जमीनमुनी सुन र चाँदी भेटियो
अछाम–साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् ।
चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदूरले १९ तोला ८९ लाल अर्थात् २३१ दशमलब ६७ ग्राम सुन र १३२ तोला ७३ लाल अर्थात् एक हजार ५४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ । फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ । सुन र चाँदी भेटिएको स्थानमै मानिसको खुट्टा जस्तो देखिने पहेलो धातु पनि भेटिएको छ ।
सुन र चाँदी भेटाएका मजदूरबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको साँफेबगर–२ का वडाध्यक्ष कालुसिंह कुँवरले बताए । उनले भने, “करीब एक हप्ता अगाडि नै फेला परेको सुन चाँदी हो, तर मजदूरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो, अहिले प्रहरीको निगरानीमा भवनको जग खन्ने काम भइरहेको छ ।”
सो ठाउँबाट पुराना भगवान्का मूर्तिसमेत फेला परेका छन् । “पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदी भेटिएको हो” वडाध्यक्ष कुँवरले भने । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त धातु फेला पार्ने सात मजदूरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । सुन फेला पारेका र हाल प्रहरीको नियन्त्रणमा रहेकामा साँफेबगर–४ का हरिजन साउद, सोही ठाउँका मिन ठकुल्ला, कृष्ण ठकुल्ला, वडा नम्बर ५ का महेन्द्र बुढा, पिटर ठकुल्ला, कालु नेपाली र आशिश लामा प्रहरी नियन्त्रणमा छन् ।
विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीय बताउँछन् । पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्व कालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?