केन्द्रीय संस्करण
डाक्टरका कुरा

‘जीवनशैलीकै कारण हुन्छ कोलोरेक्टल क्यान्सर’

person explore access_timeबैशाख २२, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

डा. सत्यदीप भट्टाचार्य

कन्सल्टेन्ट कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्य नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, नेपाल क्यान्सर अस्पताल र निदन अस्पतालमा कार्यरत छन् ।

कोलोरेक्टल (ठूलो आन्द्रा र मलायसको) क्यान्सर

कोलोरेक्टल अथवा ठूलो आन्द्रा र मलासयको क्यान्सर विश्वमा क्यान्सर रोगको अवस्थामा तेस्रो नम्बरमा पर्छ । नेपालमा पनि कोलोरेक्टल क्यान्सर दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो क्यान्सर ठूलो आन्द्रामा भएका कोषहरूमा असामान्य वृद्धिले हुन्छ र विस्तारै शरीरका अन्य भागमा आक्रमण गर्ने वा फैलिँदै जान्छ ।

अधिकांश कोलोरेक्टल क्यान्सर जीवनशैली र बढ्दो उमेरका कारणले हुन्छ भने थोरै सङ्ख्यामा मात्र वंशाणुगत कारणले हुन्छ ।

४५ वर्षभन्दा माथिका ९० प्रतिशत मानिसमा यो क्यान्सरको खतरा हुन्छ । त्यसैले ४५ वर्ष पार गरेपछि रेगुलर स्क्रिनिङ (रोगको लक्षण नदेखिँदै गरिने जाँच) गरिरहनु पर्छ ।

कोलोरेक्टल क्यान्सर उमेर बढेसँगै हुने भए पनि युवा पुस्तामा पनि यो देखिन थालेको छ । तर यो एकदमै कमलाई हुन्छ ।

खासगरी बढी रातो मासु खाने, शारीरिक व्यायाम नगर्ने, रेशादार खाना कम खाने, मोटोपना भएका र धूमपान तथा मद्यपान गर्ने व्यक्तिहरुमा ठूलो आन्द्राको समस्या बढी देखिन्छ ।

मधुमेह हुँदा पनि कोलोन (आन्द्रा)मा समस्या आउन सक्छ । कतिपय अवस्थामा ठूलो आन्द्रा र सानो आन्द्रामा हुने ‘इन्फ्लामेटरी बाउल डिजिज’ अर्थात् जलन गराउने पेटसम्बन्धी रोग भएका बिरामीमा पनि कोलोरेक्टल क्यान्सरको खतरा हुन्छ ।

ठूलो आन्द्राको भित्री तहबाट सानो ट्युमर (पोलिपको रूपमा) देखिन्छ र यो विस्तारै बढ्दै जाँदा क्यान्सरमा परिणत हुन्छ । क्यान्सरमा परिणत भइसकेपछि बेलैमा उपचार भएन भने यो अझ ठूलो आकारमा बढ्छ र रगतका नसाको माध्यमबाट शरीरका अन्य भागमा पनि फैलिन सक्छ । यदि सुरुको अवस्थामा थाहा भयो भने यो पूर्णरूपमा निको पार्न सकिन्छ ।

कोलोरेक्टल क्यान्सरका लक्षण

ठूलो आन्द्रामा समस्या भयो वा क्यान्सर भयो भने झट्ट लक्षण नदेखिन पनि सक्छ । धेरैजसो समस्याले ठूलो रूप लिएपछि मात्र यसले लक्षण देखाउने गर्छ । स्वस्थ्यप्रति सजग हुने व्यक्तिहरुले भने सामान्य अवस्थामा नियमित जाँच गरिरहँदा थाहा पाउन सक्छन् ।

कोलोरेक्टल क्यान्सर भएमा सामान्यतया दिसामा रगत देखिने, दिसा गर्ने बानीमा नै परिवर्तन आउने, तौल घट्ने र थाकेको महशुस हुने हुन्छ ।  केही दिनसम्म नियमित रूपमा दिसामा गडबडी हुने यसको सङ्केत हुन सक्छ । एक्कासि कब्जियत भयो वा झाडा भयो भने पनि तुरुन्त चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ ।

कोलोरेक्टल क्यान्सरको उपचार

क्यान्सर भइ नै सकेको छ भने पनि डराउनु पर्दैन । सुरुको अवस्थामा थाहा भयो भने ९० प्रतिशतलाई पूर्ण रूपमा निको पार्न सकिन्छ । केहीकेहीलाई मात्रै सम्भावना कम हुने हो ।

ठूलो आन्द्राको भित्री तहमा देखिने साना पोलिप ५–६ वर्षपछिको अवधिमा मात्रै क्यान्सरमा परिणत हुने गर्छ । पोलिप र सुरुको क्यान्सरले लक्षण नदेखाउने भएकाले ४५ वर्ष पुगेका हरेक व्यक्तिले कोलोनोस्कोपी गर्नु जरुरी हुन्छ । केही पोलिप देखिएन भने १० वर्षपछि मात्र पुनः परीक्षण गरे पुग्छ ।

मलद्वारबाट क्यामेरायुक्त पाइप छिराएर कोलोनोस्कोपी गरी पूरै आन्द्राको स्क्रिनिङ गरिन्छ । कोलोनोस्कोपी गर्दा पोलिप पाइयो भने बायोस्पी गरेर क्यान्सर भए नभएको पत्ता लगाइन्छ । यदि पोलिप देखियो भने उपचार सुरु गरिहाल्नुपर्छ ।

कोलोरेक्टल क्यान्सरको उपचार कतिलाई शल्यक्रियाबाट गरिन्छ । कतिलाई किमोथेरापी त कतिलाई रेडियसनबाट गरिन्छ । यदि क्यान्सर सुरुको अवस्थामा छ भने क्यान्सर भएको भाग शल्यक्रियाबाट फालिन्छ ।

शल्यक्रियाबाट सबै क्यान्सर निर्मूल हुनेबारे भने बिरामीको स्वास्थ्य अवस्थामा भर पर्छ । क्यान्सर अलि बढेको छ भने किमोथेरापी अनि अपरेसन पनि गर्नुपर्ने हुन्छ । कतिलाई अपरेसन अगाडि र पछाडि नै किमो दिनुपर्ने पनि हुन्छ ।

रेक्टल (मलासय)को क्यान्सर भएको बिरामीलाई भने अपरेसन अगाडि र पछाडि पनि किमोसँगै रेडियसन पनि दिनुपर्ने हुनसक्छ। तर कोलोन (ठूलो आन्द्रा)को क्यान्सरमा रेडियसनको जरुरी हुँदैन ।

यदि क्यान्सर फैलिसकेको छ र यो अगाडि बढिसकेको छ भने अपरेसनभन्दा पनि किमोथेरापीबाटै उपचार गरिन्छ ।

कुन उपचार गर्ने, कसरी गर्ने भन्ने बारे बिरामीको धारणा, बिरामीको परिवार आफन्तसँगको सर–सल्लाह अनि डाक्टरहरुको छलफल अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले त्यसमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

क्यान्सरको उपचार औषधि, अपरेसन अनि थेरापी मात्रै होइन कि बिरामीको व्यक्तिगत धारणा अनुसार काउन्सेलिङ पनि हो । बिरामीको आत्मविश्वास बढाउन र रोगसँग लड्न सक्ने क्षमताको अभिवृद्धिका लागि काउन्सेलिङ महत्त्वपूर्ण पक्ष हो ।

योसँगै कुनै पनि रोग अन्य रोगसँग पनि रिलेट हुनसक्ने भएकाले सबै रोगका विशेषज्ञहरु मिली छलफल गरेर मात्र निर्णय लिइन्छ ।

क्यान्सरको उपचारको क्रममा सर्जन, किमो थेरापिस्ट (अन्कोलजिस्ट), रेडियसनका विज्ञ, मेडिसिन, प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, साइकोलोजिस्ट लगायतका सबै डाक्टर मिलेर उपचार हुन्छ । यसलाई हामी मल्टी डिसिप्लिनरी (विभिन्न रोगका र क्षेत्रका डाक्टरहरुबीचको सामूहिक) उपचार भन्छौँ ।

कुनै पनि रोगको उपचार गर्दा मल्टि डिसिप्लिनरी उपचार महत्त्वपूर्ण हुन्छ । हामी यही पद्धति अपनाएर उपचार गर्ने गर्छौं ।

कोलोरेक्टल क्यान्सर हुन नदिने उपायहरु

स्वस्थ्य जीवनशैली नै हरेक रोगको निदान हो । फाइबरयुक्त खानाले कुनै पनि रोग लाग्नबाट जोगाउँछ । त्यसैले फाइबरयुक्त (साग, फलफूल, तरकारी) जस्ता रेशादार खाना बढी खाने । रातो मासु, बोसोयुक्त मासु लगायत चिल्लो अनि मसलेदार खाना, धूमपान, मद्यपानबाट टाढै रहनु राम्रो हुन्छ ।

तौल बढी छ भने घटाउनुपर्छ । उमेर ४५ वर्षको भएपछि भने समय समयमा स्क्रिनिङ गराउनुपर्छ । जस्तो; १०–१० वर्षमा कोलोनोस्कोपी गर्ने र अन्य जाँचहरु पनि गराइरहनुपर्छ ।

कतिपय क्यान्सरमा लक्षण देखा पर्दैन तर क्यान्सर बनेर बसेको हुन सक्छ । त्यसैले पनि उमेर बढेसँगै समय समयमा शरीरको जाँच गरिरहनुपर्छ । यदि परिवारमा कोलोरेक्टल क्यान्सरको इतिहास छ भने बेलैदेखि जाँच गरिरहनुपर्छ ।

म सबैलाई यो सल्लाह दिन चाहन्छु कि बेला बेला हाम्रो शरीरको जाँच गरिरहने हो भने विभिन्न रोग लाग्नबाट बेलैमा बचिन्छ । हामी नेपालीको बानी हुन्छ कि अन्य कुरामा धेरै खर्च गर्ने तर स्वास्थ्यका लागि भने त्यति चासो नदिने । रोगले च्यापेपछि मात्र डाक्टरकोमा जाने बानी छ । हामीले अन्य खर्चलाई कम गरेर भए पनि आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने हो भने भोलि आउनसक्ने ठूला समस्याबाट बच्न सकिन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...