बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जसले १३ वर्षदेखि पशुपतिनाथ मन्दिरछेउ बसेर बनाए १० हजार बढी स्केच (भिडियो)

बुधबार, १८ वैशाख २०७६, १२ : ०९
बुधबार, १८ वैशाख २०७६

पशुपतिनाथको मन्दिरको ठीक पारी श्लेषमान्तक वन पुग्ने सिढीछेउ हरेक दिन शान्त मुद्रामा एक युवा भेटिन्छन् । विभिन्न साइजका सिसाकलम र ब्रसलाई उनी एउटा सेतो कागजमा खेलाइरहेका हुन्छन् । हरेक दिन उनको अगाडि एउटा अपरिचत अनुहार पनि शान्तसँग एकटकले उनलाई हेरेर आधा घण्टादेखि एक घण्टा बसिदिन्छन् ।

साथै उनको वरिपरी दश–पन्ध्र जना जिज्ञासु आँखा लिएर झुम्मिन्छन् । उनी सेतो कागजमा पेन्सिलहरु कुदाइरहन्छन् । आधा घण्टादेखि एक घण्टाको बीचमा उनी दुरुस्तै अनुहार उतारेर दिन्छन् । विगत १३ वर्षदेखि त्यस्ता कैयौँ अनुहारलाई सेतो कागजमा सिसाकलमले उतार्दै आएका यी युवा हुन् अशोक थपलिया ।

शनिवार धरानका ६३ वर्षका विर्खमान राई अशोक भन्दा ठीक अगाडिको कुर्सीमा झन्डै ४५ मिनेट बसे । घट्टेकुलोमा छोरी ज्वाइँकोमा आएका उनी घर जानुअघि पशुपतिनाथको दर्शन गर्न र चित्र बनाउन पुगेका थिए । यसअघि पनि अशोकको हातबाट चित्र बनाउन खोजेका उनले पालो पाएका थिएनन् । यसपटक भने आफ्नो चित्र बोकेर मख्ख पर्दै उनी घरतिर लागे ।

राई जस्तै बितेको १३ वर्षमा आफूले १० हजार जति यस्ता स्केच कोरेको बताउँछन् ।

बच्चा बेलामा उनले आमाले राखेको नाङ्लो पसलबाट १० रुपैयाँ चोरेर पेन्सिल र कलर किनेका थिए । पशुपतिनाथ मन्दिरको आसपासमा भेटिएका भगवानको चित्र हेर्दै आफूले पनि चित्र बनाउन सिकेका अशोकले अहिले पनि यही सीपलाई आफ्नो मुख्य पेशा बनाएका छन् । 

सुरुका दिन सम्झिए अनि मुस्कुराए । भने–‘त्यतिबेला सुरु सुरुमा म १० रुपैयाँमा चित्र बनाउथेँ ।’

समय अनुसार उनले बनाउने चित्रको मूल्य पनि बढ्दै गयो । अहिले ३ सय ५० रुपैँया पुगेको छ । उनले हातैले जुन साइजको अनुहार चित्र बनाउँछन्, त्यो साइजको फोटो प्रिन्ट गर्ने हो भने त्यो भन्दा बढी पर्छ ।

आफ्नो चित्र मन परेपछि कतिपयले उनले लिने पारिश्रमिक दरभन्दा पनि बढी पैसा दिएर जाने गरेका छन् ।

ललितकला क्याम्पसबाट आइएफए गरेपछि उनी चित्रकलाको साधनामा लागे । सबैखाले चित्र कोर्ने उनलाई सबैभन्दा धेरै पेन्सिल स्केच मन पर्छ । उसो त उनी रंगीन चित्रहरु पनि बनाउँछन् ।

दिनमा कति चित्र बनाइन्छ त्यसको कुनै निश्चितता हुँदैन । उनले भने–‘दिनमा कम्तिमा दुई तीन जना त पक्कै हुन्छन् । म कराएर बस्दिन, मान्छेहरु इच्छा अनुसार आउनुहुन्छ, कोही फोन गरेर टाढाबाट पनि आउने हुन्छन्, कोही हिडिरहेको मान्छेलाई इच्छा भयो भने बनाउँनु पनि हुन्छ । उहाँहरुको इच्छा अनुसार हुन्छ ।’

उनले दिनमा धेरैमा १५ जना सम्मको चित्र कोरेका छन् । कुनै दिन चित्र बनाउन एक जना पनि नआएर खाली हात पनि बस्नुपर्छ । तर अचेल उनको व्यस्थता बढी नै रहेको छ । 

हरेक बिहान ७ देखि ९ बजेको बीचमा काठमाडौंको डाँछीबाट पशुपतितिर लाग्छन् । बेलुका साढे ५ सम्म चित्र कोरेर बस्छन् ।

कुनै दिन स्कुलमा पनि चित्रकला पढाउन जान्छन् । उनले ३ वटा स्कूलमा पार्ट टाइम चित्रकला सिकाउने गर्छन् । घर, स्कूलभन्दा पनि सबैभन्दा बढी समय बिताउने ठाउँ उनको पशुपतिनाथको मन्दिर नै हो ।

कोही टाढा टाढाबाट पनि उनीसँग चित्र बनाउन आइपुग्छन् । कोही झापाबाट, धरानबाट पनि आउछन् । उनले भने–‘धरानमै बस्ने गरी चित्र बनाउन पनि बोलाएका थिए ।’

चित्र बनाइरहेका बेला उनी बटुवाहरुबाट घेरिएका हुन्छन् । उनीहरु मध्ये कतिपयले त मोबाइलले पनि खिचिहाल्छ नि भन्छन्, कोही कम्प्युटरमा उत्तिखेरै हुन्छ पनि भनिहाल्छन्, कतिपयले चाहीँ हातैले बनाएको पो महत्त्व हुन्छ भन्ने गरेका छन् ।

कतिपय विदेशी पर्यटकहरुले पनि चित्र बनाउने गरेका छन् । उनले भने–‘कतिपय टुरिष्ट गाइडहरुले पनि चित्र बनाउन पर्यटकहरु ल्याउने गरेका छन् ।’

पुरुषहरुको चित्र बनाउन ३० देखि ४० मिनेट समय लाग्छ । महिला हो भने १ घण्टाभन्दा बढी समय लाग्छ । उनले भने– ‘झुम्का भन्यो, गाजल भन्यो, कुर्था सुरुवाल छ भने सलमा पनि बुट्टा नै हुन्छ । धेरै टाइम लागिहाल्छ ।’

१० रुपैयाबाट सुरु हुँदै २०, ५०, १ सय हुँदै अहिले उनको पारिश्रमिक अहिले ३ सय ५० निर्धारण गरेका छन् ।

कतिपयले आफ्नो फोटो छोडेर पनि जाने गरेका छन् । फोटो हेरेर बनाएको स्केचको दर भने ७ सय ५० रुपैयाँ राखेका छन् ।

यसरी निरन्तर चित्र बनाइराख्दा कहिले काही आँखा दुःखेको जस्तो अनुभूति हुन्छ । त्यस्तो बेला बरु अरु नै केही काम गरेको भए हुन्थ्यो नि जस्तो लाग्ने उनले सुनाए । तर अघिपछि भने यसरी स्केच कोर्दा निकै रमाइलो लाग्ने उनको अनुभव छ ।

बाँकी जिन्दगी यसरी नै चित्र बनाउने उनको सोच छ । तर जिन्दगीको के भरोसा ?

उनले भने–‘सोच चाहीँ छ मेरो तर समयको कुरा कसलाई के थाहा हुन्छ हैन ।’

चित्रकलाबाटै उनले काठमाडौँको डाँछीमा एउटा जग्गा जोडे, छोरीलाई पढाइरहेका छन् । साथै घरखर्च पनि चलाइरहेका छन् ।

पशुपतिनाथको मन्दिर छेउ नै जन्मे हुर्केका थपलियाले प्राथमिक तहको शिक्षा पनि त्यहीबाट पूरा गरेका थिए । अहिले उनको चित्रकारिताको जीवनरथ पनि त्यही गुडिरहेको छ ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप