शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठेला चालकको दुःख : काठमाडौंमा परिवारसँग बाँच्नै मुस्किल !

बुधबार, १८ वैशाख २०७६, १० : २७
बुधबार, १८ वैशाख २०७६

सिन्धुपाल्चोका छत्रबहादुर कार्की संघीय राजधानी छिरेको ७ वर्ष भयो । गाउँमा जीवन चलाउन मुस्किल भएपछि २०६९ सालतिर उनले काठमाडौँं हानिएका थिए ।

काठमाडौँ त आइपुगे, तर काम के गर्ने भन्ने कुनै मेसो थिएन । गरिबीका कारण उनले औपचारिक शिक्षा पनि हासिल गरेका थिएनन् ।

कार्की विगतलाई सम्झिन्छन्, ‘परिवारका आर्थिक अवस्था निकै कमजोर थियो । पढ्न पाइनँ । गाउँमा गरी खान खेतिबारी पनि थिएन । केही न केही काम पाइन्छ होला भनेर काठमाडौँ आएँ ।’

काठमाडौँंमा एक वर्ष जति उनले भारी बोकेर गुजारा चलाए । १ वर्षपछि उनले ठेला चलाउन थाले ।

पहिले एक्लै काठमाडौँ छिरेका कार्कीले विस्तारै परिवारलाई पनि यहीँ ल्याए । अहिले उनीसहित ५ जनाको परिवार काठमाडौँको शंखमुलमा बस्दै आएको छ । उनका श्रीमती, दुई छोरी र १ छोराका छन् ।

परिवारमा काम गर्ने उनी एक्लो हुन् । ठेला चलाएर उनी दैनिक सात–आठ सय कमाउँछन् । त्यही पैसाले उनले गुजारा चलाउँदै आएका छन् ।

कार्की भन्छन्,‘पिठ्युँमा बोरी बोक्दा साह्रै गाह्रो हुन्थ्यो । गर्मीमा त झनै गाह्रो । आफूसँग ठेला किन्ने पैसा पनि थिएन । भारी बोकेरै ठेलाको जोहो गरेँ । अहिले त सजिलो छ । दैनिक ७–८ सय कमाइँ हुन्छ ।’

उनले पाउने भनेको सबैभन्दा बढी काम फर्निचरका सामान ओसार पसार गरेर नै हो । रातोपाटीकर्मी कार्कीलाई भेट्न जाँदा उनी शंखमुलको एक फर्निचरबाट ललितपुरतिर प्लाई ओसार नै व्यस्त थिए । उनले एक खेपमा ३ सय किलोसम्मको समान बोक्ने गरेका छन् । ठेलाको क्षमता पनि त्यही अनुसारको रहेको उनी बताउँछन् ।

उनका अनुसार ठेला चालकले फर्निचरको सामान मात्र ओसार पसार गर्दैन, सिमेन्ट, इट्टादेखि कोठा सार्न पनि ठेला प्रयोग हुने गरेको छ ।

कार्कीको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ भने साँझ ९ बजेसम्म चल्छ । दिनमा न्युनतम ४–५ वटा काम पाएकै हुन्छ । ठाउँको दुरी अनुसार मूल्य निर्धारण हुन्छ । ठेला चालकहरुको दुई सय रुपैयाँ भने न्युनतम रेट हो ।

तर अन्य ठेला मजदुर कै कारण पीडित हुनुपरेको उनी गुनासो गर्छन् । ‘हामी ठेला चालकहरुमा काम पाउँदा होडबाजी चल्छ । दुई सय हाम्रो न्युनतम रेट हो । तर साथीहरु म सयमा लगिदिन्छु भन्छन् । अनि समस्या हुन्छ । कहीले कहीँ त भनाभन पनि हुन्छ,’ कार्कीले भने, ‘हाम्रो यहाँ त त्यस्तो छैन । तर मेरो गाउँको साथी ग्वार्कोमा ठेला चलाउँछन् । त्यहाँ यस्तै हुँदा उसलाई कुटपिट समेत गरेछन् ।’

घरखर्च जुटाउन धौ–धौ नै भए पनि उनी आफ्नो कामबाट भने खुसी नै छन् । ‘तीन जना छोरा–छोरी छन् । उनीहरुलाई पढाउने पर्यो । २ वटा कोठा लिएर बेसेको छु । १२ हजार कोठा भाडा तिनुपर्छ । खाने कुरा किन्नै पर्यो । लाउने कुरा किन्नै पर्यो । गाह्रो त गाह्रो छ,’ उनी भन्छन् ।

एउटा ठेलालाई नै ३५ हजार पर्छ । साँजको काठबाट बनेको हो भने लोमो समयसम्म टिक्ने उनी बताउँछन् । ‘होइन भने ३ चार वर्षमै भाचिन्छ ।  हामी नपढेको मान्छेलाई यो पैसा कमाउने सोझो तरिका हो । जे भए पनि परिवार त पाल्न सकिएको छ,’ उनले बताए ।

कार्कीका तीन जना छोराछोरी सरकारी विद्यायलयमा अध्यायनरत छन् । सरकारी विद्यालयले पनि महङ्गो मासिक शूल्क लिने गरेको प्रति आक्रोशित हुँदै कार्कीले भने, ‘छोराछोरी सरकारी विद्यायलमा पढाई राखेको छु । त्यहाँ पनि महिनाको ७ सय शुल्क तिर्दै आएको छु । यसमा सरकारले सोची दिएको भए हामी जस्ता मदुरलाई केही भए पनि सहज हुने थियो ।’

उनलाई व्यापार व्यवसाय गर्ने रहर नभएको कहाँ हो र ? तर त्यसका लागि पैसा चाहियो । ‘आफूसँग पैसा छैन । यो ठेला चलाएर महिनाको २४–२५ हजार कमाइ हुन्छ । तर सबै खर्च भइहाल्छ,’ कार्कीले दुखेसो गर्दै भने,‘अन्य काम गर्न सीप पनि चाहियो । आफूलाई यो ठेला चलाउने मात्र आउँछ । आगामी दिनमा पनि यसरी नै ठेला चलाउँछु होला ।’

कार्कीका अनुसार काठमाडौंको भूगोल अनुसार ठेला चलाउन सहज छैन । ‘काठमाडौं उपत्यकामा कतै ओरालो त कतै उकालो छ । जसले गर्दा ठेलामा सामान ओसारपसार गर्दा गाह्रो हुन्छ,’ उनले भने, ‘भारततिर इन्जिनसहितका ठेला छन् । हाम्रोमा पनि इन्जिन भएका ठेला हुँदा हामीलाई गरि खान सजिलो हुने थियो ।’

इन्जिन बिनाको ठेलाको पनि उनले कर तिर्दा रहेछन् । कार्कीका अनुसार ठेला साचलकले वर्षको १ हजार रुपयाँ करबापत तिर्दै आएका छन् ।

कार्की जस्तै शंखमुलमै ठेला चलाएर गुजारा चलाउँछन् विरु श्रेष्ठ पनि । स्थायी घर दोलखा भएका ३२ वर्षीय श्रेष्ठले ठेला चलाउन थालेको ११ वर्ष भयो ।

उनका दाजु पनि ठेला चालक थिए । २२ वर्षको उम्मेरमा कामको खोजीमा काठमाडौँ छिरेका श्रेष्ठले पहिले सडक पेटीमा तरकारी बेच्ने काम गर्दथे । दाजुबाट ठेला चलाउन सिकेपछि श्रेष्ठले एक वर्षमै तरकारी बेच्न छोडे । र उनी पनि ठेला चलाउन तम्सिए ।

शंखमुलमै बस्दै आएका श्रेष्ठले त्यही ठाउँलाई ठेला चलाउन थाले । उनको पनि दैनिक कार्कीको जस्तै व्यतित हुन्छ । तर उनले ठेला सँगसँगै साजेदारीमा तरकारी व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् ।

श्रेष्ठ आफ्नो दैनिकी सुनाए, ‘म बिहान ५ बजेदेखिनै काममा व्यस्त हुन्छु । बिहान तरकारी ओसार– पसार गर्छु । आफ्नै गाउँको साथीसँग सहकार्य गरेर तरकारी पसल पनि सञ्चालन गरेको छु । दिउँसो ठेला चलाउँछु । पहिले दैनिक ६–७ ट्रिप गरिन्थ्यो । अहिले भने पसलमा पनि काम हुने भएकाले ३–४ ट्रिप मात्र गर्छु । यता उता गर्दा रातिको ९ बजी हाल्छ । यसरी नै दैनिक चलेको छ ।’

महानगरपालिकाले ठेला कुन समयमा कुन ठाउँमा चलाउन पाइने कुन ठाउँमा चलाउन नपाइने भनेर तोकिदिएको छ ।

‘भित्र गल्लीतिर २४ घण्टा जतिबेला पनि चलाउन पाइन्छ । मुख्य सडकमा बिहान  ८ बजेदेखि १२ बजेसम्म र साँझ ४ बजेदेखि ८ बजेसम्म रोक लगाइएको छ,’ श्रेष्ठले भन्छन् ।

श्रेष्ठको कमाई कार्कीको भन्दा बढी छ । श्रेष्ठले महिनामा ३५ देखि ४० हजार आम्दानी गर्छन् । तर पनि उनी ठेला नचलाउने सोचमा पुगिसकेका छन् ।

‘ठेला चलाउन थालेको पनि ११ वर्ष भयो । यो बीचमा जे जति कमाइयो । त्यही पैसाबाट अब व्यापार गर्ने योजनामा छु । अहिले साथीहरुसँग सहकार्य गरिरहेको छु । छिट्टै नै आफै व्यापार गर्छु,’ श्रेष्ठले योजना सुनाए ।

श्रेष्ठका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ठेला चाकलाई जनही २ लाख दिने घोषणा गरेका थिए । तर त्यो कुरा लागु भएन ।

श्रेष्ठले काठमाडौँमा परिवारसहित बस्नु पर्दा ठेला चलाएर गुजार चलाउन कठिन हुने भन्दै यसबारे सरकारले सोची दिन आग्रह गरे । उनी शंखमुलमा एकलै बस्छन् । परिवार दोलखामै छ । महिनाको १ पटक उनी दोलखा पुग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप