शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारदेखि कक्षा १२ को परीक्षा*

शुक्रबार, १३ वैशाख २०७६, २० : ४२
शुक्रबार, १३ वैशाख २०७६

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले  २०७६ सालको कक्षा १२ परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानकारी दिएको छ । 

शुक्रबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख आइतबारबाट सुरु भएर बैशाख २६ गते समाप्त हुनेछ ।

त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गते समाप्त हुने बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणी पौडेलले जानकारी दिए । 

परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी हुने छन् । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४लाख, ९३ हजार  ५ सय ४९) परीक्षार्थी सहभागी हुने अध्यक्ष प्रा. डा. पौडेलले बताए । 

परीक्षार्थी संख्याअनुसार सबैभन्दा कम मनाङ्ग जिल्लाबाट कक्षा ११ को परिक्षामा ५१  जना र कक्षा १२ मा ५९ जना सहभागी हुनेछन् । 

सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् ।

नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय २२ वटा र सबैभन्दा कम मनाङ÷मुस्ताङ जिल्लामा १÷१ केन्द्र निर्धारण गरिएको समेत बोर्डले जानकारी दिएको छ । 

विशेष व्यवस्थाको रुपमा विगतका वर्षमा जस्तै कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ । 

कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डको भनाई रहेको छ । 

परिक्षा परिक्षार्थीमैत्री हुने दाबी
बोर्डले परीक्षा आफैंमा सम्वेदनशील विषय भएकाले कक्षा १२ तथा कक्षा ११ को वार्षिक परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउने बताएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको तथा उक्त समितिलाई जिल्ला भरिका परीक्षा केन्द्रहरुको अनुगमन गर्ने अधिकार दिएको छ ।

यो वर्षको परीक्षामा  परिक्षा हलभित्र जो कोहीलाई पनि फोटो खिच्न, अडियो, भिडियो रेकर्ड गर्न निषेध गरिएको र सञ्चारकर्मीलाई समेत बाहिर दृश्यमात्र कैद गर्न बोर्डले आग्रह गरेको हो । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप