केन्द्रीय संस्करण
फिचर

निर्यात व्यापारमा गोल्यान समूहको २५ वर्ष

person explore access_timeबैशाख १३, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालको वैदेशिक व्यापार घाटाको ग्राफ बर्सेनि उकालो लागिरहेको छ । अत्यधिक आयात र न्यून निर्यातका कारण नेपालको व्यापारघाटा कहालीलाग्दो अवस्थामा छ । आयात प्रतिस्थापन गर्ने उत्पादन स्वदेशमा नहुँदा अर्थतन्त्र धरासायी हुने अवस्था व्यापार घाटाकै कारण आउन सक्ने चिन्ता विज्ञहरु पनि व्यक्त गर्छन्  । देशको झण्डै एक आर्थिक वर्षको बजेट बराबर देशले व्यापार घाटा बेहोरिरहेको छ । तर पनि देशमा निर्यात व्यवसाय गर्ने उद्योगी व्यवसायी नभएका भने होइनन् ।  

यद्यपि आयातको विशाल भारीले थिचिएको नेपालको अर्थतन्त्रमा निर्यातको आँकडा बत्ती नै बालेर खोज्नुपर्ने अवस्थामा छ । आयातमुखी उद्योगको घोडा चढेर नेपालमा उद्योपति बन्नेहरुको सङ्ख्या त मनग्गे नै छन् । तर नेपालमा आयात हैन, थोरबहुत भए पनि निर्यातमुखी उद्योगधन्दा, बन्द व्यवसायहरु खोलिनुपर्छ, सञ्चालन गरिनुपर्छ र त्यस दिशामा नथाकीकन लागिपर्नुपर्छ भन्ने सोच राख्ने उद्योगपतिको सङ्ख्या चाहिँ कमै छ । राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनको लागि निर्यातमुखी उद्योगधन्दा र व्यापारमा जोड दिने तिनै थोरै उद्योगपतिमध्येको एउटा नाम हो– गोल्यान समूह । जसले आफूलाई निर्यातमुखी भएको  दाबी गर्छ । यस क्षेत्रमा उसले २५ वर्ष पार गरिसकेको छ । 

२५ वर्षे निर्यात यात्राको सारथी गोल्यान समूहको विषयमा चर्चा गरिएको छ । 

निर्यात व्यापार 

गोल्यान समूहले निर्यातमुखी उद्योगमा २५ वर्ष विताइसकेको छ । यो समूहको मुख्यतः धागो, टेक्सटाइल, रियलस्टेट, हाइड्रो, होटल, बैङ्क तथा वित्तीय संस्थाल, कृषिलगायतका व्यावसायिक क्षेत्रमा ठूलो लगानी रहेको छ । 

कपडा तथा धागो उद्योगका क्षेत्रमा अग्रणी गोल्यान समूहले निर्यात व्यापारमा ७.५ प्रतिशतको योगदान दिँदै आएको छ । मुलुककै सबैभन्दा ठूलो निकासीकर्ता गोल्यान समूहले आगामी ३ वर्षभित्रमा यसलाई बढाएर १० प्रतिशत बनाउने लक्ष्य लिएको छ ।

राष्ट्र बैङ्कले गत मङ्सिरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । यसमा ७.५ प्रतिशत योगदान त एउटै समूह गोल्यान समूहको रहेको छ । 

वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी, गलैंचा, दाललगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोसाक, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।

गोल्यान समूहको रिलायन्स स्पिनिङ मिल्सले उत्पादन गर्ने धागो टर्की निर्यात हुन्छ भने ट्राइकोटका उत्पादन जस्तो स्वेटर, सल युरोपेली बजारमा पुग्छन् । युरोपमा यी सामान निकै रुचाइएको गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यान बताउँछन् । यसैगरी, भारतमा शिवम् प्लास्टिकका अधिकांश उत्पादनलगायतका अन्य सामग्री निर्यात हुन्छन् ।

आयातमुखी व्यापारबाट राज्यले प्रशस्त राजस्व सङ्कलन गर्न सक्ने भए पनि स्वदेशी उत्पादनमा ह्रास आउने भएकै कारण निर्यातमुखी व्यवसाय रोजेको गोल्यानले बताए । गोल्यान भन्छन्, ‘देशले व्यापारघाटा झेलिरहेको अवस्थामा यसरी राष्ट्रलाई योगदान दिन पाएकोमा गर्व लाग्छ ।’

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, उद्योग धन्दा विस्तार गर्ने, कृषिलगायतको क्षेत्रमा लगानी गरी स्वदेशी उत्पादनलाई बढावा दिने, साना ठूला उद्योग सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्ने योजनासहित गोल्यान समूह सक्रिय छ । यसले आउने पिढीलाई हौसला र सहास त मिल्छ नै निर्यातमुखी उद्योग धन्दालाई अगाडि बढाउन पनि सहज हुने अध्यक्ष गोल्यान बताउँछन् ।

गोल्यान भन्छन्, ‘निर्यातमुखी अर्थतन्त्रलाई सरकारले पनि प्रोत्साहन गर्ने हो भने यसले देशलाई धनी बनाउन सघाउनेछ ।’

स्वदेशमा उत्पादन भएका सामानको खपत न्यून छ, हरेक चिज बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा स्वदेशमै खपत हुने खालका सामान उत्पादनमा जोड दिनुपर्ने हुन्छ । अर्थतन्त्रलाई मजबुद बनाउनकै लागि निर्यातमा पनि विशेष ध्यान दिनुपर्छ ।

कृषिमा ठूलो लगानी गरेको गोल्यान समूहको लक्ष्य कृषिजन्य उत्पादनलाई पनि अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्नु हो । हाल नेपालमा कृषिजन्य उत्पादन मात्रै २ खर्बभन्दा बढीको आयात हुने गरेको छ । यस्तो अवस्थालाई शून्यमा झार्नको लागि राष्ट्रले विशेष योजना अगाडि सार्नुपर्ने गोल्यान बताउँछन् । 

आगामी ५ वर्षसम्ममा २ देखि ५ खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राष्ट्रले राख्नुपर्ने भन्दै गोल्यान यसमा आफ्नोतर्फबाट सक्दो सहयोग रहने बताउँछन् ।

गोल्यान समूहको लक्ष्य आगामी १ वर्षमा १ अर्ब ५ करोडको मात्रै स्ट्रबेरी निर्यात गर्ने छ । यो समूहले सुरु गरेको कृषिबाट प्रभावित ५ हजार किसानले स्ट्रबेरी खेती गर्न अग्रसरता देखाएकाले पनि आगामी वर्ष ठूलो मात्रामा निर्यात गर्न सकिने गोल्यानको आशा छ । 

हाललाई भारत र बङ्गलादेश निर्यात गर्ने योजना बनाएको यो समूहलाई यूएई, जर्मन, युरोपबाट पनि डिमान्ड आउन थालेको छ । गोल्यान समूहले ८ देखि १० वटासम्म उत्पादन निर्यात गर्ने योजना बनाएको छ । जसमा स्ट्रबेरी लगायत ड्रागन फूड, किवी, स्याउ, सुन्तला, केरा, आँप, अर्गानिक तरकारी आदि छन् ।

इलामको सन्दकपुरमा किवी खेती गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्न गोल्यान समूहले बजारीकरणको जिम्मा लिएको छ । त्यसैगरी नेपालमा उत्पादित स्याउ विश्वभरमा नपाइने भएकाले यसको उत्पादन र निर्यातमा पनि यो समूहले सहयोग गर्ने बताएकोे छ ।

स्वदेशी उत्पादनमा कम रुचि

हामी नेपालीको स्वभाव विदेशी भनेपछि विश्वास गर्ने तर स्वदेशी उत्पादनको प्रयोग कम गर्ने छ । यसले गर्दा पनि स्वदेशी उत्पादनमा ह्रास आएको हो । अझ आफ्नै बारीको फलफूल छाडेर आयातित फलफूल किनेर खाने चलन हाम्रोमा छ । 

नेपाली उत्पादन भन्ने वित्तिकै ह्या नेपाली पो रहेछ भन्ने प्रवृत्तिकै कारण नेपाली उत्पादनले बजार लिन सकेको छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्न र यसको प्रवद्र्धन गर्न कृषक, उद्योगी, व्यवसायी अनि सरकारी तवरबाट पनि विशेष प्रयास हुनुपर्छ ।
नेपालमा उत्पादित कपडा, जुत्ता चप्पल, भाँडाकुडा, खाद्यान्नलगायतका समानको खरिद बिक्रीभन्दा विदेशबाट आयातित सामानहरूको बिक्री वितरण चर्को छ यहाँ । नेपाली उत्पादन भन्नेवित्तिकै नाक खुम्च्याउने परिपाटी र स्वदेशी उत्पादनमा विश्वास नगर्ने स्वभावले पनि स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । 

नेपालमै उत्पादित उच्च कोटिका कपडा तथा अन्य सामान विदेशमा महँगो मूल्यमा बिक्री वितरण भए पनि नेपालमा भने यसको बजार न्यून छ । 

खाद्यान्नमा पनि नेपालमा उत्पादित खाद्यान्न छाडेर विदेशबाट आयातित खाद्यान्न आज हरेकको भान्सामा देख्न सकिन्छ । नेपालमा उत्पादन भएका विभिन्न ब्रान्डका खानेकुरामा भन्दा विदेशबाट आकर्षक प्याकेजिङसहित आएको खानामा धेरैको विश्वास देखिन्छ ।

त्यसैगरी, फलफूलकै कुरा गर्दा नेपालमा उत्पादित स्याउ हरेक वर्ष कुहिएर फाल्नुपर्ने अवस्था छ भने विदेशबाट आयात भएको स्याउले बजारमा राज गरेको छ । 

सुन्तला, केरालगायतका फलले बजारमा ठाउँ नपाएर कुहिएर गएको छ भने भारतलगायतका देशबाट ल्याइएका फलफूल बजारमा महँगो मूल्यमा बिक्री वितरण भएका छन् । 

गत साल २० रुपैयाँमा तराईमा आँप बिक्री भएन तर यहाँ भारतबाट आएको आँप १९० रुपैयाँमा विषादीको प्रयोग गरी पकाएको आँप किनेर खाए जनताल,े यसमा हामी आफै नै सचेत हुनुपर्छ । 

गोल्यान समूहले यस्तो अवस्थाको अन्त्यका लागि प्रयास गरिरहेको छ । समूहले ‘फार्म टु फर्क’ को अवधारणामा काम गरिरहेको छ । यसमा किसानले उत्पादन गरेका हरेक उत्पादन किन्ने र बजारीकरण गर्ने रहेको छ । यसले गर्दा जनताले सुरक्षित खाना सुपथ मूल्यमा प्राप्त गर्न सक्नेछन् भने किसानले पनि उचित मूल्य पाउने छन् । 

नेपालीको स्वभाव सस्तो खोज्ने छ, त्यसैले पनि नेपालमा भारतीय उत्पादनको वर्चस्व छ । यदि नेपालमा नै प्रशस्त उत्पादन हुने हो भने यसले राम्रो बजार पाउने छ । अझ अर्गानिक खेतीमा जोड दिने र उत्पादन बढाउने हो भने मूल्य स्वतः घट्छ । यसले गर्दा उपभोक्ताले सजिलै खरिद गर्न सक्छन् । आफ्नो उत्पादनले बजार पाएपछि कृषकहरू पनि उत्साहित हुनेछन् र उपभोक्ताले पनि सस्तोमा खान पाउनेछन् । 

यस्तो अवस्थामा स्वदेशी उत्पादनलाई विश्वासिलो बनाउन प्याकेजिङ र खाद्य जाँचसहितको स्टिकर राखी बिक्री वितरण गर्न सकेमा भने स्वदेशी उत्पादनले बजार पाउने थियो ।

 

निर्यात व्यापारबाटै देशलाई योगदान

गोल्यान समूहले निर्यात व्यापार बढाउँदै लगेर देशको आर्थिक भारमा कमी ल्याउन योगदान गरेको छ । हाल ७.५ प्रतिशत योगदान गरी व्यापार घाटा कम गर्न सहयोग गरिरहेको यो समूहले आगामी वर्षबाट १० प्रतिशतको योगदान दिने लक्ष्य लिएको छ । 

लगभग ७ अर्बको निर्यात गरिरहेको यो समूहले आगामी ३ देखि ५ वर्षभित्र यसको दोब्बर (१५ अर्ब) को निर्यात गर्ने लक्ष्य लिएको छ । गोल्यान समूहले हाल तीनवटा उद्योगबाट निर्यात गरिरहेकामा अब भने कृषिबाट निर्यात बढाउने योजना अगाडि ल्याएको छ । कृषिबाट पनि निर्यात बढ्न थालेपछि भने यो अझ बढ्ने अध्यक्ष गोल्यान बताउँछन् ।

उद्योगी व्यवसायीहरूले सरकारलाई बारम्बार निर्यात व्यापारमा बढावा दिन झकझकाई रहेको भए पनि उचित सहयोग नपाएको गुनासो उद्योगीको छ । 

आयात व्यापारमा जसरी सरकारले राजस्व सङ्कलनमा जोड दिएको छ । त्यसैगरी निर्यात व्यापारमा पनि विशेष ध्यान दिनुपर्ने उद्योगीहरूले बताउँदै आएका छन् ।

अध्यक्ष गोल्यान भन्छन्, ‘एउटा गाडी आयात गर्दा १२० प्रतिशत राजस्व तिर्नुपर्ने अवस्थामा निर्यात उद्योगीहरूलाई सरकारले सहुलियत दिएर निर्यात व्यापारमा पनि सोही अनुरूपको राजस्व व्यवस्थापन गर्ने हो भने राज्यलाई ठूलो फाइदा पुग्ने थियो । अन्य देशहरूले निर्यात व्यापारलाई विशेष प्राथमिकतामा राखेकै कारण आज उनीहरू धनी छन् । यसमा राज्य संवेदनशील हुनुपर्छ ।

गोल्यान समूहले धागो उद्योगमा हाल ४ हजार व्यक्तिलाई रोजगारी दिएको छ । २३ वर्षदेखि सञ्चालन हुँदै आएको धागो उद्योगमा १८ सय त महिला मात्रै छन् । २३ वर्षको अवधिमा कुनै पनि समस्या भोग्नु नपरेको यस धागो उद्योगले हाल आएर आर्थिक समस्या भोग्नुपरेको गोल्यानको भनाइ छ ।

निर्यातमुखी उद्योग भएकाले पनि लागत निकै महँगो छ । यस्ता उद्योगका लागि कम्तीमा पनि १० प्रतिशतको क्यास इन्सेन्टिभ चाहिन्छ तर सरकारले दिएको ३ प्रतिशत पर्याप्त नभएको गोल्यानले बताए । निर्यातको क्षेत्रमा राज्य गम्भीर हुनु जरुरी छ । 

उद्योगहरूलाई नेपाल राष्ट्र बैङ्कले ४ प्रतिशत व्याजदरमा ऋण दिने भन्यो तर दिएन । यस्तो प्रवृत्तिले उद्योगीहरूलाई निरुत्साहित बनाउँछ । यदि राज्यले दिने हो भने प्रशस्त मात्रामा दिन सक्नुपर्ने हो तर कहिले बजेट सकियो त कहिले के बहानामा सहुलियतबाट उद्योगीहरू वञ्चित हुनुपरेको गुनासो गोल्यानको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले राज्यले सहुलियत दिने र उद्योगीहरूलाई उत्साहित गर्ने हो भने अवश्य पनि राज्यलाई थप आर्थिक भार हुनबाट जोगाउन सकिने उद्योगी तथा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् ।

राज्यबाट विनासहयोग निर्यातमुखी उद्योग सञ्चालन गरी राज्यलाई व्यापार घाटा कम गर्न सहयोग गर्दै आएका गोल्यान नयाँ पुस्ताले आफूले जस्तो सङ्घर्ष गर्न नपरोस् भन्ने चाहन्छन् । उनी भन्छन्, ‘राज्यले नयाँ पुस्तालाई सहयोग गर्नुपर्छ र उनीहरूलाई राज्यको हितमा कार्य गर्न प्रोत्साहित गरिनु पर्छ ।’

साना उद्योगलाई प्रोत्साहन

गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले सरकारका विभिन्न मन्त्रालयमा आफ्नो भावी योजनासहितको प्रस्तुति नै दिए आउँदो ५ वर्षसम्म ५ लाख रोजगारी सिर्जना गर्ने भनी । 

नेपालमा सञ्चालित ठूला उद्योगले साना उद्योगहरूलाई प्रोत्साहन गर्दै उद्योग कलकारखाना सञ्चालनमा सहयोग गर्दै जाने योजना गोल्यान समूहको छ । यदि राज्यले सहयोग गरेको खण्डमा नेपालमा आगामी ५ वर्षमा ५ लाखलाई रोजगारीको ढोका खोल्ने योजना गोल्यानको छ ।

गोल्यानका अुनसार औद्योगिक विकासले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि गर्दै लैजाने छ । रोजगारी सिर्जना, स्थानीय सीपको प्रयोग, स्रोतसाधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा योगदान गर्छ । त्यसैले पनि राज्य तथा औद्योगिक घराना साना उद्योगलाई माथि उठाउन लाग्नुपर्छ । 

गोल्यान भन्छन्, ‘यदि दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने हो भने विदेशी लगानीलाई उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगाइनुपर्छ । अहिले साना ठूला उद्योगहरूलाई विस्थापित हुनबाट जोगाउन र नयाँ स्थापना गर्न विशेष योजना र कार्यविधिसहित सरकार आएको त छ तर यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्छ ।’ 

नेपालमा अयात हुने सामानमा भइरहेको चोरी पैठारीको समस्याले उद्योगहरू थप मर्कामा परेको प्रष्ट छ । यदि राज्यले उद्योगीहरूलाई प्रोत्साहन गर्ने र नेपालमा उद्योग धन्दा र कलकारखाना सञ्चालन गर्न सहुलियत दिने हो भने रोजगारीका लागि खाडी धाउनुपर्ने बाध्यताको अन्त्य हुने गोल्यान बताउँछन् ।

सरकारको ५ हजार साना उद्योग खडा गर्ने योजनामा नेपालमै सञ्चालित ठूला उद्योगहरूले सहयोग गर्न सक्छन् । नेपालमा सञ्चालनमा आएर पनि बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालन गर्नका लागि पनि राज्यलाई सहयोग गर्ने गोल्यान बताउँछन् ।

औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधार स्तम्भ हो । राज्यका तर्फबाट साना उद्योगलाई प्रेत्साहन गर्ने नीति बारम्बार आए पनि कार्यान्वयन नहुँदा साना उद्योग सधैँ नै मारमा पर्दै आएका छन् । 

हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका लागि साना उद्योगहरूलाई बढावा दिनु जरुरी हुन्छ, जसले बेरोजगारी समस्या समाधानमा मुख्य भूमिका निभाउन सक्नेछ । औद्योगिक विकासलाई पहिलो प्राथमिकतामा राख्ने हो भने सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा हुनेमा दुई मत छैन ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...