मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सडकले फेर्यो दैनिकी

सोमबार, २३ वैशाख २०७६, १४ : २७
सोमबार, २३ वैशाख २०७६

– युवराज विष्ट 
भोजपुर– भोजपुर नगरपालिका–१२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म दश दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ । राईको घर छेउमै बाटो विस्तार पनि भइरहेको छ । त्यहाँ सडक बनाउने उपकरणहरु चलिरहेका छन् । यी गतिविधि हेरिरहँदा पनि राईलाई खुशी लाग्छ । 

‘चतराबाट नौ दिन लगाएर ढाकरमा नून बोकेर ल्याइन्थ्यो, अहिले घर छेउमा गाडी गुड्दा अचम्म लाग्छ,’ राईले विगतमा ढाकर टेकुवा बोकेर हिँडेको स्मरण गर्दै भने– ‘घरसँगै जोडिएको सडक चौडा भइरहेको छ । हेर्दा आनन्द लाग्छ, विगत सम्झियो भने सपना झै लाग्छ ।’ 

पचपन्न वर्षीय राईले अहिले नून तेल बोक्न जाने समय आफ्नै खेतबारीमा लगाउन थालेका छन् । आफूले उब्जाएको फसल बाहिर पठाउन पनि उनलाई सजिलो भएको छ । 

सोही स्थानका ६६ वर्षीय बुद्धिमान सुन्दासलाई पनि सडक विस्तार भएर बस्ती बस्तीमा ढुवानीका साधन आइपुगेको देखेर अचम्म मान्छन् । उनले भने–‘नून, तेल र चामलको जोहो गर्न गाउँभरिका साथीहरु सल्लाह गरेर नौ/दश दिन लगाएर धनकुटा तथा सुनसरीको चतरा जान्थ्यौं, अहिले आँगनमा सामग्री खस्छ । यो देख्दा विकासको अनुभूति हुन्छ ।’ 

‘ज्यान जोखिममा राखेर भारी बोकिन्थ्यो, दश दिनसम्म खानेकुरा ढाकरमा बोकेर जानुपथ्र्यो, दिनरात नभनी यात्रा गर्नु पथ्र्यो,’ सुन्दासले भने । प्रायःजसो ग्रामीण सडकहरु हिउँद महिनामा मात्र सहज रुपमा सञ्चालनमा आउने हुँदा स्थानीय बासिन्दालाई सास्ती छ ।

टेम्केमैयुङ गाउँपालिका–५ का  मानबहादुर विष्टले भने, ‘अहिले त दूरदराजका सबै ठाउँमा कच्ची नै भए पनि सडक पुगेको छ । यसको स्थायित्वको लागि ध्यान दिए राम्रो हुन्थ्यो ।’ विगतमा खानेवस्तुदेखि सम्पूर्ण कुरा पिठ्यूँको भरमा ल्याउनु पथ्र्यो । अहिलेको यातायात पहुँच । 

विश्व बैंकको एसएनआरटिपी कार्यक्रमअन्र्तगत करिब रु ३० करोडको लागतमा सडक स्तरोन्नति थालिएको छ । यस कार्यक्रम अन्तर्गत भोजपुर–मानेभञ्याङ्ग–घोडेटारको ४८ किलोमिटरमध्ये १२ दशमलव पाँच किलोमिटर सडकको स्तरोनतिको काम शुरु भएको छ । त्यस्तै,भोजपुर दिंला सडक खण्डमध्ये पानीट्याङ्कीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडकको स्तरोन्नतिको काम अन्तिम चरण पुगेको छ । सडक स्तरोन्नतिको कामले तीव्रता पाएपछि सर्वसाधारण खुशी छन् । 

तिवारी भञ्याङ्गदेखि सानोदुङमा हुँदै ठुलोदुङमासम्मको ३० किलोमिटर सडक र गुम्वा, दलगाउँदेखि ओख्रेसम्मको ३० किलोमिटर सडकमध्ये १५ किलोमिटर सडकको पनि मर्मत भइरहेको छ । 

दुबै सडकको १५/१५ किलोमिटर सडकको भने यसअघि नै मर्मत कार्य सम्पन्न भइसकेको छ । सञ्चालित योजनाको गुणस्तर कायम गरी समयमै सम्पन्न गर्न लगाउन नियमित रुपमा अनुगमन तथा अन्य सहयोग गरिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले भने– ‘यस कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा सडक स्तरोन्नतिसँगै मर्मत पनि भइरहेको छ । यसको गुणस्तरमा हामीले निकै ध्यान दिएका छौं ।’

गुणस्तर कायम राख्दै सडक स्तरोन्नतिको काम समयसीमाभित्रै सम्पन्न गर्ने निर्माण व्यवसायीहरु बताउँछन् । स्थानीय बासिन्दाले सडक विस्तारका लागि सहजरुपमा जग्गा नदिँदा भने केही समस्या उब्जिएको उनीहरुले बताउने गरेका छन् । निर्माण व्यवसायी नारायण राईले भने–‘योजना निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ तर, कतिपय स्थानका जग्गाधनीले जग्गा नदिँदा केही समस्या छ । यसको पनि समाधान खोजेर काम अघि बढाइएको छ ।’ 

भोजपुर जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य सडकको रुपमा रहेको भोजपुर–लेगुवा ६६ किलोमिटर सडकको कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । जिल्लाका सबै नौ स्थानीय तहमा पक्की सडक बन्न नसके पनि सबैमा कच्ची सडकको पहुँच छ । 

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने–‘जनताको चाहना सडक र विद्युत्मा छ । मेरो गाउँपालिकाको नौ वटै वडामा कच्ची सडक पुगेको छ । अब त्यसलाई आगामी वर्षदेखि स्तरोन्नति गरेर लैजाने तयारीमा छौं । सडक विस्तारको नाममा धेरै ठाउँमा विनाश पनि निम्तिएको छ । त्यसमा हाम्रो स्थानीय तह सजग छ ।’


सडक विस्तारमा स्थानीय सरकारले चासो दिएको अनुभव जिल्ला समन्वय समिति भोजपुरको बताएको छ । कतिपय स्थानीय तहले सडक खन्ने बहानामा राज्यकोष दुरुपयोग गरेको देखिएकाले त्यसको निराकरणका लागि अनुगमनलाई तीव्रता दिइएको समितिले जनाएको छ । समिति प्रमुख लक्ष्मण खड्काले भने– ‘विकास भनेको सडकको माध्यमबाट नै आउने हो तर, त्यसलाई व्यवस्थापन गर्न सकिएन भने समस्या पनि उत्पन्न हुन्छ । यसतर्फ हामी सजग छौं ।’

सदरमुकामबाट बोखिम, शिद्धेश्वर, गुप्तेश्वर हुँदै टेम्केमैयुङ गाउँपालिका हुँदै खोटाङको सिमाना चखेवा भञ्याङसम्मको करीव ४५ किलोमिटरको लम्बाइ रहेकामध्ये पहाडी सडक खण्डको पनि स्तरोन्नति भइरहेको छ । यो सडक खण्डको करिब १० किलोमिटर खण्ड कालोपत्रे भएको छ भने अन्य स्थानमा कालोपत्र गर्ने तयारी भइरहेको छ । 

भोजपुर जिल्लामा २०५६ सालदेखि सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार तत्कालीन र्याप परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्याङडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिएको हो ।

वि.सं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकप्टरले बोकेर पहिलो पटक टुँडिखेलमा महेन्द्रा जीप ओरालेको थियो । त्यो समयमा जिल्लाका केही केही स्थानमा कच्ची बाटो खनिएको भए पनि भोजपुर र धनकुटाको सिमानामा रहेको अरुण नदीमा पुल नहुँदा गाडी ल्याउन हेलिकप्टरको प्रयोग गर्नुपरेको थियो । करीव सात वर्ष अघिदेखि सो नदीमा पक्की पुल बनेपछि यातायातमा सहजता थपिएको छ । 

पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार जिल्लामा करीव एक हजार एक किलोमिटर सडक विस्तार भएको छ जसमा ९० किलोमिटरको हारहारीकोे सडक पक्की, २५ किलोमिटर सडक ग्रावेल र अन्य सडक कच्ची रहेका छन् । कच्चीमध्ये कतिपय सडकको अहिले पनि स्तरोन्नति भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप