मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मातातीर्थ औँसीको औचित्य

शनिबार, २१ वैशाख २०७६, ११ : ३९
शनिबार, २१ वैशाख २०७६

-सुरक्षिता भट्टराई

मातृ देवो भव :
वैशाख कृष्णपक्ष औँसी तिथिलाई मातातीर्थ औँसी भन्ने गरिन्छ । शास्त्रअनुसार प्रत्येक मनुष्यले जीवनमा दिवङ्गत आमाहरूको मातृऋण तिर्न श्राद्ध गर्ने गरिन्छ र जीवित आमाहरूलाई खुसी पार्न मिष्ठान्न भोजन गराइन्छ । काठमाडौँ उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थमा दिवङ्गत आमाहरूको सम्झनामा त्यस पवित्र स्थलमा हजारौँ सङ्ख्यामा मानिस श्राद्ध गर्न जाने गर्छन् । किंवदन्तीअनुसार प्राचीन कालमा उक्त स्थानमा घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालोको मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ । घर फर्किने बेलामा गोठालोले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाको आत्माले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख कृष्ण औँसीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाई बुझाई फर्काइदिइछन् ।  त्यसै समयदेखि यो तीर्थको नाम मातातीर्थ रहन गएको किंवदन्ती पाइन्छ । 

आमा ममताकी खानी, ज्ञान, अर्ती र उपदेशकी सागर हुन् । आमा शब्द आफैँमा महान् छ । हामीलाई यस संसार देखाउने र हाम्रा साना आवश्यकताहरूलाई पूरा गर्न उनले दुःख भोग्ने हुनाले हाम्री आमा देवीको रूप हुन् । आमाको माया साँच्चै नै अनमोल छ । आमाको छत्रछाँयामा बस्न पाउनु एउटा भाग्यको कुरा हो । हामी कतैबाट घर जाँदा हँसिलो अनुहारले हामीलाई स्वागत गर्ने हाम्री आमा करोडौँ पीडा र दुःख भए पनि हामीलाई देख्दा अनमोल मुस्कान छर्ने, खाजा खाइस खाइनस् ? सन्चो विसन्चो के छ ?  सोधिहाल्ने, घर छिमेकमा कसैले केही खानेकुरा दिँदा आफूले नखाई  पोका पारेर राख्ने, हाम्रा इच्छाहरूलाई पूरा गर्न विभिन्न समस्याहरूसँग जुध्ने हाम्री आमा साँच्चै महान् छिन् । 

तर समयको बदलाब पनि यसरी भैदियो, स्मार्ट फोनसँगै हामी पनि यति स्मार्ट हुन थालेछौँ कि अब मातातीर्थ औँसी पनि आफ्ना स्मार्ट फोनमा नै मनाउन थालियो । आमाहरूका लागि हैन, मान्छेहरूलाई देखाउनका लागि सामाजिक सञ्जालमा मातातीर्थ औँसी मनाउन थालियो, जसका लागि मातातीर्थ औँसी मनाइन्छ, जसलाई खुसी पार्न जसको सम्मानका लागि मनाइने हो, हाम्री आमाहरूको खुसीभन्दा पनि सामाजिक सञ्जालका लागि लोकप्रिय हुँदै गएको देखिन्छ । कुनै बाध्यताले आफ्ना सन्तान आफूभन्दा टाढा भएकाका लागि मातातीर्थ औँसी एउटा भेटघाटको अवसर पनि हो । आमाहरूका लागि कपडा, मीठा परिकार र आफ्नो समय जहाँ भए पनि यस दिन आमासँग भेट्न आउने अवसर पनि हो । यसरी यस मातातीर्थ औँसी मनाउने गरिन्थ्यो । तर अहिले वर्षमा एक दिन पनि भेट्न नजाने छोराछोरी, सञ्चो विसञ्चो सोध्न नभ्याउने छोराछोरी, साना कुरामा मनमुटाव भएर आफ्ना आमासँग नबोल्ने छोराछोरी, घरमा के कस्तो दुःख पीडा सहेर बसेकी छिन्, वास्ता नगर्ने छोराछोरीका लागि त झन्, सामाजिक सञ्जालम एउटा बोक्रे भलाद्मीको सहारा बनेको छ । 

आफ्ना मान सम्मान र इज्जतका लागि सामाजिक सञ्जालका भित्तामा तस्बिर टाँस्नेहरूले खुब बजार लिएको देखिन्छ । उता घरमा आमा चहिँ आँसुका ढिका बोकेर बाटातिर आँखा लगाउँदै बस्छिन् । यता छोराछोरी भने फेसबुकको कमेन्ट बक्समा मग्न भएर मातातीर्थ औँसी मनाइरहेका हुन्छन् । 

के मातातीर्थ औँसी यसरी नै मनाउनु पर्ने हो ? के सामाजिक सञ्जालमा आमाहरूको तस्बिर राख्दैमा आमाको सम्मान गरेको हुन्छ ? के छोराछोरीको यस्तो व्यहारदेखि हाम्रा आमा खुसी हुन्छन् ? के छोराछोरीको आफ्ना आमाप्रतिको कर्तव्य यही हो ? के मातृऋण यसरी नै तिरिन्छ ? 

हामी मानिसको स्वभाव आफूले पाएका अनमोल उपहार हुन्, जहिलेसम्म कदर गर्दैनौँ र आफूसँग नभएका ससाना देखावटी खुसीको पछि लागिरहन्छौँ । पाउनेलाई कदर छैन, उसले के पाएको छ ? गुमाउनेलाई थाहा छ, उसले संसार गुमाएको छ ।  सबैलाई थाहा नै छ, समय आउँछ, पर्खंदैन, बगेको खोला पर्खंदैन । त्यसैले आफूसँग भएको अनमोल उपहार आमालाई सजाएर राख्नुहोस् । समयले डाँडा काटेपछि रुँदा पनि पाइँदैन । पश्चातापले पनि पाइँदैन । आज आमाको माया र अर्थ नबुझेमा भोलि धेरै रुनुपर्नेछ । हामीले फेसबुकमा टालेका तस्बिर पनि शब्दविहीन हुनेछन् । भोलि घरमा हामीलाई पर्खिने, घरमा हँसिलो मुहारले स्वागत गर्ने आमा नहुँदा मन रुनेछ । अर्ती उपदेशले भरिएका गाली सुन्न नपाउँदा हाम्रा कान बहिराझैँ हुनेछन् । बिरामी पर्दा सोधखोज गर्ने आमा आँखाले खोजिरहने छन् । आशीर्वाद लिनका लागि हामी त हुनेछौँ तर ती दिने हातहरू हुनेछैनन् । हाम्रा दुःखमा आँसु झार्ने आँखा हुने छैनन् । हामीलाई मन पर्ने खाना बनाउने हातहरू रहने छैनन् । घरभरी हाम्रा लागि बाँधिएका पोकाहरू हुनेछैनन् । 

त्यतिबेला पश्चातप मात्र हुनेछ । समयले डाँडा काटेको हुनेछ । गुमाएको खुसी पाउने छैनौँ । मात्र यादहरूले सताउने छन् अनि आँसु बगिरहने छन् तर आँसु पुछिदिने हात हुने छैैनन् । यसर्थ मातातीर्थ औँसी सभ्य तरिकाले मनाउनु पर्छ । यसको अर्थ बुझेर यसलाई सकरात्मक ढङ्गले मनाउनु पर्छ । यसमा आएका विकृतिलाई हटाएर आउँदा पिढीलाई सही ढङ्गको व्यहार सिकाउनु पर्छ  । फेसबुकका भित्तामा मात्र तस्बिर हाल्ने हैन कि हाम्रो हृदयभित्र आमालाई राख्नुपर्छ । देखाउनका लागि हैन, आफ्ना आमाहरूका लागि यो औँसी मनाउँदै आइएको छ र मनाउँदै जानुपर्छ, आमाका दुःख पीडा बुझ्नुपर्छ, मातातीर्थमा मात्र होइन ३६५ दिन नै आमालाई सम्मान र खुसी दिनुपर्छ । एउटा असल सन्तानको परिचय यही हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप