शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पपछि पनि घर निर्माणमा प्राविधिक त्रुटि

शनिबार, २१ साउन २०७४, ०९ : ३८
शनिबार, २१ साउन २०७४

नगरकोट - प्राविधिकले भूकम्पपछि पनि घर तथा भवन बनाउने सर्वसाधारणले प्राविधिक त्रुटि गरिरहेको बताएका छन् । 

उनीहरुले भूकम्प आउनुअघि भन्दा पछिका निजी घर तथा भवनको पुनःनिर्माणको अवस्था डरलाग्दो रहेको बताएका छन् । सूर्यविनायकस्थित मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित ‘सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माण’ विषयको अन्तरसंवादमा सहभागी प्राविधिकले भूकम्प भोगेका सर्वसाधारण सचेत नहुँदा गुणस्तरहीन तथा भूकम्पीय दृष्टिले असुरक्षित घर तथा भवनको तीव्र निर्माण भइरहेको बताए । 

मेथडका प्रबन्ध निर्देशक इञ्जिनियर तुलसीलाल वासुकलाले भूकम्पपछि भइरहेको पुनःनिर्माणको अध्ययन गर्दा हाल भइरहेको पुनःनिर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मकताको अवस्था दयनीय भएको जानकारी दिनुभयो । “भूकम्पपछि पुनःनिर्माणको नाउँमा माटोमाथि नै ढलान घर ठडिने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “निर्माण कार्य चाँडै सकाउने नाउँमा घरधनीले आफ्नो जिन्दगीभरको कमाइ र परिवार बस्ने घरको गुणस्तर माटोमै मिलाउँदै आएका छन् ।” 

इ सिर्जना प्रजापतिले भूकम्पपछिको पुनःनिर्माणमा घरको जगदेखि नै त्रुटि हुँदै आएको बताउँदै आफू बस्ने घर बलियो बनाउन घरधनी नै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण प्राविधिक बुँदाबारे अन्तरसंवाद गरिएको थियो । जिल्लाका सञ्चारकर्मीलाई लक्ष्य गरी आयोजित अन्तरसंवादमा प्राविधिकले भूकम्पपछि भएको पुनःनिर्माणभित्र पनि प्राविधिक पक्षलाई महत्व दिएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए । 

सञ्चारकर्मीले नगरपालिकाले नक्सापासअनुसार घर तथा भवन नबनाएका नगरवासीलाई कारबाही नगर्दा पनि असुरक्षित एवं गुणस्तरहीन घर तथा भवन बनिरहेको बताएका थिए । उनीहरुले नगरपालिकाका प्राविधिकले पास भएको नक्साअनुसार घर निर्माण भए नभए सँगै बनिरहेको घरको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप