शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'पायल्स भनेर बस्दा क्यान्सर पनि हुन सक्छ'

सोमबार, १६ वैशाख २०७६, ०९ : ४०
सोमबार, १६ वैशाख २०७६

नेपालमा पायल्स रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पायल्स मलद्वारसँग सम्बन्धित रोग भएकाले धेरैले उपचारमा हेलचेक्र्याइँ गर्ने गरेको पाइन्छ । पायल्स भनेर क्यान्सर पालेर बस्नेको सङ्ख्या पनि कम छैन नेपालमा । त्यसो त पायल्स र क्यान्सर फरक फरक रोग हुन् ।

नेपालमा पायल्स, मलासयको क्यान्सर र ठूलो आन्द्राको क्यान्सर रोगीको सङ्ख्या धेरै छ । मलासय र ठूलो आन्द्राको क्यान्सर (कोलोरेक्टल क्यान्सर) रोगीको सङ्ख्या विश्वमा गत वर्ष १८ लाख भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तर नेपालमा भने त्यस्ता रोगी यति नै छन् भन्न सकिने अवस्था छैन ।

चर्चित सर्जन डा. एसके भट्टाचार्य र गायिका नुपुर भट्टाचार्यका छोरा हुन् डा. सत्यद्वीप भट्टाचार्य । काठमाडौंमै जन्मे हुर्केका भट्टाचार्यले धरान मेडिकल कलेजबाट २००५ मा एमबीबीएस उत्तीर्ण गरे । त्यसको लगत्तै १ वर्ष वीर अस्पतालमा काम गरे । २००७ मा अमेरिका गएका भट्टाचार्यले अमेरिकाको टफ्ट्स युनिभर्सिटीअन्तर्गत बोस्टनको सेन्ट एलिजावेथ मेडिकल सेन्टरबाट जनरल सर्जरीमा पोस्ट ग्र्याजुएसन गरे ।

अमेरिकाकै ब्राउन युनिभर्सिटीबाट कोलोरेक्टल सर्जरीमा ‘सुपर स्पेसलाइजेसन’ गरेका डा. भट्टाचार्यले इलिनोइसमा कोलोरेक्टल तथा जनरल सर्जनको रूपमा ५ वर्ष काम गरे ।

विदेशमा आर्जन गरेको ज्ञानको सदुपयोग स्वदेशमै गर्नुपर्छ भन्ने सोचसहित २०१८ मा नेपाल फर्किएका डा. भट्टाचार्य काठमाडौँको नर्भिक अस्पताल, ललितपुरस्थित निदान अस्पताल र नेपाल क्यान्सर अस्पतालमा कन्सल्टेन्ट कोलोरेक्टल तथा जनरल सर्जनका रूपमा कार्यरत छन् । विकसित मुलुकका उपचार पद्धति स्वदेशमै उपलब्ध भएकाले उपचारका लागि अब विदेश धाइरहनु नपर्ने बताउने कन्सल्टेन्ट कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यद्वीप भट्टाचार्यसँग रातोपाटीका लागि टुना भट्टले गरेको कुराकानी ।

पायल्स भनेको के हो ?

पायल्स (हेमरोइड्स) सामान्य रगतका नसाहरु हुन् । सामान्य भाषामा भन्दा यो शारीरिक बनावटकै केही भाग हो । यो सबै मानिसमा जन्मजात हुन्छ । सामान्य अर्थमा भन्नुपर्दा पायल्स मलद्वारको भित्री र बाहिरी भागका ससाना नसा हुन् ।

पायल्स दुई प्रकारका हुन्छन्, एक हाम्रो शरीरको (मलद्वारको) भित्री भागमा हुन्छ, जसलाई आन्तरिक (इन्टरनल) पायल्स भनिन्छ । अर्को मलद्वारको बाहिरी भागमा, मलद्वारको छालामुनि रहेको हुन्छ यसलाई बाहिरी (एक्स्टर्नल) पायल्स भनिन्छ ।

अब कुरा गरौँ पायल्स रोगको बारेमा । यदि भित्री पायल्स (इन्टर्नल हेमरोइड्स) केही कारणले ठूलो हुँदै गयो वा सुन्नियो भने दिसामा रगत देखिन थाल्छ । अझ ठूलो हुँदै गयो भने त दिसा गर्दा भित्री मासुको अंश नै बाहिर निस्किने र भित्र जाने हुन्छ । भित्री पायल्स हुँदा खासै दुख्दैन पनि ।

त्यसैगरी, बाहिरी पायल्स सुन्निन सक्छ र दुख्न सक्छ । उक्त ठाउँमा धेरै बल परेमा वा अन्य कुनै कारणले पनि त्यो भाग सुन्निन सक्छ र दुख्ने पनि हुन्छ । कहिले काहीँ मलद्वारको बाहिरी भागमा सुन्निएको मासुमा रगत जम्ने र दुख्ने हुन्छ । कतिलाई समस्या भएको दुखेपछि वा रगत निस्केपछि मात्र थाहा हुन सक्छ ।

पायल्स हुुनुका मुख्य कारणहरु के–के होलान् ?

पायल्स हुुनुको मुख्य कारणमा दिसा गर्दा बल गर्ने बानी छ भने त्यस्ता मानिसमा पायल्स हुने सम्भावना धेरै हुन्छ । जस्तोः कब्जियत हुँदा बढी बल गरिने भएकाले पायल्सको सम्भावना हुन्छ । त्यसैगरी गहुँगो सामान उठाउनेमा पनि पायल्स हुनसक्छ । बल गर्ने बानीले मलद्वारको क्षेत्रमा बढी प्रेसर पर्न जाने भएकाले पनि पायल्स हुन जान्छ ।

तर कतिलाई सामान्य अवस्थामा पनि पायल्स हुन सक्छ । कतिलाई लामो यात्रा गर्दा पनि बाह्य पायल्स हुन सक्छ । धेरै बेर एकैस्थानमा बसिराख्दा मलासयको वरिपरि प्रेसर परी उक्त स्थानको छालामा रगत जम्न सक्छ ।

अर्को कारण पखाला पनि हो । धेरै पखाला लाग्दा पेट काट्ने, धेरै पटक दिसा गरिरहनुपर्ने हुँदा पनि पायल्सको समस्या हुन्छ । धेरैपटक दिसा गरिरहँदा मलद्वारमा प्रेसर पर्छ र धेरै दिसा हुँदा पायल्स मात्रै होइन, मलासयमा अन्य समस्या पनि आउन सक्छ ।

कब्जियत हुनु र पखाला लाग्नुको पछाडिको कारण हो खानपान । सन्तुलित खानपान नहुँदा यी समस्या निम्तिन्छन् । आफ्नो शरीरका लागि चाहिनेभन्दा अधिक र स्वास्थ्यलाई प्रतिकूल असर गर्ने खालका खानाले यस्ता समस्या हुन्छन् । आफ्नो शरीरले धान्ने र दिसालाई नरम राख्ने खालका खानामा विशेष ध्यान दिने हो भने यस्तो समस्या आउँदैन ।

पायल्स रोग मानिसको खानपान र रहनसहनसँग मात्रै सम्बन्धित छ कि यो वंशानुगत रूपमा पनि हुने गर्छ ?

पायल्स मुख्यतः खानपान र रहनसहनबाटै हुने हो । अन्य रोगमा जस्तो यसमा वंशानुगत भन्ने हुँदैन । तर कहिलेकाहीँ परिवारका सदस्यमा एउटै खालको समस्या देखिन सक्छ । परिवारमा ठूलाले जे गर्छ सानाले पनि त्यही गर्ने र जस्तो चलन चलेको छ परिवारमा त्यसलाई सानाले पनि अनुसरण गर्ने भएकाले ठूलालाई जे हुन्छ सानालाई पनि त्यस्तै हुन सक्ने सम्भावना भने धेरै हुन्छ ।

मुख्यतः खानपानमा ध्यान नदिने, पायो भने जति पनि खाने, नपाए केही नखाई पनि बस्ने बानीले पनि विभिन्न रोग निम्त्याउने गरेको छ ।

पायल्स हुन नदिन के गर्नुपर्छ ?

यो रोग लाग्न नदिन मुख्य रूपमा खानपान रहनसहनमा ध्यान दिनुपर्छ । दिसा कडा पर्ने वा पखाला नै लाग्ने जस्ता खान्कीलाई कम गरी फाइवरयुक्त र झोलिलो खानामा जोड दिनुपर्छ । र प्रशस्त पानी पिउनेहरुलाई यस्तो समस्या न्यून हुन्छ ।

हामीले खान नहुने भन्ने केही पनि छैन तर ती सबै के हाम्रो शरीरका लागि आवश्यक छन् त ? त्यति अड्कल गर्न सक्ने हो भने स्वास्थ्य बिग्रदैन। आफ्नो शरीरलाई कति आवश्यक छ भन्ने त आफैलाई थाहा हुने कुरा भयो । त्यसैले खानपानमा ध्यान दियो भने समस्या आउँदैन ।

हाम्रो शरीरलाई चाहिने फाइबरयुक्त (रेशादार) खानालाई बढी मात्रामा प्रयोग गर्ने, जस्तोः प्रशस्त पानी, फलफूल, जुस, सागसब्जी, झोलिलो, चोकरयुक्त खाना प्रशस्त खाएमा पायल्सको समस्या आउँदैन । फाइबरयुक्त (रेशादार) खानाले हाम्रो आन्द्रामा भएको पानीलाई सोस्ने काम गर्छ । र दिसालाई नरम पारिदिन्छ ।

सामान्यतः पायल्समा अदुवाको प्रयोग नै गर्न हुन्न भन्ने छ, त्यस्तो होइन । अदुवाको प्रयोग गर्दा समस्या आएको थाहा भएमा भने त्यसलाई कम गर्नुपर्छ । कुनै खानेकुराले समस्या दिइरहेको छ भने त त्यस्ता खानाको मात्रा घटाएर फाइबर पाइने खानामा जोड गर्नुपर्छ । खानै पर्ने हाम्रो शरीरलाई चाहिने खानेकुरालाई भने छुटाउनु हुँदैन । अदुवा पनि हाम्रो शरीरलाई आवश्यक पर्ने भएकाले मात्रा मिलाएर खान सकिन्छ । सँगसँगै अन्य रेशादार खाना भने प्रशस्त खान छुटाउनु हुँदैन ।

खानपानसँगै नियमित व्यायाम गर्ने सरसफाइमा ध्यान दिने र दैनिक कामकाजमा सक्रिय हुने व्यक्तिमा यस्ता समस्या न्यून हुन्छ । शारीरिक रूपमा सक्रिय हुने व्यक्तिलाई पायल्स मात्र होइन, अन्य रोगको जोखिम पनि कम हुन्छ ।

पायल्स रोग लागेपछि अपनाउनुपर्ने सतर्कता र सावधानीहरु के–के हुन् ?

पहिला त रोग लाग्नै दिनुभएन, लागिहालेमा भने अवश्य पनि सावधानी अपनाउनुपर्छ । पायल्सको सामान्य लक्षण मात्र देखिएमा पनि तत्काल डाक्टरको परामर्श लिएमा समयमै यो रोग निको हुन्छ ।

कुनै पनि रोगको उपचार सुरुवाती अवस्थामा भयो भने पूर्ण रूपमा निदान गर्न सकिन्छ । कतिपय अत्यधिक पीडा हुन थालेपछि वा धेरै रगत बग्न थालेपछि मात्र अस्पताल पुग्छन् । यस्तो अवस्थामा भने उपचारमा धेरै समय लाग्न सक्छ ।

पायल्सका रोगीले पनि अन्य रोगीजस्तै डाक्टरको निगरानीमा बसिराख्ने सँगसँगै खानपान अनि रहन सहनमा विशेष ध्यान दिनुपर्छ । नियमित शारीरिक व्यायाम, दिसालाई नरम राख्न मद्दत गर्ने खालका खाना खाने र धेरै बल नगर्ने अनि गह्रुगो काम गर्दा विशेष ध्यान दिने गर्नुपर्छ ।

आम मानिसमा एउटा धारणा के छ भने पायल्स रोग बिग्रेपछि क्यान्सर हुन सक्छ । यो धारणामा कतिको सत्यता छ ?

पायल्स भएपछि क्यान्सर हुन्छ भनेर डराउनुपर्दैन । पायल्स र क्यान्सर विल्कुल फरक हुन् । कतिले क्यान्सरलाई पायल्स र पायल्सलाई क्यान्सर भनिरहेको पाइन्छ । यसमा आम मानिस सचेत हुनु जरुरी छ ।

मलासयमा केही असहज अथवा केही समस्या भएको अनुभव हुनासाथ उपचारका लागि जानु बुद्धिमानी हुन्छ । किनकि पायल्स भनेर बस्दा क्यान्सरका लक्षणहरु पनि हुनसक्छ ।

मानिसका आआफ्ना हरेक जिम्मेवारी हुन्छन् । आफ्नो जिम्मेवारी र कामको पछिलाग्दा सानातिना समस्यालाई नजरअन्दाज गर्ने हाम्रो बानी छ । वास्तवमा ससाना समस्या नै भोलि गएर ठूलो समस्या बन्ने भएकाले सानो छँदै समाधानको बाटोमा लाग्नु बुद्धिमानी हुन्छ ।

सामान्य भनेर छाडिदिँदा भोलि ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसैले पनि पायल्स हो वा त क्यान्सर यो पत्ता लगाउन केही लक्षण देखिने वित्तिकै डाक्टरकोमा जानुपर्छ ।

एक्कासि पेट दुख्ने, दिसामा गडबडी, कहिले पखाला लाग्छ, कहिले कब्जियत, दिसामा रगत आउन थाल्यो, दिसा गरिसकेपछि पनि दिसा राम्रोसँग नभएको जस्तो भएमा तुरुन्त डाक्टरलाई देखाउन म सबैमा आग्रह गर्दछु ।

पायल्सको उपचार कसरी हुन्छ ? सबै किसिमको पायल्स रोगमा अपरेसन नै गर्नुपर्छ ?

पायल्सको उपचार भन्नेवित्तिकै सर्वप्रथम खानपान र जीवन शैली आउँछ । त्यसपछि बल्ल औषधि हो । पायल्स रोगीले खानपानमा परिवर्तन गर्ने जस्तोः रातो मासु कम खाने, दिसा कडा पार्नेखालको खानालाई कम गर्ने, हरियो सागसब्जी, फलफूल, जुस, पानीलगायतका खाना साविकको भन्दा ज्यादा खाने बानीमा सुधार ल्याउन बिरामीलाई आग्रह गरिन्छ । सँगसँगै नियमित व्यायाम गर्ने बानी बसाल्न सुझाइन्छ ।

कति रोगीहरुलाई भने फाइबर सप्लिमेन्ट पनि दिनुपर्ने हुन्छ, जसले दिसाालाई नरम बनाइदिन्छ । समान्य उपचार, जस्तो तातो पानीमा बस्ने, नदुख्ने औषधी खाने र दिसालाई नरम गर्ने खानामा जोड गर्ने गरेर पनि उपचार हुन्छ ।

यदि आन्तरिक पायल्स हो भने मलद्वारको भित्री भागमा रबर ब्यान्ड लगाइन्छ जसले सुन्निएको वा सामान्यभन्दा ठूलो भएको भाग विस्तारै सुकेर निकालिदिन्छ । यदि धेरै नै ठूलो भएको छ, पायल्स बाहिर नै निस्केको छ र बिरामीलाई निकै अफ्टेरो भएको छ भने अपरेसन नै गर्नुपर्ने हुन्छ ।

बाहिरी पायल्स सामान्य छ भने औषधीले नै निको पार्न सकिन्छ । तर रगत जमेको अवस्था छ र निकै दुखेको छ भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ ।

सामान्य रूपमा भन्दा सबैलाई अपरेसनको जरुरत पर्दैन । कतिलाई सामान्य उपचारबाट पनि निको पार्न सकिन्छ ।

पायल्सको अपरेसनपछि पनि बल्झिरहने पूर्णरूपमा निको हुँदैन भन्ने गरिन्छ । किन अपरेसन पछि पनि यस्तो हुन्छ ?

पायल्स भनेकै रगतका साना साना नसाहरु हुन् । समस्या आएका नसाहरु जुन अपरेसनबाट फालियो तर पहिले समस्या नभएका नसाहरु त त्यहीँ हुन्छन् । अपरेसन पछि पनि मानिसले खानपान र रहनसहनमा ध्यान दिएन भने त अवश्य पनि त्यस्तै समस्या पुनः सुरु हुन सक्छ ।

मलद्वारभित्रका सबै पायल्स अथवा रगतका नसाहरु त अपरेसनमा फालिएको हुँदैन । पहिले समस्या नआएका ती नसामा पछि समस्या आउन सक्छ । त्यसैले एक पटक समस्या भोगिसकेपछि त आफै सचेत हुनु पर्यो नि ।

कतिलाई लाग्छ, अपरेसनबाट पनि ठीक भएन । वास्तवमा त्यो होइन । अपरेसन गरेर फालिएकोमा पुनः समस्या आउने होइन कि त्यहाँ भएका अन्य नसाहरुमा समस्या आउने हो । त्यसैले अपरेसन भयो भनेर ढुक्कले जे पायो त्यही खाने हो भने समस्या आउँछ ।

रातो मासु, बोसोयुक्त खानेकुराहरुको प्रयोग कम गर्नुपर्छकम गर्नुपर्छ। एक पटक समस्या भोगी सकेपछि शरीरलाई असर गर्ने खाना फेरि दोहोर्याएर किन खाने ?

बिरामीलाई म भन्ने गर्छु, अपरेसन गर्नुपूर्व आफ्नो बानी  सुधार गर्नुस् । बानीमा सुधार आयो भने मात्रै अपरेसनपछि पूर्णरूपमा ठिक हुन सक्छ, होइन भने त यो समस्या फेरि पनि आउन सक्छ ।

पायल्सको उपचारमा वैकल्पिक विभिन्न उपचारपद्धतिहरु, जस्तैः आयुर्वेद, होमियोप्याथी आदिको प्रभावकारिता कतिको हुन्छ ?

नेपालमा आयुर्वेदिक र होमियोप्याथीको लामो इतिहास छ । आयुर्वेद हाम्रो संस्कार र संस्कृतिसँग पनि जोडिने गरेको छ । यसलाई निरन्तरता दिनु निकै नै राम्रो कुरा हो । पक्कै पनि आयुर्वेद होमियोप्याथी लगायतका उपचार पद्धतिमा केही न केही फाइदा छ । तर त्यसलाई सही तरिकाले अगाडि बढाइनुपर्छ ।

आयुर्वेदको नाममा जनतालाई झुक्याउने काम कसैबाट भएको छ भने त्यो विल्कुलै गलत भइराखेको छ । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । आयुर्वेदको नाममा खोलिएका विभिन्न क्लिनिक, जो मापदण्ड पनि पूरा नगरी खोलिएका भनेर समाचार आउने गरेको छ यस्तोमा भने नियमनकारी निकायले नियमन गर्नुपर्छ ।

बिरामी पनि आफू सचेत हुनु जरुरी छ । कुनै पनि क्लिनिकहरु, आयुर्वेदिक उपचार सेन्टर, होमियोप्याथी, एलोपेथिक जहाँ गए पनि यो ठाउँ उपचारका लागि ठीक छ कि छैन भनी छुट्याउन सक्नुपर्छ ।

यसको प्रभावकारिता कस्तो हुन्छ भनेर मैले भन्न सक्दिनँ तर बिरामीले भने महशुस गर्न सक्छन् । बिरामीलाई सही उपचार भएको छ भन्ने लाग्छ र आफ्नो स्वास्थ्य स्थितिमा सुधार आएको छ भने त्यो खराब हुने कुरै भएन ।

हामीकहाँ केही केसहरु आए । जस्तोः आयुर्वेदिक सेन्टरमा गएर पायल्स, फिसर भन्दै उपचार गरे तर त्यो पायलस, फिसर थिएन कि क्यान्सर रहेछ । सही तरिकाले उपचार गरेको भए र राम्रो जाँच गरेको भए, त्यो के हो सुरुमै थाहा हुने थियो ।

त्यसैगरी, अर्को कस्तो केस आयो भने आयुर्वेदमा उपचार गर्न गयो तर प्रेस्किप्सन हेर्दा औषधि दिएको छ एलोपेथिकको एन्टिबायोटिक, स्टेरोइड । आयुर्वेद भने पछि त आयुर्वेदिक औषधिबाट उपचार हुनुपर्ने हो तर यो त आयुर्वेदको नाममा नन–आयुर्वेद उपचार भयो । यसले बिरामीलाई त न्याय गरेन नि ।

बिरामी त डाक्टरकोमा पूरा विश्वासका साथ आएको हुन्छ । उनीहरुको विश्वास मार्नु डाक्टरको धर्म होइन ।

हुन त आयुर्वेद मेरो बुझाइ बाहिरको विषय भयो तर पनि यस्ता केही गल्तीले सिङ्गो आयुर्वेदलाई बदनामी गरेको छ । हामी डाक्टरहरु इमानदार हुनुपर्छ । सबै क्षेत्र इमानदार भएमा जनता गलत सिकार हुनबाट बच्ने थिए ।

बजारमा बिनाअपरेसन पाइल्सको उपचारको प्रचारबाजी पनि हुने गर्छ । यस्तो प्रचारबाजीको प्रभावमा थुप्रै मानिस पर्नेगरेको पाइन्छ । यसबारे के भन्नुहुन्छ ?

बिनाअपरेसन भन्दै गलत तरिकाले उपचार भइरहेको थुप्रै उदाहरण छन् । वास्तवमा त्यो गलत हो ।

कतिपय बिरामीलाई बिनाअपरेसन भनिन्छ तर मलद्वारमा लगाइने रवर व्यान्डको ठाउँमा धागोले बाँधेर उपचार गर्ने गरेको पाइन्छ । रबर ब्यान्ड लगाइनु वा धागोले बाँधेर पायल्सको उपचार गरिनु पनि सामान्य अपरेसन नै हो ।

कति बिरामीलाई अपरेसन गर्नुपर्ने हुन्छ । कतिलाई औष्ािधले मात्रै ठीक हुन्छ त कतिलाई ब्यान्डिङ गर्नुपर्ने हुन्छ । तर यी सबै विकल्पमा बिरामीको प्रत्यक्ष समझदारी र रोग अनि उपचारबारे बिरामीलाई पूर्णरूपमा जानकारी दिनुपर्छ । 

पहिले पहिले बिरामी डाक्टरकोमा जाने र डाक्टरले जे भन्छन् बिरामीले खुरुखुरु त्यही गर्ने चलन थियो तर अहिले समय फेरिएको छ । डाक्टरको दायित्व बिरामीलाई सही कुरा बताउनु, बिरामीलाई रोग र उपचारबारे प्रष्टसँग बुझाउनु हो ।

उपचार गर्ने थलोलाई व्यापारिक केन्द्र बनाइनु हुँदैन । यदि आफूले गर्न नसकेको खण्डमा अन्यत्र वा अन्य डाक्टरकोमा रिफर गर्न सकिन्छ । बिरामी माथि जबरजस्ती गर्नु कदापि न्यायोचित हुन सक्दैन ।

यो इन्टरनेटको जमाना, हरेकको हात हातमा मोबाइल छ । आफूलाई के भएको छ भन्ने बारे खोजी गर्न सकिन्छ अनि विकल्प निकाल्न पनि सकिन्छ । इमर्जेन्सी केसबाहेक सामान्य अवस्थामा त बिरामी आफैले आफ्नो स्वास्थ्य अवस्थाबारे थाहा पाउन सक्छन् ।

नेपालमा पायल्स रोगीहरुको अवस्था कस्तो छ ?

पायल्स रोग धेरैलाई छ । सामान्यतया मैले हेर्ने ८० प्रतिशतमा पायल्सको समस्या पाएको छु । हरेक दिन २, ३ जना त पायल्सका रोगी हुन्छन् । कति अर्कै समस्या लिएर आउँछन् तर पायल्स रोग भएको हुन्छ भने कति पायल्स भन्दै आउँछन् तर अर्कै रोग हुन्छ ।

सामान्यतया मलद्वारमा केही समस्या हुनासाथै पायल्स भन्ने गरेको पाएको छु । तर कतिलाई पायल्स हुन्छ भने कतिलाई फिसरको समस्या हुन्छ, कतिलाई छालाको समस्या भइरहेको हुन्छ ।

पायल्स र क्यान्सर रोगबारे जनचेतनामूलक कार्यक्रमहरुको आवश्यकता कतिको देख्नुभएको छ ?

एकदमै आवश्यक छ । पायल्स रोगी र मलद्वारको क्यान्सरका रोगीको सङ्ख्या बढ्दै गइरहेकाले हामीले जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौँ । हामीले मिडियामार्फत र समय समयमा ठाउँ ठाउँमा जनचेतना जगाउने काम गर्दै जाने योजना पनि बनाएका छौँ ।

केही समयअघि रोटरी क्लबको सहयोगमा ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतनामूलक कार्यक्रम अनि अन्तक्र्रिया गर्यौँ, जसमा १ सयभन्दा धेरै सहभागी भए । यस्तै गरेर भविष्यमा पनि यस्ता कार्यक्रम गर्नेछौँ ।

म लामो समय विदेशमा काम गरेर आएकाले पनि अब नेपालमा केही गर्नुपर्छ भन्ने सोचमा छु । मानिसले आफूलाई के भएको छ भन्ने जान्न सक्नु ठूलो कुरा हो । त्यसैले स्वास्थ्यसम्बन्धी जनचेतना अत्यन्त आवश्यक छ ।

डाक्टरकोमा जाँदा आफ्नो समस्या खुलस्त भन्न सक्ने बनाउन चेतना स्तरमा परिवर्तन हुन जरुरी छ । त्यसैले पनि म नागरिकको चेतना स्तरमा परिवर्तन ल्याउनका लागि यो क्षेत्रमा केही गर्ने सोचमा छु ।

त्यस्तै, हामी डाक्टरहरुमा सामाजिक उत्तरदायित्व पनि उत्तिकै हुन्छ । हाम्रो काम बिरामी जाँच्ने मात्र होइन कि बिरामीलाई रोगबारे विस्तृत जानकारी गराउनु पनि हो । नागरिकलाई विभिन्न रोग र रोकथामबारे सचेत गराउन डाक्टरको भूमिका अहं हुन्छ । त्यसैले पनि सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने हो भने समग्र देशकै स्वास्थ्य अवस्थामा सुधार आउने पक्का थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप