँ परिवारको यातना सहेर बस्ने सक्ने स्थिति पनि त हुँदैन,’ उनले भने, ‘त्यसपछि  त ऊ स्वाभाविक रूपमा माइती कहाँ जान्छ नै । त्यसैले विदेशबाट बिहे गरेर आएका महिलालाई ७ वर्षपछि नागरिकता दिँदा महिलाकै लागि पनि राम्रो हुन्छ ।’

 डा. सङ्ग्रौलाले नेपालको जनसङ्ख्यालाई तुलना गर्दै ४० लाखभन्दा बढी विदेशीले नेपाली नागरिकता पाएको दाबी पेस गरे ।

शासकहरूले मृतविचार लिएर हिँडिरहेका छन् । त्यो के हो भने मधेसी जति विदेशी हुन् भन्ने,’ पाठकले भने, ‘उनीहरूले अरूको दिमागमा पनि यही विचार घुसाइदिएका छन् । सर्वप्रथम त यो विचारबाट छुटकारा पाउनु छ ।’

उनले यसबारे छानविन गर्ने विद्यार्थीले सरकारमाथि दबाब सिर्जना गर्ने आग्रह गरे ।

‘नागरिकताको विषयमा भावुकता र मानोप्रवृत्ति ढङ्गले तर्क वितर्क भइरहेको छ । समस्याको खोजी हुन सकेको छ । यसले थप समस्या सिर्जना गर्छ । विभिन्न अध्ययन अनुसन्धान र विभिन्न लेखकहरूले पनि नेपालमा नागरिकताको समस्या औँल्याएका छन्,’ उनले भने, ‘त्यसको अध्ययन गर्यो भने र समाधानको बाटोतिर लाग्यो भने सबै ठीक हुन्छ । यसका लागि विद्यार्थी सङ्गठनले तदारुकता देखाउनु पर्यो ।’

यता साध्यबहादुर भण्डारी अन्य वक्ताभन्दा खरो रूपमा उत्रिनुभयो । उनले भने, ‘नागरिकता विधेयकमा पहाडिया–मधेसिया वा महिला– पुरुषबीचको विभेदको कुरा होइन । यहाँ विदेशीहरूको खेतीपाती गर्नेहरूको छ । उनीहरू यसको रोगी भएका छन् । समस्या यहाँनिर हो ।’

भण्डारीले पनि नेपाली नागरिकता लिएका विदेशीहरूको नागरिकता तत्काल खोरज गर्नुपर्नेमा जोड दिए ।

नागरिकता विधेयकमाथि संसदमा बहस भइरहेका बेला गृहमन्त्रलयले वंशजका आधारमा नागरिकता दिन परिपत्र गर्नु गम्भीर गल्ती भएको उनले बताए ।

तर कार्यक्रमको सुरुमा बोलेका पाठकको भने यसबारेमा फरक विचार छ ।

नेताहरूले मृतविचार लिएर हिँडिरहेकाले नागरिकतामाथि समस्या आएको उनले बताए । ‘शासकहरूले मृतविचार लिएर हिँडिरहेका छन् । त्यो के हो भने मधेसी जति विदेशी हुन् भन्ने,’ पाठकले भने, ‘उनीहरूले अरूको दिमागमा पनि यही विचार घुसाइदिएका छन् । सर्वप्रथम त यो विचारबाट छुटकारा पाउनु छ ।’

उनले नागरिकता विधेयकमाथिको बहस महिला र मधेसीलाई हेप्न प्रयोग भएको बताए ।

‘यो नागरिकता विधेयक माथिको बहस महिला र मधेसीहरू हेपिएका छन् । नागरिकताको समस्या मधेसी अनुहार भएकाहरूबाट मात्र छ भन्ने सोच दिमागमा जब्बर गरेर छिराइएको छ । पहाडीका जस्तो अनुहार भएका विदेशीले पनि नागरिकता लिएका छन् । लिँदैछन् भन्ने कुरा कसैलाई मतलब छैन,’ उनले भने, ‘केही दिनअघि झापामा पहाडीका जस्तो अनुहार भएका विदेशीले नागरिकता लिएको कुरा बाहिर आएको छ । तर यहाँ त मधेसी अनुहार भएकाहरूबाट मात्र समस्या भयो भनेर चित्रण गरिँदै आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप