केन्द्रीय संस्करण
मेराे जीवन

सांसद लक्ष्मीकुमारी चौधरीको जीवन : विवाह गरेको दुई महिनापछि घरमा भित्रिएँ

person explore access_timeबैशाख १४, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

आयातित खाद्यान्नले जनताको समस्या समाधान गर्न सकिने धारणा धेरै सांसदको छ । लक्ष्मीकुमारी चौधरी त्यस्ती व्यक्तित्व हुन्, जो देशका लागि आवश्यक हरेक खाद्यान्न स्वदेशमै उत्पादन गर्नुपर्ने बताउँछिन् । लक्ष्मी नेकपा (पूर्वएमाले)की समानुपातिक सांसद हुन् ।

घनगढी उपमहानगरपालिका–५ की स्थायी बासिन्दा उनी हाल काठमाडौँ शान्तिनगर बस्दै आएकी छन् । सानैदेखि राजनीतिमा रुचि भएकी उनको अर्काे रुचिको विषय कृषि पनि हो । कृषिप्रधान हाम्रो देशमा कृषिले नै हरियाली बनाउनुपर्ने धारणा उनी अगाडि सार्छिन् । कृषिले देश हरियाली बनेको हेर्दा बेग्लै खालको अनुभूति मिल्ने उनको भनाइ रहेको छ ।

‘अहिले देशमा तीन तहको सरकार छ । जनताले धेरै आस गरेको भनेको स्थानीय तहको सरकारबाट हो’, उनले भनिन्, ‘स्थानीय तहमा मनमानी भएको छ । जनताले उनीहरुबाट सुविधा पाउन सकेका छैनन् ।’ स्थानीय सत्ताका लागि चुनिएका व्यक्तिले चुनावपछि दलगत स्वर्थबाट माथि उठ्न नसकेको उनको आरोप छ । स्थानीय तहमा विजयी भएका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्षले आफूलाई ठूलो राजा ठानेर जनतालाई त्यहीअनुसार व्यवहार गर्ने गरेको आफूले पाएको बताउने उनी त्यस्ता व्यक्तिलाई सुध्रन चेतावनीसमेत दिन्छन् । यी नै सांसद लक्ष्मीकुमारी चौधरीसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो पोसाक
मेरो मनपर्ने पोसाक सारी र ब्लाउज हो । धेरैजसो प्रयोग गर्ने पहिरन पनि यही हो । विशेष गरेर चम्किलो खालको रातो रङको पहिरन मनपर्छ । पहिरनमा ब्रान्ड कन्सेस छैन । सिम्पल नै लगाउँछु । मैले किन्ने भनेको ३ हजारसम्मको सारी हो । त्यसैले वार्षिक २५, ३० हजारले पोसाक खर्च पुग्छ । 

मेरो खाना
म भेजेटिरियन हुँ । मनपर्ने खाना दालभात तरकारी हो । नन्भेज आइटम केही मनपर्दैन । रेस्टुरेन्ट थोरै जाने मध्येमा म पनि एक हँु । किनभने भेजेटिरियन भएकाले खाने कुरामा समस्या हुन्छ । कार्यक्रम पर्दा, साथीभाइसँग र कहिलेकाहीँ परिवारसँग रेस्टुरेन्ट जान्छु । मलाई खाना पकाउन जाँगर लाग्छ । तर मीठो बनाउने भनेको अचार नै होला । हरियो साग र करेलाको सब्जी मेरो मनपर्ने डिक्स हो ।

मेरो फिट्नेस
दैनिक एक्सरसाइज गर्ने बानी छैन । कहिलेकाहीँ मर्निङवाक गर्छु । तर कामले नै मेरो एक्सरसाइज हुने गरेको छ । 

मेरो अध्ययन
अध्ययन गर्नैपर्ने बाध्यता पनि छ । हरेक दिन किताब पढ्छु । राजनीतिक विषयवस्तुका पुस्तकहरु, पत्रपत्रिका पढ्छु । भर्खर ‘सखी’ उपन्यास पढेर सकेँ । अष्टलक्ष्मी शाक्यका किताबहरु पनि पढ्छु । मैले धेरै उपन्यास त पढेको छैन । योगमायाको किताब, राजनीतिक किताबहरु पढ्छु । फुर्सद भयो भने किताब पढ्न मनपर्छ ।

 

मेरो घुमफिर
घुमफिरमा धेरै रुचि त छैन । कार्यक्रम, काम लगायतका कारणले जान्छु । घुमफिर त गर्नुपर्छ भन्ने लाग्छ । हामीले देश घुमेर धेरै कुरा सिक्नुपर्ने हुन्छ । किन भने देशको भूभाग र जनताको बारेमा सुनेको भन्दा देखेको प्रभावकारी रहन्छ । अहिलेसम्म लगभग देशको आधाभन्दा बढी जिल्ला घुमेकी छु । विदेश पुगेकी छैन । 

मेरो फुर्सद
फुर्सद हुनेभन्दा पनि निकाल्नुपर्छ । फुर्सद हुने नहुने भन्ने आफूमै भर पर्ने हो । फुर्सदमा म टीभी हेर्छु, पत्रपत्रिका, अनलाइन पढ्छु । आफन्त, घर परिवार र कार्यकर्ता लगायतलाई समय दिन्छु । महिला दिदीबहिनीको हकहितको कार्यक्रममा क्रियाशील हुन्छु । 

मेरो खेलकुद
स्कुले जीवनमा धेरै इन्ट्रेस्ट थियो । सो समय म दौड र कुर्सी चियर खेल खेल्थँे । कबड्डी पनि खेल्थेँ । यी खेलमा पुरस्कार पनि जितेको थिएँ । अहिले त खेल्न भ्याइँदैन । अहिले फुटबल हेर्न मनपर्छ । फुटबल हेर्दा आनन्द लाग्छ । 

मेरो मोबाइल
अहिले मसँग सामसुम ब्रान्डको मोबाइल छ । पहिले नोकिया बोकेको थिएँ । फोन गर्न, फेसबुक हेर्न, अनलाइन समाचार पढ्न मोबाइल प्रयोग हुन्छ । गत दसैँमा मेरो मोबाइल चोरी भयो । अहिलेसम्म मोबाइल गिफ्ट पाएको पनि छैन । कसैलाई दिनुपरेको पनि छैन । 

मेरो टीभी
प्रायः साँझ टीभी हेर्छु । ७ बजेर र ८ बजेको समाचार सधैँ हेर्छु । त्यसपछि भारतीय सिरियल पनि हेर्छु । मेरो मनपर्ने सिरियल भनेको ‘मुस्कान’ र ‘कसौटी जिन्दगीकी’ हो । यस्ता सिरियलले ज्ञान पनि बाँढ्ने गरेका छन् । यसबाट धेरै कुरा सिक्न सकिन्छ । यसका राम्रा पक्ष हामीले लिनुपर्छ । मेरो घरमा हिटाइची ब्रान्डको ३२ इन्चको टीभी छ । 

मेरो चलचित्र
हलमै गएर चलचित्र ११ मा पढ्दा हेरेको थिएँ । पछिल्लो समय हलमै गएर हेरको फिल्म ‘मन’ हो । नेपालीमा तराईको दाइजो प्रथामा आधारित ‘भोर’ हेरेको थिएँ । एनजीओबाट निर्माण भएको बोक्सी प्रथामा आधारित चलचित्र ‘लालटिन’ पनि हेरेको छु । चलचित्र हेर्न मनपर्छ । सामाजिक विषयमा निर्माण भएका, जनावरको अभिनय रहेका चलचित्र हेर्न रुचि छ । 

मेरो रोग
पहिले पत्थरी भएको थियो । नियमित औषधि सेवनले ठीक भयो । यसका लागि मेडिकल औषधि र घरेलु औषधि दुवै प्रयोग गरेँ । अहिले भगवानको कृपाले केही रोग छैन ।
 
मेरो भाषणशैली
उग्र भाषण मनपर्दैन । म त्यस्तो भाषण गर्ने खालकी छैन । वास्तविकतामा आधारित भएर भाषण गरेको मनपर्छ । आफूले भाषण गर्दा पुर्याउने खालको गर्नुपर्छ । कोही एग्रेसिभ भाषण गरेर जनता जुधाउने काम गर्छन् । जातीय नारा लगाउँछन् । त्यो गलत हो । धेरै लामो तर अर्थहीन भाषण गर्ने व्यक्ति पनि छन् । तर म छोटो भाषण गर्न रुचाउँछु । जति गर्न सक्ने हो त्यो भाषणमा उल्लेख गर्छु । झुटा आश्वासन दिएको मन पर्दैैन ।

मेरो मापसे
मापसे कहिल्यै गर्दिनँ । हाम्रो थारु संस्कारमा जाँड खाने चलन छ । त्यसैले बच्चामा एक दुई पटक खाएँ होला । अहिले त त्यसको स्वाद थाहा छैन । थारु समाजमा पाहँुना आउँदा खुवाउनुपर्ने चलन छ । त्यसैले गाउँको घरमा राख्ने गरेको छ । तर घरमा कोही पनि खादैनौँ ।

मेरो सङ्गीत
गीत सुन्छु । सेन्टिमेन्टल, लोक दोहोरी खालका गीत बढी मनपर्छ । गीत सङ्गीत सुखदुःखको साथी हो । यसले मनलाई शान्ति दिन्छ । पहिले स्कुलमा गाउँथे । अहिले पनि कहिले काहीँ गुनगुनाउँछु । तर मासमा गएर गाएको छैन ।

मेरो भूल
जीवनमा धेरै भूल भए होलान् । नजानेर पनि कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीबाट सिक्न पनि सकिन्छ । कसैले केही भन्यो भने नाइँ भन्न नसक्ने मेरो बानी छ । त्यो मेरो ठूलो भूल हो । यो बानीले धेरै पटक अब्ठ्यारोमा परेकी छु ।
अलि अगाडि मैले एउटा कृषि समूह चलाएकी थिएँ । सो समय अनुदानबाट च्याउ लगाएकी थिएँ । मैले महिला दिदीबहिनीकै हितका लागि काम गरेकी थिएँ । आफूले आफ्नै नाममा ऋण झिकेर काम गर्दा पनि पैसा खायो भन्ने आरोप लाग्यो । त्यो पनि अरूले उचालेको भरमा । यो नै मैले गल्ती नगरी पाएको सजाय होला ।

मेरो राशि
लक्ष्मी नामबाट मेरो मेष राशि हो । जन्म नाम फरक छ । त्योबाट कन्या हो । ग्रहदशा कहिलेकाहीँ हेराउने गरेकी छु । विश्वास लाग्छ । ग्रहशान्ति पनि गर्ने गरेकी छु । पछिल्लो समय मैले हेरेको छैन । तर केही अगाडि हेराउँदा राम्रो छ । सांसद हुनु अगाडि एउटा ज्योतिषीलाई हेराएकी थिएँ । समय धेरै राम्रो छ भन्नु हुन्थ्यो । ठूलै पद पाउनुहुन्छ भन्नुहुन्थ्यो । उहाँलाई म राजनीतिमा छु भनेर पनि थाहा थिएन । 

मेरो सौन्दर्यचेत
पहिला सौन्दर्यमा खासै ध्यान दिन्न थिएँ । अहिले चाहिन्छ भन्ने लागेको छ । सामान्य क्रिम, लिपस्टिक, कपालमा तेल लगाउँछु ।

मेरो प्रेम 
मैले ०६३ मा प्रेम विवाह गरेकी हुँ । मेरो श्रीमान् पहिले मेरै घरको डेरामा बसेर कलेज पढ्नु हुन्थ्यो । म स्कुल पढ्थेँ । भेटघाट हुँदै गर्दा प्रेम बस्यो । ५ वर्षको प्रेमपछि हामीले विवाह गरेका थियौँ । 
हाम्रो प्रेम परिवारले ढिलो थाहा पाउनुभयो । मेरो श्रीमान् बाहुन हुन् । हामीले अन्तर्जातीय प्रेम विवाह गरेका हौँ । मेरो घरबाट त रोकतोक भएन । श्रीमान्को घरबाट भने पहिले स्वीकार गरेनन् । श्रीमान्ले सामान्य तवरले खर्च गरे । मेरो घरबाट धूमधामसँग विवाह भयो । विवाह भएको दुई महिनापछि मात्र श्रीमान्को घर भित्रिएँ । 

मेरो सपना
राजनीतिमा लागेकी छु । मेरो धेरै रुचि कृषिमा छ । हामी हाम्रो देशलाई कृषि प्रधान देश भन्छौँ तर अधिकांश विदेशी उत्पादन नमा भर पर्नुपरेको छ । देशका लागि चाहिने हरेक सामान नेपालमै उत्पादन भएको हेर्ने सपना छ । कहीँ कतै खाली जमिन नभए हुन्थ्यो भन्ने चाहना छ । 

मेरो राजनीति  
पार्टीको सङ्गठित सदस्य २०६८ बाट भएकी हुँ । त्योभन्दा अगाडि राजनीतिमा त थिएँ । राजनीति मेरो सानैदेखि इन्ट्रेस्ट थियो । समाजको कुनै पनि तह तप्कामा नपुगेसम्म राम्रो आवाज उठाए पनि त्यो आवाज त्यसै दबिँदो रहेछ । मानिसले व्यक्तिभन्दा पनि पदको मान सम्मान गर्दाे रहेछन् ।
आफ्नो विचार, बुलन्द पार्न र समाजका लागि केही गर्न राजनीति रोजेकी हुँ । राजनीतिबाट काम गर्न सजिलो पनि छ । राजनीतिमा लागेर देशको उच्च तहसम्म पुगेर देश र जनताको सेवा गर्ने इच्छा छ । हेरै समयले कहाँ पुर्याउँछ । 

मेरो मृत्यु
मृत्य एउटा तीतो सत्य हो । हामीलाई मन पर्दैन भन्ने लाग्ला । तर मृत्यु अवश्य हुन्छ । यो स्वीकार्नुपर्छ । मृत्यपछि पनि बाँचिरहन सकिन्छ । त्यो राम्रो कामको माध्यमबाट मात्र सम्भव छ । राज्यले दिने सम्मान मृत्य अगाडि नै दिएको राम्रो । मृत्युपछि दिन्छ भन्ने परिवारलाई राहत मिल्ने खालको सम्मान दिनुपर्छ । यो राम्रो पनि हो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...