यस्तो पो रहेछ प्रचण्डको रुचीको अनौठो संसार
नेकपा माओवादीका अध्यक्ष प्रचण्डको वास्तविक नाम हो, पुष्पकमल दाहाल । धेरैजसोले भन्ने गर्छन्, नाममा के छ र ! तर नाममात्रै हेर्दा लाग्छ, कहाँ पुष्पकमल, कहाँ प्रचण्ड ! ठीक विपरीत दिशा र दशालाई सङ्केत गर्नेखालका छन् नामहरु ।
सायद त्यसैले होला, हाल उनलाई पुष्पकमल दाहाल नाम साह्रै नै व्यक्तिगत लाग्छ । त्यसैले उनी सार्वजनिक रुपमा सामूहिक नामका रुपमा अध्यक्ष र प्रचण्ड भनेर सम्बोधन गरेको मन पराउँछन् । यहाँ प्रस्तुत छन्, उनका रुचि–अरुचिहरुको बारेमा उनका आफ्नै स्पष्टीकरण र व्याख्याहरु:
पाटनमा पाँचवर्षको बसाइ
निश्चितै रुपमा जनयुद्ध सुरु गर्नुभन्दा अगाडि एक ढङ्गको जीवन थियो । निश्चित भेटघाट, भेला प्रशिक्षणहरू, अध्ययन, लेखन कार्यमा धेरै समय बित्थ्योे । महान् जनयुद्ध सुरु गर्नुभन्दा अगाडि म काठमाडौंंमै बस्थें । पाटनको कुम्भेश्वरमा नेकपाका संस्थापक नरबहादुर कर्माचार्य दाइसँग पाँचवर्षसम्म सँगै बसेको थिएँ ।
त्यो पाँचवर्षको मेरो जीवन भनेको राति एघारबजेसम्म लेख्थें–पढ्थें, विहान पाँचबजे जहिले पनि उठ्थें । त्यसरी उठेपछि पनि विहान दुई–तीनघण्टा लेख्ने, पढ्ने अनि भेटघाट, छलफल आदिमा दिन बित्थ्यो ।
जनयुद्धको क्रममा स्थिति फेरियो । जनयुद्ध सुरु गरेको पहिलो अवधिमा दिनभरि सुत्ने अनि रातभरि हिँड्ने काम भयो । त्यसबेला राति हिँड्नुपर्ने र दिनमा निश्चित कोठामा लुकेर बस्नुपर्ने स्थिति आयो । जनयुद्ध सुरु गरेको बाइसदिनसम्म म काठमाडौंंमै थिएँ । तर बाइसदिनसम्म एउटै घरमा पनि बसिएन । त्योबेला दिनभरि पढ्ने र लेख्ने काम नै बढी गरियो । पहिला गरिने नियमित दिनचर्या नियमित हुन सकेन । एउटा क्रम भङ्ग भयो ।
उपत्यकाबाट बाहिर गएपछि गाउँमा जीवन अलि सरल भयो । छ–आठमहिना गाउँमा बसिसकेपछि फेरि भारततिर गइयो । हामीले केन्द्रीय समितिका बैठकहरू त्यतै गरेका थियौं । त्यसक्रममा केही समय भारत बसाइ भयो । त्यहाँ अलि व्यवस्थित भयो बसाइ । अलि नियमित खालको जीवन बित्यो ।
अध्ययन र लेखनको क्रम
त्यसपछि मेरो अध्ययन गर्ने नियमिततामा फेरबदल आयो । पढ्ने–लेख्ने समयमै फरक भइहाल्यो । पहिले किताबहरू सङ्कलन गरेर पढ्ने गर्थें । अप्ठ्यारो स्थितिमा सबै ठाउँमा पुस्तक जम्मा गरेर पढ्ने कुरा भएन । मेरो एउटा सानो लाइब्रेरीजस्तो थियो । त्यो लाइब्रेरीमा कुन ठाउँमा कुन किताब थियो भन्ने कुरा मलाई थाहा थियो । तर पछि गएर त किताब खोज्दा भनेको बेलामा नपाइने खालको समस्या आउने त भइहाल्यो । लेख्न लाग्दा कुनै सामग्री पनि नभेटिने र थोरै भएको सन्दर्भ–सामग्रीको आधारमा काम गर्नुपर्ने यस्तो खालको अवस्था आइपर्यो नै । भारतमा त्यस्तो समस्या नभएपनि एकै ठाउँमा भने बस्न पाइएन । त्यहाँ पनि भूमिगत रुपमा ठाउँ सर्दै बस्नुपर्यो । नियमित अध्ययनमा कठिनाइ आइरह्यो । त्यस अवस्थामा सरिराख्नुपर्ने अप्ठ्यारा त आए । तैपनि अनियमिततालाई नियमितता बनाउने कुरा भइहाल्योे ।
यहाँहरुले काठमाडाै बस्दा मेरा लेख–रचनाहरू अलि व्यवस्थित र सन्दर्भ सामग्री प्रयोग गरेर लेखिएको देख्नुहुन्छ । त्यसबेलाका सबै पढेर, कोट (उद्धृत) गरेरै लेखिएका छन् । त्यसपछिका मेरा लेखहरू त्यस्ता अलि छैनन् । ती युद्धको स्थिति र आवश्यकताअनुसार नै लेखिएका छन् । त्योबेला मैले विभिन्न नामबाट, कुनै किशोर, कुनै किरण, नवकिशोर आदिबाट पनि लेखेको छु ।
जनयुद्ध सुरु गर्नुअगाडि अलि वैचारिक र दर्शनका पस्तकमा नै मेरो ध्यान जान्थ्यो । पहिले माक्र्सवादी दर्शनमा र सैद्धान्तिक पुस्तकमा बढी रुचि थियोे । जनयुद्ध सुरु गरेपछि बढी ‘वार फिलोसफी’ (युद्ध दर्शन)मा ध्यान गयो । आवश्यकताले गर्दा त्यतापट्टि बढी ध्यान गएको हो । तैपनि त्यस बीचमा पनि साहित्यमा उपन्यास र कथा पढ्ने काम पनि भयोे ।
म हाइस्कुलमा पढाउँदा भने सांस्कृतिक फाँटमा मेरो रुचि थियो । मान्छेका सम्भावना त धेरैतिर जाने हुँदोरहेछ तर परिस्थितिले मान्छेलाई एकातिर कुदाई दिँदोरहेछ । अलि सानोमा पाइलट, डाक्टर, इन्जिनियर बन्ने सपना थियो भने पछि गएर परिस्थिति फेरिँदै जाँदा नाच्ने–गाउने पनि गरियो । आरुघाट गोर्खामा म पढाउँथें, नेवार गाउँमा बस्थें । त्यहाँ मेरो नाँच्ने–गाउने सबै काम हुन्थ्यो ।
प्रभावशाली पुस्तकहरु
मलाई पहिला कम्युनिष्ट बन्ने बेलामा चिनियाँ पुस्तकहरूले असाध्यै प्रभाव पारे । ‘ओयाङ हाईको गीत’ले धेरै प्रभाव पार्यो । तर पछि त्यस किताबको चीनमै असाध्यै आलोचना पनि भयो । सो पुस्तक पढेपछि मलाई भावनात्मक रुपमा असाध्य प्रभाव पर्यो । म कम्युनिष्ट सिद्धान्तप्रति, गरिब वर्गप्रति अलि गहिरो रुपमा प्रभावित भएँ । म्याक्सिम गोर्कीको ‘आमा’भन्दा पहिला मैले त्यो पढें । त्यही हाराहारीमा मैले पढेको किताब हो, भियतनामका क्रान्तिकारी ‘न्गुयन भान त्राई’ को जीवनी हो, जुन असाध्यै चर्चित पुस्तक थियो । न्गुयन भान त्राईजस्ता एकजना मजदुरको जीवनी असाध्यै क्रान्तिकारी देखिन्छ । त्यसपछि मात्र ‘आमा’ पढें । ‘आमा’ले पनि अलि बढी वैचारिक ढङ्गले शिक्षित गर्यो ।
पहिला–पहिला यस्ता किताबले प्रभाव पारे । पछि आउँदै गर्दा नयाँ रुपमा बढी त चिनियाँ पुस्तकहरू, उपन्यास, साहित्य नै पढियो । जनयुद्धको तयारीमा मलाई ‘रेड क्र्याक’ र ‘रेड गुरिल्लाज’ भन्ने दुईवटा किताबले सबभन्दा बढी प्रभाव पारे । मलाई ‘रेड क्र्याक’ असाध्यै मनपर्ने किताब हो । त्यसैले दोहोर्याइ–तेहोर्याइ पढेको भनेको ‘रेड क्र्याक’ नै हो । त्यो किताब उपन्यासजस्तो पनि छ र युद्धका सबै पाटा–पक्षको बारेमा पनि यसमा भनिएको छ । तर विडम्बनाको कुरा, नेपाली पुस्तकमा त्यस्तो धेरै नामै लिने खालको भने छैन ।
भावी पुस्ताले विज्ञानसँग सम्बन्धित पुस्तकहरू बढी पढिदेओस् भन्ने मलाई लाग्छ । दृष्टिकोण वैज्ञानिक हुनु असाध्यै जरुरी रहेछ । अहिले विज्ञानमा नयाँ–नयाँ आविष्कार पनि भइरहेको छ । इलेक्ट्रोनिक साइन्सको विकासले जो क्रान्ति ल्याएको छ, त्यसैले यो संसारमा साइन्सभित्र नपसिकन आजको दुनियाँलाई बुझ्ने र बदल्ने भन्ने कुरा हुनसक्दैन । मेरो सल्लाह विज्ञानका पुस्तक बढी पढ्नुपर्छ भन्ने नै हो ।
लेख–पढ र चुरोट
पहिले व्यस्त समयमा अध्ययनका लागि बेसी समय छुट्याउन समर्थ थिएँ, अहिले वास्तविक राजनीतिको अध्ययनमा बेसी समय गुजारिरहेको छु । शान्तिवार्ताको चरणमा प्रवेशपछि एक डेढमहिनायता त पाइएका पत्रपत्रिकाहरू नै बढी पढियो । गहनखालका त्यस्ता पुस्तकहरू लिएर पढ्ने अवसर र ठाउँ पनि पाइएको छैन । तर पनि सामान्यतः दिनको चार–पाँचघण्टा अध्ययनमा जान्छ ।
विहान दुईघण्टाजति र बेलुका तीनघण्टा नै पढिन्छ । मलाई पढ्न अलि खुला ठाउँ चाहिन्छ । मलाई पढ्न–लेख्न बाहिर देखिने ठाउँ हुनुपर्छ । एकान्तमा बसेर पढ्न–लेख्न सक्दिनँ म । पढ्दा–पढ्दै बाहिर निस्केर हिँड्ने अनि ‘फ्रेस’ भएर आउने वातावरण मन पर्छ ।
पढ्ने–लेख्ने बेलामा केहीलाई चिया, केहीलाई चुरोट चाहिन्छ । केही समयअगाडिसम्म मलाई पनि सिग्रेट चाहिन्थ्यो । केहीले एउटा अपेरा हेर्दा मैले चैनी खैनी खाएको पनि देखेका रहेछन् । तर आठ–नौमहिना अगाडि चुरोट छाडें मैले । धेरैले सोध्छन्, किन छाडियो भनेर ।
मैले चुनवाङ बैठकपछि छाडें । त्यो बैठकलाई हाम्रो पार्टीले एउटा ऐतिहासिक एकताको बैठक मानेको छ । त्यसलाई विचार, राजनीति, संस्कार नै बदल्ने नयाँ क्रान्तिको थालनी मानेका छौं । मैले चुरोट छाडेको स्वास्थ्य बिग्रेर पनि होइन, खर्च नभएर पनि होइन । सुद्धीकरणका लागि मेरो तर्फबाट सेक्रीफाइस (बलिदान) गर्न मैले चुरोट, खैनी, सुर्ती प्रतीकात्मक रुपमा छाडें ।
जीवन–मरणको दोसाँधमा
हुन त लामो राजनीतिक यात्रा तय गरियो । यो यात्रामा घटित भएका, बिर्सनै नसकिने दुःखद् क्षणहरू पनि धेरै छन् । केही घटनाहरू यस्ता छन् तर त्यसलाई अहिल्यै भन्ने समय आएको छैन । अरु त्यस खालका घटनाहरू त पटक–पटक भइराख्छन् । जीवन–मरणको दोसाँधमा उभिएकोजस्तो त पटक–पटक अनुभव भएको छ ।
एउटा घटना भनौं, जनयुद्धको अन्तिम तयारी हामी गर्दै थियौं । त्यसबेला करिब–करिब सिद्धियो भन्ने परेको थियो । मुग्लिनको पुलनिरको घटना हो यो । त्यस्तै यो पछिल्लो पटक हामी रोल्पामा बस्दा, चुनवाङ्ग बैठकभन्दा अगाडि रौंभरले मात्रै बचियो । दुस्मनको हवाई आक्रमणमा झण्डै–झण्डै परियो । त्यस्ता घटनाक्रमबाट धेरैचोटि ग्रुजियो ।
दैनिक खर्चबर्च
मेरो नियमित खर्च त्यस्तो धेरै हुँदैन । सामूहिक खाने हुँदा खर्च पनि सामूहिक नै हुन्छ । खासै भन्ने हो भने गाउँमा खर्च नै हुँदैन । त्यही टुथपेष्ट र ब्रसमा जति खर्च हुन्छ, त्योभन्दा अरु चाहेर पनि हुँदैन । भारतमा बस्दा अलि–अलि खर्च हुन्थ्यो ।
भारतमा यता–उता कोठा भाडा आदिले गर्दा खर्च हुन्थ्यो । त्यहाँ हामीले एउटा स्तर बनाएका थियौं, ‘मिडिल क्लास’ (मध्यमवर्ग¬¬¬)को स्तरमा बस्ने भनेर । हाम्रो आफ्नो भौतिक शरीरअनुसार, ‘फिजिकल एपीरेन्स’अनुसार मध्यमवर्गको स्तरमा बस्दा अलिकति खर्च हुन्थ्यो । पछि मध्यमवर्गभन्दा झन् माथि खर्च हुनथाल्यो । खर्च नै नहुनेहरूको पनि मोबाइल र रङ्गीन टिभि हुँदै क्रमशः बढ्न थाल्यो । त्यसरी खर्च बढ्दै गएको देखिएपछि त्यसलाई तोडियो । त्यसरी खर्च गर्दा पार्टीमा अलिअलि समस्या हुन्छ भनेर त्यस प्रक्रियालाई पूरै भत्काइयो । भारत बस्ने प्रक्रियालाई नै भत्काएर सिङ्गो टिमलाई पूरै नेपाल भिœयाइयो ।
खर्चको कुरा गर्दा सत्यता के हो भने हामीले सेनालाई दिने भनेको खानपिन र लत्ताकपडालाई भनेर महिनाको पाँचसय रुपियाँ हुन्छ । हाम्रो हकमा पनि व्यक्तिगत खर्च पनि त्योभन्दा बढी त हुँदै–हुँदैन । र, त्यस्तो विशेष खर्च भन्ने छुट्टै हुँदैन ।
सेतो सर्ट र कालो पाइन्ट
मेरो विशेषताभित्र कमजोरी पनि हुनसक्छ तर मलाई यही मन पर्छ भन्ने त्यस्तो खासै केही छैन । मलाई औपचारिक रुपमा सेतो कपडा मन पर्छ । युवाकालमा जतिबेला म भूमिगत हुन्थें, त्यो बेला सेतो सर्ट र कालो पाइन्ट लगाउँथें । भूमिगत भएपछि सेतो देखियो कि समस्या हुने भएर त्यो पनि हरायो, लगाउन छाडियो ।
जुडो र कराँते तालिम
जतिबेला पूर्णकालीन कार्यकर्ता भइयो, विस्तारै जनयुद्ध थाल्ने भनेर छलफल गरिन थालियो, त्यसबेला ‘हेभी एक्सरसाइज’ (कडा अभ्यास) गर्नतिर लागियो । पहिला पनि मैले एनसीसी तालिम लिएको हुनाले त्यहाँ एउटा अभ्यास हुने भयो । काठमाडौंको कीर्तिपुर (पाँगा)मा बसेर डेढमहिना जुडो र कराँते तालिम लिएको पनि थिएँ ।
मःमः र जाँड–रक्सी
खानामा त्यस्तो ठ्याक्कै यही भन्ने त छैन । एक्काइसवर्षसम्मको उमेरमा दूध–घिउ नै बढी मनपथ्र्यो, त्यही खाने गरियो । त्यसपछि काठमाडौं आएपछि मःमः खुब मन पराएर खाइयो । नेकपा एकताकेन्द्रको महाधिवेशनमा मःमःकै कुरा उठेर हैरान भयो ।
जाँड–रक्सी त हाम्रो चलनअनुसार नै नखाने भइहाल्यो । पछि पूर्णकालीन सदस्य बनेपछि खानुहुन्न भन्ने नै भइहाल्यो । बीचमा आरुघाट (गोर्खा)मा बस्दा नेवार गाउँमै बसियो । चाडपर्व र जात्रामा साथीभाइ सबै नै खाने भएपछि थोरथोरै गरेर अलि–अलि खाने बानी त्यहाँ बसेको थियो । सामान्य रुपमा खाइएपनि त्यस्तो बढी नै खाने गरेको थिइनँ ।
पूर्णकालीन कार्यकर्ता भएपछि त कम्युनिष्ट भइयो, खाने कुरा नै भएन । त्यसको पाँच–सातवर्षपछि देखें, ठूलठूला नेता भनिएकाहरू पनि खाँदा रहेछन् । त्यो स्थिति देखेपछि केही खाने काम भयो । तर त्यस्तो लाग्ने हदसम्म खाने बानी त कहिल्यै भएन । अहिले त झन् खाइन्न नै ।
अमिताभ र लिजेण्ड अफ भगतसिंह
मलाईं मनपर्ने नायिका करिश्मा मानन्धर नै हुन् भनेर धेरै प्रचार गरियो । वास्तविकता त्यो होइन । त्यो कुरा कसरी प्रचारमा आयो, मलाई नै थाहा भएन । त्यो कुरा भारतमा पनि आइदियो । जनयुद्ध सुरु भएयता मैले त्यति धेरै फिल्म हेर्न पनि पाइनँ । पहिला काठमाडौंं बस्दा दुई–चारवटा त हेरियो । नेपाली नायिकाकै कुरा गर्दा त्यस्तो ठ्याक्कै हिसाब गर्ने खालको मैले देखेको छैन । तैपनि नेपालीमा शान्ति मास्के र मिथिला शर्मा अभिनयका हिसाबमा मनपर्दथ्यो । अरुको त बनावटीजस्तो लाग्यो ।
हिन्दीमा अमिताभ बच्चनको अभिनय विशिष्ट प्रकारको छ । उनी हिरोमा सुपरस्टार क्लालिटीकै हो भन्ने लाग्छ । दिलिप कुमार र मनोज कुमारको पनि मनपर्ने हुन्थ्यो । फिल्ममा ‘लिजेण्ड अफ भगत सिंह’, ‘लाल सलाम’ र ‘रङ दे वसन्ती’ राम्रो लाग्दथ्यो । ‘लिजेण्ड अफ भगत सिंह’ एकदम मनछुने खालको छ । जनयुद्ध भइरहँदा साथीहरू सहिद भइराखेकाले पनि त्यसले एकदम छोयो ।
खगेन्द्र संग्रौलादेखि अभाकियनसम्म
वर्तमान संसारमा चिन्तकको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा धेरै व्यक्तित्व देखापरेका छैनन् । साहित्यको क्षेत्रमा त देखापरेका छन्् कि जस्तो लागेको छ । मौलिक ढङ्गले सोच्ने र आफ्ना कुरा राख्ने प्रगतिशील लेखकहरू भएकोजस्तो लाग्छ । उदाहरणका लागि खगेन्द्र संग्रौलाले पनि आफैलाई विस्तारै–विस्तारै स्थापित गर्नुभएको छ । केही समालोचकहरू पनि आफ्नै मौलिक ढङ्गले आएका छन् । केही त असाध्यै प्रतिभाशाली र समर्पित पनि छन्, हाम्रो कृष्ण सेन इच्छुकजस्ता । साहित्यमा उन्नत स्तर कायम गर्ने व्यक्तित्वहरू पनि देखापर्दैछन् । तर राजनीतिक चिन्तकहरूमा चाहिँ प्रायः समस्या नै छ ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको कुरा गर्दा कम्युनिष्ट आन्दोलनका अग्रज चिन्तक र नायकहरू त प्रिय छँदैछन्, तिनमा एउटै व्यक्ति यही प्रिय हो भन्ने मेरो केही हुँदैन । अहिले अलिकति मिहेनत गर्न खोजेका छन् आरसीपी (अमेरिकी रिभोल्युशनरी कम्युनिष्ट पार्टी)का बब अभाकियनले । राजनीति, दर्शन, सम्पूर्ण अर्थतन्त्रमा मिहेनत गर्ने क्रममा बब अभाकियनले साम्राज्यवाद र भूमण्डलीकरणबारे धेरै लेखिरहेका छन् । कम्युनिष्ट आन्दोलनको बारेमा त उनले भोल्युमका भोल्युम नै रचना गरिसकेका छन् । फेरि लेख्नेमात्रै गरे कि भन्ने प्रश्न पनि आफ्नो ठाउँमा छँदैछ । समस्या त त्यही लेख्नेमात्रै गरे कि भन्ने आशङ्का न हो । आन्दोलनको स्तरमा आरसीपी र उनी बाहिर नदेखिएकाले यस्तो समस्या भएको हुनसक्छ ।
फुटबलका खेलाडी
खेलमा फुटबल मेरो सबभन्दा मनपर्ने खेल हो । हाइस्कुलसम्म म्याचमा म आफै खेल्थें । कयौं म्याच जितेर कपहरू ल्याएको छु । त्यस्ता कपहरू त फुटबलबाटै ल्याएको हँु । अहिले पनि मलाई फुटबल सबभन्दा मनपर्ने खेलभित्रै पर्छ । सन् २००६ को विश्वकप फुटबल पनि मैले सकभर हेरें, कति हेर्न नभ्याएको अवस्थामा कसले खेल जित्यो भनेर पत्रिका पढेर जानकारी लिएँ ।
पहिले भलिबल र टेबल टेनिस पनि खेलिने गरिन्थ्यो । आरुघाटमा मैले दुईवर्ष पढाउँदा दैनिकजसो भलिबल खेलें । अनि मेरो रुचि भनेको दौड्ने पनि हो । हाइस्कुलसम्म दौड प्रतियोगितामा प्रायः प्रथम हुन्थें ।
बीपी र पुष्पलाललाई श्रद्धा–पुष्प
कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइराला मन पर्छ । अहिले हेर्दै गएको छु, बीपी कोइरालाप्रति मेरो श्रद्धा बढ्दै गएको छ । उहाँ सामान्य मानिस होइन । उहाँ प्रतिबद्ध र प्रतिभा पनि भएको मानिस हो । उहाँ सामन्तवादका विरुद्ध बुर्जुवा क्रान्तिका लागि सङ्घर्षरत रहनुभयो । यसै क्रममा उहाँ आफ्नो प्रजातान्त्रिक समाजवादतिर पुगे । यति हुँदाहुँदै पनि उहाँ योग्य नेता हुनुहुन्थ्यो । कम्युनिष्टमा त पुष्पलाल नै प्रिय हुनुहुुन्छ, उहाँले विकास गर्नुभएको विचार र मिहेनत सबै कुरा हेर्दा चानचुने छैन ।
किन हो खोइ, वर्तमानमा त्यस्तो जिउँदो योग्य नेता बाहिर त देखेको छैन, मैले त हाम्रो पार्टीमा देखेको छु । सायद म संकीर्ण भएर पो हो कि ! हाम्रै पार्टीमा म नेताहरुको जमात देख्दैछु । यहाँ भोलि नेपाललाई हाँक्ने नेताहरुको टिम बन्दैछ भन्ने लागेको छ । मैले हामीभन्दा बाहिर त्यस्तो धेरै आशा गर्ने नेतृत्व देखिराखेको छैन । हुनुपर्ने त हो तर समर्पणभाव, निष्ठाका साथ लागेका र विचार पनि भएका नेताहरु छन् भने देखिनुपर्ने हो । मैले एमालेलगायतका अरु दलका नेताहरुसँग कुरा गर्दैछु तर उनीहरुमा कताकता ती गुणहरु नभएको पाउँछु । कांग्रेसभित्र हेरौं, त्यसरी लागिपर्ने, मिहेनत गर्ने अनि बलिदान गर्नेहरु त्यति देखिँदैनन् । त्यहाँ त खडेरी नै परेकोजस्तो देखिन्छ । वास्तवमा बुर्जुवा डेमोक्रेटिक खेमामा त नेतृत्वको खडेरी नै परेको छ ।
फौजी कारबाहीको योजना
धेरैलाई लागेको छ, पहिलो सदरमुकाम आक्रमण डोल्पाको दुनैमा गर्दा त्यसको योजना नै मैले बनाएको हुँ । हेक्का राख्नुपर्ने कुरा के हो भने हरेक पटकका योजना केन्द्रमै बन्छन् । त्यसको मूल ओरियन्टेसन (दिशा) कहाँ हुने कस्तो ठाउँमा कसरी आक्रमण गर्ने भन्ने योजना त पहिलो महान् जनयुद्ध थाल्नुभन्दा अगाडिदेखि अहिलेसम्मका हेडक्वार्टरबाटै प्रस्तावित हुन्छ र छलफल भएर टुङ्गिन्छ । विशेष कारबाही कुन ठाउँमा कतिबेला गर्ने भन्ने कुरा त कमाण्ड कमाण्डमा टुङ्गिन्छ तर हेडक्वार्टरको स्वीकृति लिएरमात्रै गरिन्छ । त्यसको प्रत्यक्ष आक्रमणको जानकारी हेडक्वार्टरलाई हुन्छ । त्यसरी हेर्दा प्रत्यक्ष कारबाहीको छाप हेडक्वार्टरलाई हुन्छ । योजनाको दृष्टिकोणले म नजोडिएको त कुनै ठाउँ नै छैन ।
म आफै बसेर योजना बनाएको फौजी कारबाही पनि थुप्रै, धेरै छन् । अहिले नभनौं ।
(जनयुद्धका सुप्रिम कमाण्डर एवं विद्रोही नेताका रुपमा सार्वजनिक भएको केहीसमय लगत्तै आजभन्दा १२ वर्षअघि प्रचण्डसँग गरिएको कुराकानीमा आधारित । स्रोतः जनयुद्धका नायक)