केन्द्रीय संस्करण
खुलामञ्च बिक्री प्रकरण

जनप्रतिनिधिकै आरोप : पदाधिकारीले पैसा खाएर खुलामञ्च बेचे

'सलामी तिर्नेको ठेक्का महानगरले लिन सक्दैन'

person explore access_timeबैशाख १३, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

विनाशकारी भूकम्प आएको बिहिबार ४ वर्ष पूरा भयो । विनाशकारी भूकम्पको समयमा धेरै मानिसहरुको आश्रयस्थल बनेको खुल्ला स्थान अर्थात् खुलामञ्च यतिबेला भने व्यापारी र विदेशी दातृ निकायको कब्जामा पुगेको छ ।

अहिले इन्द्रचोक, असनलगायतका कोर सिटीमा कुनै ठूलो समस्या आइपर्यो भने आश्रय लिने स्थान खुलामञ्च अब व्यापारिक प्रयोजनको थलो बनेको छ । खुलामञ्चको आधा भाग यतिबेला चाइनिज मजदुरको समूहले कब्जा गरेको छ भने आधा भागचाहिँ अस्थायी बसपार्कका नाममा स्वच्छन्द विल्डर्सको कब्जामा पुगेको छ ।   

वीर अस्पतालको ठीक अगाडिको खुलामञ्च यतिबेला व्यापारिक केन्द्र तथा चाइनिज मजदुरको आश्रयस्थल बनेको छ । सैनिकमञ्चको ठीक उत्तरतर्फको भागमा दरबार हाइस्कुल निर्माणमा खटिने चाइनिज मजदुरको कब्जामा छ भने अर्को भाग ठेकेदार कम्पनीले कब्जा गरेको छ । 

रत्नपार्कको दक्षिणी भाग तथा सैनिक मञ्चबाट उत्तरतर्फ रहेको खुलामञ्च यतिबेला स्वच्छन्द विल्डर्सको कब्जामा पुगेको हो । 

काठमाडौंको पुरानो बसपार्कभित्र काठमाडौं भ्यू टावर बनाउने भनेर ठेक्का लिएको निर्माण कम्पनी स्वच्छन्द विल्डर्सले खुलामञ्चभित्र पहिले अस्थायीरुपमा बसपार्क सञ्चालन गरेको भएपनि अहिले भने ४५ वटा व्यापारिक सटरहरु बनाएर व्यापार गर्न थालेको पाइएको छ । 

करिब एकसाता अगाडिबाट स्वच्छन्द विल्डर्सले खुलामञ्चभित्र व्यापारिक सटर निर्माण सुरु गरेको थियो । दिउँसोको समयमा सटर निर्माण गर्दा आम नागरिकले देख्ने भएकाले विल्डर्सले रातीको समयमा यी सटरहरु निर्माण गरेको हो । 

हेर्नुहोस् सटरका तस्वीर

खुलामञ्च कब्जा गर्ने रणनीति
यतिबेला खुलामञ्च कब्जा गर्ने ग्राण्ड डिजाइनको सुरुवात भएको सम्पदा बचाउ अभियान तथा अन्य सरोकारवाला समूहले दाबी गरेका छन् । 

पहिले खुलामञ्चभित्र रहने ‘त्रिपाल पसल’ – त्रिपाल बिच्छाएर त्यसमाथि सामान राखी व्यापार गर्ने) लाई २०४९ साल पछाडि हालको भृकुटीमण्डपमा सारिएको थियो । तत्कालीन समयमा ‘अस्थायी स्थान्तरण’ गरिएको खुलामञ्चको ‘त्रिपाल पसल’ अहिले भृकुटी मण्डपभित्र स्थायी पसल भएका छन् । अहिले भृकुटीमण्डपको एउटा सानो पसलको सलामी मात्रै १० देखि २५ लाखसम्म तिर्नुपर्ने यहाँका व्यापारीहरु बताउँछन् ।

अहिले खुलामञ्च कब्जाको श्रङ्खला पनि त्यसकै निरन्तरता भएको सरोकारवालाले दाबी गरिरहेका छन् । 

परिवर्तनको उद्घोषस्थल सकियो
अहिलेको खुलामञ्च मुख्यत राजनीतिक परिवर्तनको उद्घोषस्थल तथा राजनीतिक माग गर्ने प्रमुख थलो थियो । त्यसो त अहिलेको टुँडिखेल तथा सैनिक मञ्च पनि त्यस्तै राजनीतिक सभाको स्थल थियो । तर यतिबेला टुँडिखेलको आधा भागमा सेनाको सैनिक मञ्च निर्माण गरिएको छ भने आधा भाग पनि अन्य व्यापारिक प्रयोजनका लागि प्रयोगमा आइरहेका छन् । 

अहिले न त सैनिक मञ्चबाट कुनै राजनीतिक कार्यक्रम गर्न सकिन्छ न त खुलामञ्चबाट । यी दुवै स्थान अब सेना र व्यापारीको कब्जामा पुगेको छ । 

यस्तो छ खुलामञ्च कब्जाको इतिवृतान्त
२ वर्षअघि काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कलाई भत्काएर नयाँ सुविधासम्पन्न बसपार्क तथा काठमाडौं भ्यू टावर बनाउने भन्दै ठेकेदार कम्पनी स्वच्छन्द विल्डर्सलाई ठेक्का दिएको थियो । तर ठेक्का दिएको २ वर्षमा निर्माण सम्पन्न गर्ने भनेपनि यतिबेलासम्म निर्माण सुरुसमेत हुन सकेको छैन । 

यही भ्यू टावर निर्माण गर्ने प्रयोजनका लागि अस्थायी बसपार्क निर्माण गर्ने भन्दै काठमाडौं महानगरपालिकाले स्वच्छन्द विल्डर्सलाई खुलामञ्चको आधा भागमा अस्थायी बसपार्क निर्माण गर्न अनुमति दिएको थियो । 

महानगरले अनुमति दिँदा २ वटा काउण्टर, एउटा क्यान्टिन, एउटा शौचालय र दुई वटा यात्रु प्रतिक्षालय बनाउने भनेर सम्झौता भएको थियो । सम्झौतामा बसपार्कलाई पिच गर्ने कुरासमेत उल्लेख थियो । 

तर न बसपार्क पिच भयो, न त यात्रु प्रतिक्षालय नै भनेजस्तो बन्यो । यहाँ व्यापारिक प्रयोजनका लागि सटरहरु भने रातारात निर्माण भयो । एक साताअघिबाट रातीको समयमा सटर निर्माण गरेर केही सटरहरुलाई सलामी लिएर बिक्रीसमेत गरि सकिएको पाइएको छ ।

अहिले पुरानो र नयाँ गरी खुलामञ्चभित्र ४४ वटा सटरहरु निर्माण गरिएका छन् । जसमध्ये ३४ वटा सटर हालसालै बनेका हुन् भने १० वटा सटर पहिले नै निर्माण भएको थियो । 

वडा अध्यक्षको आरोप : महानगरका उच्च प्रतिनिधिले चलखेल गरे
यता खुलामञ्चमा व्यापारिक प्रयोजनका लागि सटरहरु निर्माण भएको जानकारी आएलगत्तै २८ नम्बर वडाका अध्यक्ष भाइराम खड्गीले महानगरपालिकालाई पत्र लेख्दै खुल्ला मञ्चभित्र व्यापारिक प्रायोजनका सटरहरु निर्माण गर्न कसैलाई अनुमति दिइएको हो कि होइन, हो भने के कति आधारमा दिइएको हो, त्यसको जानकारी उपलब्ध गराइदिनु भन्दै प्रशासन विभागलाई पत्र लेखेका छन् ।

हेर्नुहोस् वडा सचिव भाइराम खड्गीले महानगरलाई लेखेको पत्र


खुलामञ्च कब्जाको विषय बाहिर आएलगत्तै आफ्नो वडा अन्तरगत पर्ने खुलामञ्चको अनुगमन गर्न वडाअध्यक्ष खड्गी गएका थिए । अनुगमनका क्रममा खुलामञ्चभित्र नयाँ ३४ वटा तथा पुरानो १० गरी ४४ वटा सटर निर्माण भएको देखिएको उनले रातोपाटीलाई बताए । 

खुलामञ्च सरकारी स्वामित्वको जग्गा भएको र यस्तो स्थान कुनै व्यक्ति वा संस्थालाई भाडामा वा अन्य कामका लागि दिनु नहुने भन्दै यसको डटेर विरोध गर्ने जनाउ समेत दिए । 

उनले भने, ‘खुल्ला मञ्चलाई महानगरपालिकाका केही पदाधिकारीले भाडामा दिएको भन्ने जानकारी पाएको छु । तर के कति आधारमा र उद्देश्यमा दिइएको हो भन्ने मलाई स्पष्ट जानकारी छैन । त्यसकारण मैले पत्र लेखेरै त्यसबारे जानकारी मागेको छु । जानकारी प्राप्त हुने लगत्तै खुलामञ्च अतिक्रमणको विरुद्ध आन्दोलनको सुरुवात हुन्छ र त्यो भत्कन्छ ।’

यदि लिखित रुपमै सहमति गरेर दिएको भए के हुन्छ भन्ने रातोपाटीको प्रश्नमा २८ वडाका अध्यक्ष खड्गीले भने, ‘मैले पनि महानगरकै पदाधिकारीले लाभ लिएर सञ्चालन गर्न दिएको भन्ने सुनेको छु । त्यसको विरुद्व डटेर लडिन्छ र महानगरले उक्त सटरहरु नभत्काए जनताले भत्काउनेछन् ।’

व्यापारिक प्रयोजनका लागि बनाइएका सटरहरु वैशाख महिनाभित्र नहटाएमा जेठको १ गतेदेखि जनताले नै भत्काउन थाल्ने समेत उनले चेतावानी दिए । 

सलामी लिएर भएको किनबेचको पैसा फिर्ता गर्नुपर्छ
अहिले खुलामञ्चभित्र निर्माण गरिएका अधिकांश सटरहरु बिक्री भइसकेका छन् । उक्त सटरहरु ६ लाखदेखि १२ लाख रुपैयाँसम्मको सलामी तथा मासिक १० देखि २५ हजारसम्म भाडा लिई बिक्री भएको एक व्यापारीले बताए । 

आफ्नो नाम नबताउने शर्तमा उनले भने, ‘हामीले १२ लाख रुपैयाँसम्म अग्रिम रकम तिरेका छौँ । पसल सञ्चालन गर्न नपाएपनि हाम्रो पैसा फिर्ता गर्ने विषयमा मिडियाले सहयोग गरिदिनुपर्यो ।’

सटर निर्माण गर्न अनुमति छैन, त्यो भत्काइन्छ : महानगरपालिका
खुलामञ्चकै बिक्री वितरणको सम्बन्धमा समाचारहरु बाहिर आएपछि काठमाडौं महानगरपालिकाले छानबिन सुरु गरेको छ । महानगरपालिकाले खुलामञ्चमा के कस्तो भएको हो भनेर छानबिन गर्न उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा छानबिन सुरु गरेको हो । 

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अहिले खुल्ला मञ्चभित्र व्यापारिक प्रयोजनका लागि सटर निर्माण भएको गैरकानुनी काम हो । महानगरले त्यस्तो स्वीकृति वा अनुमति नै दिएको छैन । जसले यो काम गरेका छन्, त्यो गैरकानुनी काम भएको भन्दै हुने सजायको भागिदार पनि निर्माणकर्ता नै हुनुपर्ने उनले बताए । 

उनले भने, ‘हामीले ठेकेदार कम्पनीलाई २१ वटा टिकट काउण्टर, एउटा क्यान्टिन र एउटा शैचालय बनाउन अनुमति दिएको हो । एउटा औषधि पसलका लागि पनि अनुमति दिएको जस्तो लाग्छ । त्यहाँ व्यापारिक प्रयोजनका लागि सटर बनाउने र भाडामा लगाउने गरी कुनै सम्झौता भएको छैन ।’

महानगरका प्रवक्ता डंगोलका अनुसार अब चाँडै नै उक्त सटरहरु भत्काइनेछ । सुरुमा निर्माणकर्तालाई नै उक्त सटरहरु भत्काउन निर्देशन दिइनेछ । यदि निर्माणकर्ताले भत्काएन भने महानगरपालिका आफैँले ती सटर भत्काउने उनले दाबी गरे । कहिले भत्कन्छ भन्ने रातोपाटीको प्रश्नमा भने उनले ‘छिट्टै’ भन्ने जवाफ दिए ।

सलामी तिरेर किन्नेको जिम्मा लिन सकिँदैन
अहिले खुलामञ्चभित्रका सटरहरु १० लाखको हाराहारीमा सलामी लिएर बिक्री भएको कुरासमेत बाहिर आएपछि हामीले अब सलामीको रकम के हुन्छ भनेर प्रवक्ता डंगोललाई सोधेका थियौँ । प्रवक्ता डंगोलले त्यो जिम्मा खरिदकर्ताकै हुने भन्दै त्यो महानगरको समस्या नभएको बताए । 

उनले भने, ‘के उनीहरुले किन्ने बेलामा महानगरलाई सोधेर किनेका हुन् ? महानगरसँग अनुमति छ कि छैन भनेर त सोध्नुपथ्र्यो नि । त्यसकारण हुने क्षतिको जवाफदेही पनि खरिदकर्ता नै हो । उनीहरुको ठेक्का महानगरले लिन सक्दैन ।’

शुक्रबार रातोपाटीको टोली खुलामञ्चभित्र पुग्दा यहाँ बनाइएका सबै सटरहरु बन्द गरिएका थिए । केही सटरहरु बिक्री भइसमेत पसल सञ्चालनमा आइसकेको भएपनि सबै सटरहरु बन्द गरिएका थिए । 

पिच गर्ने सम्झौता भएको बसपार्कको हालत झन् खराब थियो । बसपार्कमा हिलोका कारण मानिसहरु हिँड्नसक्ने अवस्थासमेत थिए । 

हेर्नुहोस् तस्वीरहरु


यसरी एउटा निजी ठेकेदार कम्पनीले रातारात खुलामञ्चको बिक्री गरेका छन् । अस्थायीरुपमै भएपनि खुलामञ्च विक्री गरेर ठेकेदार कम्पनीले पैसा कमाएका छन्, तर आफ्नै सम्पत्तिको रक्षा र जगेर्ना गर्ने महानगरपालिकाले भने अझैं पनि सो कम्पनीविरुद्व कुनै कदम चालेको छैन । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...