बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोजर चल्दा खुलामञ्चमा तनाव, दुई जना पक्राउ

शनिबार, १४ वैशाख २०७६, १३ : ५१
शनिबार, १४ वैशाख २०७६

काठमाडौं–चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ।  

महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए । सो क्रममा उनीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए । आक्रोशित हुँदै  व्यवसायीहरु आक्रमणमा उत्रिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा  अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो । 

भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए । 

व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो । 

सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी हुन् । 

उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको बताइन्छ । 

ठेकेदार कम्पनीले सार्वजनिक निजी साझेदारीको अवधारणाअन्र्तगत पुरानो बसपार्कमा टावर निर्माण गरी सञ्चालन गर्ने र ३० वर्षमा महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।

सोही सम्झौताअनुसार टावर निर्माणका लागि बसपार्कलाई अस्थायी रूपमा काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको खुल्लामञ्चको जग्गामा सारिएको थियो । 

यसै सम्झौताको आधारमा टावरको निर्माण अवधिमा कम्पनीले आफ्नै लगानीमा बसपार्क निर्माण, व्यवस्थापन, मर्मतसम्भार गर्ने र यसवापत महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमतिअनुरूप महानगरपालिकाले १२ चैत् २०७३ मा सोसम्बन्धी निर्णय गरेको थियो । त्यसपछि ८ वैशाख २०७४ मा कम्पनीसँग १० बुँदे सम्झौता भएको थियो ।

। सम्झौतापत्रमा सम्बन्धित कम्पनीले बसपार्कका लागि आवश्यक पर्ने तीनवटा बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय, एक क्यान्टिन र औषधि पसल बनाउनुपर्ने उल्लेख गरिएको थियो । तर, त्यसविपरित व्यापार गर्ने उद्देश्यले ठेकेदारले सटरनै खडा गरेका थिए । 

ठेकेदार र महानगरपालिकासमेतको मिलेमतोमा खुलामञ्च हडप्ने प्रपन्च रचिएको खुलासा भएपछि सटर भत्काउन चौतर्फी दवाव आएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप