शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेर्न जाने होइन ‘तस्वीरमा सिन्धुली’ ?

आइतबार, २२ वैशाख २०७६, १६ : १०
आइतबार, २२ वैशाख २०७६

नेपाल पर्यटन बोर्डले नियमित रुपमा गर्दै आएको ‘फोटो नेपाल’ को शृङ्खला अन्तर्गत बैशाख २० गतेदेखि ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी जारी छ । 

सिन्धुली जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डमा ‘तस्वीरमा सिन्धुली’ एक हप्ते फोटो प्रदर्शनी आयोजना गरेको हो । 

पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत ३५ तस्वीर राखिने छ ।

विविध जातिको बसोबास रहेको सिन्धुलीको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई तस्वीरमा देख्न सकिने छ । जिल्लाबाट तस्वीर संकलनका लागि अभियानले आफ्नो पेज मार्फत् सामाजिक सञ्जालमा आह्वान गरेको थियो । प्रदर्शनीमा सिन्धुलीका स्थानीय नौं युनिटको प्रतिनिधित्व होस् भन्ने उद्देश्यसमेत अभियानको छ ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोशीमा जलपर्यटन र महाभारत पर्वत शृङ्खलामा पदमार्ग विशेष रहेको छ । यी तिनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ । पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन कार्य सँगसँगै लैजानु आवश्यक छ । अभियानको यो तस्वीर प्रदर्शनी गन्तव्यको प्रवद्र्धनमा टेवा पु¥याउनु पनि हो ।

पर्यटन बोर्डमा प्रदर्शनीपछि ती तस्बिरहरु सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा समेत घुम्ती प्रदर्शनी गर्न लगिने छ । यसले स्थानीयस्तरमा रहेका पर्यटकीय महत्वको स्थलबारे जनमानसमा सचेतना ल्याउन सहयोग पुग्ने अभियानको विश्वास छ ।

तस्वीर प्रदर्शनीका क्रममा पर्यटन बोर्डमा सिन्धुलीको पर्यटन सम्बन्धी छलफल समेत गर्ने अभियानले योजना बनाएको छ । छलफलमा प्रत्येक गाउँपालिका तथा नगरपालिकाले पर्यटन विकासका बारेमा आफ्नो प्रस्तुति दिनेछन् ।

त्यस्तै प्रदर्शनीकै अबसरमा दिनैपिच्छे सिन्धुलीका श्रष्टाहरुद्वारा प्रकाशित पुस्तक, सिन्धुलीमा पदयात्राको सम्भावना र साइकल यात्राबारे छलफल समेत आयोजना गरिने छ । ‘तस्बिरमा सिन्धुली’ प्रदर्शनी एक सातासम्म हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप