नखाएको विष पनि लाग्ने रहेछ...
श्याम राना मगर
बाग्लुङ गल्कोटकी चित्रा गुरुङ अहिले ४० वर्ष पुगिन् । विहे गरेर श्रीमान्सँग पहिलो पटक पोखरा झर्दा उनी १७ वर्षे उमेरमा हिँड्दै थिइन् ।
उनकै शब्दमा भन्ने हो भने उतिबेला उनी केही व्यवसाय गर्ने र नयाँ जीवन शुरु गर्ने भन्दै पोखरा आएकी थिइन् ।
पोखरा झरेर किराना पसल खोलिन् । व्यापारमा श्रीमान्ले पनि राम्रै साथ दिन्थे । जीवन सोचेजस्तै राम्रै गतिमा कुदिरहेको थियो ।
पछि छोराछोरी जन्मिए । हुर्किए । स्कुल जान थाले । किरानाको कमाइले मात्रै खर्च धान्न गाह्रो भयो ।
गुरुङका श्रीमान् विदेशमा कमाउँला र स्वदेशमा आनन्दको जीवन बाचौँला भन्ने ख्याल मनभरी साँचेर परदेश पुग्ने चिलगाडी चढे । चिलगाडीले उनलाई साउदीको मरुभूमिमा पु¥याएर फर्कियो । उनी उतै पसिना बगाउन थाले ।
यता, चित्रा घरव्यवहार र छोराछोरी हेरेर बस्थिन् । साउदीमा श्रीमान्को कमाइ राम्रै थियो । त्यसैबीचमा घरजग्गा पनि जोडे । घरखर्च कटाएर केही रकम बचत पनि गरेकी थिइन् ।
एकदिन उनकी आफ्नै दिदीकी छोरीले जग्गा किन्नु छ भन्दै चित्रासँग सापटी मागिछन् । दिदी कि छोरी, दिन्नँ भन्न उनलाई पनि गाह्रो भयो । ‘हुन्छ’ भनिन् ।
तर त्यो समयमा उनीसँग गोजीमा पुग्दो रकम थिएन । श्रीमान्ले विदेशमा दुःखसुख गरी कमाएर जोडेको जग्गा नै धितो राख्न राजी भइन् ।
०००
दुलेगौँडामा चित्राकी एक मिल्ने साथी थिइन्–सरीता खड्की (५०) । खड्की बैलामौकामा जग्गा व्यवसायको काम गर्थिन् । जग्गाकै काम गर्ने साथी भइसकेपछि अरुसँग जग्गा लिने त कुरै भएन । उनै मार्फत जग्गा लिने कुरा भयो । सिर्जनाचोकमा रहेको ‘फेवा सहकारी’मा (वि.स. २०६५ मा) जग्गा धितो राखेर ऋण लिइन् ।
जग्गा हेरियो । मोलमोलाई पनि भयो । महतगौंडामा खड्कीको नाममा रहेको ४ आना जग्गा छोरीको नाममा पास पनि भयो ।
जग्गा पास भई सकेपछि छोरी कम्पाउन्ड लगाउन भनेर गइन् । तर, जग्गा भने अर्कैको नाममा रहेछ ।
पर्खाल लगाउन जाँदा मात्र अर्कै मान्छेको नाममा रहेको छोरीले थाहा पाइन् । जग्गा अर्कैकोे नाममा रहेको थाहा पाएपछि छोरीले छेमाले जग्गा लिइदिन्छु भनेर पैसा खाइन् भन्दै हल्ला फिजाइन् ।
एक कान दुई कान मैदान गर्दै कुरा चारैतिर फैलियो, ‘फलानीले त जग्गा लिइदिन्छु भनेर आफ्नै छोरीको पैसा खाई रे !’
हल्ला फिँजिदै गएपछि सबैले छिःछिः र दुर्दुर गर्न थाले । चारैतिर हल्ला फिजिँन थालेपछि फेरि साथी सरीताकोमा गुहार माग्न पुगिन्, चित्रा । गुहार माग्न आएकी चित्रासँग अरु मार्फत जग्गा लिएको र जस्ताको त्यस्तै पास गरिदिएको भन्दै तर्किइन्, सरीता ।
अब चित्रालाई त निल्नु न ओकल्नु भयो जस्तै भयो छोरीलाई गरेको सहयोग । त्यसपछि त के थियो र !
रातदिन फोनमा धम्की आउन थाले । ‘मेरो पैसा फिर्ता गर्ने भए गर्, नत्र ज्यान गुमाउँनु पर्ला ।’
त्यसपछि त के थियो र ? जिन्दगीको लय नै भत्कियो चित्राको । ‘कहिलेकाहीँ नखाएको बिष पनि लाग्छ भन्थे,’ मालपोत कार्यालय कास्की परिसरमा भेटिएकी उनले दुखेसो पोख्दै भनिन्, ‘हो रै छ । आफ्नै दिदीकी छोरी हो । तर, छेमा भन्ने ठाउँ पनि बाँकी राखेकी छैन ।’
मान्छे सबै थोक सहेर बाँच्न सक्छ । तर, आफ्नाले दिएको चोट सहन साह्रो हुन्छ ।
उनलाई मात्र धम्क्याएर चित्त बुझेन छोरीको । विदेशमा रहेका सानो बाबालाई पनि धम्क्याउँन थालिन् ।
न्याय माग्न कहाँ–कहाँ धाइनन्, उनी । तर, आशाको दियोमा तेल कसैले थपेनन् । बरु, उपहासको हाँसो हासिदिन्थे । फलानीले त छोरीको पैसा खाई भनेर ।
विदेशमा रहेका श्रीमान्् सधैँ गुनासो गर्थे । ‘कुन जुनीमा के पाप गरेछौँ । आज आएर भोग्दै छौँ,’ चित्रासँग पनि के नै उत्तर हुन्थ्यो र ? निरुत्तर बसिदिन्थिन् ।
त्यस्तै, एक दिन पसलमा ग्राहकसँगै थिइन् उनी । विदेशको नम्बरबाट फोन आयो । फोन गर्ने मान्छे को हुन् याद छैन, उनलाई । तर, फोनमा जे खबर सुनायो, चित्रा छाँगबाट खसेजस्तै भइन् । उनका श्रीमान्ले विदेशमै आत्महत्या गरेछन् ।
खबर सुनेर चित्रा मुर्छा परिन् । होस्हवास् केही थिएन् । ‘जे नहुनु थियो । त्यही भयो,’ खुइय्य गर्दै उनले भनिन्, ‘यही कारण बित्नु भएको हो उहाँ ।’
एउटा सहयोगको मूल्य यति महङ्गो पर्छ भन्ने थाहा थिएन उनलाई । दुःख गरेर जोडेको आफ्नो नामको जग्गा छोरीकै नाममा पास गराइदिइन् । आफू भने जग्गा नै नभएको लालपूर्जा बोकेर हिडिँरहेकी छिन् ।
तर, समस्या अझैसम्म सल्टिएको छैन । बरु, खाटा बसेको घाउ बेलाबेला चह¥याई रहन्छ । ४ आना जग्गाको बदलामा दोब्बर मूल्य पर्ने पोखरा पृथ्वीचोकको जग्गा दिँदा पनि खुसी छैनन् दिदीकी छोरी । अझै पनि छेमाले पेसा खाई भनेर दोषी नै देख्छिन् ।
यो सब हुनुमा ऋण दिने सहकारी, साथी सरीता खड्की र मालपोतका कर्मचारीकै मिलिमतोमा भएको जस्तो लाग्छ उनलाई । ‘मैले कहाँ गएर न्याय पाउँछु ?’ उनले भनिन्, ‘जग्गा माग्दा लामा–लामा कपाल पालेका गुण्डा देखाएर धम्क्याउँछन् । मेरो के नै लाग्छ र !’
बैङ्कमा ३० लाख रुपैयाँ ऋण छ । दैनिक १३ सय ५० रुपैयाँ ब्याज तिनुपर्छ । ब्याज नतिरेका पनि दुई महिना भइसक्यो । ‘सानो किराना पसल । व्यापार नै कति हुन्छ र ? छोराछोरी पढाउनै प¥यो, खान प¥यो,’ भन्छिन्, ‘यहाँ धाउन लागेको पनि १० वर्ष भइसक्यो । अब म न्याय पाउँन कहाँ जाउँ त ?’
यो घटनापछि माइती जाने पनि हिम्मत आएको छैन उनलाई । ‘पैसाको लागि आफ्नै छोरी पनि छोडिनन्’ भन्दा निकै नरमाइलो लाग्ने उनले सुनाइन् । अहिले उनी आफ्ना छोराछोरीको साथमा पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनमा बसोबास गर्दै आएकी छिन् ।
अब त उनलाई न्याय पाउने आशा पनि मरिसकेको छ । भन्छिन्, ‘मैले त न्याय पाइन् । पाइन् म जस्तै अरु कोही पनि यसरी न्याय खोज्दा खोज्दै मर्न नपरोस् ।’
अहिले उनका छोराछोरी दुवै बुझ्ने भइसके । व्यवसायमा धेरथोर सहयोग गर्न थालेका छन् । छोरा (विशाल) १९ वर्षका भए छोरी (वर्षा) १८ की । दुवै विहान कलेज जान्छन् । दिउँसो आमाको काममा सघाउँछन् । ‘न्याय पाइन्छ’ भनेर आश दिइरहन्छन्, दुवैले । र, त उनलाई जीवन जिउने साहस मिलेको छ ।
मालपोत कार्यालय कास्कीका प्रमुख ज्ञानराज पाण्डेका अनुसार राज्यले बलियो नीति बनाउन नसक्दा यस्ता घटना घट्ने गरेका छन् । उनका अनुसार नेपालको अस्थिर सरकारका कारण बलियो नीति बन्न नसकेको हो । ‘जुन सरकार आए पनि छिटो छरितो सेवा दिन्छौं भन्ने अनि त्यसका लागि आवश्यक तयारी केही पनि नगर्ने हुनाले पनि समस्या भएको हो,’ उनले भने ।
अहिले मालपोत कार्यालय कास्कीमा ४० जना कर्मचारीको दरबन्दी रहेकोमा ३० जना मात्र कर्मचारी रहेको उनी सुनाउँछन् । ४० मध्ये पनि ११ जना कर्मचारी प्रदेश मातहतमा जान लागेको उनले बताए । आवश्यक भौतिक संरचना पनि कमि हुँदा सेवाग्राहीले सास्ती भोग्न परेको उनले सुनाए ।
विचौलियालाई कार्यालय प्रवेश गर्न रोक लगाउन भनिए पनि त्यसको विकल्प सरकारले बनाउन नसकेको उनी सुनाउँछन् ।
‘कार्यालयमा हुने गरेको घुसखोरी, अनियमितता अन्त्य गर्न सरकारले नै पहल गर्नुपर्छ,’ उनले भने, ‘सरकारले कदम नचाली हामीले कही गर्न सक्दैनौं ।’ अहिले कार्यालयबाट ३ सय देखि ३ सय ५० सेवाग्राहीले सेवा लिने गरेका छन् ।