शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दघाट नगरपालिकाका प्रमुख बस्यालसँग सम्वाद : कानुन नबन्दा अघि बढ्न बाधा भइरहेको छ

मङ्गलबार, १७ वैशाख २०७६, १२ : २३
मङ्गलबार, १७ वैशाख २०७६

(मुलुक अहिले संघीय संरचनामा छ । सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय, प्रदेश र स्थानीय तहमा बाँडफाँट गरिएको छ ।  केन्द्रदेखि स्थानीय तहसम्म शक्ति बाँडफाँट गरिएको अवस्थामा ती निकायहरुका समग्र काम कारबाही कसरी अगाडि बढिरहेका छन् ? जनप्रतिनिधिका समस्या के कस्ता छन् ? तीनै तहले कसरी समन्वयात्मक ढंगले काम गरिरहेका छन् लगायतका विषयमा केन्द्रित रहेर रातोपाटी डटकमले ‘जनप्रतिनिधि संवाद’ स्तम्भ सुरु गरेको छ । जुन रातोपाटीले क्रमिक रुपमा धेरैभन्दा धेरै जनप्रतिनिधिलाई समेट्ने कोशिस गर्नेछ । –सम्पादक)


 प्रदेश नम्बर ५ स्थित नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन् । बस्यालले १२ हजार ८१४ भोट ल्याएर मेयर पदमा विजयी भएका हुन् । निर्वाचित भएपछि स्थानीय तहमा के–कस्ता काम भए ? कस्ता कामलाई प्राथमिकता दिए र जनप्रतिनिधि आइसकेपछि स्थानीय तहमा कस्ता कस्ता परिवर्तन भए भनेर रातोपाटीले बस्याललाई प्रश्न गरेको छ । प्रस्तुत छ बस्यालको जवाफ :

तपाईंले आफ्नो नगरपालिकामा के–के  कुरालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? 
–हाम्रो नगरपालिकामा विशेषतः पूर्वाधार नै पहिलो प्राथमिकतामा परेको छ । यससँगै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेका छौँ, जसका लागि शिक्षाअन्तर्गत पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई निःशुल्क खाजा खुवाउने, सङ्घीय सरकारले पीसीएफ फन्ड बनाइरहेको सन्दर्भमा शिक्षकहरुलाई अनुदान दिएर करारमा भर्ना गर्ने र पठनपाठनमा सहजता कायम गर्ने काम गरिरहेका छौँ । 

यसैगरी स्वास्थ्यको सन्दर्भमा राज्यले उपलब्ध गराएको निःशुल्क औषधिहरु पर्याप्त मात्रामा नभएकाले हामीले खरिद र वितरण गर्ने कार्य गरिरहेका छौँ । त्यस्तै,  बर्दघाट नगरपालिका क्षेत्रका बिरामीहरुलाई अस्पतालमा पहुँच विस्तारका लागि चारवटा एम्बुलेन्स खरिद गरेर बजार मूल्यभन्दा २५ प्रतिशत कम भाडा लिएर सेवा प्रदान गरिरहेका छौँ । 

यसैगरी कृषि क्षेत्रमा नगरपालिकाभित्रका किसानलाई बीउविजन दिने, विषादी उपलब्ध गराइदिने र औषधिहरु निःशुल्क वितरण गर्ने कार्य गरिरहेका छौँ । 

पर्यटनको क्षेत्रमा पनि पर्यटन पूर्वाधारहरु निर्माण गर्ने र पर्यटन विकासका लागि नयाँ नयाँ पर्यटन गन्तव्य खोजी गर्ने र त्यसलाई प्रचार गर्ने कार्य गरिरहेका छौँ ।
 
स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
–हाम्रो स्थानीय तह र प्रदेश सरकारबीचको सम्बन्ध र साझेदारी सहज ढङ्गले अगाडि बढिरहेको छ । स्थानीय तह र प्रदेशबीचको सम्बन्ध साझेदारीमा नै चलिरहेको छ । प्रदेश सरकारले पनि स्थानीय तहको विकासमा साझेदारी गरिरहेको छ । प्रदेश सरकाले स्थानीय तहका लागि रकम विनियोजन गर्ने र भइरहेका योजनाहरूको पनि समन्वयात्मक ढङ्गले अगाडि बढाउने काम भइरहेको छ । हामीले विशेषतः प्रदेशबाट तय गरिएका कार्यक्रमलाई स्थानीय तहको तर्फबाट पनि हामीले सहयोग गर्ने र ती कार्यक्रमलाई सफल बनाउने गरी काम अगाडि बढाइरहेका छौँ ।

स्थानीय तहका मुख्य समस्या के–के हुन् ?
– स्थानीय तहमा संविधान प्रदत्त अधिकारहरु प्राप्त भइसकेको छैन । जिल्लामा भएका कार्यालयहरु यथास्थितिमा चलिइरहेका छन् । उनीहरुले पुरानै रवैया प्रवृत्ति प्रदर्शन गरिरहेकाले स्थानीय तहमा काम गर्न समस्या भइरहेको छ ।

हाम्रा सङ्घीय कानुनहरू बनिसकेका छैनन् र प्रदेश कानुन पनि नबनिसकेको अवस्थामा स्थानीय कानुन बनाएर हामीलाई अगाडि बढ्नका लागि बाधा भइरहेको छ । तथापि, हामीले त्यसलाई सहजीकरण गर्नका लागि देशमा सङ्घीय कानुन नबन्दासम्म काम अगाडि बढाउन नियमावलीहरु बनाएर कामलाई निरन्तरता दिएका छौँ ।

यसैगरी, विकासलाई गति दिनका लागि आवश्यक पर्ने प्राविधिक कर्मचारीको अभाव छ । त्यसले गर्दा स्थानीय तह समस्याग्रस्त छ । यद्यपि, हामीले प्राविधिक कर्मचारीलाई करारमा नियुक्त गरेर काम अगाडि बढाइरहेका छौँ ।

स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ?
–हाम्रो नगरपालिकामा भने बेरुजु एकदमै न्यून छ । भएका पुराना बेरुजु उठाउन पनि हाम्रा कर्मचारी तदारुकताका साथ लागिपरेका छन् । केही बेरुजु उठिरहेको पनि छ । तथापि, अहिले हाम्रो कार्यकालमा पेस्की नदिने अभियान सञ्चालन गरिरहेका छौँ । सकेसम्म पेस्की नदिई उपभोक्ता समितिमार्फत काम अगाडि बढाइरहेका छौँ । त्यसैले हाम्रो नगरपालिकामा बेरुजुको समस्या छैन । 

तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरूभन्दा फरक र नमुना बनाउन के–कस्ता योजना अघि सार्नुभएको छ ? कसरी काम भइरहेका छन् ?
–बर्दघाट नगरपालिका प्रदेश नम्बर ५ को पूर्वी प्रवेशद्वार हो । यसैगरी यो बुद्धभूमिका रूपमा पनि परिचित छ । त्यसैले हामीले यो नगरपालिकामा प्रवेश गर्नेवित्तिकै पूर्वपश्चिम राजमार्गमा रहेका सबै घरहरुको अग्रभागमा पहेँलो रङ (बुद्धरङ) लगाउने योजना अगाडि सारेका छौँ ।

त्यसैगरी, प्रदेश नम्बर ५ कै एउटा नमुना कार्यक्रम अन्तर्गत वन कार्यालयसँग सहकार्य गरेर सामुदायिक वनमा ‘इको एजुकेसनल पार्क’ निर्माण गर्ने कार्य सुरु गरेका छौँ । बर्दघाट नगरपालिकालाई खेलमैत्री नगरपालिका बनाउन एउटा बृहत् रङ्गशाला निर्माणको कामलाई अगाडि बढाएका छौँ । साथै यो नगरपालिकाभित्र रहेका पर्यटन पूर्वाधारहरुलाई व्यवस्थित गर्ने योजना छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई मध्यनजर गरेर पर्यटन पूर्वाधारमा विकास गरिनेछ । जसले पर्यटक आकर्षित हुनेछन् र भ्रमण वर्ष सफल पार्न सहयोग पुग्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप