शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

'मधेस पुनः २०६५ कै अवस्थामा पुगेको छ'

डा. सुरेन्द्रकुमार झासँगको अन्तरवार्ता
शुक्रबार, १३ वैशाख २०७६, ०९ : ५५
शुक्रबार, १३ वैशाख २०७६

राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी समितिको बैठक पाँच दिनदेखि राजधानीमा बसिरहेको छ । अध्यक्षमण्डलको निर्णयबाट चलिरहेको राजपा नेपालले धेरैपछि पदाधिकारीको बैठक बोलाएको हो । १३१ सदस्यीय पदाधिकारी बैठकमा सबैले धित मर्ने गरी आफ्नो कुराहरु राखिरहेका छन् । महाधिवेशन, समसामयिक राजनीतिक अवस्था, पार्टी एकीकरण विषयमा केन्द्रित भएर कुराकानी भइरहेको छ । प्रस्तुत छ राजपा नेपालमा सहमहामन्त्री तथा प्रदेश २ का नीति आयोग प्रदेश सरकारका सदस्य डा. सुरेन्द्रकुमार झासँग पार्टीको अवस्था र प्रदेश २ को अगामी नीति र योजनाको बारेमा रातोपाटीका लागि गरिएको कुराकानीः

प्रदेश २ का लागि अगामी नीति तथा योजना कसरी तयार भइरहेको छ ?

–सरकारका लागि रोडम्याप तयार गर्ने नीति आयोगको काम हो । तीन–तीनवटा मधेस आन्दोलनबाट उठेका सवालहरुलाई सम्बोधन हुने गरी नीति आयोगले आफ्ना योजना तर्जुमा गर्ने काम गरिरहेको छ । हामी आधारपत्र तयारीको अन्तिम चरणमा छौँ । एक हप्ताभित्र हामीले त्यो आधारपत्र घोषणा गर्छौं । त्यो सरकारको नीति तथा कार्यक्रम हुन्छ । पञ्चवर्षीय योजना तर्जुमा गर्ने चरणमा पनि छौँ । त्यो काम अगाडि बढेको छ । ६ प्रतिशत भूमिमा २२ प्रतिशत जनसङ्ख्याको बासोवास रहेको मधेस हो । घाना बासोवास भएको ठाउँ हो । हजारौँ वर्ष पुरानो बासोवास हो । त्यसैले हामी त्यहाँका लागि प्राथमिकतामा कृषिलाई राखेका छौँ । कृषिलाई आधुनिकीकरण गर्ने, कृषिमा आधारित उद्योगधन्दा व्यवसाय सञ्चालन गर्ने, वैदेशिक रोजगारमा गएका युवालाई कृषिमा कसरी आकर्षित गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखेका छौँ । त्यसैगरी औद्योगिक क्रान्तिका लागि हामीले दोस्रो प्राथमिकतामा राखेका छौँ । भएको कलकारखानालाई कसरी स्तरउन्नति कसरी गर्ने, बन्द रहेका उद्योगलाई कसरी सञ्चालन गर्ने ती विषयमा पनि छलफल भइरहेको छ । पाँच हजार वर्ष पुरानो इतिहास बोकेको हिन्दूहरुको विशेष भूमि हो प्रदेश नम्बर २ । धार्मिक पर्यटकलाई हामीले तेस्रो प्राथमिकतामा राखेका छौँ । राजा सलहेसको गौरवपूर्ण गाथालाई हामीले योजनाबद्ध तरिकाले अगाडि बढाएका छौँ । धार्मिक पर्यटनका लागि आठवटा जिल्लामा धार्मिक केन्द्रविन्दु हुनसक्छ ती सबैलाई जोडेर पर्यटकीय सर्किट निर्माण गर्ने कुरालाई हामीले अगाडि बढाएको छौँ । हाम्रो प्रदेशका पर्यटकलाई अन्य प्रदेशको पर्यटकीय क्षेत्रसँग जोड्ने विषयलाई पनि अध्ययन गरिरहेका छौँ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ । प्रदेश २ एकसे एक विद्वानहरुको भूमि हो तर हामी शिक्षामा पछाडि परेका छौँ । शिक्षामा हामीले रूपान्तरण ल्याउन खोजेका छौं । प्रदेश २ को पृथक पहिचानका लागि पाठ्यक्रम नै बनाउँने । मधेसमा बोलिने तीन चारवटा भाषालाई शिक्षामा हामी प्रयोगमा ल्याउँछौं । त्यसैले मधेसका हिरोहरु जसले मधेसका लागि योगदान दिएका छन् ती सबै व्यक्तिलाई जीवन तथा उहाँको योगदानलाई लिपीबद्ध गर्नेछौं । आठवटा जिल्लामा महिलामैत्री विद्यालय स्थापना गर्नुको साथै प्रत्येक जिल्लामा नमुना विद्यालय स्थापना गर्नेछौं । त्यसैगरि उच्च शिक्षाका लागि कृषि विश्व विद्यालय पनि स्थापना गर्नुको साथै सीपमुलक शिक्षाका लागि सीटीभिटी जस्तै संस्था निर्माण गछौं । प्रत्येक पालिकामा प्राविधिक शिक्षालयको व्यवस्था गर्नेछौं । खोपमा भिटामिन ए, पुडके, रगत अलपता, मृत्युदरमा हामी धेरै पछाडि छौं त्यसलाई राम्रो गर्नका लागि हामी स्वास्थ्यमा योजना बनाउन लागेका छौ । विरामी भइसकेपछि औषधी गराउने होइन, विरामी नै हुन नदिने कस्तो नीति हुने त्यसमा पनि छलफल गरिरहेका छौं । नमूना अस्पताल बनाउने योजना पनि बनाएका छौं । एक वर्ष विति सकेको छ अब बाँकी रहेको चारवर्षको अवधिमा ठोस रूपमा काम अगाडि बढाउनेछौँ ।

सङ्घीयता कार्यान्वयनका लागि सङ्घीय सरकार जुन फराकिलो छाती लिएर आउनुपर्ने हो, त्यस्तो देखिएको छैन । संविधान निर्माण गर्न हामीले आठ वर्ष लगायौँ । देशमा सङ्घीयता आउँछ भने कुरा नेताहरुलाई थाह थियो तर प्रदेशको संरचना निर्माणमा कुनै ध्यान दिइएन ।

तपार्इंले भनेका कुरा सुन्दा धेरै नै राम्रो छ तर त्यो मनमनै राख्नुभएको छ कि यसको तयारी पनि अगाडि बढेको छ ?

–सरकारले तत्कालै यी सबै विषयलाई बाहिर ल्याउनु हुँदैन किनभने हाम्रो पनि प्रोटोकल हुन्छ । हामी अनुबन्धित पनि छौँ । प्रदेश सरकारकै नीति आयोग हो । हामीले नीति तथा कार्यक्रम ल्याउँदैछौँ । त्यो संसद र सरकारबाट पास भएर आउनुपर्छ । ती सबै कुरा योजनामा आउँछन् । सरकार जनताप्रति उत्तरदायी हुन्छ । हरेक जिल्लामा आआफ्ना आवश्यकता छन् । त्यसलै हामीले जिल्लाको आवश्यकताअनुसार सन्तुलित ढङ्गले बजेट विनियोजन गर्छौं । हामी प्रदेश २ मा महिला सशक्तीकरणका लागि पनि काम गरिरहेका छौँ । कर्मचारी र प्रहरीमा ५० प्रतिशत आरक्षण हामीले छुट्याएका छौँ । बेटी बचाउ बेटी पढाउ योजना अगाडि बढिरहेको छ । त्यसले पनि राम्रो गरेको छ । त्यसलाई अझ सशक्त कसरी बनाउन सकिन्छ त्यसका बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । स्वच्छता अभियान पनि सञ्चालनमा आएको छ । चुरे जोगाऔँ र मधेस बचाऔँ नारा दिएका छौँ । चुरेलाई कसरी बचाउन सकिन्छ, त्यसका लागि पनि योजना बनाइरहेका छौँ । वाटर रिचार्ज गर्ने लक्ष्य पनि हाम्रो रहेको छ । चुरेमा अनियन्त्रित बसाइँ रहेको छ । त्यसलाई अन्यत्र कसरी सार्ने त्यसको बारेमा सङ्घीय सरकारसँग सहकार्य गर्नेर्छौं । तीनवटै सरकारको साझेदारमा चुरे संरक्षण बनाउने योजना छ । खोलाको किनारै किनार सडक निर्माण गर्ने, बगैँचा बनाउने, बोट बिरुवा लगाउने जस्ता कामको पनि योजना रहेको छ ।

तपार्इंले भनेको कुरा सबै काल्पनिक जस्तो लाग्छ, पूरा होला कि नहोला जस्तो लाग्छ । मधेसको कुरा गर्ने हो भने हरेक क्षेत्र कर्णालीभन्दा खराब अवस्था छ । अब तपाईंहरुले यस्तो राम्रो योजना बनाएको सुनाउनुभयो, यो कार्यान्वयन हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

–तपार्इंले भनेको कुरासँग पूर्णत सहमत छु । काम गराउन वा योजना कार्यान्वयनमा ल्याउन चुनौतीहरु छन् । मानव विकास सूचकाङ्कमा प्रदेश २ अन्य कर्णाली प्रदेशसँग नजिक नजिक छौँ, नत्र सबै प्रदेशभन्दा पछाडि छौँ । त्यसको मुख्य कारण भनेको ६ प्रतिशत भूमिमा २२ प्रतिशत जनताको बसोबास नै हो । दुर्भाग्यपूर्ण अवस्था के हो भने २५० वर्षमा केन्द्र सरकारको प्राथमिकतामा मधेस कहिल्यै परेन । अर्को कुरा चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा के नमिलेको जस्तो देखिन्छ । योजनाबद्ध तरिकाले बजेट आएको छैन । प्रदेश सरकारले यो एक वर्षको समय संरचना निर्माणमै खर्चेको छ । मुख्यमन्त्री, मन्त्रीलगायतका व्यक्तिहरुलाई बस्ने ठाउँ थिएन । अहिले पनि कतिपय कुरा अपुग छ । यद्यपि त्यसको निर्माण गर्ने काम भइरहेको छ । ४२ सय कर्मचारी हुनुपर्ने ठाउँमा अहिले २७–२८ सय कर्मचारी लिएर काम गर्नुपरेको छ । कर्मचारीको अभाव ठूलो चुनौती बनेको छ । अर्कोतिर कानुनको अभाव पनि देखिएको छ । सबै कानुन निर्माण भइसकेपछि केही काम अगाडि बढ्छ जस्तो लाग्छ । सधैँ यस्तै अवस्था रहला जस्तो लाग्दैन । यो सरकारले चालु आर्थिक वर्षमा केही गर्न नसके पनि आउने वर्षमा केही न केही नयाँ गर्ने सोच बनाएको छ । हामीले आफ्नो प्रदेशको आर्थिक, समाजिक, सांस्कृति तथ्याङ्क आफै सङ्कलन गर्ने योजना बनाएका छौँ । सबै सङ्कलन भइसकेपछि काम गर्न र योजना बनाउन सजिलो हुन्छ । कल्पना गरिएको छैन, यी जेजति भनेको छु सबै वैज्ञानिक र विधिसम्मत रूपमा आएको कुरा हो । यसलाई कार्यान्वयन गराउने हाम्रो प्रयत्न हुनेछ ।

मधेसमा जोसँग कुरा गर्दा पनि सबैले केन्द्रलाई दोष देखाएर पन्छिने गरेको छन् तर केन्द्रले हरेक क्षेत्रमा बजेट दिएको छ । नीतिगत रूपमा सुविधा पनि पठाएको छ तर ती क्षेत्रमा विकास नहुनुमा केन्द्रको मात्रै दोष हो त ?

–केन्द्र सरकारलाई दोष दिने काम मैले गरेको छैन । मैले के भनेको हुँ भने तीन तहको सरकार छ, हामी सङ्घीयतामा गइसकेका छौँ । हामीसँग पर्याप्त अनुभव छैन । सङ्घीयता कार्यान्वयनका लागि सङ्घीय सरकार जुन फराकिलो छाती लिएर आउनुपर्ने हो, त्यस्तो देखिएको छैन । संविधान निर्माण गर्न हामीले आठ वर्ष लगायौँ । देशमा सङ्घीयता आउँछ भने कुरा नेताहरुलाई थाह थियो तर प्रदेशको संरचना निर्माणमा कुनै ध्यान दिइएन । कतिवटा प्रदेश बनाउने हो, त्यसका लागि त्यतिबेलैदेखि संरचना बनाउँदा हुन्थ्यो तर सरकारले कुनै ध्यान दिएन । अहिले आएर हतार हतार गरिरहेको छ, जसले गर्दा समस्या भइरहेको छ । अलिकति दुरगामी सोचको कमी सङ्घीय सरकारमा देखिएकै हो । केन्द्रीय सरकारले सङ्घीयताप्रति उदार भएको भए ४० प्रतिशत बजेट स्थानीय र प्रदेशलाई दिनुपथ्र्यो । प्रदेश २ ले राजस्वको एकतिहाइमा योगदान दिएको छ तर हामीलाई त्यो अनुसारको बजेट दिएको छैन । अर्को कुरा पनि तपाईं बताऊँ, प्रदेश २ को मन्त्रालयमा टिप्पणी उठाउने सचिव छैन । ६ महिनामा ६ जना सचिव रिटायर्ड भएका छन् । अब यसैबाट बुझ्नुस् सङ्घीय सरकारले प्रदेशका लागि कस्ता कर्मचारी पठाएको छ । समायोजनका कारण भएका कर्मचारीमा पनि कमी भएको छ । काम गर्ने मन्त्रीले होइन, कर्मचारीले हो तर कर्मचारीको अभाव छ के गर्ने तपाईं नै भन्नुस् । अर्को कुरा सुशासनको मामलामा प्रदेश नम्बर दुई पछाडि रहेको कुरा स्वीकार गर्नुपर्छ । जनतामा मनोवैज्ञानिक परिवर्तन नल्याएसम्म प्रदेशमा सुशासन कायम गर्न सकिँदैन । मधेसमा केही कुरा परिवर्तन गर्नका लागि सरकारले कठोर रूपमा अगाडि बढ्नुपर्छ । प्रदेशकै कुरा गर्छु, प्रदेश २ मा राम्रा राम्रा मान्छे बस्नै मान्दैनन्, छोराछोरीलाई बाहिर पढाइरहेका छन् । आफू पनि बाहिरै बस्न रुचाउँछन् किन ? यो कुरा सरकारले बुझेर त्यसलाई सकसरी सुधार गर्न सकिन्छ, त्यो पनि अगाडि बढ्नुपर्छ ।

राजपा नेपाल प्रचुर सम्भावना भएको पार्टी हो । अहिलेसम्म जे जस्तो अवस्थामा भए पनि जनतासँग उभिएको एक मात्र पार्टी राजपा नेपालले नै हो । मधेसको मुद्दालाई लिएर सङ्घर्ष गर्ने पार्टी राजपा नेपाल मात्र हो भने कुरा कसैबाट लुकेको छैन । तर पार्टीमा धेरै कुरा सुधार गर्नुपर्ने आवश्यकता छ ।

सन्दर्भ बदलौँ, पाँच दिनदेखि पार्टी पदाधिकारी समितिको बैठक बसिरहेको छ, के विषयमा यस्तो लामो छलफल भइरहेको छ ?

–हामीले पार्टी एकीकरण गर्दा फरक पृष्ठभूमिका, फरक विचारका, फरक लाइनका व्यक्तिहरु एक ठाउँमा भेला हुनुभयो । पार्टी एकीकरणको गरेको दुई वर्ष भएको छ । पार्टी एकीकरण गर्दा एक वर्षभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख गर्यो । तर त्यो समयमा महाधिवेशन हुनसकेन । त्यसपछि दुई वर्ष तोक्यो । यही वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने मिति तय गरेको थियो तर त्यो मितिमा पनि महाधिवेशन हुन सकेन । महाधिवेशन हुन सक्नुमा अध्यक्षमण्डलका छजना सदस्यहरु दोषी हुनुहुन्छ । किन महाधिवेशन किन स्थगित भयो । त्यसको एउटा विज्ञप्ति पनि जारी गर्न सकेन । पार्टीमा अराजकता बढेको छ, कुनै अनुशासन छैन । पार्टीमा महाधिवेशन गराउने चुनौती छ । देशका तेस्रो ठूलो पार्टी भए पनि पार्टीको ओज, पार्टीको पहुँच र पार्टीको शैली हेर्दा हामी राष्ट्रिय पार्टी हौँ जस्तो लाग्दैन । पार्टीको परिकल्पनाअनुसार हाम्रो कार्यनीति छैन । यो पदाधिकारी बैठकको महत्त्वपूर्ण एजेन्डा नै महाधिवेशन गराउने नै हो । पूर्ण महाधिवेशन गर्ने कि विशेष अधिवेशन गर्ने त्यो पनि एजेन्डाको रूपमा आएको छ । नेताहरुले आआफ्नो तर्कहरु प्रस्तुत गरिरहेका छन् । जतिजनाले बोल्नुभएको छ सबैले अध्यक्षमण्डलको क्षमतामाथि प्रश्न उठाएको छ । महाधिवेशन गराउन नसक्नु अध्यक्षमण्डलको असक्षमता हो भन्ने कुरा सबैले भनेका छन् । अध्यक्षमण्डल खारेज हुनुपर्छ भन्ने कुरा उठाएका छन् । महन्थ ठाकुरलाई अन्य नेताहरुले मङ्सिर ४ गते जसरी अध्यक्षमण्डलको संयोजकबाट हटायो, त्यो भत्र्सनायोग्य हो । त्यो निन्दनीय हो । पार्टीको नेता र नीतिको प्रहारका रूपमा लिएको कुरा पनि बैठकमा उठेको छ । मूल आयोजक समितिको संयोजक तोकिसकेपछि अध्यक्षमण्डल भङ्ग गर्नुपर्ने कुरा पनि उठेको छ । अहिले महन्थ ठाकुरलाई संयोजक बनाएको छ । महाधिवेशनसम्मका लागि अध्यक्षमण्डल भङ्ग गरेर महन्थ ठाकुरलाई संयोजक मानेर महाधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने कुरा पनि बैठकमा उठेको छ । पार्टीमा अध्यक्षमण्डल मात्र सक्रिय छ, अरूसँग कुनै प्रकारको सरसल्लाह, सुझाव पनि लिएको छैन । सबैलाई निष्कृय नै बनाएको छ । छजना मिलेर जे पनि गर्न सक्ने अवस्थामा पार्टीलाई पुर्याएको छ । त्यसमा सुधार गर्नुपर्छ भनी जोडतोडले कुरा उठाएको छ । 

दुई वर्षको अवधिमा जसरी पार्टी अगाडि बढ्यो, नेताहरुले जुन गतिविधि र क्रियाकलापहरु गर्नुभयो त्यसको आधारमा यो राजपा नेपालको भविष्य कस्तो देख्नुभएको छ ?

–राजपा नेपाल प्रचुर सम्भावना भएको पार्टी हो । अहिलेसम्म जे जस्तो अवस्थामा भए पनि जनतासँग उभिएको एक मात्र पार्टी राजपा नेपालले नै हो । मधेसको मुद्दालाई लिएर सङ्घर्ष गर्ने पार्टी राजपा नेपाल मात्र हो भने कुरा कसैबाट लुकेको छैन । तर पार्टीमा धेरै कुरा सुधार गर्नुपर्ने आवश्यकता छ । पार्टी छजनाको मात्र होइन, उहाँहरु भन्दा अन्य थुप्रै सक्षम नेताहरु पार्टीमा छन् । पार्टीको नेतृत्व नै लिनसक्ने नेताहरु छन् । एकसे एक अनुभवी नेताहरु छन्, आन्दोलनबाट खारिएर आएका नेताहरु छन् । ती सबैलाई काम गर्ने मौका दिनुपर्छ । कतिपय नेताले भन्न थालेका छन् कि हामी राजपा नेपालमा छौँ कि छैनौँ । त्यसैले पार्टी गम्भीर मोडमा र गहन छलफलमा छ ।

राजपा नेपाल तेस्रो ठूलो दल भए पनि राष्ट्रिय महत्त्वको विषयमा सो पार्टीले आफ्नो भूमिका देखाउन सकेको छैन किन ?

–हामी आन्तरिक विवादममा रुमलिरहेका छौँ, बाहिरको वस्तुस्थितिको बारेमा सोच्ने फुर्सद छैन पार्टीलाई । पार्टीमा अहिलेसम्म कार्यविभाजन भएको छैन । महाधिवेशन गराउन सकिरहेको छैन । अध्यक्षमण्डलले पार्टीलाई रूपान्तरण गर्न त सक्नुभएन, आफूलाई पनि सुधार गर्न सक्नुभएन । विगतका पाठ सकेर पार्टीलाई देशकै वैकल्पिक शक्तिका रूपमा तयार गर्नुपथ्र्यो तर त्यो गर्न सक्नु भएन । हामीले राखेको अपेक्षाअनुसार अध्यक्षमण्डलको क्रियाकलाप सन्तोषजनक रहेन । कतिपय मुद्दामा राष्ट्रिय बहस सञ्चालन गर्नुपथ्र्यो, त्यसमा हामी चुकेका छौँ । मधेसका सबै मुद्दा ज्युका त्युँ छ । २०६४ फागुन १६ गते भएको ८ बुँदे सम्झौता अवस्थामै छ मधेस । त्यसभन्दा एक इन्च अगाडि बढेको छैन ।

२०६५ फागुन १६ को अवस्थामा फर्किनुमा तपाईंहरु पनि दोषी हो नि ?

–हामीले त्यो दोष लिनै पर्छ । हामी नेतृत्वमा छौँ, हामीले एजेन्डा उठायौँ, मधेस विद्रोहको नेतृत्व हामीले गर्यौँ, मधेसी समाजले हामीलाई सधैँ सहयोग गर्यो, बलिदानी पनि दिए, मधेसी जनताको आकाङ्क्षा एकदमै उच्च रह्यो । त्यसको आधारमा आठ बुँदे सम्झौत गर्यौँ तर फेरि हामी त्यहीँ फर्केको अवस्था सिर्जना भइसकेको छ । नेतृत्व पङ्क्तिको अदुरदर्शिताका कारण मधेसले गरेको त्याग र बलिदानका कारण जति लाभ लिनुपथ्र्यो, त्यो लिन सकेको छैन । त्यो कुरा स्वीकार गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप