शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

शुक्रबार, २० वैशाख २०७६, १२ : ०३
शुक्रबार, २० वैशाख २०७६

काठमाण्डौं – नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । 

यी मुलुकहरुबीचको सहकार्य अझ बढी प्रभावकारी र उपयोगी बनाउन जलसञ्जालमा जोडिनुपर्ने प्रस्ताव नेपालको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नतेले एसिया महाद्विपका सबै मुलुकलाई एउटै मञ्चमा आवद्ध गरी समग्र एसियाको विकासमा सदस्य राष्ट्रहरुबीच सहकार्य तथा एकता प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो । 

मन्त्री बस्नेतले सदस्य राष्ट्रहरुमा हितका विविध पक्षहरुको प्रवद्र्धन गर्दै क्षेत्रीय सहयोग एवं व्यापार, पर्यटन, एवं लगानी प्रवद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तारमा समेत पारस्परिक सहकार्यका पक्षमा नेपाल रहेकामा जोड दिए । 

यस्तै, उनले जलवायु परिवर्तनको असरले साना तथा अल्पविकसित मुलुकहरुमा आइपरेको जोखिम एवं प्राकृतिक विपत्तिजस्ता समस्याहरुको दिर्घकालीन समाधानका लागि सबै एसियाली मुलुक एकजुट हुुनुपर्ने विचारसमेत व्यक्त गरे । 

मन्त्री बस्नेतले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण निर्माण भएकाले लगानी भित्र्याउन अपिलसमेत गरे । नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिएकाले एसिया क्षेत्रका लगानीकर्तालाई नेपालमा उर्जा, पर्यटन, यातायात पूर्वाधार, कृषि, वन पैदावार, तथा सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न अपिल गरे । 

मन्त्री बस्नेतले सरकारले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपालको भ्रमणमा आउन पनि एसियाली मुलुकका जनतालाई अपिल गरे । बैठकले दोहा घोषणापत्र जारी गर्दै  दिगो विकास तथा शान्ति, कनेक्टिभिटी, व्यापार तथा पारवहन सहजीकरण, पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्राकृतिक विपद व्यवस्थापन, साइबर सुरक्षा, आतंकवाद नियन्त्रणविरुद्धको सहकार्य, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुमा सहकार्यको घोषणा गरेको छ । 

एसिया महाद्विपका मुलुकहरुबीच एउटै मञ्चमा अवद्ध भई विभिन्न विषयमा सहकार्यका लागि  सन् २००२ मा एसिडी गठन भएको हो । उक्त मञ्चमा नेपाल सन् २०१६ मा सदस्य बनेको थियो । मञ्चमा एसियाका ३४ राष्ट्र सदस्य छन् । 

नेपाली मजदुरका समस्याबारे चासो 
बैठकपछि बुधबार साँझ मन्त्री बस्नेत नेपाली दूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी भएका थिए । त्यस क्रममा उनले नेपाली मजदुरका अवस्था एवं उनीहरुका हकहितका विषयमा छलफल गरे । त्यस क्रममा नेपालका लागि कतारका राजदूत तथा कर्मचारीहरुसँग नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, दूतावासको सेवाप्रवाहको अवस्था एवं नेपाली श्रमिकहरुका सरोकारका विविध विषयमा मन्त्री बस्नेतलाई जानकारी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप