शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसकै छायाँबाट पराजित काङ्ग्रेस

शुक्रबार, ०२ असार २०७४, १४ : ००
शुक्रबार, ०२ असार २०७४

रामेछाप जिल्लाको पश्चिमी भेगको ‘सुनापति गाउँपालिका’ कम्युनिस्टहरुले लालकिल्ला भनेर चिनिए पनि पछिल्लो पटक दरिलो सङ्गठन र कार्यकर्ताको सक्रियताले यो स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको जित सुनिश्चि थियो । साविकको पाँचवटा गाविसले मिलेर बनेको गाउँपालिकामा काङ्गे्रस नेताकार्यकर्ताको चहलपहल र आक्रामक प्रचार रणनीति तथा मतदाताको मनोविज्ञान पनि त्यही देखिएकोमा अन्तिम अवस्थामा आइपुग्दा पार्टीभित्रकै सक्रिय राजनीति गर्ने नेतृत्वको बदमासीले सिङ्गो पालिकाभित्र एक सदस्यले पनि विजयको खाता खोल्न नसक्दा आम नेता कार्यकर्ता चकित परे । सुनापति गाउँपालिकाभरि लज्जास्पद पराजय भोगेपछि बसेको काङ्गे्रस नेता कार्यकर्ताको समीक्षा भेलाले के ठहर्यायो भने मुख्य गरेर आन्तरिक घात र विपक्ष्ीाले निर्वाचन अघिल्लो दिन मतदातालाई विभिन्न प्रलोभन र डर त्रासमा पारेको पत्तो नपाउँदा सहज अवस्थामा असहज परिस्थितिको पीडा झेल्नुपर्यो । वास्तविकता पनि त्यही नै थियो ।

विपक्षको रणनीति बुझ्न नसक्नु र पार्टीभित्रकै कार्यकर्ताले अन्तर्घात नै पराजयको मुख्य कारण बन्यो । यस घट्नाले देशैभरि काङ्ग्रेसभित्रको विवाद, घात अन्तर्घात, गुट उपगुटको अवस्थाबारे छर्लङ्ग पार्छ । मूल धमिलो भए धारामा स्वतः धमिलो पानी आउने नै भयो अर्थात केन्द्रदेखि नै विभाजित सङ्गठनको प्रभाव तन्किएर विवाद र गुटबन्दीको खेल स्थानीय कार्यकर्तासम्म देखियो, जसले गर्दा सिद्धान्तमा विश्वास गर्ने तथा क्रियाशील सदस्य तथा कार्यकर्ता निर्वाचनमा निष्क्रिय मात्र रहेन अन्य दललाई समेत भोट हालेको देखियो । जसको परिणाम धेरै स्थानमा काङ्ग्रेसकै कारण काङ्ग्रेसले लज्जास्पद पराजित भोग्नुपर्यो । टिकट वितरण प्रक्रियालाई स्थानीय तहमै जिम्मा दिए पनि केन्द्रको गुटबन्दीको छायाँ देखियो नै । फलतः आफूलाई मन नपर्ने उमेदवारलाई असहयोग रह्यो । आन्तरिक रुपमा उमेदवारलाई अन्तर्घात गरेको केन्द्रीय नेताहरुले पनि स्वीकारिसकेको अवस्थामा त्यसलाई दोस्रो चरणको निर्वाचनमा कसरी कम गर्ने र व्यवस्थापन गर्ने भन्ने चुनौती पनि केन्द्रीय नेतृत्वमा थपिएको छ । 


यो त प्रतिनिधि घटना मात्रै हो । ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा जारी भएको संविधान, समृद्ध नेपाल निर्माणमा काङ्ग्रेसको अभियान’ को नारा लिएर गाउँ सहर पसेको काङ्ग्रेस जितको नजिक हुँदा पनि पराजित हुनुपरेको धेरै ठाउँ रहे । संविधान कार्यान्वयन गरेर मुलुकलाई समृद्ध बनाउने, लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेसले यसअघि हुने गरेको अन्तर्घात र बागी उमेदवारीलाई यसपटक शून्यमा झार्ने रणनीति सफल हुन सकेन । स्थानीय तहबाटै उमेदवार छान्ने अधिकार दिएकाले बागी उमेदवार न्यून सङ्ख्यामा रहे पनि एक समूहले अर्को समूहलाई भित्रभित्रै सिध्याउने खेलले भने यस पटकको निर्वाचनमा अझ जरो गाडेको छर्लङ्ग देखियो । पहिलेका चुनावबाट घात अन्तर्घातबाट सबक सिकेर विगतका कमीकमजोरीलाई केलाउन नसक्दा काङ्ग्रेसले काङ्ग्रेसभित्रैबाट हार बेहोर्नुपर्यो । रुख होइन मुख हेर्ने खराब मनोवृत्तिले यो पटक पनि छोडेन । उमेदवार छनोटका लगि क्षेत्रीय समिति र जिल्ला समितिलाई पूर्ण अधिकार दिइए पनि आआफ्ना राम्राभन्दा हाम्रा मान्छे च्याप्ने परम्परागत प्रचलनले निरन्तरता पायो । उमेदवार छनोट गर्दा कुन व्यक्ति बढी लोकप्रिय, कसको व्यवहारले चुनावमा ठूलो असर पार्छ भन्ने सामान्य कुरा पनि ख्याल गरिएन । कतिपय अवस्थमा त हार्ने उमेदवार थाहा भएर पनि टिकट वितरण गरियो ।

नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा पुरानो पार्टी हुँदाहुँदै पनि यसले पछिल्ला वर्षहरुमा आफ्नो पार्टीभित्रको आन्तरिक लोकतन्त्रको जुन अभ्यास गरेको छ, त्यो गएको महाधिवेशनका विभिन्न आन्तरिक पाटाहरु हुन वा चुनावी अभ्यासमा धोकाधडी, चलखेल स्पष्ट देखिँदै आएका अध्यारा पाटाहरु हुन् जसले पार्टीलाई फाइदा गरेको छैन । त्यसो त यस अवधिमा सबैभन्दा लामो समय सत्ता चलाउने पार्टी भएर पनि सुविधाजनक बहुमत हुँदाको बेला भएको संसद विघटन होस वा आन्तरिक अन्तरविरोध, आफैभित्र घात अन्तर्घात भएर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता पार्टीका हस्तीहरु समेत पलायन हुन बाध्य भए । त्यस्तै घात अन्तर्घात गर्नु, उन्मुक्ति पाउनु र नेतृत्व दाइना भए माथिल्लो पदमा पुग्नु काङ्ग्रेसमा सामान्य जस्तै छ । काङ्ग्रेसको नेतृत्वमा देखिएको २००७ सालको क्रान्तिदेखि २०७४ सम्मको स्थानीय निर्वाचनसम्म आउँदा देखिएको परिदृश्य हेर्दा घात अन्तर्घात, लडाइँ, झगडा काङ्ग्रेसीहरुका लागि समान्य त्यो जायज हुने छैन ।

यसको हिसाब किताब खोज्ने बेला भएको छ । कतिपय अवस्थामा अन्र्तघातमा संलग्नहरुको प्रमाणसहित नामावलीसहित उजुरी दर्ता गर्दा पनि कारबाही नहुँदाका उदाहरणले यस्ता प्रवृत्तिको मनोबल उच्च देखिएको छ । अबको राजनीति पुरस्कृत र दण्ड सजायँको हुनुपर्दछ । देशभरका हरेक जिल्ला र क्षेत्रको स्थितिलाई गहिरिएर हेर्ने हो भने पार्टीभित्र गुट र व्यतिmगत सम्बन्धले विरक्त लाग्दो अवस्था छ । एकातिर साङ्गठनिक र अभिमुखीकरणका पक्षम कमजोर र अर्कातिर केन्द्रबाट सिर्जना गरिएको गुटको प्रभाव गाउँ एकाइसम्म हुनाले काङ्ग्रेसले अनपेक्षित रुपमा दुर्घटना झेलिरहेको छ । यस्तै कारणले राजनीति बिग्रेका र पराजय झेलेका जिल्लाहरुको सूची लामो छ । काङ्ग्रेसभित्र सैद्धान्तिक आधारमा नभएर केवल व्यक्तिगत सम्बन्ध, इगो र नातावादका कारण सिर्जना हुने गुट उपगुटको अन्तरकथा बीपी कोइरालाकै पालादेखि हो । जुन रोग गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि आउँदा अहिले झन् धेरै गुटमा विभाजित भई कटुता झन् बाक्लियो । जसको पराजय सिङ्गो काङ्ग्रेसले पटक पटक निरन्तर बेहोरिरहनुपरेको छ । 

स्थानीय तहको निर्वाचनमा जितेर पहिलो पार्टी हुन आक्रामक प्रचार रणनीति तय गर्ने तर घात अन्तर्घात गर्नेलाई तत्काल कारवाही नगर्ने रणनीतिलाई पार्टीले कसरी हेर्छ आम कार्यकर्ताको चासोको विषय बनेको छ । चुनावमा टिकट नपाउने या असन्तोष हुने नेताले आन्तरिक रुपमा उमेदवारलाई घात अन्तर्घात गरेकाले त्यस्ता असहयोग गर्ने नेता कार्यकर्तालाई पार्टीबाटै कसुर हेरेर कारबाही गर्नुपर्छ ।

त्यसो त हार बेहोर्नुपने कारण आन्तरिक मात्र होइन । एमाले, माओवादीलगायत अन्य दल परित्याग गरेर थुप्रै गाउँस्तरका कार्यकर्ता पार्टी प्रवेश गरेका भन्दै मख्ख पर्नु पनि गल्ती देखिन्छ । कस्ता मान्छेहरु पार्टीमा छिरे भन्ने ख्याल गरिएन भने तिनको सहयोग निर्वाचनमा कतिको देखियो भन्ने पनि हो । अन्य पार्टीबाट आउनासाथ रातो कार्पे बिछ्याउने अर्थात पदीय जिम्मेवार दिइनु कतिको उपयुक्त थियो भन्नेबारे पनि विश्लेण हुन जरुरी छ । त्यस्तै आन्तरिक तहमा गृहकार्य कमजोर देखियो भने मतदाताको मनस्थिति बुझ्न नसक्दा पनि काङ्ग्रेसले धेरै स्थानमा हार बेहोर्नुपर्यो । पार्टीले गरेका उपलब्धि, घोषणापत्र, तथा उमेदवारका आफ्ना प्रतिबद्धतालाई प्रचारप्रसार गर्न नसक्नु पनि कमजोर रहे । प्रतिपक्षको रणनीति र कूटनीति सूक्ष्म अवलोकन गर्न नसक्दा र सो अनुरुपको भूमिका निभाउन नसक्दा काङ्ग्रेसले धरै सुनिश्चित स्थानमा आफ्नो विजय गुमाउनुपर्यो । आफू अनुकूल निर्णय, उमेदवार नभए छिर्के हान्ने प्रवृत्ति अन्त्य हुन सकेन । फलतः सिङ्गो पार्टीलाई नै क्षति हुन पुग्यो । हारे पार्टी हार्ने जिते व्यतिm जित्ने व्यक्तिवादी सोचले पनि काम गरेको देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा जितेर पहिलो पार्टी हुन आक्रामक प्रचार रणनीति तय गर्ने तर घात अन्तर्घात गर्नेलाई तत्काल कारवाही नगर्ने रणनीतिलाई पार्टीले कसरी हेर्छ आम कार्यकर्ताको चासोको विषय बनेको छ । चुनावमा टिकट नपाउने या असन्तोष हुने नेताले आन्तरिक रुपमा उमेदवारलाई घात अन्तर्घात गरेकाले त्यस्ता असहयोग गर्ने नेता कार्यकर्तालाई पार्टीबाटै कसुर हेरेर कारबाही गर्नुपर्छ । गुटबन्दीको अन्त्य नगरेसम्म पार्टीमा एँेजेरु पलाइरहन्छ । त्यसो त पछिल्लो संविधानसभा निर्वाचनका बेला पार्टीलाई अन्तर्घात गर्ने विभिन्न जिल्लाका १ सय ८२ जनालाई केन्द्रीय अनुशासन समितिले कारबाही गर्न पार्टीलाई निर्देशन दिएको थियो । औपचारिक रुपमा अन्तर्घाति ठहरिएका ती सबैका पृष्ठभूमि खोतल्दै जाने हो भने त्यसको तार त्यही गुट उपगुट र व्यक्तिगत सम्बन्धसँग जोडिएको छ । अहिले पनि क्रियाशील सदस्यदेखि नै उजुरी र छानबिन गरेर कारवाही गर्ने हो भने अबको दोस्रो चरणको निर्वाचन र प्रादेशिक तथा केन्द्रीय निर्वाचनमा यो प्रकरण केही हदसम्म न्यून हुने थियो कि ? यो प्रवृत्ति काङ्ग्रेस निकट विभिन्न भातृ तथा शुभेच्छुक सङ्घसंस्थाहरुमा पनि प्रायः देखिरहने दृश्यहरु हुन् । पार्टीका आफ्नै सङ्गठनभित्र यो महारोगको शिकार भएका छन् । काङ्ग्रेसले यस्ता परिघटनाहरुबाट सिक्नुपर्नेमा झन सिँगौरी खेल्ने प्रवृत्ति बढ्दो छ । 

निहित स्वार्थमा नलागेर कुशल र सक्षम युवा नेतृत्व बेवास्ता गर्दा तथा पार्टी विधानअनुसार नेतृत्वदेखि कार्यकर्तासम्म चल्नुपर्नेमा व्यक्ति केन्द्रित हुँदा काङ्ग्रेस कमजोर हुन पुग्यो । लोकतन्त्र संस्थागत, संविधान कार्यान्वयन तथा शान्ति प्रक्रियाका अवशेषहरुलाई टुङ्ग्याउन पनि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्नु छ । त्यसैले स्थानीय निर्वाचनमा यदि पार्टीभित्रैबाट अन्तर्घात गर्नेहरुलाई तत्काल जुनसुकै तह तप्काको नेता कार्यकर्ता किन नहुन् कारबाही गर्न चुक्नुहुन्न । अन्यथा यस्ता भाइरसले पार्टीलाई सधैँभरि कमजोर बनाइरहन्छन् । काङ्ग्रेसलाई अनुशासनको राजमार्गमा हिँडाउनु  पहिलो कर्तव्य हो । पछिल्ला समयमा काङ्ग्रेसभित्र देखिएको हाबी मनपरीतन्त्र, जिम्मेवारी नलिने प्रवृत्ति, हराउँदै गएको निष्ठा र इमानदारितालाई जोड्न जरुरी छ । यही निर्वाचनबाट काङ्ग्रेसभित्रको गुट उपगुट, भागबण्डा, घातअन्तर्घातको चक्र अन्त्य हुन जरुरी छ । यसैमा काङ्ग्रेसको र नेपाली जनताको भविष्य जोडिएको छ । तब मात्र लोकतन्त्रको संस्थागत र संविधानको कार्यान्वयन सम्भव छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिवराज खड्का
शिवराज खड्का
लेखकबाट थप