शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हामीलाई हाम्रै क्षेत्रमा जान पनि १७ किलोमिटर भारतीय भूमिको प्रयोग गर्नुपर्छ’

बिहीबार, १९ वैशाख २०७६, १६ : ३०
बिहीबार, १९ वैशाख २०७६

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा सम्पन्न भएको थियो । उक्त निर्वाचनमा प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको अध्यक्ष पदमा रामप्रसाद पाण्डेले विजयी बने तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले ३,५६९ मत ल्याएर विजयी बनेका हुन्  । प्रस्तुत छ रातोपाटीले सुरु गरेको ‘जनप्रतिनिधि संवाद’का लागि सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेसँग गरेको कुराकानी : 

तपाईंले आफ्नो गाउँपालिकामा कस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? 
सुस्ता गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।  शिक्षाको क्षेत्रमा २२ जना अस्थायी शिक्षक निजी स्रोतमा नियुक्त गर्यौँ । गाउँपालिकाको अनुदान रकमबाट नियुक्त गरेका शिक्षकलाई विभिन्न विद्यालयमा शिक्षक र विद्यार्थी अनुपातलाई मध्यनजर गरेर नियुक्त गर्ने काम गरियो । विद्यालयलाई आवश्यक पर्ने पूर्वाधारहरु पनि तयार गर्दैछौँ । 
त्यसैगरी स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनका लागि १५ शय्याको अस्पताल बनाउन एकजना जग्गा दातासँग ४ कठ्ठका जमिन लिएर सम्झौता गरिसकेका छौँ । अब काम सुरु गर्दैछौँ । 

पशु तथा कृषि विकासका लागि पशु बिमाको लागि २० लाख रुपैयाँ छुट्याएका छौँ । यसैगरी पशुपालक कृषकलाई तालिम र अन्य विभिन्न पशुसँग सम्बन्धित ५ जना प्राविधिकलाई घरघरमा लगेर तालिम दिलाउने व्यवस्था गरेका छौँ । त्यसैगरी, कृषिका निम्ति हामीले ६ करोड २५ लाख रुपैयाँको लगानीमा यसै वर्षबाट सुरु हुने गरी ‘शीत भण्डार’ निर्माण गर्दैछौँ । केरा पकाउने च्याम्बरसहित निर्माणका निम्ति डीपीआर सुरु गरिसकेका छौँ । १५ दिनभित्रमा डीपीआर पूरा हुन्छ । त्यसका लागि प्रदेश सरकारबाट ५ करोड र स्थानीय तहबाट १ करोड २५ लाख रुपैयाँ गरी शीत भण्डार निर्माण गर्न लागेका हौँ । 
 
स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
–हाम्रो गाउँपालिका र प्रदेशबीचको समन्वय एकदमै राम्रोसँग गइरहेको छ । प्रदेश नम्बर ५ मा १०९ वटा स्थानीय तह रहेका छन् । तीमध्ये सुस्ता अत्यन्तै विकट क्षेत्र भएकाले प्रदेश सरकारले हामीलाई एकदमै नजिकबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मलाई लाग्छ ३५ वटा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सुस्तालाई विशेष प्राथमिकता दिएको छ । नदी पारीको सुस्तालाई उज्यालो बनाउनका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र सौर्य ऊर्जा मिलेर साढे ५ करोडको लगानीमा सौर्य मिनी ग्रिडको अवधारण विकास गरिरहेका छौँ । 

स्थानीय तहका मुख्य समस्या के–के हुन् ?
–सुस्ता गाउँपालिकाका अधिकांश नागरिक मधेसी समुदाय छन् । यो गाउँपालिका नेपालको अतिक्रमित भूमिमा पर्छ । उनीहरु अतिक्रमित क्षेत्रमा बस्ने भएकाले स्वास्थ्य, शिक्षा त्यहाँका नागरिकका लागि पहुँचभन्दा बाहिर छ । साथै नदी पारिका केही क्षेत्र अन्य क्षेत्रको तुलनामा सूचनाको पहुँचबाट बाहिर छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।  
अतिक्रमण हुनुपहिले सुस्तामा ४० हजार हेक्टर जमिन थियो । अहिले ७ हजार ९ सय हेक्टर मात्रै जमिन बाँकी छ । केही क्षेत्र अहिले पनि विवादमा छ । भारतीय पक्षले अझै पनि केही भूमिलाई हाम्रो भनिरहेको छ भने हामी हाम्रो भनिरहेका छौँ । त्यसैले यो समस्या स्थानीय क्षेत्रमा विकराल बनेको छ । हामीलाई हाम्रै क्षेत्रमा जान पनि १७ किलोमिटर भारतीय भूमिको प्रयोग गर्नुपर्छ । अथवा नदीमा डुङ्गा तरेर जानुपर्नेहुन्छ । बर्खायाममा खोला तर्न सकिँदैन । त्यसैले त्यहाँका नागरिकको सुविधाका लागि यसै वर्षबाट झोलुङ्गे पुलको निर्माण गर्ने योजना बनाएका छौँ । चार वर्षअघि नै टेन्डर परेको उक्त झोलुङ्गे पुल ठेकेदारको लापरबाहीको कारणले अहिलेसम्म बन्न सकेको छैन । हामीले बारम्बार ठेकेदारलाई खोजी गर्ने र सम्बन्धित विभागलाई घचघच्याउने काम गरिरहेका छौँ, जसको कारण अब निर्माणको काम सुरु हुनै लागेको छ ।  

स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ?
–सुस्ता गाउँपालिकामा कुनै पनि प्रकारको बेरुजु देखिएको छैन । कुनै पनि कामका लागि पेस्की दिइँदैन । उपभोक्ता समिति र टेन्डर प्रक्रियाबाट काम गर्ने र काम सम्पन्न भइसकेपछि मात्रै कामको मूल्याङ्कन गरेर पैसा दिने गरेका छौँ । त्यसैले गत वर्ष हाम्रो गाउँपालिकाको बेरुजु शून्य प्रतिशत रहेको छ । पेस्की दिँदा धेरै काम समयमा सम्पन्न नहुने, उपभोक्ता समितिले पनि पैसा लिने र समयमा काम नगर्ने जस्ता समस्या थाहा भएकाले हामीले पेस्की नदिने निर्णय गरेका हौँ । 

तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरूभन्दा फरक र नमुना बनाउन के–कस्ता योजना अघि सार्नुभएको छ र कसरी काम भइरहेको छ ?
निर्वाचनको समयमा पनि मैले जनतासँग प्रतिबद्धता व्यक्त गरेको थिएँ । सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने मेरो प्रतिबद्धता छ । अरू नगरपालिका र गाउँपालिकाको बराबरमा यो गाउँपालिकालाई लैजान सकियो भने मात्र भने पनि यो नमुना गाउँपालिका बन्न सक्छ किनकि यो शिक्षा, स्वास्थ्य र पूर्वाधारको हिसाबले अत्यन्तै विकट गाउँपालिका हो । बाटाहरु पनि अत्यन्तै कठिन र साँघुरा थिए । अहिले हामीले सडकको मापदण्ड बनाएका छौँ ।

सडकलाई मुख्य सडक, सहायक सडक र भित्री सडक भनेर तीन खण्डमा विभाजन गरेका छौँ । ती तीनवटै खण्डका सडकलाई १६ फिट २० इन्चको मापदण्ड बनाएका छौँ । हामीले मापदण्डअनुसार काम गरेर सडक फराकिलो बनाइरहेका छौँ । गत साल मात्रै हामीले १० किलोमिटरभन्दा बढी सडक माली निर्माण गरेका छौँ । गाउँपालिका भरी र ४ किलोमिटर पिच गरेका छौँ । त्यसैगरी १५, १६ किलोमिटर सडक ग्राभेल गरेका छौँ । हामी पूर्वाधारको निर्माण गर्दैछौँ । हामीले शिक्षा ऐन बनाएका छौँ र यसैअनुरूप शिक्षामा विभिन्न ऐन लागू गर्ने लक्ष्य लिएका छौँ । विद्यालयमा अनुगमन गरेर विद्यालयलाई नयाँ ढङ्गबाट लैजाने लक्ष्य लिएका छौँ । नवलपरासीमै पहिलो कोल्ड स्टोर बनाउँदैछौँ । कृषिको क्षेत्रबाट नै स्थानीय तहमा सुधार आउँछ भन्ने कुरालाई ध्यानमा राखेर प्राविधिक टोलीलाई खटाएका छौँ । नेपालकै लामो (१५७१ मिटर) झोलुङ्गे पुलको निर्माण गर्दैछौँ । यही लामो पुल र अतिक्रमित भूमि सुस्ता हेर्नका लागि ‘गन्तव्य सुस्ता’को नारासहित अर्को वर्ष नयाँ कार्यक्रम ल्याउनेछौँ । सङ्घ र प्रदेशका मन्त्रीहरुलाई सुस्तामा निम्त्याएका छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप