बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन र कसरी लाग्छ इन्द्रधनुष ?

इन्द्रधनुष सधैं किन सूर्यको विपरीत दिशामा मात्रै लागेको देखिन्छ ?
शुक्रबार, १३ वैशाख २०७६, ०९ : ५७
शुक्रबार, १३ वैशाख २०७६

तपाईंले आकाशमा इन्द्रधनुष लागेको बेलामा याद गर्नुभएको छ– सधैं यो सूर्यको विपरीत दिशामा लागेको हुन्छ । यस्तो किन हुन्छ ?

तपाईं हामीलाई थाहा भएकै कुरा हो– सूर्यको प्रकाश सात वटा रंगहरु मिलेर बनेको हुन्छ । यो कुरा सर्वप्रथम महान वैज्ञानिक न्यूटनले पत्ता लगाएका थिए । उनले प्रिज्मबाट सूर्यको प्रकाश छिराएर त्यस प्रकाशमा सात वटा रंगहरु हुन्छन् भन्ने कुरा प्रमाणित गरेका थिए ।

पानी परेर रोकिएपछि हावामा पानीका स–साना थोपाहरु बाँकी रहेका हुन्छन् । तिनै पानीका थोपाहरुमा सूर्यको प्रकाश परेपछि त्यो प्रतिबिम्बित भएर विभिन्न रंगहरुमा विभाजित हुन्छ । वास्तवमा, त्यसरी पानीको थोपामा सूर्यको प्रकाश पर्दा त्यो पानीको भित्री सतहमा ठोक्किएर बाहिर निस्किएर फैलिन पुग्छ । यसरी पानीका धेरै थोपाहरुमा ठोक्किएर सूर्यको प्रकाश फर्कंने क्रममा पानीको थोपाहरुले प्रिज्मले जस्तै काम गर्न पुग्छ । फलतः त्यसरी निस्किएको प्रकाशका विभिन्न रंगहरुले इन्द्रधनुष बन्न पुग्छ ।

इन्द्रधनुषमा हरियो, रातो, निलो, पहेलो, बैजनी लगायतका विभिन्न सात वटा रंगहरु रहेका हुन्छन् । ती प्रत्येक सात वटा अलग अलग रंगहरु हाम्रो आँखासम्म एक विशेष कोणमा आइपुगेको कारण नै हामीले इन्द्रधनुषलाई रंगीन देख्न पुग्छौं । तर त्यसरी सात वटा रंगहरु रहेपछि त्यसका रंगहरु एक दोस्रोमा मिसिन जाने भएको कारण हाम्रो आँखाले इन्द्रधनुषमा चार पाँच रंगभन्दा बेसी रंग ठम्याउन सक्दैनन् ।

हामीले सधैं इन्द्रधनुष देख्न सक्देनौं । इन्द्रधनुष त्यसबेला मात्र देखिन्छ, जब सूर्यको प्रकाश, पानीका थोपाहरु र हेर्ने मान्छेबीचको कोण ४० देखि ४२ डिग्रीको हुन आउँछ ।

माथि नै उल्लेख गरिसकिएको छ कि, इन्द्रधनुषको निर्माण सूर्यका किरणहरु पानीका थोपाहरुमा परेर प्रतिबिम्बित भएपछि हुन पुग्छ । यही कारण नै हो– इन्द्रधनुष सधैं सूर्यको विपरीत दिशामा मात्र बन्दछ ।

Photo: https://en.wikipedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप