बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेसदेखि पहाडसम्म :

२७ जनालाई आफन्तले नै जलाए

४ वर्षमा प्रदेश २ मा मात्रै १४ जनाले ज्यान गुमाए
बुधबार, १८ वैशाख २०७६, १२ : २५
बुधबार, १८ वैशाख २०७६

काठमाडौं– धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर–१ चिरैया टोलमा दाइजो नपाएको भन्दै २३ वर्षीय मुकेश कुमार गोइतले श्रीमती निर्मला गोइतको जलाएर हत्या गरे ।

मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टीतेल छर्किएर जलाएपछि गम्भीर घाइते भएकी उनको वैशाख १३ गते कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

२३ वर्षीय गोइतले दाइजोको निहुँमा हातखुट्टा बाँधेर श्रीमती निर्मलाको जीउभरि मट्टितेल छर्की आगो लगाएको प्रहरीको भनाई छ ।

ढोका थुनेर निर्मलालाई मुकेशले जलाएका थिए । छिमेकीहरुले निर्मला चिच्याएको आवाज सुनेपछि ढोका फोडेर तत्कालै आगो निभाएपनि उनको शरीरको ३५ प्रतिशत भाग जलिसकेको थियो ।

हतार–हतार अस्पताल पुर्याइएपनि चिकित्सकले उनको तत्काल सर्जरी नगरे बचाउन गाह्रो हुने बताए ।  त्यसपछि कीर्तिपुर अस्पताल ल्याइएकी उनी त्यही मृत्युसँग हार्न पुगिन् ।  निर्मला र मुकेशको विहे भएको १० महिना मात्र भएको थियो ।

यसअघि सिरहाको सिरहा नगरपालिका–८ बस्ने २१ वर्षीया कञ्चन मण्डललाई पनि श्रीमान बेचन मण्डलले आगो लगाएर हत्या गरेका थिए  । यस्तै सप्तरीको राजविराज नगरपालिका – ११ का राजकुमार खंगलाई पनि बुहारीले तातो माड खन्याएर घाइते बनाइन् ।

निर्मला र कञ्चनमात्रै होइन, पछिल्लो ४ वर्षमा आपसी विवाद, रिसिइबी, दाइजोलगायतका विवादले अनाहकमै २७ जनाले ज्यान गुमाउन पुगेका छन् भने दर्जनौं घाइते बनेका छन् । अधिकांश घटना श्रीमान–श्रीमती र परिवारबाटै भएका छन् ।

प्रहरी तथ्यांक अनुसार जलाएर भएको  १५ जना महिला र १२ जना पुरुषको हत्या भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्तमराज सुवेदी जलाएर हत्या गर्नुको मुख्य कारण रिसिइबी नै भएको बताउँछन् । उनका अनुसार २७ जनामा केही श्रीमानबाट श्रीमती जलाइएका छन् भने कोही श्रीमतीबाट श्रीमान समेत जलाइएका उदाहरण छन् ।

प्रहरी तथ्याङ्कअनुसार प्रदेश २ मा सबैभन्दा धेरै यस्तो घटना भएको पाइएको छ । प्रदेश २ मा मात्रै १४ जनाको जलाएर हत्या भएको छ । जसमा ८ जना पुरुष र ६ जना महिला रहेका छन् । ती घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश २ पछि प्रदेश पाँचमा ७ जनाको जिउँदै जलाएर हत्या गरिएको छ ।  जसमा १ जना पुरुष र ६ जना महिला रहेका छन् । घटनामा संलग्न भएको अभियोगमा १२ जना पक्राउ परेका छन्।

त्यस्तै प्रदेश १ मा २ जनाको जलाएर हत्या भएको छ । जसमा १÷१ जना महिला पुरुष रहेका छन् । यस घटनामा २ जना पक्राउ परेका छन् ।

यस्तै प्रदेश ३ मा पनि ३ यस्ता तीन वटा घटना भएका छन् । जसमा २ जना पुरुष र १ जना महिला रहेका छन् । प्रहरीले ती घटनामा संलग्न रहेको भन्दै ५ जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा पनि २ जनाको जलाएर हत्या भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।  जसमा एक महिला र एक पुरुष रहेका छन् । ती घटनामा संलग्न रहेको भन्दै प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यस्तो खालको कुनै पनि घटना नभएको एसएसपी सुवेदीले बताए ।

जलाएर हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले जम्मा २७ जनालाई नै पक्राउ गरेको छ ।  जसमा १८ जना पुरुष रहेका छन् भने ९ जना महिला रहेका छन् । घटनामा संलग्नताको दाबीसहित प्रहरीले २४ वटा मुद्दा दायर गरेको छ ।

प्रदेश नम्बर २ मा किन बारम्बर भइरहन्छ यस्तो घटना ?

प्रहरी तथ्यांकले जलाएर हुने घटना प्रदेश नम्बर २ मा धेरै भएको देखाउँछ । आखिर किन दोहोरिरहन्छ त यो प्रदेशमा यस्ता अमानविय घटना ? प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले तराईमा अशिक्षाका सँगै दाइजोको विकराल समस्या रहेको भन्दै यहीबारे विवाद बढ्दै जाँदा अमानविय घटना हुने गरेको बताए । उनका अनुसार जनचेतना, अशिक्षा, बेरोजगारी र गरिबीले गर्दा प्रदेश नम्बर २ मा घरेलु हिंसामा वृद्धि भएको देखिन्छ ।

विशेषतः सामाजिक परम्पराका नाममा रहेका सामाजिक कुरीति तथा विकृतिकै कारण महिलामाथि विभिन्न खाले हिंसाजन्य अपराधिक क्रियाकलापहरुमा वृद्धि भएको उनको ठम्याई छ ।

यस्ता घटनाहरु नियन्त्रणका लागि विभिन्न स्थानीय निकायसँग समन्वय गरेर प्रहरीले समुदाय–प्रहरी साझेदारी अभियान चलाएर सहयोग तथा समन्वयका कार्यहरु गरिरहेको प्रवक्ता थापाले जानकारी दिए ।

उनले यस्तो मुद्दाहरुको अनुसन्धान सुक्ष्म ढंगले भइरहेको पनि जानकारी दिए । उनले भने, ‘समाज अझैं पनि कानुनलाई बेवास्ता गर्दै सामाजिक धार्मिक र परम्परा मान्यता अनुसार नै अघि बढिरहेको छ । अहिलेको आधुनिक युगमा विभिन्न संघसंस्थाले अभियानमार्फत चेतना फैलाइरहेकाले यस्ता घटनाहरु समेत समाजमा देखिन थालेका हो ।’

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले खाका बनाएर समाजकै मौलिकताअनुसार अघि बढे यस्ता घटनाहरु स्वतः निर्मुल हुँदै जाने प्रवक्ता थापाको बुझाई छ  ।

मुलुकको नयाँ कानूनअनुसार अपराधजन्य घटनामा संलग्नहरुलाई कडा कारवाहीको व्यवस्था रहेतापनि सामाजिक अवरोधका कारण प्रहरीसम्म उजुरी नआउने अवस्था समेत रहेको छ ।

थापाका अनुसार समाजमा हुने अपराधिक घटनालाई राजनीतिकरण नगरेर कानूनी दायरामा नल्याइने अवस्था तराइका जिल्लाहरुमा रहेका छन् । यस्ता आपराधिक कार्यलाई निरुत्साहित गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनको बुझाई छ । 

कानुनअनुसार जलाएर हत्या गर्ने कार्यमा संलग्न दोषी प्रमाणित भए सर्वस्वसहित जन्मकैदको सजाय हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप