कविता : आमा
शनिबार, २१ वैशाख २०७६, ११ : ३४

आमा तिम्रो महिमालाई
वर्णन गर्न सक्दिनँ म
तिमीले जस्तो बलिदानी
कुनै जुनीमा पनि दिन सक्दिनँ म ।
आमा तिमी भोकै बस्यौ
कति दिन सन्तानको पेट भर्न
हामीलाई बचाउनका लागि
तयार भयौ तिमी आफैं मर्न ।
आमा तिम्रो सन्ताललाई पीडा हुँदा
सधैँ तिम्रो आँखा रसाउँथ्यो
काँडा मेरो पाउमा बिझ्दा
तिम्रो मुटु झस्काउँथ्यो ।
आमा तिमी किन आज
बोझ भयौ दुनियाँलाई
हेला गर्न थाले सन्तानले
आफूसँग राख्न पनि तिमीलाई ।
आमा तिम्रो दूधको भारा
कोखको त्याग नबुझ्नेलाई
मिल्ला शान्ति कहाँ मनमा
तिम्रो आँशु बगाउनेलाई ।।