मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्णमा हराएका मलेसियन नागरिकको सिम्रिक एयरद्वारा उद्धार, मेडिसिटी अस्पतालमा उपचार हुँदै

शुक्रबार, १३ वैशाख २०७६, १२ : ४६
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौं– अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा हराएका मेलेसियाका ४८ वर्षे वि किन चिनको सिम्रिक एयरको हेलिकप्टरले उद्धार गरेको छ । सिम्रिकले उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगेको जनाएको छ ।

आठ हजार मिटर भन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किदा चिन हराएको खबर बुधबार साँझ आएको र बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर खोजीका लागि उडेका थिए । 

हेलिकोप्टर देखेर हात हल्लाइरहेका चिनलाई  सिद्धार्थजंगले देखेपछि एयरलाईन्समा खवर गरेको र  क्याप्टेन विवेक खड्का नेतृत्वको लङलाइन उद्धार टोलीले उनलाई उद्धार गरको सिम्रिकका मार्केटिङ हेड योगेश सापकोटाले जानकारी दिए ।

सिम्रिकका मार्केटिङ हेड सापकोटाका अनुसार बिहीबार बिहान उडेका सिम्रिकका हेलिकोप्टर अन्नपूर्ण प्रथमको आधार शिविरमा पुगेको थियो । उनले भने, ‘हाम्रो पहिलो काम ती पर्यटकलाई चाहिने अक्सिजन र खाद्यान्न उनी भएकै ठाउँमा झार्ने र उद्धार टोली त्यहाँ पठाउने हुन्छ।’

काठमाडौंबाट उडेको हेलिकोप्टरले आधार शिविरभन्दा केही माथि नै उद्धारमा दक्ष शेर्पा टोलीलाई झारेको र शेर्पा टोली ती पर्यटक भएका ठाउँसम्म पुग्न ४ घन्टाभन्दा बेसी लागेको थियो । शेर्पाहरुको टोलीले पहिला ती पर्यटकलाई बोकेर केही तल हेलिकोप्टर आउनसक्ने ठाउँसम्म ल्याई डोरीमा झुन्ड्याएर सुरक्षित स्थलमा अवतरण गराइएको थियो । डोरीमा झुन्ड्याएर गरिने उद्धारलाई लङलाइन रेस्क्यु भनिने सापकोटाले बताए । सुरक्षितस्थलबाट आरोहीलाई अस्पतालसम्म हेलिक्प्टरले ल्याएको थियो ।

अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी फर्कने क्रममा हराएपछि परिवारले बिमा कम्पनी ग्लोबल रेस्क्युलाई खवर गर्दा बेवास्ता गरेको श्रीमती चिनले बताएकी छिन् । कुनै आपत परे उद्धार पाइएला भनेर वि किन चिन आरोहणमा निस्कनुअघि गरेको बिमाको कुनै अर्थ नभएको भन्दै श्रीमती चिनले दुखेको पोखेकी छिन् ।

श्रीमती चिनले श्रीमान हराएको सिम्रिक एयरलाई खवर गरेपछि उद्धारका लागि टोलि खटिएको थियो । सिम्रिकसँग उद्धारका लागि हाइअल्टिच्यूडमा पनि उड्न सक्ने हेलिकोप्टर, साहसी पाइलट र उद्धारमा दक्ष शेर्पा टोली पनि रहेको छ ।

अन्नपूर्ण प्रथमको आरोहरणमा चिन ३१ जनाको टोलीमा गएको मलेसियाली सञ्चार माध्यम स्ट्रेट्सटाइम्सले लेखेको छ । मंगलबार आरोहण पूरा गरी फर्किंदा उनी बाटोमा छुटेका थिए । यसअघि वि किन चिनले अरु थुप्रै हिमालको आरोहण गरिसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप