शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको जागरण अभियान : सुरु नहुँदै पार्टीभित्र ‘ज्वरो’

मङ्गलबार, १७ वैशाख २०७६, ०९ : ४८
मङ्गलबार, १७ वैशाख २०७६

नेपाली काँग्रेसमा राष्ट्रिय जागरण अभियानको विषयलाई लिएर विवाद देखिएको छ । संस्थापन पक्षले सघन छलफल बेगर आफूखुसी राष्ट्रिय जागरण अभियान सञ्चालनको घोषणा गरेको भन्दै संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग खासै छलफल नै नगरी अभियान घोषणा गरेको आरोप लगाएका हुन् ।

पौडेलले भने, ‘शेरबहादुर देउवाजीले यति ठूलो निर्णय पनि गुटगत ढङ्गले नियर्ण गर्नुभयो । कुनै छलफल आवश्यक ठान्नु भएन । जागरण अभियानबारे प्रवक्ता विश्वप्रकाशले एकचोटि सामान्य जानकारी मात्र गराएका थिए । केन्द्रीय कार्यसमिति नै बोलाएर यसबारे सरसल्लाह र छलफल गरेको भए राम्रै हुन्थ्यो । त्यो देखिएन ।’

उनले जागरण घोषणाका साथै विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदा पनि आफूखुसी नियर्ण भएको आरोप लगाए ।

‘उहाँहरूले एक पक्षीय तवरबाट जागरण अभियान घोषणा गर्नुभयो । फेरि एकपक्षीय रूपमै एक महिना लामो अभियानका लागि केन्द्रीय सदस्यहरूलाई आफूखुसी जिल्लामा खटाइयो । यस्तो तरिकाले अभियान कति प्रभावकारी हुन्छ ?,’ वरिष्ठ नेता पौडेलले प्रश्न मिश्रित असन्तुष्टि पोखे ।

जागरण अभियानको औचित्यमाथि नै प्रश्न उठाउनुभयो भन्दा उनले भने, ‘यसो नगरेको भए हुन्थ्यो मात्र भनेको पो त, कहाँ औचित्यमाथि प्रश्न गरेको हो र ? वैशाख २५ गतेबाट अभियान प्रारम्भ हुँदैछ । सबै तयारी पनि गरिसक्नुभएको छ । अरू धेरै कुरा गरेर के फाइदा ।’

सरसल्लाहबिना घोषणा गरिएको पहिलो चरणको अभियानमा आफूहरूले हेरेर बस्नुको विकल्प नभएको नेता पौडेलको भनाइ थियो ।

‘तपाईं भन्नुहुन्छ, सल्लाह के दिनुहुन्छ ? कुनै सरसल्लाह गरे पो यसरी जानुस् वा यसरी गर्नुस् भन्न सकिन्थ्यो,’ उनले भने, ‘आफूखुसी निर्णय गरियो । अब पहिलो चरणपछि मात्र केही भन्न सकिन्छ । अहिले जसले जे गर्छन्, त्यसलाई हेर्ने हो ।’  

यस्तै काँग्रेसका युवा नेता गगनकुमार थापाले साङ्गठनिक पाटो अस्तव्यस्त अवस्थामा रहेको बेला जागरणमा जाँदा सफलता हात पर्ने कुरामा आशङ्का व्यक्त गरे । ‘पार्टीभित्र खलबली र अलमल छ । हामी अहिले जनजागरण अभियानमा जाँदैछौँ । तर पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन । प्रदेश, पालिका र वडा तहमाको पार्टी संरचना नै छैनन्, जसको हामीलाई जागरण अभियानमा अभावको महसुस पक्कै पनि हुनेछ,’ नेता थापाले भने । जागरण अभियान सञ्चालनका लागि आफूहरूले १ वर्ष पहिलेदेखि नै दबाब दिएकाको उनले बताए ।

‘जागरण अभियान एउटा पार्टीका लागि महत्त्वपूर्ण पाटो हो, जसले नेता कार्यकर्तामा उत्साह थप्ने काम गर्छ । यसका लागि हामीले १ वर्ष पहिलेदेखि नै नेतृत्वलाई दबाब दिँदै आएका थियौँ । निर्वाचन समीक्षाको प्रयोजनका लागि गत वैशाखमा बसेको केन्द्रीय कार्यसमिति लगत्तै हामी युवा नेताहरूले जागरण अभियान सञ्चालन गरेर पार्टीलाई नयाँ ढङ्गले लैजान ५१ बुँदे प्रतिवेदन समेत बुझाएका थियो,’ नेता थापाले, ‘त्यतिबेला नेतृत्व तयार देखिएन । ठीक छ । ढिल्लै भए पनि जागरण अभियानमा जाने घोषण गरेका छौँ । यो सकारात्मक कार्य हो । तर मुलुक सङ्घीयतामा भएको यत्रो वर्ष भइसक्यो हामीले हाम्रो पार्टी संरचनालाई रूपान्तरण गर्न सकेका छैनौँ । यसले कसरी चल्छ ?’

नेता थापाले पनि जागरण अभियानको घोषणापूर्व व्यापक छलफल र बहसको खाँचो रहेको भन्दै त्यसो हुन नसकेको गुनासो गरे ।

नेता थापाले भने, ‘११ गतेबाट सुरु गर्ने भनिएको जागरण अभियान अब २५ गतेबाट सुरु हुँदैछ । यो विषयमा पार्टीमा जुन तरिकाले छलफल र बहस गरेर जुन पर्ने थियो । त्यो हुन सकेको देखिएन । जनता, मतदाता र पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट राख्ने भनिएको त छ । सङ्घीय संरचनाअनुसार तल्लो तहमा कमिटी नै छ । सङ्गठनबिना कसरी अभियान सफल हुन्छ ? सङ्क्रमणकालीन व्यवस्थाबाट भए पनि सङ्घीय संरचनाअनुसार पार्टीको सङ्गठन निर्माणमा लाग्नु विकल्प छैन ।’

संस्थापनइतर पक्षले व्यापक छलफल र बहस नभएको बताए पनि पार्टी उपसभापति विमलेन्द्र निधिले भने स्वीकार गरेनन् ।

‘हामीले सबैसँग छलफल र परामर्श गरेर जागरण अभियान घोषणा गरेका हौँ । यस्तो भन्न कसरी मिल्छ ? महासमिति बैठक र केन्द्रीय समितिबाट समेत निर्णय भएको छ । बरु किन ढिलो भयो भन्ने कुरा आइरहेको थियो । उहाँहरूले छलफल भएन भन्नु हुन्छ भने कहाँ हो छलफल गर्नुपर्ने ? यस्तो कुरा पनि गर्न मिल्छ,’ उपसभापति निधिले आक्रोश व्यक्त गरे ।

रातोपाटीसँगको सङ्क्षिप्त कुराकानीमा उनले सबैसँग छलफल गरेर नै जागरणमा जाने निर्णय गरेको दाबी गरे ।

‘पार्टीभित्र सबैसँग सल्लाह गरेर निर्णय गरेको थियो,’ उपसभापति निधिले भने, ‘राष्ट्रिय जागरण अभियानको घोषणा गर्दा गरिएको पत्रकार सम्मेलनमा महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पनि हुनुन्थ्यो । उहाँहरू के सल्लाह नभएर आउनुभएको थियो त ?’

केन्द्रीय कार्यसम्पादन समिति र विभिन्न विभाग गठनका लागि सहमति जुट्न नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्न नकेको छैन ।

उक्त विषयमा देखिएको मतभेदले केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग सल्लाह नगरी वैशाख ४ गते जागरण अभियान घोषणा गरेका थिए । पार्टी कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री सशांक कोइरालालगायतको उपस्थितिमा प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घोषणा गरेका थिए ।

यद्यपि वैशाख १० गते पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि लोकतन्त्र दिवसको अवसर पारेर  ११ गतेका लागि तय गरिएको जागरण अभियान वैशाख २५ देखि जेठ २५ सम्मालाई सरिएको छ । पहिलो चरणको कार्यक्रमा मात्र सारिएको काँग्रेसले जनाएको छ ।

जिल्ला केन्द्रित यो अभियानपछि काँग्रेसले भाद्र २४ गतेबाट बीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् । तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ ।

काँग्रेसले जागरण अभियानमा पार्टीका सङ्गठन सुधार, सदृढीकरणका अतिरिक्त पार्टीको सदस्यता व्यापक वितरण, भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंसा र बलात्कारका घटनालाई समेत उठाउने भएको छ ।

कुन प्रदेशमा कुन पदाधिकारी ?

जागरण अभियानका लागि ७७ जिल्लाकै लागि केन्द्रीय प्रतिनिधि खटाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय पदाधिकारीहरू भने सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन् ।

सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, महामन्त्री सशांक कोइराला प्रदेश नम्बर ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेश  र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा खटिएका छन् ।

शीर्ष नेताहरू यी प्रदेशभित्र आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप